काठमाडौं । आज प्रतिनिधिसभाअन्तर्गत चार वटा संसदीय समितिको बैठक बस्दैछ ।
संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा नेपाल वायुसेवा निगमको सुधारका लागि भावी मार्गचित्रका विषयमा छलफल हुनेछ । साथै, समितिअन्तर्गत गठित उपसमिति तथा कार्यदलमा सदस्य छनोट गर्ने विषयमा पनि छलफल हुनेछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत एवं व्यावहारिक समस्याबारे सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पौने १२ बजे बस्नेछ । बैठकमा समितिमा प्राप्त विधेयकबारे समिति सचिवले जानकारी गराउनेछन् । यस्तै, मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल हुनेछ । छलफलका लागि सम्बन्धित मन्त्री र सचिवलाई बोलाइएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा काठमाडौंको डल्लुस्थित संशोधन मण्डलको स्थलगत अवलोकन गर्ने तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।