शान्ति प्रक्रियाकै बेला गगनलाई भावी कांग्रेस सभापति घोषणा गरेको थिएँ : बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शान्ति प्रक्रियाकै समयमा नेपाली कांग्रेसका नेता गगन थापालाई भावी पार्टी सभापतिका रूपमा आफूले घोषणा गरेको बताएका छन् । कांग्रेसको १५औं महाधिवेशनमा सम्बोधन गर्दै भट्टराईले शान्ति प्रक्रियाका बेला नै थापाको राजनीतिक सम्भावनाबारे आफूले धारणा सार्वजनिक गरेको स्मरण गरेका हुन् । उनले त्यतिबेलै गगन थापा भविष्यमा नेपाली कांग्रेसको नेतृत्वमा पुग्ने नेताका रूपमा आफूले देखेको बताए । ‘शान्ति प्रक्रियाकै बेला मैले गगन थापालाई नेपाली कांग्रेसको भावी सभापति भनेर घोषणा गरेको थिएँ,’ भट्टराईले महाधिवेशनलाई सम्बोधन गर्दै भने । भट्टराईले थापाको राजनीतिक यात्रालाई आफूले लामो समयदेखि नियाल्दै आएको उल्लेख गर्दै कांग्रेसको १५औं महाधिवेशनमा उनको नेतृत्वको विषयले विशेष अर्थ राख्ने संकेतसमेत गरे । कांग्रेसको १५औं महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकको सहभागिता छ । महाधिवेशनले कांग्रेसको आगामी नेतृत्व र नीति तय गर्नेछ ।
रेशम चौधरीको प्रश्नः ‘गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो ?’
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक रेशमलाल चौधरीले गणतन्त्रसँगै पहिचान र धर्म साटिएको भन्दै प्रश्न उठाएका छन् । आइतबाारबाट काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५ औं महाधिवेशनका क्रममा उनले संविधानमा अधिकार सुनिश्चित गरिए पनि कार्यान्वयनको पाटो फितलो रहेको भन्दै राज्यको उच्च ओहोदामा थारू समुदायको पहुँचबारे नेतृत्वसँग जवाफ माग गरेका हुन् । चौधरीले लोकतान्त्रिक आन्दोलनमा आफ्नो समुदायको योगदानको स्मरण गराए । उनले १९ दिने जनआन्दोलनमा आफूहरू पनि सहभागी भएको र गणतन्त्र ल्याउन लाठी तथा पानीको फोहरा खाएको स्मरण गर्दै गणतन्त्र प्राप्तिपछि पहिचान र धार्मिक आस्थामाथि प्रश्न उठेको जिकिर गरे । चौधरीले नेपाली काँग्रेसले कमैया मुक्ति र संविधान निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानमा लेखिएका अधिकारहरू व्यवहारमा नआएको गुनासो गरे । उनले ६–७ प्रतिशत जनसंख्या ओगटेको थारू समुदाय अझै पनि राज्यको निर्णायक तहमा पुग्न नसकेको भन्दै प्रधानन्यायाधीश, सेनापति र मुख्यसचिवजस्ता पदमा थारू समुदायको प्रतिनिधित्व कहिले हुने भनी प्रश्न गरे ।
कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई
काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताएका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले यस्तो बताएका हुन् । उनले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताए । ‘नेपाली कांग्रेसको इतिहास धेरै पढ्यौँ र हेर्यौँ। नेपाली कांग्रेस वास्तवमा हल्लाद्वारा स्थापित भएको पार्टी होइन,’ उनले भने । कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान गरेको राईले बताए । ‘आफ्ना निजी सपना मारेर, राष्ट्र निर्माणका निम्ति सपना त्यागेर, त्यो सपना देखेर निर्माण भएको पार्टी हो,’ उनले थपे । राईले कांग्रेसले आगामी दिनमा सत्तामा कति समय रहनेभन्दा पनि जनताका पक्षमा कति राम्रो काम गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
राजनीतिको सार्थकता जनताको जीवन परिवर्तनमा छः महामन्त्री घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राजनीति र लोकतन्त्रको सार्थकता जनताको जीवनस्तर सुधार र राष्ट्रको प्रतिष्ठासँग जोडिएको बताएका छन् । काठमाडौंको खुलामञ्चमा आइतबारबाट सुरु भएको पार्टीको १५ औं महाधिवेशनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले लोकतन्त्रका नाममा प्राप्त अवसरभन्दा जनताका समस्याको समाधान मुख्य भएको जिकिर गरेका हुन् । महामन्त्री घिमिरेले लामो समयसम्म विभिन्न राजनीतिक दलहरूले देशको नेतृत्व गरे पनि जनतामा रहेको निराशा चिर्न नसकेको स्वीकार गरे । उनले नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको सपनालाई स्मरण गर्दै, देशलाई समुन्नत र नेपाली जनतालाई सुखी बनाउनु नै पार्टीको मुख्य अभीष्ट हुनुपर्नेमा जोड दिए । महामन्त्री घिमिरेले देशका प्रमुख राजनीतिक दलहरूका शीर्ष नेताहरूलाई साक्षी राख्दै राजनीतिको केन्द्रमा राष्ट्र र जनतालाई राखेर अगाडि बढ्न आग्रह गरे । घिमिरेले पार्टीको यो महाधिवेशनले नेतृत्वमा पुस्तान्तरणको प्रक्रियालाई सार्थकता दिने विश्वास व्यक्त गरे । सहिदहरूको बलिदानी र आन्दोलनका उपलब्धिहरूलाई जोगाउँदै आम नागरिकको भावनाअनुसार पार्टीलाई अगाडि बढाउनुपर्ने चुनौती रहेको उनको भनाइ छ । लोकतन्त्रको सार भनेको पंक्तिमा उभिएको अन्तिम नागरिकको जीवन बदल्नु हो भन्दै उनले उपस्थित प्रतिनिधिहरूलाई नयाँ संकल्पका साथ अघि बढ्न आह्वानसमेत गरे ।
कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो : उपसभापति भुसाल
काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औं महाधिवेशन पार्टीको वर्तमान र भविष्यबारे गम्भीर छलफल र संवाद गर्ने थलो भएको बताएकी छन् । आइतबार (आज) काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेको कांग्रेसले आफ्नो वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यको बाटो तय गर्नुपर्ने बताइन् । ‘२००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने थलोको रूपमा यो महाधिवेशन हुन गइरहेको छ,’ उनले भनिन् । भुसालले महाधिवेशन केवल पद व्यवस्थापन र नेतृत्व चयनका लागि मात्रै नभएको बताइन् । कांग्रेसका नेता–कार्यकर्ता मात्रै नभई लोकतन्त्र र कांग्रेसमा विश्वास गर्ने सबैले पार्टीको अवस्थाबारे आत्मसमीक्षा गर्ने अवसरका रूपमा महाधिवेशनलाई लिनुपर्ने उनको भनाइ छ । ‘यो महाधिवेशन पद व्यवस्थापन गर्नका लागि मात्र भइराखेको छैन । यो महाधिवेशन कांग्रेसका नेता र कार्यकर्ता मात्रै होइन, लोकतन्त्रमा र कांग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलो बन्नुपर्छ,’ भुसालले भनिन् ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा पुगे सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन खुलामञ्च पुगेका छन् । सत्तारूढ दलका सभापतिसमेत रहेका लामिछाने आइतबार (आज) दिउँसो कांग्रेस महाधिवेशनस्थल पुगेका हुन् । कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू खुलामञ्चमा भेला भएका छन् । लामिछानेसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र रेशमलाल चौधरीलगायत नेताहरू पनि उद्घाटन समारोहमा सहभागी भएका छन् । कांग्रेसको १५औं महाधिवेशनमा पार्टीको नयाँ नेतृत्व चयन हुँदैछ । महाधिवेशनलाई कांग्रेसले नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ । महाधिवेशनको उद्घाटनपछि निर्धारित कार्यतालिकाअनुसार बन्दसत्र, उम्मेदवारी दर्ता तथा निर्वाचन प्रक्रिया अघि बढ्नेछ । महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ ।
कांग्रेस बदल्ने गगनको खाका : गुट अन्त्यदेखि छाया सरकारसम्म
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औं महाधिवेशनमा पेश गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरणका लागि महत्त्वपूर्ण प्रस्ताव अघि सारेका छन् । प्रतिवेदनले कांग्रेसको विगतको समीक्षा गर्दै पछिल्लो समय सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिका कारण जनतासँग दूरी बढेको स्वीकार गरेको छ । अब पार्टीलाई नयाँ राजनीतिक संस्कार र कार्यशैलीसहित अघि बढाउने प्रस्ताव प्रतिवेदनमा गरिएको छ । प्रतिवेदनमा भदौ २३ र २४ गतेको आन्दोलन तथा त्यसपछिको राजनीतिक घटनाक्रमलाई षड्यन्त्रका रूपमा मात्र नहेरी त्यसले उठाएका सुशासन, अवसर, न्याय र समानताका मागलाई सम्बोधन गर्नुपर्ने उल्लेख छ । आन्दोलनका क्रममा राज्यबाट भएको बल प्रयोग, हिंसा र क्षतिको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय र क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गरिएको छ । फागुन २१ को निर्वाचन परिणामलाई पनि कांग्रेस र नागरिकबीच बढेको दुई दशक लामो दूरीको परिणामका रूपमा आत्मसमीक्षा गर्नुपर्ने उल्लेख छ । निर्वाचनपछिको भूमिकामा कांग्रेसलाई प्रभावकारी प्रमुख प्रतिपक्षका रूपमा स्थापित गर्ने प्रस्ताव छ । सरकारका कामको तथ्यमा आधारित निगरानी, भ्रष्टाचार र अधिकार हननविरुद्ध खबरदारी तथा वैकल्पिक नीति प्रस्तुत गर्न संघीय र प्रदेश तहमा ‘छाया सरकार’को अवधारणा अघि सारिएको छ । आगामी निर्वाचनमा पूर्वनिर्वाचन गठबन्धन नगर्ने र कांग्रेस आफ्नै चुनाव चिह्न, उम्मेदवार तथा एजेन्डासहित जनतामाझ जाने प्रस्ताव प्रतिवेदनमा छ । उम्मेदवार छनोटमा गुट, पहुँच र आर्थिक प्रभावभन्दा योग्यता, योगदान र कार्यसम्पादनलाई आधार बनाउने तथा प्राथमिक निर्वाचन, जनमत संग्रह वा पार्टी सदस्यको प्रत्यक्ष मतदानजस्ता विधि अपनाउने प्रस्ताव गरिएको छ । वैचारिक रूपमा राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई २१औं शताब्दीअनुकूल पुनव्र्याख्या गर्ने प्रस्ताव गरिएको छ । राष्ट्रियतालाई ऊर्जा, खाद्य, प्रविधि, वित्त र ज्ञानको क्षमतासँग जोड्दै लोकतन्त्रलाई निर्वाचनमा मतदान गर्ने प्रक्रियाभन्दा नागरिकको निरन्तर सहभागिता र निर्णय प्रक्रियासम्म विस्तार गर्नुपर्नेमा जोड दिइएको छ । आर्थिक क्षेत्रमा निजी क्षेत्रलाई रोजगारी, उत्पादन, लगानी र नवप्रवर्तनको प्रमुख साझेदारका रूपमा स्थापित गर्ने प्रस्ताव छ । लगानी सुरक्षा, नीतिगत स्थिरता र व्यवसाय गर्ने वातावरण सुधार गर्दै रेमिट्यान्सलाई कृषि, उद्योग, पर्यटन र प्रविधिमा लगानी गर्ने वातावरण बनाउने तथा जलविद्युत् र स्वच्छ ऊर्जालाई औद्योगिकीकरण र हरित निर्यातसँग जोड्ने योजना अघि सारिएको छ । ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणाअन्तर्गत आर्थिक वृद्धि मात्रै नभई शिक्षा, स्वास्थ्य, पोषण, सीप, क्षमता र अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ । सुरुवातदेखि नै समान अवसर सिर्जना गर्ने ‘पूर्व–वितरणात्मक न्याय’को अवधारणालाई शिक्षा, स्वास्थ्य, सीप, वित्तीय पहुँच र रोजगारीसँग जोडिएको छ । युवाका लागि देशभित्रै सम्मानजनक रोजगारी सिर्जना गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित र अधिकारमुखी बनाउने तथा आप्रवासी नेपालीको सामाजिक सुरक्षा र रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने प्रस्ताव छ । जनसंख्या र बसाइँसराइको बदलिँदो स्वरूपअनुसार प्रशासनिक सीमाभन्दा नागरिक वास्तवमा कहाँ बस्छन् र कहाँ सेवा चाहिन्छ भन्ने आधारमा विकास योजना बनाउनुपर्ने उल्लेख गरिएको छ । कृषि, ऊर्जा, पानी, पर्यटन, उद्योग र डिजिटल प्रविधिलाई उत्पादनमुखी अर्थतन्त्रको आधार बनाउने प्रस्ताव पनि प्रतिवेदनमा छ । जलवायु परिवर्तनलाई आर्थिक तथा राष्ट्रिय सुरक्षाको विषयका रूपमा लिएर पूर्वाधार, बस्ती र विकास योजनामा विपद् जोखिमलाई अनिवार्य रूपमा समेट्नुपर्नेमा जोड दिइएको छ । प्रविधि र कृत्रिम बौद्धिकता (एआइ)ले रोजगारी, शिक्षा र ज्ञानको क्षेत्रमा ल्याउने परिवर्तनअनुसार शिक्षा तथा सीप प्रणालीलाई पुनर्संरचना गर्ने प्रस्ताव छ । सामाजिक क्षेत्रमा जातीय विभेद, बालविवाह, लैंगिक हिंसा, कुपोषण, शिक्षा र स्वास्थ्यसँगै ज्येष्ठ नागरिक, बालबालिका, महिला तथा कमजोर वर्गको सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ । संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा प्रशासनिक र वित्तीय संघीयता बलियो बनाउने प्रस्ताव छ । संविधान संशोधन आवश्यक भए राष्ट्रिय सहमतिको आधारमा गर्नुपर्ने र संक्रमणकालीन न्यायलाई राजनीतिक सौदाबाजीको विषय नबनाई सत्य, न्याय र परिपूरणसहित टुंग्याउनुपर्ने उल्लेख छ । पार्टीभित्र आर्थिक पारदर्शिता, नियमित लेखापरीक्षण, आचारसंहिता र भ्रष्टाचार आरोपमा परेका नेतामाथि छानबिनको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ । न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र प्रशासनमा पार्टीगत भागबन्डा नगर्ने तथा आफ्ना नेता वा कार्यकर्ताको भ्रष्टाचारलाई समेत संरक्षण नगर्ने प्रतिबद्धता प्रतिवेदनमा राखिएको छ । प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने संवैधानिक व्यवस्था, निर्वाचनमा ‘नन अफ द अबभ’को विकल्प, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार तथा निर्वाचन प्रणालीलाई थप सहभागीमूलक र पारदर्शी बनाउने प्रस्ताव पनि अघि सारिएको छ । युवाको असन्तुष्टि र जेनेरेसन–जेडका माग अध्ययन गर्न स्वतन्त्र युवा विज्ञ कार्यदल गठन गर्ने र त्यसका सुझावलाई नीति निर्माणमा अनिवार्य रूपमा समेट्ने प्रस्ताव छ । सहिद, घाइते तथा विस्थापित परिवारका लागि १० करोड रुपैयाँको अक्षयकोष स्थापना गरी शिक्षा र स्वास्थ्यमा दीर्घकालीन सहयोग गर्ने योजना पनि प्रतिवेदनमा समेटिएको छ । थापाले पार्टीको संगठनलाई पाँच पुस्ताबीचको सहकार्यमा अघि बढाउने, नेतृत्व विकास तथा नीति निर्माणका लागि प्रशिक्षण, नीति, निर्वाचन र सुशासनसम्बन्धी संस्थागत संरचना निर्माण गर्ने प्रस्ताव गरेका छन् । पहिलो १०० दिनमा पार्टीको विगत दुई दशकको राजनीतिक तथा सांगठनिक कार्यसम्पादन समीक्षा गर्ने, पहिलो वर्षमै प्रदेशगत कार्यदलमार्फत शिक्षा, पोषण, रोजगारी, सुशासन र हरित विकासका कार्यक्रम अघि बढाउने तथा प्रत्येक वर्ष ‘समुन्नति प्रतिवेदन’ सार्वजनिक गर्ने प्रस्ताव पनि प्रतिवेदनमा छ । समग्रमा थापाको प्रतिवेदनले नेतृत्व परिवर्तनभन्दा व्यापक राजनीतिक संस्कार, पार्टी संगठन, अर्थतन्त्र, रोजगारी, निजी क्षेत्र, युवा, प्रविधि, सामाजिक सुरक्षा, संघीयता र सुशासनमा रूपान्तरणलाई कांग्रेसको आगामी कार्यदिशाका रूपमा प्रस्तुत गरेको छ ।
दसैंका लागि घर जान थाले यात्रु, अग्रिम टिकट बुकिङको अन्तिम तयारी
काठमाडौं उपत्यकामा दसैं, तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै घर फर्किने यात्रुको चहलपहल तीव्र रूपमा बढेको छ । यस वर्ष चाडपर्व मनाउनका लागि उपत्यकाबाट कम्तीमा ८ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दसैंका लागि घर फर्किने यात्रुको सङ्ख्या क्रमशः बढ्दै गएकाले प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकाहरूमा यात्रुको चाप र आवतजावत बढ्न थालेको छ । यसैगरी नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौंला (सरोज) ले यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकताअनुसार थप सवारीसाधन सञ्चालनको तयारी गरिएको जानकारी दिए । अर्कातिर यातायात व्यवस्था विभागले अबको एक/दुई दिनभित्रै गाडीको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ । विभागका निर्देशक मणिराम भुसालका अनुसार सोमबार बस्ने बैठकले बुकिङ कहिलेदेखि खोल्ने भन्ने विषयमा अन्तिम निर्णय गर्नेछ । हाल अवरुद्ध भएका अधिकांश सडकहरू खुलिसकेका र बाँकी सडक पनि सञ्चालनको तयारीमा रहेकाले यात्रालाई सुरक्षित र सुव्यवस्थित बनाउन प्रयास भइरहेको छ ।