पार्टीको महाधिवेशन ऐतिहासिक भूमिमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छ : देवराज चालिसे
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको १५औँ महाधिवेशन ऐतिहासिक राजनीतिक महत्त्व बोकेको स्थलमा हुन लागेको बताएका छन् । महाधिवेशनस्थल खुलामञ्चमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले नेपालको राजनीतिक इतिहासमा खुलामञ्चको विशेष महत्त्व रहेको बताए । २०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३६ सालको जनमतसंग्रहका लागि पहिलो ऐतिहासिक सार्वजनिक सम्बोधन खुलामञ्चबाट गरेको उनले बताए । २०४६ सालको राजनीतिक परिवर्तनका लागि नेपाली कांग्रेसका नेता गणेशमान सिंहले पनि खुलामञ्चबाटै परिवर्तनको उद्घोष गरेको उनले बताए । नेपाली कांग्रेसको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनसँग जोडिएको महत्त्वपूर्ण स्थानमा पार्टीले १५औँ महाधिवेशन गर्न लागेको उनको भनाइ छ । महाधिवेशनले बीपी कोइरालाको विचारलाई भविष्यको नेपालसँग जोड्ने वैचारिक आधार तय गर्ने उनले बताए । आधुनिक, प्रविधियुक्त र सान्दर्भिक नेपालको परिकल्पनालाई बीपीको विचारसँग जोडेर अघि बढाउने लक्ष्य रहेको उनको भनाइ छ । महाधिवेशनले पार्टीको संरचनागत र नीतिगत सुधार दुवै गर्ने उनले बताए । युवाको सहभागिता विस्तार, नीति निर्माणमा प्रबुद्ध वर्ग र प्रवासी नेपालीको प्रतिनिधित्व तथा सुशासनलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ । उनले भने, ‘नेपालको राजनीतिमा ऐतिहासिक र प्रतीकात्मक महत्त्व छ । यही भूमि हो, जसले २०३३ सालमा जननायक बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि सार्वजनिक रूपमा ऐतिहासिक पहिलो सम्बोधन २०३६ सालको जनमतसंग्रहको सन्दर्भमा यही स्थलमा, यही बगलमा गर्नुभएको थियो । बीपी कोइरालाको आह्वान मात्रै थिएन, गणेशमानजीले २०४६ सालको परिवर्तनको उद्घोष यही भूमिबाट गर्नुभएको हो ।' उनका अनुसार आइतबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटन समारोहपछि हुने बन्दसत्रमा पार्टीको आगामी राजनीतिक, आर्थिक, सामाजिक र सांगठनिक दिशाबारे विस्तृत छलफल हुनेछ । बन्दसत्रमा पार्टी सभापति गगन थापाले आगामी पाँच वर्षमा कांग्रेसले लिने राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी र परराष्ट्र नीतिसहितका विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नेछन् । उपसभापति विश्वप्रकाश शर्माले पनि समसामयिक विषयमा प्रतिवेदन प्रस्तुत गर्ने उनले बताए । महाधिवेशनमा पार्टीको विधान संशोधनमार्फत संरचनागत सुधारका विषयमा समेत छलफल हुने उनले बताए । उनले विधानमा केही परिवर्तन यसअघि नै भइसकेको बताए । उनले महाधिवेशनले नेतृत्वलाई भन्दा नीति चयनलाई विशेष प्राथमिकता दिएको पनि बताए । महाधिवेशनमा सहभागी प्रतिनिधिले ३ हजार ५ सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्नुपर्नेछ । देशभरबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको उनले बताए । केही जिल्लामा निर्वाचन तथा मतगणना भइरहेकोले आइतबार बिहानसम्म सबै प्रतिनिधि काठमाडौं आइपुग्ने उनको भनाइ छ । महाधिवेशनका गतिविधि, बसोबास, भोजन तथा अन्य कार्यक्रमसम्बन्धी सूचना प्रतिनिधिलाई क्यूआर कोड र एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ । महाधिवेशनका क्रममा प्रत्येक दिन दुई पटक पत्रकार सम्मेलन गरी छलफलमा उठेका विषय, प्रतिनिधिको धारणा र पार्टीका गतिविधिबारे जानकारी गराइने कांग्रेसले जनाएको छ ।
नख्खु कारागारबाट दीपक भट्टको सरुवा सिन्धुपाल्चोक
काठमाडौं । विवादित व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको छ । शनिवार भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार सार्न लागिएको हो । नख्खु कारागारका एक प्रहरी अधिकृतले भट्टलाई सिन्धुपाल्चोक कारागारमा लैजान लागिएको जानकारी दिए । उनले विकासन्युजसँग भने, 'अबको ५-१० मिनेटमा कारागारबाट भट्टलाई लगिन्छ । कारागार विभागबाट पत्र आएको छ । सबै पक्रिया पुर्याएर कारागारबाट आजै लैजान लागिएको छ ।' किन सिन्धुपाल्चोक लागिएको भन्ने प्रश्नमा उनले आफूलाई जानकारी नभएको बताए । असारको तेस्रो साता व्यवसायी भट्टलाई डिल्ली बजारको कारागारबाट नख्खु कारागारमा सारिएको थियो । विशेष अदालतको आदेशअनुसार व्यवसायीहरू दीपक भट्टलाई लागि थुनामा पठाइएको हाे । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा मुछिएका उनीलाई विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
कृषि उद्योगका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र भैरहवाका कृषि उद्योगी–व्यवसायीबीच कृषि क्षेत्रको विकास, औद्योगिकीकरण तथा उद्योग सञ्चालनका क्रममा देखिएका समस्या र चुनौतीबारे छलफल भएको छ । भैरहवास्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालयमा आयोजित बैठकमा कृषि उत्पादनको व्यावसायीकरण, कृषि उपजको प्रशोधन तथा बजारीकरण, स्वदेशी उत्पादनको प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणका विषयमा छलफल गरिएको हो । बैठकमा कृषि उद्योगको विकासका लागि आवश्यक नीतिगत सुधार, उद्योग सञ्चालनका क्रममा भोग्नुपरेका व्यावहारिक समस्या, कच्चा पदार्थको उपलब्धता, उत्पादन लागत तथा बजार व्यवस्थापनलगायतका विषयमा उद्योगी–व्यवसायीले आफ्ना धारणा र सुझाव राखेका थिए । उद्योगी–व्यवसायीका समस्या र सुझाव सुनेपछि कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई उत्पादनमुखी, आत्मनिर्भर र औद्योगिक रूपमा सक्षम बनाउन सरकार, किसान र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन् । उनले कृषि उत्पादनलाई उद्योगसँग जोडेर मूल्य अभिवृद्धि, रोजगारी सिर्जना तथा स्वदेशी उत्पादनको बजार विस्तार गर्न कृषि उद्योगको महत्वपूर्ण भूमिका रहेको बताइन् । मन्त्री चौधरीले उद्योगी–व्यवसायीले उठाएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन् । बैठकको समापन गर्दै उनले कृषि क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रसँगको सहकार्य र संवादलाई निरन्तरता दिने बताइन् । कृषि उद्योगको विकासमार्फत किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
म पनि नेवार बन्न चाहन्छु : जगदीश खरेल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले नेवार समुदाय, मौलिक परम्परा र संस्कृतिप्रतिको गहिरो लगाव व्यक्त गर्दै आफूलाई ‘जगदीश खरेल नेवार’ का रूपमा चिनाउने धोको रहेको बताएका छन् । ज्यापु समाजको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधान र परम्पराले दिएमा आफूलाई कुनै अधिकारबिनाको, केवल कर्तव्य निर्वाह गर्ने ‘मानार्थ सदस्य’ बनाउन नेतृत्वसमक्ष प्रस्ताव राखेका हुन् । ललितपुरमा आयोजित ज्यापु समाजको औपचारिक कार्यक्रममा बोल्दै सांसद खरेलले नेवारी कला र संस्कृतिसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताए । समाजको विधान, नियम र परम्परागत प्रक्रियाले मिल्ने भए आफूलाई मानार्थ सदस्यका रूपमा स्वीकार्न उनले ज्यापु समाजका अध्यक्ष तथा पदाधिकारीहरूसँग आग्रह गरे । उनले नियम र परम्पराले दिए ‘जगदीश खरेल नेवार’ का रूपमा समाजको सेवा गर्न आफू पूर्ण रूपमा तयार रहेको बताए । उनले भने, ‘अब त जगदीश खरेल मात्र होइन, जगदीश खरेल नेवार भनेर चिनिन मन छ । यहाँहरूको विधान, नियम, कानुन र प्रक्रियाले मिल्छ कि मिल्दैन, मलाई थाहा छैन । तर एउटा सानो लोभ छ, कर्तव्य निर्वाह गर्नका लागि भए पनि ज्यापु समाजको मानार्थ सदस्य बन्न पाए कति गजब हुन्थ्यो होला । मलाई कुनै अधिकार चाहिँदैन । बरु मानार्थ सदस्य बनाएर बेलाबेलामा, “तिमी त समाजको सदस्य हौ, यो काम किन गरेनौ ?” भनेर गाली गर्ने अधिकार यहाँहरूलाई होस् । अध्यक्ष बन्ने चाहना छैन, तर समाजप्रतिको कर्तव्य निर्वाह गर्ने अवसर भने चाहन्छु ।' सांसद खरेलले आफ्नो कर्मभूमि ललितपुरको कला, संस्कृति र अमूर्त सम्पदाको संरक्षणमा आफूले सक्दो पहल गर्ने बताए । उनले ललितपुरको विकास र सम्पदा संरक्षणका लागि आफूले संसद्मा सशक्त भूमिका खेल्ने र आगामी हिउँदे अधिवेशनमार्फत अमूर्त सम्पदासम्बन्धी विधेयक अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । सांसद खरेलले ललितपुरलाई कला र संस्कृतिको जीवन्त सहरका रूपमा परिभाषित गर्दै यहाँको सम्पदाको जगेर्ना गर्न समुदायको सहभागिता अनिवार्य रहेको बताए । उनले हालसम्म नेपालमा अमूर्त सम्पदासम्बन्धी ऐन नहुँदा सांस्कृतिक पर्व, जात्रा र परम्पराको संरक्षणमा कठिनाइ भइरहेको भन्दै नयाँ विधेयकमा राज्यको तर्फबाट आर्थिक व्यवस्थापन र स्थानीय समुदायको निर्णायक भूमिका रहने गरी कानुन बनाउन पहल गरिरहेको बताए । उनले ललितपुरको पर्यटन प्रवर्द्धनका लागि ‘ललितपुर कन्क्लेभ’को अवधारणा अघि सारे । उनले पाटनका ऐतिहासिक विभूति अरनिकोको जन्मस्थानबारे भइरहेको खोज र अनुसन्धानलाई निष्कर्षमा पुर्याई त्यसलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए । सांसद खरेलले आफ्नो राजनीतिक यात्राभन्दा बढी समय ललितपुरको पाटन क्षेत्रमा व्यतीत गरेको स्मरण गर्दै आफूमा नेवार समुदायप्रति विशेष आत्मीयता रहेको बताए । उनले ज्यापु समाजको मानार्थ सदस्य बन्ने आफ्नो इच्छा प्रकट गर्दै अधिकारभन्दा पनि कर्तव्य निर्वाह गर्ने थलोका रूपमा आफूलाई उभ्याउन चाहेको उल्लेख गरे ।
१ करोड ८५ लाख लागतमा वडा २३ को आफ्नै प्रशासनिक भवन तयार
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २३ को प्रशासनिक भवन उद्घाटन गरिएको छ । करबाहेक १ करोड ८४ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण गरिएको भवन महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले उद्घाटन गरेका हुन् । बसन्तपुरस्थित जुद्ध बारुण यन्त्र कार्यालय परिसरमा निर्माण गरिएको भवन नियोक्लासिक अर्थात् राणाकालीन शैलीमा बनाइएको छ । भवन जुद्ध बारुण यन्त्र कार्यालयसँग मेल खाने शैलीमा निर्माण गरिएको हो । विश्व सम्पदा क्षेत्रअन्तर्गत संरक्षित स्मारक उपक्षेत्रको मापदण्डअनुसार भवन निर्माण गरिएको महानगरपालिकाले जनाएको छ । भवन उद्घाटन गर्दै कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले सबै वडाका आफ्नै प्रशासनिक भवन निर्माण गर्ने कामलाई अन्तिम चरणमा पुर्याएको बताइन् । आफ्नै स्थायी भवन भएपछि वडावासीलाई सेवा लिन सहज हुने उनको भनाइ थियो । उनले वडाको आफ्नै भवनबाट सेवाको गुणस्तरमा सुधार आउने र नागरिकले परिवर्तनको अनुभूति गर्ने अपेक्षा व्यक्त गरिन् । महानगरपालिकाको केन्द्रीय कार्यालय निर्माणको काम पनि चाँडै सम्पन्न गर्ने गरी अघि बढिरहेको उनले जानकारी दिइन् । वडाध्यक्ष महर्जनले निर्वाचनका क्रममा वडावासीसँग गरेको आफ्नै प्रशासनिक भवन निर्माणको प्रतिबद्धता पूरा भएको बताए । उनले वडामा सडक तथा गल्ली निर्माण, मर्मतसम्भार, विपद् व्यवस्थापन, उद्यमशीलता विकास र सम्पदा संरक्षणका काम निरन्तर भइरहेको जानकारी दिए । भवन निर्माणका क्रममा विभिन्न चुनौती आए पनि वडावासीलाई आफ्नै प्रशासनिक भवन उपलब्ध गराउन सफल भएको महर्जनले बताए । पूर्ववडाध्यक्ष पवित्र बज्राचार्यले नयाँ भवनले वडावासीमा गौरवको अनुभूति गराएको बताए । स्थानीय गणपतिलाल श्रेष्ठले मौलिक शैलीमा निर्माण भएको भवनले सम्पदामैत्री संरचना संरक्षणमा समेत योगदान पुग्ने बताए । १०७ फिट ६ इन्च लम्बाइ र १९ फिट चौडाइमा निर्माण गरिएको भवन तीन तले छ । भवनको उचाइ ३२ फिट रहेको छ । आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार भवनको प्रत्येक तलाको क्षेत्रफल २ हजार ४८ वर्गफिट रहेको छ । भवन निर्माणका लागि एसबी कन्स्ट्रक्सनलाई २०८२ मंसिर २१ गते कार्यादेश दिइएको थियो। २०८३ असोज ३० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
कांग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया पार्टी कार्यालयमा शुरू
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ । पार्टी कार्यालय बीपीनगर सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो । दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ । नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५ औँ महाधिवेशनको झोला पाउने छन् । उक्त झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ । महाधिवेशनको उद्घाटन भने आइतबार काठमाडौंको खुलामञ्चमा हुनेछ । १९ र २० गते बन्द सत्र हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् ।
हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा
काठमाडौं । मकवानपुरगढी गाउँपालिकामा बेमौसमी हावाहुरीले गोलभेँडा खेतीमा ठूलो क्षति पुर्याएपछि किसानहरू मर्कामा परेका छन् । ऋणधन गरेर बनाएका टनेल उडाएपछि र उत्पादन दिने बेलाका बोटहरू सोत्तर भएपछि उनीहरूलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको छ । मकवानपुरगढी गाउँपालिका–८, बुढीचौरका शम्सेर ल्वागुनले तरकारी मण्डीका साहुसँग ५० हजार रुपैयाँ ऋण लिएर टनेलमा गोलभेँडा खेती गरेका थिए । आफ्नो पुर्ख्यौली आरन पेसालाई विस्तारै छाड्दै कृषिमा लागेका उनले गत वर्ष चारवटा टनेलबाट डेढ लाख रुपैयाँ आम्दानी लिएका थिए । तर, गत असोज १० गते वर्षासँगै आएको हावाहुरीले उनका तीनवटा टनेल पूर्ण रूपमा नष्ट गरिदिएको छ भने एउटामा आंशिक क्षति पुगेको छ । राम्रो उत्पादन दिने बेलामै गोलभेँडाका झाङ ढलेपछि अहिले उनलाई मण्डीको ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको छ । यो बेमौसमी हावाहुरीबाट उनी मात्रै पीडित छैनन्, सिङ्गो गाउँ नै प्रभावित बनेको छ । अच्युत घलानको करिब ३०० मिटरभन्दा लामो टनेल र सुजन पुडासैनीले भाडाको करिब २५ रोपनी जग्गामा गरेको गोलभेँडा खेतीमा अधिकांश क्षति पुगेको छ । स्थानीय कर्मराज विश्वकर्माका अनुसार विशेषगरी वडा नम्बर ८ को बर्गिटार र दम्पकी क्षेत्रका अधिकांश टनेलमा क्षति पुगेको छ । हावाले टनेलसँगै बोट नै लडाएपछि किसानहरू आफ्नो ज्यालासम्म उठाउन नसक्ने स्थितिमा पुगेका छन् । त्यसमाथि टनेल मर्मत र रोग लाग्न नदिन थप औषधि उपचार गर्नुपर्दा उनीहरूलाई दोहोरो आर्थिक भार थपिएको छ । वडा कार्यालयले संकलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म ३५ घरधुरीको ७ हजार मिटर टनेलमा रहेको गोलभेँडा खेतीमा क्षति पुगेको छ । राम्रो उत्पादन हुने सिजनमा दैनिक ४ सयदेखि ६ सय क्रेट गोलभेँडा निर्यात गर्दै आएको बुढीचौरमा यस वर्ष ७० टनभन्दा बढी उत्पादन घट्ने अनुमान गरिएको छ । वडा कार्यालयमा क्षतिको विवरण लिएर आउने पीडित किसानहरूको संख्या बढ्दै गएकाले नोक्सानीको यो आँकडा अझै बढ्न सक्ने देखिएको छ ।
४ जिल्लामा बीवाईडीको कारोबार चम्किँदा २ डिलरको आम्दानी २.२८ अर्ब
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार हुँदै जाँदा बीवाईडीका दुई अधिकृत विक्रेताले पनि आफ्नो कारोबार बढाएका छन् । बीवाईडीका सवारीसाधन बिक्री गर्दै आएका इको ड्राइभ अटोमोबाइल्स प्राइभेट लिमिटेड र टिम इलेभेन ईभी वल्र्ड प्राइभेट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब २८ करोड १० लाख रुपैयाँको कारोबार गरेका छन् । दुवै कम्पनीले नेपालमा बीवाईडीका सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्क प्राइभेट लिमिटेडसँगको विक्रेता सम्झौताअन्तर्गत तोकिएको क्षेत्रमा कारोबार गर्दै आएका छन् । इको ड्राइभले ललितपुर र धादिङ तथा टिम इलेभेनले नेपालगन्ज र दाङलाई केन्द्र बनाएर बीवाईडीका विद्युतीय सवारीसाधन बिक्री तथा बिक्रीपछिको सेवा दिँदै आएका छन् । विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको बढ्दो आकर्षण, नयाँ सवारी मोडलको आगमन र क्षेत्रीय बजारमा बिक्री तथा सेवा सञ्जाल विस्तार हुँदा दुवै कम्पनीको कारोबारमा वृद्धि देखिएको हो । तर कारोबार बढे पनि दुवै कम्पनीको नाफा मार्जिन भने तुलनात्मक रूपमा न्यून छ । साथै, सवारीसाधनको व्यापारका लागि ठूलो कार्यशील पुँजी आवश्यक पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पनि उच्च छ । इको ड्राइभको कारोबार १ अर्ब ५ करोड ललितपुर र धादिङमा बीवाईडीका सवारीसाधन बिक्री गर्दै आएको इको ड्राइभ अटोमोबाइल्सले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको ९७ करोड ४० लाख रुपैयाँको तुलनामा कम्पनीको आम्दानी ७.८० प्रतिशत अर्थात् ७ करोड ६० लाख रुपैयाँ बढेको हो । कम्पनीको आम्दानी आर्थिक वर्ष २०८०/८१ मा भने १ अर्ब ४३ करोड ५० लाख रुपैयाँ थियो । बीवाईडीको नयाँ सवारी मोडल सार्वजनिक भएपछि उक्त वर्ष बिक्री उच्च हुँदा आम्दानी बढेको थियो । त्यसपछिको आर्थिक वर्षमा आम्दानी घटे पनि २०८२/८३ मा पुनः वृद्धि भएको देखिन्छ । १९ अक्टोबर २०२१ मा स्थापना भएको इको ड्राइभले गत आर्थिक वर्षमा २६८ वटा सवारीसाधन बिक्री गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले २२२ वटा सवारीसाधन बिक्री गरेको थियो । यसले एक वर्षमा बिक्रीको संख्या पनि बढेको देखाउँछ । नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा भएका प्रदर्शनीबाट प्राप्त बुकिङमध्ये करिब ७७ प्रतिशत बिक्रीमा रूपान्तरण हुने गरेको कम्पनीले जनाएको छ । तर बिक्री बढ्दा पनि नाफा मार्जिनमा भने दबाब देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा इको ड्राइभको ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको सञ्चालन नाफा मार्जिन ०.८० प्रतिशतमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मार्जिन १.७३ प्रतिशत थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९० करोड रुपैयाँ ऋण लिएको छ । ठूलो कारोबारका लागि आवश्यक कार्यशील पुँजी व्यवस्थापनमा बैंक कर्जाको भूमिका महत्वपूर्ण देखिन्छ । पश्चिम नेपालमा टिम इलेभेनको विस्तार पश्चिम नेपालमा बीवाईडीको बजार समेट्दै आएको टिम इलेभेन ईभी वल्र्डले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब २३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको ९५ करोड १० लाख रुपैयाँको तुलनामा कम्पनीको आम्दानी २९.४४ प्रतिशत अर्थात् करिब २८ करोड रुपैयाँ बढेको हो । कम्पनीको आम्दानी आर्थिक वर्ष २०८०/८१ मा ९२ करोड ८० लाख रुपैयाँ थियो । १ डिसेम्बर २०२१ मा स्थापना भएको टिम इलेभेनले साइमेक्स इन्कसँगको सहकार्यमा पश्चिम नेपालमा बीवाईडीका विद्युतीय सवारीसाधन बिक्री गर्दै आएको छ । नेपालगन्ज र दाङमा रहेका दुई अधिकृत शोरुम तथा सेवा केन्द्र कम्पनीको पश्चिम नेपालमा रहेको प्रमुख बिक्री तथा सेवा सञ्जाल हुन् । यी केन्द्रमार्फत राप्ती र भेरी क्षेत्रका ग्राहकलाई बीवाईडीका विभिन्न विद्युतीय सवारीसाधन तथा बिक्रीपछिको सेवा उपलब्ध गराइँदै आएको छ । टिम इलेभेनको कारोबारसँगै नाफा मार्जिनमा पनि केही सुधार देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको नाफा मार्जिन २.०७ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मार्जिन १.९८ प्रतिशत थियो । त्यस्तै, कम्पनीको खुद नाफा मार्जिन १.१९ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मार्जिन १.०४ प्रतिशत थियो । यद्यपि, सवारीसाधन विक्रेताको व्यवसायमा प्रतिस्पर्धा उच्च रहेकाले नाफा मार्जिन विस्तारको सम्भावना सीमित रहने देखिन्छ । टिम इलेभेनले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८० करोड रुपैयाँ ऋण लिएको छ । यसमध्ये १ करोड रुपैयाँ दीर्घकालीन र ७८ करोड ९८ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । इको ड्राइभको अध्यक्षमा प्रकाश वीरसिंह तुलाधर हुन् भने टिम इलेभेनको अध्यक्ष बिमल कुमार पौडेल रहेका छन् । दुवै कम्पनीले बीवाईडीको बिक्री सञ्जालसँगै बिक्रीपछिको सेवा विस्तारमा समेत जोड दिँदै आएका छन् । विद्युतीय सवारीसाधनको बिक्रीमा ग्राहकले खरिदपछिको सेवा र मर्मतसम्भारलाई समेत महत्व दिने भएकाले यस्तो सञ्जाल व्यवसायका लागि महत्वपूर्ण मानिन्छ । कार्यशील पुँजी आवश्यक सवारीसाधनको व्यापार सामान्य खुद्रा कारोबारभन्दा बढी कार्यशील पुँजी आवश्यक पर्ने व्यवसाय हो । आयात गरेर बिक्री गर्नुपर्ने भएकाले सवारीसाधन खरिदमै ठूलो रकम अग्रिम भुक्तानी गर्नुपर्ने वा स्वदेशी प्रतीतपत्र जारी गर्नुपर्ने हुन्छ । बीवाईडीका सवारीसाधनको आपूर्ति आयातमा निर्भर रहेकाले मागअनुसार समयमै सवारीसाधन उपलब्ध गराउन मौज्दात कायम गर्नुपर्ने हुन्छ । शोरुममा प्रदर्शनका लागि राखिने सवारीसाधनसँगै आपूर्ति अवरोधका बेला बिक्री प्रभावित नहोस् भनेर थप मौज्दात राख्नुपर्ने हुन्छ । कम्पनीहरूले सामान्यतया सवारीसाधन खरिदका लागि करिब ५० दिनको भुक्तानी अवधि रहेको उधारो प्रतीतपत्र प्रयोग गर्दै आएका छन् । यही कारण बिक्री बढेसँगै कार्यशील पुँजीको आवश्यकता पनि बढ्ने गरेको छ । इको ड्राइभ र टिम इलेभेनले क्रमशः ९० करोड र ८० करोड रुपैयाँ ऋण लिएका छन् । अर्थात्, दुई कम्पनीको बैंक तथा वित्तीय संस्थाबाट लिएको कुल ऋण करिब १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यसले उनीहरूको कारोबार विस्तारमा कर्जा तथा कार्यशील पुँजी व्यवस्थापनको महत्व देखाउँछ । बढ्दो बजारसँगै नीतिगत जोखिम नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको छ । परम्परागत इन्धनबाट चल्ने सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनमा कम आयात शुल्क तथा वार्षिक करको व्यवस्था रहँदै आएको छ । यसले विद्युतीय सवारीसाधनको प्रयोग विस्तारमा सहयोग पुगेको छ । बैंक तथा वित्तीय संस्थाबाट विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा सुविधा उपलब्ध भए पनि यसअघिको प्राथमिकतायुक्त कर्जा व्यवस्थामा परिवर्तन गरिएको छ । हाल विद्युतीय सवारीसाधनका लागि अधिकतम कर्जा–मूल्य अनुपात ६० प्रतिशत कायम गरिएको छ । सरकारले निजी सवारीसाधनमा विद्युतीय सवारीको प्रयोग बढाउने तथा नेपालको जलविद्युतमा आधारित ऊर्जाको उपयोग गर्ने दीर्घकालीन लक्ष्य लिएको छ । विद्युतीय सवारीसाधनप्रतिको उपभोक्ताको बढ्दो स्वीकार्यता र यस्तो नीतिगत समर्थनले बजार विस्तारको आधार तयार गरेको छ । तर विद्युतीय सवारीसाधनको बजार नीतिगत परिवर्तनबाट पनि प्रभावित हुन सक्छ । पछिल्ला नीतिगत परिवर्तनमार्फत केही वर्गका विद्युतीय सवारीसाधनमा भन्सार तथा अन्य सम्बन्धित शुल्क बढाइएको छ । शुल्कमा हुने परिवर्तनले सवारीसाधनको मूल्य र त्यससँगै उपभोक्ताको मागमा प्रभाव पार्न सक्ने जनाएका छन् ।