विकासन्युज

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि खुलामञ्चमै बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार (भोलि) बस्ने भएको छ । बैठक बिहान १० बजे महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको हो । केन्द्रीय कार्यसमिति बैठकपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसैगरी, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । साथै कांग्रेसले निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरेको छ  । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार सोमबार मतदाता नामावली प्रकाशनसहितका कार्यक्रम रहेका छन् । त्यस्तै, मंगलबार बिहान मनोनयन दर्ता रहेको छ भने मतदान भने बिहीबार बिहानदेखि हुने भएको छ ।  

सभामुख अर्याल आईपीयू महासभामा सहभागी हुन तान्जानिया प्रस्थान

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औं महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ तान्जानियातर्फ प्रस्थान गरेका छन् । सभामुख अर्याल कतार एयरवेजको क्यूआर ६४५ विमानमार्फत तान्जानियातर्फ प्रस्थान गरेका हुन् ।  उनी कतारको दोहा हुँदै अक्टोबर ५ को बिहान तान्जानियाको किलिमान्जारो अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जनाइएको छ । सभामुख अर्यालसँगै उनकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधिसभा सदस्य रविन महत्तो तथा राष्ट्रियसभा सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य प्रतिनिधिमण्डलमा छन् ।  त्यस्तै, प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डे, सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल र सभामुखका निजी सचिव मधु मिजार पनि प्रतिनिधिमण्डलमा सहभागी छन् । तान्जानियाको अरुसा सहरमा अक्टोबर ५ देखि ९ सम्म आईपीयूको १५३औँ महासभा आयोजना हुँदैछ । महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरू सहभागी हुनेछन् ।  महासभाका क्रममा विभिन्न स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा, विषयगत छलफल तथा विभिन्न देशका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुने जनाइएको छ । महासभाको पहिलो दिन एसिया–प्रशान्त समूह तथा महिला सांसदहरूको मञ्चको बैठकसँगै विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुनेछ । त्यसक्रममा थाइल्यान्ड, अस्ट्रेलिया र चीनका प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन महासभाको औपचारिक उद्घाटन हुनेछ । अक्टोबर ६ मा सभामुख अर्यालले गभर्निङ काउन्सिलको बैठकमा सहभागिता जनाउनेछन् । सोही दिन बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयल नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी स्थायी समितिमा अपाङ्गता भएका व्यक्तिको अधिकार र सशक्तीकरण प्रवद्र्धनका लागि संसदीय रणनीतिसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ ।  शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी स्थायी समितिमा सैन्य क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट उत्पन्न चुनौती, शान्ति सुरक्षामा संसद्को भूमिका तथा संसदीय कूटनीति, मध्यस्थता र संवादमार्फत दिगो शान्ति स्थापनाका विषयमा छलफल हुनेछ । यसै दिन ‘समावेशिता, विश्वास र सबैका लागि अवसरमार्फत सुशासन अभिवृद्धि तथा समुदायको सशक्तीकरण’ विषयमा महासभाको सामान्य छलफल सुरु हुनेछ । सभामुख अर्यालले तान्जानियामा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ । अक्टोबर ७ मा महासभाको सामान्य छलफललाई निरन्तरता दिइनेछ । संयुक्त राष्ट्रसंघीय मामिलासम्बन्धी स्थायी समितिमा संयुक्त राष्ट्रसंघीय प्रणालीलाई थप प्रतिनिधिमूलक र प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।  त्यस्तै, लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी स्थायी समितिमा मस्यौदा प्रस्तावलाई अन्तिम रूप दिने तथा दिगो विकाससम्बन्धी समितिमा पर्वतीय तथा समुद्री पारिस्थितिक प्रणालीको संरक्षण र सन् २०३० सम्म ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्न संसदीय नेतृत्वसम्बन्धी विषयमा छलफल हुनेछ । शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी स्थायी समितिमा द्वन्द्वका समयमा समुद्री सुरक्षा, महत्वपूर्ण पूर्वाधारको संरक्षण, अन्तर्राष्ट्रिय जलमार्ग तथा विश्वव्यापी आर्थिक स्थायित्वमा संसद्को भूमिकाबारे छलफल हुनेछ । अक्टोबर ८ मा संयुक्त राष्ट्रसंघीय मामिलासम्बन्धी स्थायी समितिमा द्वन्द्व रोकथाम तथा समाधानका लागि संयुक्त राष्ट्रसंघीय संयन्त्रको भूमिकाबारे छलफल हुनेछ । दिगो विकाससम्बन्धी स्थायी समितिमा एआई र रोजगारीको भविष्य, जलवायु परिवर्तनसम्बन्धी आगामी सम्मेलनका लागि संसदीय बैठकको तयारीलगायतका विषयमा छलफल हुनेछ । लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी समितिले मस्यौदा प्रस्ताव पारित गर्ने कार्यक्रम पनि सोही दिन छ । महासभाको अन्तिम दिन अक्टोबर ९ मा गभर्निङ काउन्सिलको बैठक बस्नेछ । उक्त बैठकमा आईपीयू अध्यक्षको निर्वाचन, सांसदहरूको मानवअधिकारसम्बन्धी विषय तथा विभिन्न बैठकका प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि महासभामा विभिन्न प्रस्ताव पारित गर्ने, स्थायी समितिका प्रतिवेदन प्रस्तुत गर्ने, सामान्य छलफलको निष्कर्ष दस्तावेज पारित गर्ने तथा आईपीयूको विधानमा प्रस्तावित संशोधन अनुमोदन गर्ने कार्यक्रम छ । महासभा सम्पन्न भएपछि सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल केन्याको राजधानी नैरोबी जानेछ । अक्टोबर १० मा नैरोबीस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्नुका साथै विभिन्न स्थलको भ्रमण गर्ने कार्यक्रम छ । अक्टोबर ११ मा नैरोबीका प्रमुख सांस्कृतिक तथा ऐतिहासिक स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ । अक्टोबर १२ मा केन्याको संसद् भवनमा उपसभामुख तथा सांसद ग्लाडिस जेप्कोसेगी बोससँग शिष्टाचार भेटवार्ता गर्ने तथा संसदीय बजेट कार्यालयसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । केन्या भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै काठमाडौं फर्किने जनाइएको छ ।  

विज्ञापन एजेन्सीहरूलाई एउटै मञ्चमा जोड्दै आन

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले ‘रेड बुल १३औं कृति अवाड्र्स २०८३’ अन्तर्गत ‘क्रिएटिभिटी कनेक्ट, जहाँबाट सबै कुराको सुरुवात हुन्छ’ भन्ने नाराका साथ ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ ।  विगतका वर्षहरूमा ‘एजेन्सी ब्रीफिङ सेसन’का रूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रमलाई यस वर्ष गैर–सदस्य एजेन्सीहरूलाई समेत सहभागी गराउँदै अवाड्र्सको गरिमा र पहुँच बढाउने उद्देश्यले नयाँ आयोजना गरिएको हो ।  कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचार, सिर्जनात्मक आयाम र उद्योगीहरूबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा गहन छलफल हुनुका साथै अवाड्र्सका विविध मापदण्ड र  प्रक्रियाबारे जानकारी गराइएको थियो ।  कार्यक्रममा आनका पूर्व अध्यक्ष एवं कृति अवाड्र्सका सुरुवातकर्ता भास्कर राज राजकर्णिकार, आनका प्रथम उपाध्यक्ष उज्वल शाक्य तथा सबैभन्दा धेरै कृति अवाड्र्स जित्न सफल मेकवेजका प्रमुख विधान राजभण्डारीले अवाड्र्सको महत्त्व, १३औं शृंखलाको तयारी र उत्कृष्ट प्रस्तुतीकरणका रणनीतिबारे प्रकाश पारेका थिए ।  आनका अध्यक्ष सुदीप थापाले यस्ता कार्यक्रमले नेपाली विज्ञापन उद्योगमा पारदर्शिता, व्यावसायिक दक्षता र एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।  मुख्य प्रायोजक रेड बुल रहेको यस १३औं शृंखलालाई जीएमडब्ल्यू ओरा, कोका–कोला र यति इन्टरनेशनल कलेजले ‘पावर्ड बाई’ गरेका छन् भने इन्फ्लुएन्सर एजेन्सी इनमार्क इन्डिया एन्ड एसोसिएट्स, एनसेल र प्राइम टाइल्स लगायतका प्रतिष्ठित ब्रान्डहरूले सहयोग गरेका छन् । 

इरानको दाबी– अमेरिकाले मध्यस्थमार्फत वार्ताको प्रस्ताव पठायो

काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकाले पछिल्ला दिनमा एक मध्यस्थमार्फत केही प्रस्ताव पठाएको दाबी गरेका छन् । बीबीसी फारसीका अनुसार संसद्को बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अमेरिकी अधिकारीहरू सञ्चारमाध्यममा केही अर्कै कुरा गर्छन्, तर पछिल्लो समय उनीहरूले मध्यस्थहरूमार्फत प्रस्ताव पठाएका छन् ।’ यद्यपि, गालिबाफले ती प्रस्तावबारे विस्तृत जानकारी दिएनन् । उनले इस्लामाबाद समझदारीका आधारमा अघि सारिएका इरानका सात सर्त पूरा नभएसम्म होर्मुज जलडमरु नखोलिने बताए । यसैबीच, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्अन्तर्गत काम गर्ने छ सदस्यीय समितिले अमेरिकासँग हुने वार्ताको नेतृत्व गर्ने बताएका छन् । यसअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि ‘छ सदस्यीय टोली’को उल्लेख गरेका थिए । उनले अमेरिकासँग सम्बन्धित विषयमा यही टोलीलाई निर्णय गर्ने अधिकार रहेको र सबै निर्णय टोलीसँग समन्वय गरेर कार्यान्वयन गरिने बताएका थिए । सीबीएसलाई दिएको अन्तर्वार्तापछि इरानी सरकारी सञ्चारमाध्यमले उक्त समितिका सदस्यबारे जानकारी सार्वजनिक गरेका थिए ।  समितिमा राष्ट्रपति, संसद्का सभामुख, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव, सशस्त्र बलका प्रमुख, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डर–इन–चीफ र अर्का एक सदस्य रहेका छन् । बघाईको पछिल्लो भनाइले अब्बास अराघ्ची उक्त समितिका सदस्य रहेको पुष्टि गरेको छ । बघाईले पत्रकार सम्मेलनमा भने, ‘यस उच्चस्तरीय समितिमा विदेशमन्त्रीको उपस्थितिले कूटनीतिक संयन्त्र राष्ट्रिय सुरक्षासँग सम्बन्धित ठूला निर्णयहरूसँग पूर्ण रूपमा समन्वयमा काम गरिरहेको प्रमाणित गर्छ ।’

बुटवलदेखि विश्व मञ्चसम्मको यात्रा: टीभीएस अपाचे रेसिङमा ७६ राइडरबीच कडा प्रतिस्पर्धा

काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा ‘अपाचे रेस एक्सपेरियन्स’ रेसिङ क्वालिफायर्सको क्षेत्रीय चरण सफलतापूर्वक सम्पन्न गरेको छ ।  स्थानीय डिलर बालाजी अटोमोबाइल्सको सहकार्यमा तिलोत्तमा-५ स्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा आयोजित उक्त प्रतियोगितामा ७६ जना  राइडरहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।  कार्यक्रममा सहभागीहरूलाई पूर्व आरइजीपी नेपाल विजेता सुजन थापा मगर र चार पटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले राइडिङ पोस्चर, कर्नरिङ, ब्रेकिङ र भिजन कन्ट्रोल जस्ता रेसिङ प्रविधिबारे व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणपश्चात् आयोजित १६० सीसी वर्गको प्रतिस्पर्धात्मक रेसमा धीरज बि.क. ३४.०७ सेकेन्डको समयसहित विजेता बनेका छन् ।  त्यस्तै, अभिषेक पन्थी (३४.६२ सेकेन्ड) प्रथम उपविजेता र अरिक श्रेष्ठ (३४.८७ सेकेन्ड) द्वितीय उपविजेता घोषित भए ।  यी शीर्ष तीन फाइनलिस्टले अब काठमाडौंमा हुने आरइजीपी ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्दै काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका क्वालिफायर्सहरूसँग प्रतिस्पर्धा गर्नेछन् ।  ग्रान्ड फिनालेका विजेताहरूले भारतको मद्रास इन्टरनेसनल सर्किटमा आयोजना हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्, जसको सम्पूर्ण खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनीले व्यहोर्नेछन् ।  नेपालमा व्यावसायिक मोटरस्पोट्र्स संस्कृतिको विकास र सीपयुक्त राइडर तयार पार्ने उद्देश्यले जगदम्बा मोटर्सले यस किसिमको राष्ट्रव्यापी अभियान सञ्चालन गरिरहेको छ ।

९ जना राष्ट्रिय खेलाडी बने ‘टिम एक्सट्रीम’का ब्रान्ड एम्बेसडर

काठमाडौं । एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ चर्चित खेलाडीहरूसँग औपचारिक सम्झौता गर्दै उनीहरूलाई ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध गरेको छ । आइतबार आयोजित एक कार्यक्रमबीच उनीहरूलाई ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध गरेको हो ।  नेपाली क्रिकेटको विकास, खेलाडीहरूको प्रोत्साहन तथा युवापुस्तामा खेलकुदप्रतिको उत्साह बढाउने उद्देश्यले गरिएको यस साझेदारीमा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम समावेश छन् । सम्झौताअनुसार आबद्ध खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो रहनेछ भने ब्रान्डका विभिन्न प्रवद्र्धनात्मक, खेलकुद तथा बजारीकरण सम्बन्धी गतिविधिहरूमा उनीहरूको सहभागिता रहनेछ । यस्तै, एक्सट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफू मुख्य प्रायोजकका रूपमा जोडिएका सातवटै टोलीहरूलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यान समेत सार्वजनिक गरेको छ ।    एनपीएलका टोलीहरूको पहिचान र समर्थकहरूको उत्साहलाई प्रतिविम्बित गर्ने गरी ल्याइएको यस विशेष संस्करणले प्रतियोगिताको माहोललाई थप रोमाञ्चक बनाउने र खेलाडी तथा समर्थकसँगको सम्बन्धलाई अझ नजिक ल्याउने कम्पनीले जनाएको छ ।  युवाहरूको ऊर्जा, उत्साह र खेलप्रतिको लगावसँग आफूलाई जोड्दै एक्सट्रीम इनर्जी ड्रिंकले आगामी दिनहरूमा पनि क्रिकेटलगायत अन्य विभिन्न खेलकुद गतिविधिहरूमा निरन्तर सहकार्य र सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका साथ १५औं महाधिवेशनबाट नयाँ ऊर्जा र संकल्प लिएर बाहिरिनुपर्ने बताएका छन् । कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले महाधिवेशनलाई नेतृत्व चयनको प्रक्रियामा मात्रै सीमित नगरी पार्टीको विगत, वर्तमान र आगामी बाटोबारे गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । कांग्रेसले आफूलाई बदल्दै जनताको अपेक्षा र मुलुकको आवश्यकताअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो । ‘बदलिएको कांग्रेसले यो देश पनि बदल्छ भन्ने विश्वास लिएर यो महाधिवेशनबाट जानुपर्ने छ । यो सफल पारेर ऊर्जा लिएर जानुपर्ने छ,’ थापाले भने । उनले देशको पछिल्लो अवस्थालाई हेर्दा उत्सवका रूपमा मात्रै महाधिवेशन गर्न आफूहरूलाई सहज नभएको बताए ।  रसुवामा आएको बाढीपहिरोका कारण हजारौं नागरिकले ज्यान गुमाएको र धेरै परिवार पीडामा रहेको स्मरण गर्दै थापाले यस्तो अवस्थामा महाधिवेशन गर्न आफूलाई मन नभएको बताए । ‘रसुवाको बाढीले हजारौं नागरिक हामीमाझ हुनुहुन्न । यो महाधिवेशन गर्न मन थिएन । तर संविधान र कानुनको परिधिका कारण बाध्य भयौं,’ उनले भने । थापाले कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्ने बताए । लामो समयदेखि एउटै नेतृत्व, एउटै पद र सत्ताको वरिपरि घुमिरहेको राजनीतिले जनतामा सबै दल र नेता उस्तै हुन् भन्ने धारणा बन्न पुगेको उनको भनाइ थियो । थापाले सामाजिक सञ्जालदेखि समाजका विभिन्न तहसम्म अत्यधिक राजनीतीकरण भएको बताए । फेसबुक, ट्वीटरलगायतका माध्यमदेखि दैनिक जीवनका विषयसम्म राजनीतिक आँखाबाट हेर्ने अवस्था बनेको भन्दै उनले त्यसले समाजमा असन्तुष्टि र ध्रुवीकरण बढाएको बताए । उनले भदौ २३ र २४ को घटनालाई त्यसैको परिणामका रूपमा व्याख्या गरे । त्यसपछि कांग्रेसले आफूलाई सम्हाल्न र सच्याउन विशेष महाधिवेशन गरेको तथा त्यसपछि भएको निर्वाचनमा जनताको फैसला स्वीकार गर्नुपरेको उनले बताए । कांग्रेसले विगतमा धेरै निर्वाचन जितेको र धेरै निर्वाचन हारेको उल्लेख गर्दै उनले हारलाई निराशाको कारण बनाउन नहुने बताए । अहिलेको महाधिवेशनलाई पार्टीले नयाँ बाटो तय गर्ने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो । थापाले कांग्रेसले विगतका राजनीतिक उपलब्धिको चर्चा गरेर मात्रै अबको चुनौती सामना गर्न नसक्ने बताए । मुलुकमा राजनीतिक परिवर्तन भए पनि त्यसअनुसार आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको विषयमा कांग्रेसले गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ थियो । उनले लामो समय मुलुकमा राजनीतिक संघर्ष र द्वन्द्व चले पनि जनताको जीवनमा अपेक्षित परिवर्तन आउन नसकेको बताए । ‘३५ वर्षदेखि युद्ध किन बेहोर्‍यौं ? शान्ति प्रक्रियामा पनि यही भयो। यही ३५ वर्षभित्र सबै गाउँ रित्तियो । किन रोजगारी भएन ? युवा किन पलायन भयो ?,’ उनले प्रश्न गरे । उनले अब यस्ता प्रश्नको जवाफ खोजेर मात्रै कांग्रेस अघि बढ्नुपर्ने बताए । युवालाई देशमै रोजगारी र अवसर सिर्जना गर्ने, गाउँलाई उत्पादन र आर्थिक गतिविधिसँग जोड्ने तथा अर्थतन्त्रलाई गतिशील बनाउने विषयमा पार्टीले स्पष्ट नीति बनाउनुपर्ने उनको भनाइ थियो । थापाले लोकतन्त्र र जनताको दैनिक जीवनबीच सम्बन्ध स्थापित गर्ने जिम्मेवारी कांग्रेसको रहेको बताए । राजनीतिक अधिकार सुनिश्चित गरेपछि त्यसलाई नागरिकको जीवनमा अनुभूत हुने सेवा, अवसर र आर्थिक विकाससँग जोड्न नसके लोकतन्त्रप्रतिको विश्वास कमजोर हुने उनले बताए । ‘डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ,’ उनले भने, ‘पुल ढल्यो भने विश्वास ढल्छ ।’ कांग्रेसले पुरानो पुस्ता र नयाँ पुस्ताबीच पनि पुलको काम गर्नुपर्ने थापाको भनाइ थियो । नयाँ पुस्ताको आकांक्षा र पुरानो पुस्ताको राजनीतिक अनुभवलाई जोडेर पार्टीलाई अघि बढाउनुपर्ने उनले बताए । थापाले कांग्रेसले सिद्धान्तमा सम्झौता गरेर तत्कालको राजनीतिक लाभ खोज्न नहुने बताए । निर्वाचनमा हार जितलाई मात्रै राजनीतिक सफलताको मापदण्ड बनाउन नहुने भन्दै उनले मूल्य र मान्यतामा आधारित राजनीति गर्नुपर्ने बताए । ‘हामी लालुपाते होइनौं, हामी प्रस्ट हुन्छौं । सिद्धान्तमा अडिनुपर्दा पाँचवटा चुनाव हार्न तयार छौं, तर सिद्धान्तसँग सम्झौता गर्दैनौं,’ उनले भने । उनले उद्योगी तथा व्यवसायीलाई सम्मान गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए । निजी क्षेत्रलाई केवल कर उठाउने स्रोतका रूपमा नभई उत्पादन, रोजगारी र आर्थिक विकासको साझेदारका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो । सभापति थापाले १० वर्षपछि खुलेको खुलामञ्चलाई पनि जनतासँग संवाद गर्ने राजनीतिक संस्कारसँग जोडेर व्याख्या गरे । खुलामञ्च काठमाडौंको एउटा चौर मात्रै नभएको भन्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा यसले महत्वपूर्ण भूमिका खेलेको बताए । बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूले यही ठाउँबाट जनतासँग संवाद गरेको स्मरण गर्दै उनले अहिले पनि नागरिकले आफ्ना प्रश्न राख्न पाउने यस्ता खुला ठाउँ आवश्यक रहेको बताए । ‘नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उनले भने, ‘यो देशलाई खुलामञ्च चाहिएको छ । यसकारण हामी १० वर्षपछि खुलामञ्च खुलाएर आएका छौं ।’ उनले संसद पनि जनताका प्रश्न र आवाजका लागि खुला हुनुपर्ने बताए । प्रधानमन्त्रीले जनताको कुरा नसुन्दासम्म संसद र शासन व्यवस्था जनताका लागि खुला भएको अनुभूति नहुने उनको भनाइ थियो । पार्टीभित्र पनि नेतृत्वलाई प्रश्न गर्ने र फरक मत राख्ने वातावरण बनाउनुपर्ने उनले बताए । थापाले कांग्रेसभित्रको पुस्तान्तरण र नेतृत्व परिवर्तनको प्रसंगमा पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थितिको विषय पनि उठाए । महाधिवेशनमा देउवाका लागि कुर्सी खाली राखिएको भए पनि उनी सहभागी हुन नआएको भन्दै उनले पार्टीले अब यस विषयमा पनि स्पष्ट धारणा बनाउनुपर्ने बताए । कांग्रेसबाट बाहिरिएका केही नेताहरूको विषयमा पनि अब स्पष्ट रूपमा कुरा गर्नुपर्ने थापाले बताए । ‘केही साथीहरू छोडेर जानुभएको छ । उहाँहरूले कांग्रेस छाडेको हो । यो पनि हामीले भन्नुपर्ने छ । यसको उत्तर अब दिनुपर्छ,’ उनले भने । उनले कांग्रेसको नेतृत्व र संगठनमा परिवर्तनसँगै पार्टीबाट बाहिरिएका नेता–कार्यकर्तासँगको सम्बन्धबारे पनि स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक रहेको बताए । थापाले जनताले दिएको मतको सम्मान गर्दै संसदमा पुगेका कांग्रेसका सांसदहरूले जिम्मेवारीअनुसार काम गर्नुपर्ने बताए । संसदमा कांग्रेसका तर्फबाट पुगेका सांसदहरूलाई प्रशिक्षण दिएर प्रभावकारी रूपमा काम गर्न तयार पारिएको उनले बताए । ‘मत हाल्नुभएको हो । संसदभित्र पनि तपाईंहरूको तर्फबाट ४०–५० जना कांग्रेसहरूलाई प्रशिक्षित गरेर राम्रा–राम्रा कुरा सिकाएर पठाएका छौं,’ उनले भने । सांसदहरूले संसदमा जनताको आवाज उठाउने, सरकारलाई प्रश्न गर्ने र नीतिनिर्माणमा प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । जनताले दिएको मतलाई केवल निर्वाचन जित्ने आधारका रूपमा नभई जिम्मेवारीका रूपमा लिनुपर्ने उनले बताए । थापाले कांग्रेसले अब निराशा र निन्दाको राजनीतिबाट बाहिरिनुपर्ने बताए । सामाजिक सञ्जालमा आलोचना गर्ने, अरूलाई दोष दिने वा विगतका कमजोरी मात्र गन्नेभन्दा आफ्नो काम र परिणामबाट कांग्रेसको पहिचान स्थापित गर्नुपर्ने उनको भनाइ थियो । उनले कांग्रेसको आगामी यात्रा जनतासँग जोडिएको हुनुपर्ने बताए । पार्टीभित्र लोकतान्त्रिक संस्कार बलियो बनाउने, जनताका प्रश्न सुन्ने, युवाका अपेक्षा सम्बोधन गर्ने, रोजगारी सिर्जना गर्ने र आर्थिक विकासलाई प्राथमिकता दिने गरी कांग्रेस अघि बढ्नुपर्ने उनको भनाइ थियो । थापाले १५औं महाधिवेशनबाट कांग्रेसले नयाँ ऊर्जा लिएर बाहिरिनुपर्ने बताए । नेतृत्व परिवर्तनसँगै सोच, कार्यशैली र राजनीतिक संस्कारमा पनि परिवर्तन देखिनुपर्ने उनको भनाइ थियो । ‘बदलिएको कांग्रेसले यो देश पनि बदल्छ भन्ने विश्वासलाई लिएर महाधिवेशनबाट बाहिरिनुपर्ने बताउँदै थापाले कांग्रेसलाई लोकतन्त्रको रक्षा गर्ने मात्र नभई लोकतन्त्रको माध्यमबाट जनताको जीवनमा परिवर्तन ल्याउने राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने संकल्प गर्नुपर्ने बताए ।

देउवाका लागि कुर्सी खाली राखेका थियौं, तर उहाँ आउनुभएन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जाने भन्ने प्रश्नसमेत उठाए । ‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौं । तर आउनुभएन । कति पटक जाने हो, लिन कसरी जाने हो ?,’ थापाले भने । उनले कांग्रेसका केही साथीहरू पार्टीबाट बाहिरिएको उल्लेख गर्दै उनीहरूलाई कांग्रेस छाडेको हो कि होइन भन्ने विषयमा पनि अब स्पष्ट उत्तर दिनुपर्ने बताए । ‘केही साथीहरू छोडेर जानुभएको छ । उहाँहरूलाई कांग्रेसले छाडेको हो । यो पनि हामीले भन्नुपर्ने छ । यसको उत्तर अब दिनुपर्छ,’ थापाले भने । थापाले नयाँ नेतृत्वसँगै कांग्रेसले विगतका विषयमा स्पष्ट समीक्षा गर्दै अघि बढ्नुपर्ने संकेत गरे ।  उनले पार्टीभित्र रहेका सबैलाई समेट्ने र बाहिरिएका नेताहरूका सम्बन्धमा पनि स्पष्ट धारणा बनाउनुपर्ने बताए ।