विकासन्युज

म्युजिकल चियरजस्तो बनेको राजनीतिले भदौ २३ र २४ निम्त्यायो : थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन् ।  यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणाम भदौ २३ र २४ गतेको आएको उनको भनाइ छ । नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति फेरि नेतृत्वमा दोहोरिरहने र मन्त्री बनेका व्यक्ति पनि पटकपटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको बताए । ‘म्युजिकल चियरजस्तो बनेको थियो । प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,’ थापाले भने, ‘यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो ।’ राजनीति समाजका हरेक क्षेत्रमा हाबी भएको भन्दै थापाले सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म अत्यधिक राजनीतिकरण भएको बताए । फेसबुकदेखि ट्विटरलगायतका माध्यममा हरेक विषयलाई राजनीतिक दृष्टिले हेर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो । ‘अति राजनीति पनि छ । फेसबुकदेखि ट्विटरदेखि सबै क्षेत्रमा राजनीति हुन्छ। फेरि जनता हाइपर पोलिटिक्सतिर गयो । जे भए पनि राजनीतिको आँखाले हेर्न थालियो,’ उनले भने ।   राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि विस्तारै बढ्दै गएर ‘भुसको आगो’ जस्तो बनेको थापाले बताए । त्यसले कुनै एउटा दल वा नेतालाई मात्रै नभई समग्र राजनीतिक प्रणाली र नेतृत्वलाई नै प्रभावित गरेको उनको भनाइ थियो । ‘यो भुसको आगोले सबैलाई एकैपटक खायो,’ उनले भने । थापाले दुई पार्टी मिलेर बनेको दुईतिहाइको सरकार र त्यसको कार्यशैलीबारे जनतासँग पर्याप्त संवाद हुन नसकेको बताए ।  राजनीतिक दलहरूले बदलिँदो जनभावना र असन्तुष्टिलाई समयमै बुझ्न नसक्दा भदौ २३ र २४ गतेको परिस्थिति आएको उनको भनाइ थियो । ‘दुई पार्टी मिलेर बनेको थियो दुईतिहाइको सरकार । सबैले थाहै पाएनन्, जसका कारण भदौ २३ र २४ आयो,’ थापाले भने । भदौ २३ र २४ को घटनाबाट कांग्रेससहित अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत प्रभावित भएको उनले बताए । त्यसबाट पाठ सिक्दै कांग्रेसले आफूलाई सम्हाल्न विशेष महाधिवेशनमा गएको उनले स्मरण गरे । ‘यहीँ हामीले बुझेनौँ। यसले कांग्रेस र अन्य पार्टीका नेता र कार्यकर्ता पनि भिक्टिम भए। तर पनि हामी सम्हालिनुपर्छ भनेर विशेष महाधिवेशनमा गयौं,’ उनले भने । विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा गएको तर परिणाम आफ्नो पक्षमा आउन नसकेको उनले बताए । कांग्रेसले यसअघि पनि विभिन्न निर्वाचनमा हार र जित बेहोर्दै आएको उल्लेख गर्दै थापाले अहिले पार्टी नयाँ महाधिवेशनको चरणमा प्रवेश गरेको बताए । ‘त्यसपछि चुनावमा गयौं तर हाम्रो पक्षमा आएन। कांग्रेसले धेरै चुनावमा हार्ने र जित्ने गरेको छ । अब नयाँ महाधिवेशनमा अहिले होमिएका छौं,’ उनले भने । थापाले १५औं महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने बताए । जनतामा बढेको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास चिर्न कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र राजनीतिक कार्यशैलीमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’ योजना, दराजमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन गर्ने भएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले हरेक सोमबार दराज नेपालमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । योजनाअन्तर्गत डेबिट कार्ड प्रयोगकर्ताले न्यूनतम १ हजार ९ सय ९९ रुपैयाँको खरिदमा १० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म छुट पाउनेछन् ।  त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताले सोही न्यूनतम खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् । बैंकका अनुसार यो योजना हरेक सोमबार मात्र लागू हुनेछ। छुट सीमित संख्यामा उपलब्ध हुने र पहिलो आउने ग्राहकलाई प्राथमिकता दिइने भएकाले ग्राहकले समयमै योजनाको लाभ लिन सक्नेछन् । डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारलाई प्रोत्साहन गर्दै ग्राहकलाई आधुनिक, सुरक्षित र नगदरहित बैंकिङ सेवाको प्रयोगमा थप आकर्षित गर्ने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ ।  यस्ता योजनाले ग्राहकलाई दैनिक कारोबारमा सुविधा, बचत तथा थप मूल्य प्रदान गर्ने बैंकको विश्वास छ । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।

थापा भन्छन्– संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन् ।  संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उनले बताएका हुन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताए ।  नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उनले स्मरण गरे। ‘खुलामञ्च १० वर्षपछि खुलेको छ । यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भने, ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन् ।’ जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत यही खुलामञ्चबाट भाषण गरेको स्मरण गर्दै थापाले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताए । ‘खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ,’ उनले भने । थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताए । त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उनको भनाइ थियो । ‘संसद अहिले खुला छैन । जनतालाई प्रधानमन्त्रीले जनताको ठूलो कुरा नसुनेसम्म खुला रहँदैन,’ उनले भने । सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र जनतासँग संवाद गर्नुपर्ने भन्दै थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने बताए ।  संसद जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई थप खुला र उत्तरदायी बनाउनुपर्ने उनको भनाइ थियो । थापाले पहाडदेखि तराईसम्म र भौतिक ठाउँदेखि विद्युतीय माध्यमसम्म खुला संवादका थलो आवश्यक रहेको बताए । नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनुपर्ने उनको धारणा थियो । पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै थापाले नेतामाथि प्रश्न उठाउँदा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य गर्नुपर्ने बताए । ‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उनले भने । उनले फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बताए ।  लोकतन्त्र बाहिर मात्रै खोजेर नहुने भन्दै थापाले राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने धारणा राखे । ‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भने । १० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु पनि खुला संवाद र जनताबीचको सम्बन्धलाई पुनः स्थापित गर्ने प्रतीक भएको उनको भनाइ थियो ।  खुलामञ्चलाई राजनीतिक सभा गर्ने ठाउँका रूपमा मात्रै नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदानको खुला थलोका रूपमा विकास गर्नुपर्ने उनले बताए ।

एनपीएल प्रसारणमा नेपाल लाइफ ‘पावर्ड बाई’ पार्टनर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल प्रिमियर लिग (एनपीएल) को टेलिभिजन प्रसारणका लागि हिमालय स्पोट्र्स एचडीसँग ‘पावर्ड बाई’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यससम्बन्धी सम्झौता एक समारोहबीच सम्पन्न भएको कम्पनीले जनाएको छ । सम्झौता एनपीएलको टेलिभिजन प्रसारणसँग सम्बन्धित रहेको छ । यस वर्षको टी–२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग आगामी कात्तिक ८ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुने तय भएको छ । नेपालमा क्रिकेट खेल मात्र नभई साझा उत्साह, भावना र राष्ट्रिय एकताको माध्यमका रूपमा विकसित हुँदै गएको भन्दै नेपाल लाइफले एनपीएलको प्रसारण यात्रासँग सहकार्य गरेको जनाएको छ ।  देशका विभिन्न भूगोल, समुदाय र पुस्ताका नेपालीलाई एउटै उत्साहमा जोड्ने क्रिकेटको विशेषतासँग आफ्नो ब्रान्डको भावनालाई जोड्दै यो साझेदारी गरिएको कम्पनीको भनाइ छ । नेपाल लाइफका लागि यो सहकार्य प्रसारण साझेदारीमा मात्र सीमित नभई खेलप्रतिको प्रेम, नेपालीबीचको आत्मीयता र खेलकुदले सिर्जना गर्ने राष्ट्रिय एकतासँग जोडिने अवसरसमेत भएको कम्पनीले जनाएको छ ।  मैदानमा विभिन्न टोलीबीच प्रतिस्पर्धा भइरहँदा टेलिभिजनमार्फत देशभरका दर्शक एउटै खेल, उत्साह र भावनामा जोडिने कम्पनीको विश्वास छ । नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले खेलकुदले मानिसलाई नजिक ल्याउने, साझा खुसी सिर्जना गर्ने र एकताको भावना बलियो बनाउने भएकाले एनपीएलजस्तो लोकप्रिय प्रतियोगिताको प्रसारणमार्फत देशभरका दर्शकसँग जोडिनु विशेष महत्वको विषय भएको बताए । उनले यो सहकार्यलाई नेपाली खेलकुद क्षेत्रको प्रवर्द्धन, विकास र उत्थानमा सहयोग पु‍र्याउने कम्पनीको प्रतिबद्धताको हिस्साका रूपमा लिएको बताए । खेलकुदले समाजमा सकारात्मक ऊर्जा, एकता र आपसी सम्बन्धलाई थप मजबुत बनाउने भएकाले यस्ता प्रसारण प्लेटफर्मसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने कम्पनीले जनाएको छ ।

देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडिदिँदा राम्रो हुने सुझाव दिएका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसको नयाँ नेतृत्वलाई पूर्वसभापति देउवाका विषयमा यस्तो सुझाव दिएका हुन् । ‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु,’ लामिछानेले भने । उनले कांग्रेसको लामो राजनीतिक इतिहासको सम्मान गर्दै पार्टीले अब नयाँ पुस्ता र नयाँ राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताए ।  कांग्रेसको इतिहास उसको ठूलो शक्ति भएको भन्दै उनले त्यसबाट पाठ सिकेर नयाँ यात्रामा अघि बढ्नुपर्ने धारणा राखे। कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको आफूले सधैँ सम्मान गर्ने भन्दै सभापति लामिछानेले कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए । नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले आफू अहिलेको मञ्चमा सत्तापक्षको भए पनि एक्लो प्रतिपक्षीजस्तो देखिएको बताए ।  उनले आफू प्रायः एक्लै रहने बानी परेको भन्दै त्यसलाई समेत राजनीतिक प्रसंगसँग जोडेर व्यंग्यात्मक शैलीमा प्रस्तुत गरे । ‘आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु । सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष । प्रायः एक्लो हुने बानी पनि छ मलाई,’ लामिछानेले भने । लामिछानेले नेपाली कांग्रेसको लामो राजनीतिक इतिहासलाई उसको ठूलो राजनीतिक पुँजीका रूपमा व्याख्या गरे । कांग्रेसले नेपालको लोकतन्त्र स्थापना र राजनीतिक परिवर्तनका लागि गरेको योगदानलाई आफूले सधैँ सम्मान गर्ने उनको भनाइ थियो । ‘नेपाली कांग्रेसको शक्ति इतिहास हो । कमजोर पनि इतिहास हो,’ उनले भने, ‘कांग्रेसको इतिहासबाट पाठ सिक्नैपर्छ । यसमा हामी पाठ सिकेर अगाडि बढ्नेछौं ।’ उनले कांग्रेसले विगतमा खेलेको भूमिका र हासिल गरेका उपलब्धिसँगै त्यसका कमजोरीबाट समेत नयाँ पुस्ताले सिक्नुपर्ने बताए ।  इतिहासलाई केवल गौरव गर्ने विषयका रूपमा नभई आगामी राजनीतिक यात्राका लागि सिकाइका रूपमा लिनुपर्ने उनको भनाइ थियो। लामिछानेले आफू पनि कांग्रेसमा हुन सक्ने सम्भावनाको प्रसंगसमेत सुनाए । कांग्रेसले नयाँ पुस्तालाई समयमै नेतृत्व र राजनीतिक अवसर दिएको भए आफू कांग्रेसमै हुन सक्ने संकेत गर्दै उनले पार्टीहरूले नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई सम्बोधन गर्नुपर्ने बताए । भाषण, नारा र घोषणापत्रमा मात्रै सीमित हुने राजनीति अब पर्याप्त नहुने भन्दै लामिछानेले जनताले राजनीतिक दलको काम र परिणाम हेर्न थालेको बताए । आफूहरूले काम गर्न नसके जनताले निर्वाचनमार्फत निर्णय गर्न सक्ने भन्दै उनले जनताको मतको सम्मान गर्नुपर्ने बताए । मुलुकको सवालमा भने राजनीतिक दल र झन्डाको भिन्नता गौण हुने लामिछानेको भनाइ थियो। राष्ट्रिय हितका विषयमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने उनले बताए । ‘पार्टीको कुरा होइन, मुलुक र देशको कुरा आउँछ त्यतिबेला पार्टी र झन्डा फरक हुँदैन,’ उनले भने। लामिछानेले वर्तमान सरकार कमजोर भएको चर्चा हुने गरेको भन्दै सरकार नढल्ने दाबी गरे। सरकार परिवर्तनको निर्णय राजनीतिक दलको दबाब वा चर्चाबाट नभई जनताको मतबाट हुने भन्दै उनले निर्वाचनलाई त्यसको आधारका रूपमा प्रस्तुत गरे । ‘सरकार कमजोर भयो भन्ने पनि सुनिन्छ। यो सरकार ढल्दैन, नढलेपछि अरू ढल्छन्,’ उनले भने। लोकतन्त्रको ठेक्का कुनै एउटा राजनीतिक दलले लिन नहुने भन्दै लामिछानेले लोकतन्त्र खतरामा परे जनताले त्यसको रक्षा गर्ने बताए । आफूहरूलाई हटाउने वा विस्थापित गर्ने अधिकार पनि निर्वाचनमार्फत जनतामै रहेको उनको भनाइ थियो ।

‘सरकार बिल्कुल ढल्दैन, पाँच वर्षमा काम भएन भने सुरुमा रास्वपाको सदस्यता च्यात्नूहोला’

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकार पाँच वर्षसम्म नढल्ने दाबी गरेका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा बोल्दै उनले सरकार ढल्ने चर्चा भइरहे पनि त्यसमा विश्वास नगर्न आग्रह गरे । ‘सरकार दशैं-तिहारमा ढल्छ भनेको सुन्छु । सरकार बिल्कुल ढल्दैन,’ उनले भने । लामिछानेले रास्वपाले पाँच वर्षको अवधिमा काम गर्न नसके पार्टीको सदस्यता च्यात्नसमेत आग्रह गरे । ‘यो पाँच वर्ष रास्वपाले काम गर्न सकेन भने सुरुमा रास्वपाको सदस्यता च्यात्नूहोला,’ उनले भने । उनले सरकार व्यक्तिलाई हेरेर नभई जनताको मतबाट बनेको बताए । ‘हामीले व्यक्तिलाई चुनेका होइनौं । विदेशीले बनाएको सरकार भनेर नभन्नूहोला । यो नेपाली जनताले बनाएको सरकार हो,’ उनले भने । लामिछानेले आन्दोलनबाट सरकार ढाल्ने प्रयास नगर्न र सरकार परिवर्तन गर्नुपरे निर्वाचनको माध्यमबाट गर्नुपर्ने धारणा राखे । ‘आन्दोलनले सरकार ढाल्नेतिर नलागौं । चुनावबाट मात्रै सरकार ढालौं,’ उनले भने । उनले लोकतन्त्रलाई कुनै खतरा नरहेको दाबी गर्दै खतरा उत्पन्न भए त्यसको रक्षा गर्ने जनता रहेको बताए । ‘लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्,’ उनले भने । लामिछानेले आफू कांग्रेसको सदस्यसमेत बन्न सक्ने अवस्था रहेको उल्लेख गर्दै कांग्रेसले दूरदराज र पिछडिएका क्षेत्रलाई अवसर दिएको भए आफू कांग्रेस हुन सक्ने बताए । ‘म पनि कांग्रेस हुन्थेँ हुँला । यदि कांग्रेसले दूरदराज र पिछडिएका क्षेत्रलाई अवसर दिएको भए,’ उनले भने । दुई राजनीतिक दल एक ठाउँमा आउँदा संकट सिर्जना हुन सक्ने आफ्नो विगतको भनाइ स्मरण गर्दै उनले अहिलेको परिवर्तनको रक्षा गर्न रास्वपा अग्रपंक्तिमा रहने बताए । पुँजी बजार, अर्थतन्त्र र कूटनीतिका विषयमा देखिएका चिन्ताप्रति पनि उनले प्रतिक्रिया दिए । ‘पुँजी बजार बिग्रिने त होइन, अर्थतन्त्र समस्यामा पर्ने त होइन, कूटनीति बिग्रिने त होइन भन्ने चिन्ता धेरैमा छ । त्यो चिन्ता नगर्दा हुन्छ,’ उनले भने । उनले अहिलेको परिवर्तनको रक्षा गर्न रास्वपा अग्रपंक्तिमा रहनेसमेत बताए ।

गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नूस् : दाहाल

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको बताएका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले गगन थापालाई बधाई दिँदै उनको नेतृत्व गर्ने क्षमता आफूले यसअघि नै देखेको बताए ।  उनले आफूले प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै थापाको राजनीतिक यात्राप्रति आफू खुसी रहेको बताए । ‘गगनजीलाई बधाई छ । गगनजीमा नेतृत्व गर्ने क्षमता छ । अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ । आज त्यही देखिरहेको छु,’ दाहालले भने । विषम राजनीतिक परिस्थितिका बीच थापा कांग्रेसको नेतृत्वमा आउनु आफैमा ‘क्रमभंग’ भएको उनको भनाइ छ । ‘यो क्रमभंग हो । निरन्तरतामा क्रमभंग गरेर तपाईं पार्टीको नेतृत्वमा आउनुभएको छ,’ उनले भने । दाहालले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई समेत जोडेर अघि बढ्न थापालाई आग्रह गरे । पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्ने भन्दै उनले कांग्रेसको नयाँ नेतृत्वले सबैलाई समेट्ने प्रयास गर्नुपर्ने बताए । थापा अब पार्टीको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्ने प्रचण्डले बताए । त्यसका लागि आफ्नो साथ र सहयोग रहने उनको भनाइ छ । ‘अहिले तपाईं देशको नेतृत्व गर्ने बाटोमा हिँड्नु होला, हामी साथ दिन तयार छौं,’ दाहालले भने । उनले मुलुकमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै राजनीतिक दलहरू सचेत हुनुपर्ने बताए ।  लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । शान्ति सम्झौताका केही काम अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै प्रचण्डले ती काम समयमै टुंग्याउनुपर्ने बताए । शान्ति प्रक्रियाका बाँकी विषय समाधान हुन नसके मुलुक फेरि द्वन्द्वतर्फ जान सक्ने जोखिम रहेको उनको भनाइ थियो । ‘शान्ति सम्झौताका केही चिज अझै टुंग्याउन बाँकी छ । यो टुंगिएन भने देश फेरि अर्को द्वन्द्वमा जानसक्छ । यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ,’ उनले भने । मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने बताउँदै दाहालले नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे । ‘सबै मिलेर समृद्ध नेपालको विकास गर्न सबै मिलेर जानेछौं भन्ने विश्वास छ,’ उनले भने ।

महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौं : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औं महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताएका छन् ।  महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने उनले बताए । महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका हरेक संकटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।  जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको संघर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ । फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै शर्माले मुलुकलाई सफल बनाउन आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको बताए ।  राष्ट्रिय हितका महत्वपूर्ण विषयमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ । जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनेजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा पनि शर्माले जोड दिए ।  देशभित्र र देशबाहिर रहेका नेपालीलाई जोड्ने गरी राज्यले नीति बनाउनुपर्ने भन्दै उनले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए । ‘नेपाल दुई वटा छ– नेपाल बाहिरको र नेपालभित्रको नेपाल। यी दुवै नेपाललाई जोड्नुपर्छ,’ शर्माले भने, ‘विदेशमा रहेका नेपालीले नेपालको विकासमा लगानी गर्न चाहेका छन्। उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न कांग्रेस तयार छ ।’ नयाँ सरकार गठन भए पनि सामाजिक सञ्जालमा एकअर्काप्रति आक्रोश बढिरहेको उल्लेख गर्दै शर्माले अहिले नेपाली समाजमा संवाद, सद्भाव र एकताको आवश्यकता रहेको बताए । भूगोललाई मात्रै होइन, नेपालीको मनलाई पनि जोड्नुपर्ने उनको भनाइ छ । विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै शर्माले महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रजदेखि सहिद परिवार र जेनेजी पुस्तासम्मको सहभागिता रहेको बताए ।  करिब ३५ हजार प्रतिनिधिमध्ये ठूलो संख्या युवा रहेको भन्दै उनले यसलाई कांग्रेसको नयाँ ऊर्जाका रूपमा व्याख्या गरे । ‘यो यात्राको सुरुवात हो । महाधिवेशनपछि बलियो कांग्रेससहित अगाडि आउने छौं,’ शर्माले भने । परम्पराको सम्मान गर्दै नयाँ दृष्टिकोण र ऊर्जाका साथ कांग्रेसलाई अघि बढाउने उनले बताए ।  महाधिवेशनले कांग्रेसलाई संगठनात्मक रूपमा थप बलियो बनाउँदै मुलुकको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने आधार तयार गर्ने शर्माको भनाइ छ ।