कांग्रेस महाधिवेशन: सवारीसाधन पार्किङका लागि ८ स्थान तोकियो
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो २ बजे हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेता–कार्यकर्ताका सवारीसाधन पार्किङका लागि ८ स्थान तोकिएको यातायात व्यवस्थापन समितिले जनाएको छ । यातायात व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार धरहरा भूमिगत पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क, भृकुटीमण्डपको बाहिरी एक लेन, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान परिसर र दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थलमा सवारीसाधन पार्किङ गर्न सकिनेछ । काठमाडौं उपत्यकाबाहिरबाट प्रतिनिधि लिएर आउने ठूला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागमा पार्किङको व्यवस्था मिलाइएको स्वाँरले बताए । यसका लागि ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौंसँग समन्वय गरिएको उनले जानकारी दिए । धरहरा भूमिगत पार्किङ र अन्नपूर्ण होटलको पार्किङमा शुल्क लाग्नेछ भने अन्य स्थानमा निःशुल्क पार्किङ गर्न सकिनेछ । कांग्रेसले प्रतिनिधि तथा नेता–कार्यकर्तालाई तोकिएका स्थानमै सवारीसाधन पार्किङ गर्न आग्रह गरेको छ । निर्धारित स्थानमा सवारीसाधन पार्किङ गर्दा सवारी आवागमन व्यवस्थापनमा सहज हुने कांग्रेसले जनाएको छ ।
अध्ययन बिदा बसेर सम्पर्कविहीनलाई पुससम्मको अल्टिमेटम
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरेपछि विश्वविद्यालयको सम्पर्कमा नआएका शिक्षक तथा कर्मचारीलाई पुस मसान्तभित्र सम्पर्कमा आउन ताकेता गरेको छ । त्रिवि रजिष्ट्रारको कार्यालयले अध्ययन बिदापछि नियमानुसार विश्वविद्यालयमा कार्य गर्नुपर्ने भए पनि हालसम्म सम्पर्कमा नआएका शिक्षक तथा कर्मचारीलाई २०८३ पुस मसान्तभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो । सम्बन्धित शिक्षक तथा कर्मचारीले त्रिवि रजिष्ट्रारको कार्यालय, कीर्तिपुरको कोठा नम्बर ३१४ मा उपस्थित भएर वा इमेलमार्फत सम्पर्क गर्न सक्नेछन् । तोकिएको अवधिभित्र सम्पर्कमा नआए त्रिविको नियम तथा विश्वविद्यालयसँग गरिएको कबुलियतनामाअनुसार आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने त्रिविले जनाएको छ ।
कांग्रेसको १५औं महाधिवेशन आज खुलामञ्चमा उद्घाटन हुँदै
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको टुँडिखेल खुलामञ्चमा कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे खुलामञ्चमा हुनेछ । उद्घाटन सत्रलाई सभापति गगनकुमार थापाले सम्बोधन गर्नेछन् । कार्यक्रममा कांग्रेसका शीर्ष नेतासहित प्रमुख राजनीतिक दलका नेताहरूले समेत सम्बोधन गर्ने जनाइएको छ । कांग्रेसको १५औं महाधिवेशनको तयारीबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यसलाई ऐतिहासिक महाधिवेशनका रूपमा व्याख्या गरे । उनका अनुसार महाधिवेशनको प्रक्रियाबाट नयाँ पुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन् भने उनीहरूसहित निर्वाचित सात हजारभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन् । २०८२ पुस २८ देखि माघ ३ गतेसम्म सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि १५औं महाधिवेशन हुन लागेको हो । यस महाधिवेशनबाट ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीले पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउने कांग्रेसले जनाएको छ । ‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ महाधिवेशनको मूल मन्त्र तय गरिएको छ । छलफल सत्रमा नयाँ सङ्कल्पका विषयमा छलफल गरी त्यसको कार्यान्वयनको खाका तयार गरिने चालिसेले बताए । उनका अनुसार महाधिवेशनले ती सङ्कल्प कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन गर्नेछ । कांग्रेसमा विधि र पद्धति निर्माणमा महाधिवेशनको सम्पूर्ण प्रयास केन्द्रित हुने उनले बताए । कांग्रेसले विगतमा नेपाली राजनीतिमा महत्वपूर्ण इतिहास निर्माण गरेको उल्लेख गर्दै चालिसेले अब नयाँ इतिहास निर्माण गर्ने बताए । उनका अनुसार कांग्रेसले बिपी कोइरालाको विचारलाई भविष्यसँग जोड्दै देशको समृद्धिको वैचारिक आधारका रूपमा अघि बढाउनेछ । महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ । पार्टी कार्यालयका अनुसार महाधिवेशनमा करिब सात हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन् । शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता सुरु भएको छ । प्रतिनिधिले सहभागिता दर्ताबापत तीन हजार पाँच सय रुपैयाँ बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ । आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकेर सम्बन्धित क्षेत्रका महाधिवेशन प्रतिनिधिको बसोबास व्यवस्थापनमा समन्वय गर्ने व्यवस्था गरेको छ । सहभागीले आवाससम्बन्धी जानकारी विद्युतीय सन्देश सेवा, कृत्रिम बौद्धिकता नम्बर र छोटो सन्देशमार्फत प्राप्त गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ । उद्घाटन कार्यक्रमपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गर्ने कार्यतालिका छ । प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाएर तीनवटा हलमा छलफल गरिनेछ । प्रत्येक हलमा राखिएका विद्युतीय पाटीमार्फत सहभागीले प्रस्तुत प्रतिवेदन हेर्न र सुन्न सक्ने प्रवक्ता चालिसेले बताए । निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ । उम्मेदवारी मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ । निर्वाचनको कार्यक्रम आवश्यकताअनुसार परिमार्जन हुन सक्ने निर्वाचन समितिले जनाएको छ । महाधिवेशनमा सहभागी हुने निजी कार तथा मोटरसाइकलका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । ठूला बसका लागि माइतीघरदेखि भद्रकालीसम्मको एक लेनमा पार्किङ व्यवस्था मिलाइएको छ । महाधिवेशनका सूचना अद्यावधिक गर्न खुलामञ्चमा सूचना केन्द्र स्थापना गरिएको छ । त्यहाँबाट सञ्चारमाध्यमलाई नियमित जानकारी दिइने कांग्रेसले जनाएको छ ।
स्थानीय तह चुनावको तयारीमा रास्वपा: विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले स्थानीय तहको निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन गरेको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले समिति सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए । प्रवक्ता खरेलका अनुसार स्थानीय तहको निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिको संयोजकमा महामन्त्री विपिन कुमार आचार्य रहेका छन् । समिति सदस्यहरुमा मिलन लिम्बु, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनकसिंह धामी मनोनित भएका हुन् । उक्त समितिमा सातै प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था गरिएको छ । प्रवक्ता खरेलले अन्य सदस्य नियुक्त हुन बाँकी रहेको जानकारी दिए । यस्तै, पार्टीको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा मनोनित भएका छन् भने पार्टीको आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान मनोनित भएका छन् । पार्टीले १४ ओटा विभागमा प्रमुख, २ विभागमा उपप्रमुख र १ विभागमा सदस्य मनोनयन गरेको हो । कानुनी मामिला तथा संस्थागत अनुपालन विभाग प्रमुखमा मोहनलाल आचार्य नियुक्त भएका छन् । सामाजिक न्याय लैङ्गिक समानता तथा समावेशिता विभागको प्रमुखमा रुविना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभाग प्रमुखमा सुदिप ढकाल, विधायन संसदीय मामिला तथा न्याय प्रणाली विभाग प्रमुखमा सुलभ खरेल, कृषि भूमि तथा सहकारी व्यवस्था विभाग प्रमुखमा ज्ञानेन्द्र महता, श्रम रोजगारी तथा सामाजिक सुरक्षा विभाग प्रमुखमा दीपक कुमार साह महोत्तरी, आपूर्ति बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान सूचना प्रविधि नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुखमा आनन्द बहादुर चन्द संस्कृति पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग प्रमुखमा धनञ्जय रेग्मी र सदस्यमा सम्राट बुढाथोकी, वातावरण जलवायु तथा प्राकृतिक स्रोत विभाग प्रमुखमा धर्म केसी र सामाजिक न्याय तथा समता प्रवद्र्धन विभाग प्रमुखमा रिमा विश्वकर्मा मनोनित भएका छन् । त्यस्तै, अभियान तथा प्रचारप्रसार विभाग उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभाग उपप्रमुखमा डिल्लीश्वर कार्की (रोहन) मनोनित भएका छन् ।
रास्वपाले केन्द्रीय कार्यालय बनस्थलीबाट अन्यत्र सार्ने, नयाँ घरको खोजी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंको बनस्थलीमा रहेको आफ्नो केन्द्रीय कार्यालय अन्यत्र सार्ने भएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यालय सार्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बैठकका निर्णयहरूबारे जानकारी गराउँदै प्रवक्ता खरेलले बनस्थलीस्थित वर्तमान कार्यालयबाट अन्यत्र सर्नुपर्ने आवश्यकता महसुस भएकाले सो निर्णय लिइएको बताए । पार्टीको नयाँ केन्द्रीय कार्यालयका लागि उपयुक्त जमिन वा घर खरिद गर्न काठमाडौं उपत्यकाभित्र पायक पर्ने स्थानमा खोजी गरिदिन बैठकले आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई अनुरोध समेत गरेको छ । हाल बनस्थलीमा सञ्चालन भइरहेको रास्वपाको केन्द्रीय कार्यालय जेनजी आन्दोलनपछि घरधनी भरतमणि देवकोटाले खाली गरिदिन अनुरोध गरेपछि पार्टीले नयाँ ठाउँको खोजी प्रक्रिया अगाडि बढाएको हो । पार्टी स्थापनको समयमा रास्वपाको पार्टी कार्यालय बसुन्धरामा थियो । पछि पार्टी कार्यालय वनस्थली सारिएको थियो । हाल रास्वपाको केन्द्रीय पार्टी कार्यालय बनस्थलीस्थित चौमतिमा छ । तर उक्त स्थानमा पार्टीलाई पार्किङ लगायतका लागि ठाउँ पर्याप्त नभएको पार्टीका नेताहरुले बताउँदै आएका छन् ।
फेवातालमा फसेका ७ जनाको सकुशल उद्धार, वेपत्ताको शव फेला
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-६ लेकसाईड स्थित फेवातालमा फसेका ७ जनाको सशस्त्र प्रहरीले असोज १७ गते साँझ सकुशल उद्धार गरेको छ । अचानक आएको हावाहुरी तथा पानीको कारण चितवनबाट घुम्न आएका ७ जना आन्तरिक पर्यटक चढेको प्याडल बोट डुङ्गा बाँध्ने डोरीको जालोमा परी उनीहरु उक्त तालमा अलपत्र परेका थिए । खबर पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल फेवाताल वाच एण्ड रेस्क्यु टावरबाट खटिएको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो । यसैगरी सोही महानगरपालिका-३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । सल्यान घर भई हाल पोखरा महानगरपालिका-१४ खसीबजार बस्ने २५ बर्षिय नरेश बिक असोज १७ गते साँझ उक्त तालमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका थिए । घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी तत्काल परिचालन भएको थियो । परिचालित टोलीले खोजीकार्य गर्दा तालको करीब २५ फिट गहिराईबाट वेपत्ता पुरुषको शव फेला पारी पोष्ट मार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाएको छ ।
श्रम ऐन २०७४ संशोधनका लागि मोरङ उद्योग व्यापार संघद्वारा श्रम मन्त्रीसमक्ष सुझाव पत्र प्रस्तुत
काठमाडौं । मोरङ उद्योग व्यापार संघले श्रम ऐन, २०७४ लाई लगानीमैत्री, व्यावहारिक र समयसापेक्ष बनाई मुलुकमा औद्योगिकीकरण र रोजगारी प्रवद्र्धन गर्नुपर्ने माग राख्दै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसमक्ष विस्तृत सुझाव पत्र पेश गरेको छ । गत शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष अनिल कुमार साह नेतृत्वको टोलीले मन्त्री यादवलाई सुझाव पत्र हस्तान्तरण गरेको हो । सो अवसरमा अध्यक्ष साहले विद्यमान श्रम ऐनका कतिपय अव्यावहारिक व्यवस्थाहरूले उद्योग सञ्चालन, नयाँ लगानी आकर्षण र थप रोजगारी सिर्जनामा गम्भीर अवरोध पुर्याएको जानकारी गराए । सुझाव पत्रमार्फत श्रम ऐनमा तत्काल गर्नुपर्ने संशोधनका बुँदाहरू प्रस्तुत गर्दै संघका अध्यक्ष साहले रोजगार सम्बन्धमा लचकता तथा ’हायर एन्ड फायर’ को कानुनी व्यवस्था अपरिहार्य रहेको बताए । उनले बजारको माग, उत्पादनको उतारचढाव र श्रमिकको कार्यसम्पादनका आधारमा कम्तीमा ७ दिनको पूर्वसूचना दिएर सेवा समाप्त गर्न सकिने व्यवस्था थप्न, कमजोर कार्यसम्पादन वा अनुशासनहीनता देखिएका श्रमिकको निष्कासन प्रक्रिया सरल बनाउन तथा प्रतिष्ठान आर्थिक संकटमा परी श्रमिक कटौती गर्दा तिर्नुपर्ने अत्यधिक आर्थिक भार पुनरावलोकन गर्न अनुरोध गरे । साथै, श्रमिकको रोजगारी गुमेको अवस्थामा सामाजिक सुरक्षा कोषमार्फत निश्चित मापदण्डका आधारमा बेरोजगारी भत्ता पाउने स्पष्ट कानुनी व्यवस्था गरी रोजगारदाता र श्रमिक दुवैलाई राहत प्रदान गर्नुपर्ने माग राखिएको छ । त्यसैगरी, कार्यस्थलमा भवितव्य वा प्राविधिक त्रुटिबाट हुने दुर्घटनालाई फौजदारी प्रकृतिको ज्यान मुद्दा नबनाई औद्योगिक दुर्घटनाका रूपमा परिभाषित गरी सामाजिक सुरक्षा कोषमार्फत क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । मुलुकी देवानी संहिता अनुरूप १६ वर्ष पूरा भएका व्यक्तिलाई हलुका, सहज तथा गैर-जोखिमपूर्ण काममा नियमानुसार रोजगारीमा संलग्न गराउन श्रम ऐनमा कानुनी सामञ्जस्यता कायम गर्नुपर्ने र कार्यसमयमा बिना अनुमति व्यक्तिगत मोबाइल फोन वा डिजिटल डिभाइसको प्रयोगलाई स्पष्ट रूपमा खराब आचरण अन्तर्गत सूचीकृत गर्नुपर्ने लगायतका मागहरू पनि अघि सारिएका छन् । संघले श्रमिकलाई अतिरिक्त उपलब्धिको रूपमा दिइने इन्सेन्टिभ वा पर्फर्मेन्स बोनसलाई नियमित पारिश्रमिकको अंग नमानिने व्यवस्था गर्न, वार्षिक १३ दिनको पर्व बिदालाई श्रमिकले आफ्नो संस्कृति अनुसार छनोट गर्न पाउने लचिलो नीति ल्याउन, शनिबार र सार्वजनिक बिदा जुधेमा सट्टा बिदा नहुने व्यवस्था गर्न तथा रोकेर चलाउनुपर्ने मेसिनहरूमा कार्यरत श्रमिकको आधा घण्टाको विश्राम समयलाई कार्यसमयमा गणना नगर्न माग गरेको छ । यसका साथै, सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताका आश्रित आमाबुबाको समेत स्वास्थ्योपचार हुने व्यवस्था गर्न र सुविधा उपयोग गर्दा सोको विवरण तत्काल एसएमएसमार्फत उपलब्ध गराउन आग्रह गरिएको छ । सुझाव पत्र ग्रहण गर्दै मन्त्री रामजी यादवले मोरङ उद्योग व्यापार संघले उठाएका विषयहरू व्यावहारिक र समयसापेक्ष रहेको बताए । उद्योगको संरक्षण र लगानी प्रवद्र्धनका लागि श्रम ऐन संशोधनमार्फत हायर एन्ड फायरको नीति समावेश गर्न दृढ प्रतिबद्धता व्यक्त गर्दै मन्त्री यादवले कार्यस्थल दुर्घटनालाई औद्योगिक दुर्घटनाका रूपमा कानुनमा सम्बोधन गर्ने र सामाजिक सुरक्षा कोषलाई थप प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक पहल गर्ने आश्वासन दिए । हालसम्मको श्रम ऐन एकपक्षीय रहेको स्वीकार गर्दै अब आउने संशोधनले उद्योगी र श्रमिक दुवै पक्षका लागि विन-विनको वातावरण निर्माण गरी मुलुकको समग्र आर्थिक र औद्योगिक विकासमा टेवा पुर्याउने विश्वास उनले दिलाए । अध्यक्ष साहको नेतृत्वमा गएको उक्त टोलीमा संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडा, उद्योग उपाध्यक्ष संजय कुमार श्रेष्ठ, महासचिव अमित कुमार सारडा लगायत संघका कार्यसमिति सदस्यहरू तथा मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
बजार अनुगमनमा २ लाख जरिवाना, ७ फर्मलाई निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शनिबार विभिन्न उद्योग तथा फर्ममा बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा एक फर्मलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ भने अन्य फर्मलाई आवश्यक निर्देशन दिइएको छ । विभागका अनुसार ललितपुर महानगरपालिका–१५ खुमलटारस्थित सोफिया स्टोर र महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित राजेन्द्र खाद्य एण्ड सप्लायर्समा अनुगमन गरिएको थियो । राजेन्द्र खाद्य एण्ड सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । सोफिया स्टोरलाई माग गरिएका कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । त्यस्तै, काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित सौगात खाद्यान्न स्टोर, चौधरी खाद्य स्टोर, किसान दाना उद्योग प्रालि र केक प्यालेस प्रालिलाई सामान्य निर्देशन दिइएको छ । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित पूजा किराना पसल तथा फलफूल पसल र महालक्ष्मी नगरपालिका–१८ इमाडोलस्थित प्रदिप लिक्कयरलाई पनि सामान्य निर्देशन दिइएको विभागले जनाएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरिएको जनाएको छ । विभागले उपभोक्ताको हित संरक्षण तथा बजारमा स्वच्छ व्यापारिक वातावरण कायम गर्न अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।