विकासन्युज

दसैंका लागि घर जान थाले यात्रु, अग्रिम टिकट बुकिङको अन्तिम तयारी

काठमाडौं उपत्यकामा दसैं, तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै घर फर्किने यात्रुको चहलपहल तीव्र रूपमा बढेको छ । यस वर्ष चाडपर्व मनाउनका लागि उपत्यकाबाट कम्तीमा ८ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दसैंका लागि घर फर्किने यात्रुको सङ्ख्या क्रमशः बढ्दै गएकाले प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकाहरूमा यात्रुको चाप र आवतजावत बढ्न थालेको छ । यसैगरी नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौंला (सरोज) ले यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकताअनुसार थप सवारीसाधन सञ्चालनको तयारी गरिएको जानकारी दिए ।  अर्कातिर यातायात व्यवस्था विभागले अबको एक/दुई दिनभित्रै गाडीको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ । विभागका निर्देशक मणिराम भुसालका अनुसार सोमबार बस्ने बैठकले बुकिङ कहिलेदेखि खोल्ने भन्ने विषयमा अन्तिम निर्णय गर्नेछ । हाल अवरुद्ध भएका अधिकांश सडकहरू खुलिसकेका र बाँकी सडक पनि सञ्चालनको तयारीमा रहेकाले यात्रालाई सुरक्षित र सुव्यवस्थित बनाउन प्रयास भइरहेको छ ।

नेपाली कांग्रेसको १५औं महाधिवेशन {लाइभ}

काठमाडाैं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पस् समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ आयोजना गरिएको महाधिवेशनको उद्घाटन सत्र खुलामञ्चमा सुरु भएकाे हाे । महाधिवेशनको बन्दसत्र सोमबार र मंगलबार सञ्चालन हुनेछ भने नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

भन्सारका नाममा जनताका निजी सम्पत्ति खोस्ने काम बन्द होस् : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सार नियन्त्रणका नाममा सीमानाकामा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने र दुःख दिने काम भइरहेको आरोप लगाएका छन्। पार्टीको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै साहले भारतबाट स्थलमार्ग हुँदै घरायसी प्रयोजनका लागि ल्याइने सामान्य सामग्रीमा समेत सरकारले भन्सारका नाममा सर्वसाधारणलाई दुःख दिने गरेको बताए ।  तर, हवाईमार्गबाट आउने व्यक्तिले लाखौं मूल्यका सामान ल्याउँदा भने सहजता दिइएको उनको आरोप छ ।  ‘भन्सार नियन्त्रणको नाउँमा निजी सम्पत्ति लुट्ने जो काम भइरहेको छ, त्यो बन्द होस् भन्न चाहन्छौं,’ उनले भने, ‘प्लेनमा आउनेको एउटा नियम छ, महँगा–महँगा सामान ल्याउन पाउने, तर रक्सौल बोर्डरबाट गरिब मान्छेले १० हजारको सामान ल्याउँदा खोसिन्छ ।’ साहले सीमा सुरक्षाका नाममा तराईका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको संख्या र क्याम्प बढाइएकोप्रति पनि असन्तुष्टि जनाए ।  नेपालको सीमा भारतसँग मात्र नभई चीनसँग पनि जोडिएको उल्लेख गर्दै उनले हिमाली, पहाडी तथा पूर्व–पश्चिम सबै क्षेत्रमा सीमा सुरक्षालाई समान प्राथमिकता दिनुपर्ने बताए । ‘के बोर्डर खाली तराईमा मात्र छ कि हिमालमा पनि छ? पहाडमा पनि छ ? पूर्व र पश्चिममा बोर्डर छैन ? अनि तिब्बततिर किन नबढाएको ? चीनको बोर्डरमा किन नबढाएको ?,’ उनले प्रश्न गरे । सीमा सुरक्षा नै उद्देश्य भए सुस्ता र कालापानीलगायतका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उनको भनाइ थियो । ‘सीमा सुरक्षा गर्नलाई हो भने सुस्तामा किन नराखेको ? कालापानीमा किन नपठाएको ?,’ साहले भने, ‘हाम्रो नक्सामा भएको जग्गामा सेना–प्रहरी नपठाउने, अनि जनताको छिनछिनमा दुःख दिन तराईका बोर्डरमा सशस्त्रको संख्या र क्याम्प बढाउने ?’ साहले किसानको समस्या समाधानमा पनि सरकारले ध्यान नदिएको आरोप लगाए । किसानले मलखाद, बजार र उत्पादनको उचित मूल्य नपाएको भन्दै उनले कृषि उत्पादन बिक्री गरेपछि समेत लामो समयसम्म भुक्तानी नपाउने अवस्था रहेको बताए । ‘किसानको हालत खराब छ । किसानको कोही माइबाप छैन। न ऊसँग मलखाद छ, न आफूले उत्पादन गरेको सामानको रेट छ, न मार्केट छ,’ उनले भने । उखु, मकै लगायतका कृषि उपज बिक्री गरेपछि पनि किसानले लामो समयसम्म रकम नपाएको भन्दै उनले किसानलाई उत्पादनका लागि आवश्यक सामग्री, बजार र उचित मूल्य उपलब्ध गराउनु सरकारको दायित्व भएको बताए । सहकारी तथा लघुवित्त पीडितको समस्या समाधानमा समेत सरकार गम्भीर नभएको साहको आरोप छ । पीडितसँग गरिएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई उनले आग्रह गरे । ‘सरकारले सम्झौता मात्र गर्छ, कार्यान्वयन गर्दैन। सम्झौता जुन हातले गर्नुभएको छ, कार्यान्वयन पनि त्यही हातले गर्नुस्। अनि मात्र हामी विश्वास गर्छौँ, जनताले विश्वास गर्छ,’ उनले भने । साहले वर्तमान सरकारसँग रहेको दुई तिहाइको राजनीतिक शक्तिलाई जनताले अनुभूति गर्ने परिणाममा बदल्नुपर्नेमा जोड दिए । तर सरकारले आफ्नो क्षमता र बहुमतअनुसार काम गर्न नसकेको उनको आरोप छ । ‘दुई तिहाइको ताकत छ, यसलाई परिणाममा बदल्नुस्। दुई तिहाइको बोझ जस्तो नठान्नुस्,’ उनले भने, ‘आज सरकारलाई दुई तिहाइको बोझ जस्तो भएको छ । आफ्नै बोझले आफै थिचिने जस्तो भएका छन् ।’ सरकारले १०० दिनमा १०० वटा काम गर्ने घोषणा गरे पनि ६ महिना बितिसक्दा त्यसअनुसारको परिणाम नदेखिएको साहले बताए । सरकार आफैले १०० दिनपछि गरेको कार्यसम्पादन मूल्यांकनमा समेत उत्तीर्ण हुन नसकेको उनको दाबी छ । ‘हामीले १०० बुँदे दिनुभयो, म १०० दिनमा १०० वटा काम गर्छु भन्नुभयो । म सोध्न चाहन्छु, के भयो १०० वटा काममा? के–के काम गर्नुभयो ? कति प्रतिशत गर्नुभयो ?,’ उनले प्रश्न गरे । सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै साहले घोषणामै सीमित नभई परिणाम देखिने गरी काम गर्न सरकारलाई आग्रहसमेत गरे ।

सभापति थापासँग राठोरको प्रतिस्पर्धा, महामन्त्रीमा आकांक्षीको भीड

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन नहुँदै नयाँ नेतृत्वका लागि पदाधिकारीको प्रतिस्पर्धाले राजनीतिक वृत्तमा तरंग ल्याएको छ ।   १५ औं महाधिवेशनको सभापति पदमा वर्तमान सभापति गगनकुमार थापालाई चुनौती दिँदै किशोरसिंह राठोरले उम्मेदवारी घोषणा गरेका छन् । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका दुई पूर्वसभापति राठौर र थापा यसपटक पार्टी सभापतिको महाभीडन्तमा उत्रिने तयारीमा रहेका छन् ।  उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा पनि नेताहरूले धमाधम दाबी प्रस्तुत गरिरहेका छन् । विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औं महाधिवेशनबाट पनि नेतृत्वमा निरन्तरता खोजिरहेका छन् ।  काठमाडौं–४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका थापाले आफूलाई नेतृत्वको स्वाभाविक दाबेदारका रूपमा अघि सारेका छन् ।  राठोरले भने थापाविरुद्ध सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यससँगै सभापति पदमा कम्तीमा दुई जनाबीच प्रतिस्पर्धाको प्रारम्भिक तस्बिर बनेको छ । यद्यपि, उम्मेदवारी दर्ता नभएसम्म अन्तिम प्रतिस्पर्धीको संख्या यकिन हुने छैन । उपसभापतिमा पुरानै अनुहारदेखि नयाँ दाबेदारसम्म दुई उपसभापति पदमा वर्तमान उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसँगै महालक्ष्मी उपाध्याय डिना, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, दीपक गिरी र गोविन्द भट्टराईलगायत नेताहरूको नाम चर्चामा आएको छ । केही नेताहरूले सामाजिक सञ्जालमार्फत त केही नेताहरूले कार्यकर्तामार्फत उम्मेदवारी घोषणा गरेका छन् । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने उपसभापतिको संख्या तीन बनाउने गरी विधान संशोधन भए आफूले उक्त पदमा उम्मेदवारी दिने बताएका छन् । यसले उपसभापतिको निर्वाचनलाई केवल व्यक्तिको प्रतिस्पर्धामा सीमित नराखी पदाधिकारी संरचना परिवर्तनको बहससँग समेत जोडेको छ । महामन्त्रीमा सबैभन्दा धेरै आकांक्षी १५औं महाधिवेशनमा सबैभन्दा बढी प्रतिस्पर्धा महामन्त्री पदमा देखिएको छ । वर्तमान महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे पुनः महामन्त्रीमै प्रतिस्पर्धा गर्ने तयारीमा छन् । उनीहरूसँगै उदयशमशेर राणा, डिला संग्रौला, जीवन परियार, देवराज चालिसे, महेन्द्र यादव, रामहरि खतिवडा, नैनसिंह महर, मधु आचार्य, आङ्गेलु शेर्पा, डा. सुनील शर्मा, रञ्जित कर्ण र अमरसिंह पुनलगायत नेताहरूको नाम महामन्त्रीका आकांक्षीका रूपमा सार्वजनिक भएको छ । पछिल्लो चरणमा शंकर तिवारी र डा.सन्तोष उपाध्यायले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । यसले महामन्त्री पदमा पुराना पदाधिकारीको निरन्तरता र नयाँ पुस्ताको दाबीबीच प्रतिस्पर्धा बढेको देखाएको छ । महामन्त्रीमा आकांक्षीको संख्या बढ्नु कांग्रेसभित्र दोस्रो तहको नेतृत्वका लागि बढ्दो प्रतिस्पर्धाको संकेतसमेत रहेको नेताहरूले बताएका छन् । सहमहामन्त्रीमा पनि क्लस्टरगत प्रतिस्पर्धा १५ औं महाधिवेशनमा सहमहामन्त्री पदमा वर्तमान पदाधिकारीसहित नयाँ नेताहरूले समेत दाबी प्रस्तुत गरेका छन् । फरमुल्लाह मन्सुर, बहादुरसिंह लामा, योगेन्द्र चौधरी, मुक्ताकुमारी यादव, कर्णबहादुर बुढा र प्रकाश रसाइली स्नेही लगायतका वर्तमान पदाधिकारी पुनः प्रतिस्पर्धाको तयारीमा रहेको उनीहरू निकट कार्यकर्ताले बताएका छन् ।  त्यस्तै, अभिषेकप्रताप शाह, प्रतिमा गौतम, मनोजमणि आचार्य, जीवनबहादुर शाही, लक्ष्मी परियार, अजयबाबु शिवाकोटी, जितनारायण श्रेष्ठ, नारायण भट्टराई, विनिता खड्कालगायत नेताहरू पनि सहमहामन्त्रीका आकांक्षी रहेको पाइएको छ । सीता गुरुङले समेत सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन् । यसपटक सहमहामन्त्रीको प्रतिस्पर्धा पनि विभिन्न क्लस्टर र क्षेत्रगत प्रतिनिधित्वको समीकरणसँग जोडिने देखिएको छ । आकांक्षी बढेपछि पदाधिकारी थप्ने तयारी कांग्रेसभित्र पदाधिकारीका आकांक्षी बढ्दै गएपछि पदको संख्या नै बढाउने विषय महाधिवेशनमा प्रवेश गर्ने देखिएको सहमहामन्त्री स्नेहीले जानकारी दिए । हाल कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ निर्वाचित सहमहामन्त्रीको व्यवस्था छ । तर १५औं महाधिवेशनमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या बढाउने प्रस्तावमाथि छलफल भइरहेको नेताहरूले बताएका छन् । उपसभापति तीन, महामन्त्री तीन तथा सहमहामन्त्रीको संख्या पनि बढाउने प्रस्तावमाथि छलफल चलिरहेको नेताहरूको दाबी छ । अन्तिम संख्या भने विधान संशोधनबाट तय हुने एक नेताले जानकारी दिए । पदाधिकारीको संख्या बढाउने बहसले कांग्रेसभित्र नेतृत्वका लागि दाबी गर्ने नेताहरूको संख्या र समूहगत व्यवस्थापनको चुनौती दुवैलाई उजागर गरेको छ । घोषणाभन्दा महत्त्वपूर्ण प्यानल निर्माण कांग्रेस महाधिवेशनमा अहिले सार्वजनिक भएका उम्मेदवारीलाई अन्तिम सूची मान्न मिल्दैन । उम्मेदवारी दर्ताको समय नजिकिँदै जाँदा नेताहरूबीच प्यानल निर्माण, पदको बाँडफाँट र समूहगत सहमतिको प्रयास तीव्र हुने देखिन्छ । विशेषगरी सभापतिका उम्मेदवारले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा कसलाई आफ्नो प्यानलमा समेट्छन् भन्ने विषयले निर्वाचनको वास्तविक समीकरण निर्धारण गर्ने कांग्रेस निकट अधिवक्ता परसुराम घिमिरेले बताए । उनका अनुसार यसपटक कांग्रेसमा देखिएको अर्को विशेषता भनेको एउटै समूहभित्र पनि एउटै पदका लागि धेरै आकांक्षी हुनु हो । महामन्त्री र सहमहामन्त्रीमा देखिएको भीडले त्यसलाई स्पष्ट पार्छ । त्यसैले अहिलेको अवस्थामा कांग्रेसको महाधिवेशनमा मुख्य प्रश्न को उम्मेदवार बन्छ भन्ने मात्र होइन, को कुन समूहबाट र कुन प्यानलमा उम्मेदवार बन्छन् भन्ने बनेको घिमिरेले बताए । कांग्रेसको निर्वाचन प्रक्रियाअनुसार उम्मेदवारी दर्ता भएपछि मात्रै पदाधिकारीको वास्तविक प्रतिस्पर्धी सूची सार्वजनिक निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।  त्यसअघि विधान संशोधनबाट पदाधिकारीको संख्या परिवर्तन भए त्यसले अहिले बनेका समीकरणमा समेत फेरबदल ल्याउन सक्ने आँकलन गर्छन् अधिवक्ता घिमिरे ।

कांग्रेसमा तीनै तहका पदाधिकारी बढाउने समझदारी, संख्या भने अझै टुंगिएन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तीन उच्च तहका पदाधिकारीको संख्या बढाउने विषयमा समझदारी भएको जनाएको छ।   उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या बढाउनेबारे नेताहरूबीच सहमति बने पनि कति संख्या थप्ने भन्ने विषय भने अझै टुंगिन बाँकी रहेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । पार्टीको १५औं महाधिवेशनको बन्दसत्रमा यस विषयमा व्यापक छलफल गरी अन्तिम निर्णयमा पुग्ने तयारी कांग्रेसको छ ।  महाधिवेशन आइतबार (आज)देखि काठमाडौंमा सुरु हुँदैछ र बन्दसत्रमा विधान संशोधनका विषयमा छलफल हुने जनाइएको छ । प्रवक्ता चालिसेका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा पदाधिकारी थप गर्ने विषयमा समझदारी भए पनि अहिले नै यति संख्या थपिने भनेर यकिन भइसकेको छैन । ‘यो विषय अहिले छलफलकै चरणमा छ । भोलि बन्दसत्रमा साथीहरूसँग वृहत्तर छलफल गरेर पर्सिसम्म यसलाई टुंगोमा लगिनेछ। अहिले नै यति जना थप्ने यकिन भइसकेको छैन,’ उनले विकासन्युजसँग भने । कांग्रेसमा हाल दुई जना उपसभापति रहने व्यवस्था छ । यसलाई बढाएर बढीमा चार जनासम्म पु‍र्याउने विषयमा छलफल भइरहेको चालिसेले बताए । ‘पार्टी विभिन्न क्षेत्रमा विस्तारित छ, त्यसैले पनि पदाधिकारी थप गर्ने विषय स्वाभाविक हो,’ उनले भने, ‘यसरी थप गरिने पदाधिकारीलाई कत्तिको कार्यात्मक बनाउन सकिन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ ।’ महामन्त्रीको संख्या पनि बढाउने तयारी भइरहेको छ । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार हाल दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था रहेकामा त्यसलाई बढाएर तीन जना बनाउने विषयमा समझदारी भएको छ । त्यस्तै, हाल आठ जना निर्वाचित र तीन जना मनोनीत गरी ११ जना सहमहामन्त्री रहने व्यवस्था छ । यसलाई बढाएर १३ जना बनाउने विषयमा समझदारी भएको ती पदाधिकारीले बताए । ‘महामन्त्रीमा पनि एक पदाधिकारी थप गर्नेबारे छलफल भएको थियो। सहमहामन्त्रीमा ११ जना रहेकोमा १३ बनाउने समझदारी भएको छ । अब त्यसलाई छलफलपछि टुंगोमा पु‍र्याइनेछ,’ उनले भने । कांग्रेसको १४औं महाधिवेशनमा विभिन्न क्लस्टरका आधारमा आठ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको थियो । त्यसपछि विशेष महाधिवेशनबाट विधान संशोधन गर्दै सभापतिले मनोनयन गर्ने तीन सहमहामन्त्री थपिएपछि सहमहामन्त्रीको संख्या ११ पुगेको हो । पदाधिकारी संख्या बढाउने विषयमा कांग्रेसभित्र पछिल्लो समय विभिन्न प्रस्तावमाथि छलफल हुँदै आएको छ ।  सार्वजनिक विवरणहरूमा उपसभापति तीन, महामन्त्री तीन तथा सहमहामन्त्रीको संख्या १५ सम्म पु‍र्याउने विकल्पसमेत चर्चामा रहेको देखिन्छ । तर अन्तिम संख्या महाधिवेशनको बन्दसत्रबाटै तय हुने बताइएको छ । कांग्रेसको १५औं महाधिवेशन आइतबार दिउँसो २ बजे उद्घाटन हुनेछ । त्यसपछि बन्दसत्रमा विधान संशोधनलगायत विषयमा छलफल हुने र पदाधिकारीको संख्या बढाउने प्रस्तावलाई पनि टुंगो लगाउने तयारी छ । पार्टीले महाधिवेशन असोज १८ देखि २२ गतेसम्म सञ्चालन गर्ने जनाएको छ ।

कांग्रेस महाधिवेशन : यी ८ स्थानमा सवारीसाधनको पार्किङ व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आइतबार (आज)बाट काठमाडौंको खुला मन्चमा सुरु हुँदैछ ।  आइतबार २ बजे कांग्रेसको १५औं महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।  कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरूका लागि सवारीसाधन पार्किङका लागि ८ स्थानमा व्यवस्थापन मिलाएको छ । कांग्रेस महाधिवेशन आयोजक समिति अन्तर्गतको यातायात व्यवस्थापन समितिका संयोजकसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य विजय .बहादुर स्वाँरका अनुसार महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान स्थल र दरवारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थललाई तोकिएको छ । यसैगरी, काठमाडौं उपत्यका बाहिरबाट महाधिवेशन प्रतिनिधि लिएर आउने ठूला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागलाई पार्किङ गर्न मिल्ने गरी ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर, काठमाडौंसँग समन्वय गरिएको स्वाँरले जानकारी दिए । धरहरा अन्डर ग्राउन्ड पार्किङ र अन्नपूर्ण होटलको पार्किङ स्थलमा शुल्क लाग्नेछ भने अन्यत्र निःशुल्क हुनेछ । कांग्रेसले नेता कार्यकर्तालाई निर्धारित स्थानमा सवारीसाधन पार्किङ गरिदिन आग्रह गरेको छ । आफू सवारीसाधन लिएर आएकै क्षेत्रको तोकिएको पार्किङमा सवारीसाधन व्यवस्थापन गरेर आउन कांग्रेसले प्रतिनिधि तथा नेता तथगा कार्यकर्तालाई आग्रहसमेत गरेको छ । 

नेपालमा स्क्रब टाइफसको संक्रमण बढ्दो, ९ महिनामै करिब १० हजार संक्रमित

काठमाडौं । नेपालमा स्क्रब टाइफसको संक्रमण पछिल्लो समय बढ्दै गएको पाइएको छ ।  सन् २०२६ को जनवरी १ देखि अक्टोबर १ सम्म देशभर ७४ जिल्लाका ९ हजार ९२३ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो समय दाङ, सल्यान, बझाङ, स्याङ्जा, बर्दिया, पाल्पा, संखुवासभालगायत जिल्लामा स्क्रब टाइफसको संक्रमण बढी देखिएको छ ।  विशेषगरी सल्यानमा पछिल्लो एक महिनायता संक्रमणको संख्या उल्लेख्य देखिएको छ । सल्यानमा पछिल्लो एक महिनामा मात्रै २१९ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जसमध्ये दार्मा गाउँपालिकामा ११९ र कुमाख गाउँपालिकामा ८२ जना संक्रमित भेटिएका छन् । पछिल्लो एक सातामा मात्रै जिल्लामा ९२ जना नयाँ संक्रमित थपिएका छन । सल्यानमा संक्रमण बढेपछि अवस्थाको थप अनुसन्धान, वस्तुस्थिति अध्ययन तथा आगामी रणनीति तय गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. गोकर्ण दाहाल र डा. हेमराज पाण्डेको टोलीले स्थलगत अध्ययन गरेको छ ।  टोलीले दार्मा गाउँपालिकास्थित दार्माकोटमा स्थानीयसँग छलफल तथा अन्तक्र्रिया गर्दै जोखिम सञ्चारसम्बन्धी गतिविधि सञ्चालन गरेको थियो । कर्णाली प्रदेशबाट खटिएको टोली तथा स्थानीय स्वास्थ्य शाखासँगको समन्वयमा स्थानीय अवस्थाको मूल्यांकन गरी संक्रमण नियन्त्रणका लागि आवश्यक रणनीति तय गरिएको महाशाखाले जनाएको छ ।  यस क्रममा जिल्लाको ठूलो विद्यालयमध्ये एक जनज्योति माध्यमिक विद्यालय, फारुलाचौरका करिब ५०० विद्यार्थी तथा शिक्षकलाई स्क्रब टाइफसबारे अभिमुखीकरणसमेत दिइएको छ । यस्तै, कुमाख गाउँपालिकामा पनि स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई स्क्रब टाइफसबारे अभिमुखीकरण दिइएको छ ।  रोगको निगरानी तथा पहिचानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक जानकारीसमेत प्रदान गरिएको महाशाखाले जनाएको छ । सल्यानमा स्क्रब टाइफसका कारण भएको हुनसक्ने भन्दै २२ वटा मृत्युका घटना जानकारीमा आए पनि ती सबै मृत्यु स्क्रब टाइफसकै कारण भएको पुष्टि नभएको किटजन्य रोग विशेषज्ञ डा. हेमराज पाण्डेले बताए ।  मृत्युका घटनाको थप अध्ययन तथा कारण पहिचान आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार स्क्रव टाइफर्सकै कारण हालसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  के हो स्क्रब टाइफस ?  स्क्रब टाइफस ओरेन्सिया सुसुगामुशी नामक ब्याक्टेरियाका कारण हुने संक्रामक रोग हो । यो रोग नाङ्गो आँखाले देख्न नसकिने एक प्रकारको किर्ना अर्थात् ‘चिगर माइट’को टोकाइबाट मानिसमा सर्छ । स्क्रब टाइफस भएमा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, कमजोरी महसुस हुनेलगायतका लक्षण देखिन सक्छन् ।  समयमै पहिचान र उपचार भएमा यसको उपचार सहजै गर्न सकिन्छ । सरकारी स्वास्थ्य संस्थामा यसको उपचारका लागि आवश्यक औषधि निःशुल्क उपलब्ध हुने महाशाखाले जनाएको छ । त्यसैले लामो समयसम्म ज्वरो आउने, टाउको तथा शरीर दुख्ने जस्ता लक्षण देखिएमा घरमै बसेर औषधि सेवन गर्नुभन्दा तत्काल स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीको सल्लाह लिन महाशाखाले आग्रह गरेको छ । कसरी बच्ने ?  स्क्रब टाइफसबाट बच्न घाँस, दाउरा, खेतबारी, जंगल तथा झाडीमा जाँदा शरीर पूरै ढाक्ने कपडा लगाउन र गमबुट वा जुत्ता प्रयोग गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । खेतबारी वा घाँस–दाउराको काम सकेपछि कपडा फेर्न तथा मनतातो साबुनपानीले नुहाउन पनि सुझाव दिइएको छ । सम्भव भएसम्म कीटनाशक तथा किरा भगाउने रिपेलेन्ट प्रयोग गर्न, घरवरिपरि मुसाको बासस्थान भए त्यसको निगरानी गरी नष्ट गर्न तथा घरवरिपरि सफा राख्न महाशाखाले आग्रह गरेको छ । ज्वरो आएमा तत्काल स्वास्थ्य संस्था जान र स्वास्थ्यकर्मीको सम्पर्कमा रहन पनि महाशाखाले अनुरोध गरेको छ। स्क्रब टाइफसबारे थप जानकारी आवश्यक परे निःशुल्क फोन नम्बर १११५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।  

विधान फेरिए आङ्देम्बे उपसभापतिमा भिड्ने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी तीन जना उपसभापतिको व्यवस्था भए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् । कांग्रेसको १५औं महाधिवेशनले विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या थप गर्ने चर्चा भइरहेका बेला आङ्देम्बेको उम्मेदवारी तयारीबारे विवतरण सार्वजनिक भएको हो । ‘पार्टीको विधान संशोधन गरी उपसभापतिको संख्या तीन बनाउँदा उहाँ उपसभापति पदको उम्मेदवार बन्नुहुन्छ,’ उनी निकट स्रोतले भन्यो । आङ्देम्बे यसअघि कांग्रेसका सहमहामन्त्री थिए । हाल उनी पार्टीको संसदीय दलको नेता छन् । संसदीय दलको नेता बनेपछि उनी १५औं महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिन्छन् भन्ने चासो बढेको थियो । यस्तोमा, विधान संशोधनमार्फत तीन उपसभापति पदको व्यवस्था गरिए उक्त पदमा उम्मेदवार दिने भएका हुन् ।  कांग्रेसमा हाल दुईजना उपसभापतिको व्यवस्था छ ।