विकासन्युज

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । आज प्रतिनिधिसभाअन्तर्गत चार वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा नेपाल वायुसेवा निगमको सुधारका लागि भावी मार्गचित्रका विषयमा छलफल हुनेछ । साथै, समितिअन्तर्गत गठित उपसमिति तथा कार्यदलमा सदस्य छनोट गर्ने विषयमा पनि छलफल हुनेछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत एवं व्यावहारिक समस्याबारे सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पौने १२ बजे बस्नेछ । बैठकमा समितिमा प्राप्त विधेयकबारे समिति सचिवले जानकारी गराउनेछन् । यस्तै, मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल हुनेछ । छलफलका लागि सम्बन्धित मन्त्री र सचिवलाई बोलाइएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा काठमाडौंको डल्लुस्थित संशोधन मण्डलको स्थलगत अवलोकन गर्ने तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

सहकारी ठगीमा १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । काठमाडौं जिल्ला अदालतले विभिन्न मुद्दामा १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले यसअघि जारी गरेको पक्राउ पुर्जीअनुसार पक्राउ परी हाजिर नभएका तथा घरठेगाना फेला नपरेका व्यक्तिका नाममा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।  अदालतका अनुसार सहकारी ठगीसम्बन्धी मुद्दामा ज्ञान श्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष युवराज घले तथा अष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक तथा लेखा समितिका पदाधिकारीसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अष्ट बचत तथा ऋण सहकारी संस्थासम्बन्धी मुद्दामा सञ्चालक समिति सदस्य प्रकाश खड्का, लेखा समिति सदस्य सुवास बुढाथोकी र बविता खड्का, सञ्चालक समिति अध्यक्ष अनिल खड्का, उपाध्यक्ष विजय खड्का, सचिव जीवन बुढाथोकी, कोषाध्यक्ष कुम्भराज जोशी, संस्थाका सदस्य सुशिल विक्रम राणा, सञ्चालक समिति सदस्य शुशिला बोहरा तथा लेखा समिति संयोजक गोविन्द बुढाथोकीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ । त्यस्तै, चोरीसम्बन्धी कसुरका विभिन्न मुद्दामा चन्द्रागिरि नगरपालिका–१४ नैकापका सुशान्त खत्री अर्थात् राज रोक्का भन्ने राकुमार रोकाविरुद्ध पनि ३५ दिने पक्राउ पुर्जी जारी गरिएको छ । अदालतले पक्राउ पुर्जी ३५ दिनभित्र सम्बन्धित व्यक्ति आफैँ अदालतमा उपस्थित हुन वा पक्राउ परी अदालतमा हाजिर हुन भनेको छ । तोकिएको अवधिभित्र हाजिर नभई म्याद गुजारी फरार रहेमा कानुनबमोजिम कारबाही हुने अदालतले जनाएको छ ।

कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ गते मतदान

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । खुलामञ्चमै हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुनेछन् । बन्दसत्रमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन् । प्रतिनिधिहरूलाई भूगोलका आधारमा हिमाल, पहाड र तराई-मधेश गरी तीन समूहमा विभाजन गरेर प्रतिवेदनमाथिको छलफलमा सहभागी गराउने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन समारोह हिजो खुलामञ्चमा भएको थियो । यसैबीच, आजदेखि नै केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम पनि सुरु हुँदैछ । आज साँझ ५ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ भने ५ बजेदेखि ६:३० बजेसम्म नामावलीउपर दाबीविरोध गर्न सकिनेछ । आजै बेलुका ८:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ । असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । सोही दिन अपरान्ह ४:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । ४:३० देखि ५:३० बजेसम्म उम्मेदवारीउपर दाबीविरोध गर्न सकिनेछ भने बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सो दिन दिनभर प्रचारप्रसार गर्न पाइनेछ । त्यसपछि असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । 

दसैंअघि नै जोडिनेछ रसुवा-काठमाडौं सडक, बेत्रावतीमा नेपाली सेनाले द्रुत गतिमा बनाउँदै बेलीब्रिज

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा-नुवाकोट सीमास्थित बेत्रावतीको फलाखुखोलामा रहेका दुवै पक्की पुल बगाएपछि अवरुद्ध बनेको पासाङल्हामु राजमार्ग दसैँअघि नै सञ्चालनमा आउने भएको छ ।  बाढीले पुल बगाएपछि काठमाडौं-नुवाकोट हुँदै रसुवासम्मको सडक सम्पर्क विच्छेद भई स्थानीयको आवतजावत, दैनिक उपभोग्य वस्तुको ढुवानी र अत्यावश्यक सेवा प्रभावित हुँदै आएको छ । अवरुद्ध सडक सम्पर्कलाई पुनः जोड्न नेपाली सेनाको नेतृत्वमा फलाखुखोलामा बेलीब्रिज निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ ।  नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार गल्छी–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाले आगलीटार–बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याएसँगै बेलीब्रिजका लागि आवश्यक निर्माण सामग्रीहरू निर्माणस्थलसम्म पुर्‍याउन सहज भएको छ ।  सरकारी नीति अनुसार बडादसैंअघि नै सवारीसाधन सञ्चालनमा ल्याउने लक्ष्यका साथ सेनाले काम गरिरहेको उनले बताए । बेलीब्रिज निर्माण भएसँगै रसुवा र नुवाकोटसहित काठमाडौंको सडक सम्पर्क पुनः कायम हुने भएकाले जिल्लावासी उत्साहित छन् ।  संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले दसैंअघि पुल तयार हुँदा चाडपर्वका बेला सर्वसाधारणलाई आवतजावतमा ठूलो राहत पुग्ने बताएका छन् ।  साथै, उनले बाढीपछि राहत, उद्धार तथा सडक सञ्जाल पुनः जोड्न नेपाली सेना र सरकारले खेलेको भूमिकाको प्रशंसा समेत गरेका छन् ।

कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता गराउन १०/१० जना प्रस्तावक र समर्थक चाहिने

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराउन १० जना प्रस्तावक र १० जना समर्थकको नाम आवश्यक पर्ने भएको छ । निर्वाचन समितिका अनुसार सभापति पदका उम्मेदवारले महाधिवेशन प्रतिनिधिमध्येबाट १० जना प्रस्तावक र १० जना समर्थकको नामसहित उम्मेदवारी दर्ता गराउनुपर्नेछ । कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

बालेन भन्छन् - खुला मञ्च राम्रो बनाउनाले नयाँ पार्टीले गाली गर्न पाएका छन्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले खुलामञ्च राम्रो बनाएका कारणले नेपाली कांग्रेसले १५ औं महाधिवेशन गर्न पाएको तर्फ संकेत गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो संकेत गरेका हुन् । प्रधानमन्त्री शाहले भनेका छन्, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’ कांग्रेसले आइतबार (आज) महाधिवेशन उद्घाटन समारोह खुलामञ्चमा गरेको थियो ।  काठमाडौं महानगरको प्रमुख भएका बेला बालेनले खुलामञ्च व्यवस्थित पारेका थिए । 

कांग्रेस सभापतिको मनोनयन शुल्क ४० हजार, असोज २२ गते मतदान

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आधिकारिक निर्वाचन कार्यतालिका तथा उम्मेदवार मनोनयन दस्तुर सार्वजनिक गरेको छ ।  प्रकाशित कार्यतालिका अनुसार असोज १९ गते बेलुका मतदाता नामावली प्रकाशन गरी असोज २० गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारीका लागि दरखास्त/मनोनयन दर्ताको समय तोकिएको छ ।  असोज २१ गते बिहान उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी असोज २२ गते बिहान ७ः३० देखि बेलुका ५ः०० बजेसम्म राष्ट्रिय सभा गृह, खुल्लामञ्च र प्रज्ञा भवनमा प्रदेशगत विभाजन अनुसार मतदान हुनेछ । मतदान सकिएलगत्तै मतगणना गरी परिणाम घोषणा गरिने समितिले जनाएको छ ।  निर्वाचन समितिले उम्मेदवारी मनोनयन दस्तुर समेत निर्धारण गरेको छ । जसअनुसार सभापति पदका लागि ४० हजार रूपैयाँ, उपसभापति र महामन्त्री पदका लागि ३० हजार रूपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रूपैयाँ र केन्द्रीय सदस्य पदका लागि ११ हजार रूपैयाँ दस्तुर तोकिएको छ ।  उम्मेदवारी दर्ता गर्दा सभापतिमा १० जना, उपसभापति र महामन्त्रीमा ७/७ जना, सहमहामन्त्रीमा ५ जना र केन्द्रीय सदस्यमा ३ जना प्रस्तावक तथा समर्थक हुनुपर्ने व्यवस्था गरिएको छ ।  साथै, उम्मेदवार वा उनका समर्थकले फोटो, नाम वा चुनाव चिन्ह अंकित टोपी, टिसर्ट, ज्याकेट वा अन्य प्रचार सामग्री लगाउन नपाउने र मतदान स्थल आसपासमा फ्लेक्स प्रिन्ट राख्न निषेध गर्दै आचारसंहिताको पूर्ण पालना गर्न समितिले निर्देशन दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि खुलामञ्चमै बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार (भोलि) बस्ने भएको छ । बैठक बिहान १० बजे महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको हो । केन्द्रीय कार्यसमिति बैठकपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसैगरी, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । साथै कांग्रेसले निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरेको छ  । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार सोमबार मतदाता नामावली प्रकाशनसहितका कार्यक्रम रहेका छन् । त्यस्तै, मंगलबार बिहान मनोनयन दर्ता रहेको छ भने मतदान भने बिहीबार बिहानदेखि हुने भएको छ ।