कृषकका समस्या बुझ्न कृषि मन्त्री चौधरी स्थलगत निरीक्षणमा

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले लुम्बिनी प्रदेशका विभिन्न कृषि तथा वन क्षेत्रको स्थलगत निरीक्षण गरी कृषकका समस्या र सुझाव लिएकी छन् ।

मन्त्री चौधरीले असोज १५ देखि १८ गतेसम्म प्रदेशका विभिन्न कृषि क्षेत्रको निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा उनले कृषि उत्पादन, मलखाद, सिँचाइ, विद्युतीकरण, कृषि सडक, कृषि बीमा तथा बजारीकरणको अवस्थाबारे जानकारी लिइन् ।

यसक्रममा उनले रुपन्देहीको मर्चवार क्षेत्रका विभिन्न कृषि क्षेत्रको निरीक्षण गरेकी छन् । उनले मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँपालिकाका कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिइन् ।

मन्त्री चौधरीले सम्मरीमाई–६ स्थित कृषि उपज सामग्री सङ्कलन केन्द्र, मर्चवारीमाई–१ मा करिब ५० बिघा क्षेत्रफलमा गरिएको केराखेती तथा कोटहीमाई–५ स्थित मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाको निरीक्षण गरिन् ।

असोज ८ देखि ११ गतेसम्म आएको हावाहुरी र वर्षाका कारण केराखेतीमा भएको क्षतिबारे पनि उनले कृषकसँग जानकारी लिइन् । कृषकले उत्पादनको उचित मूल्य नपाएको, केराको बजारीकरणमा समस्या रहेको तथा कृषि बीमाको दाबी भुक्तानी प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए ।

कृषकले कृषि विद्युतीकरण विस्तार गर्नुका साथै कृषि सडक निर्माण र स्तरोन्नतिलाई प्राथमिकता दिन मन्त्रीसमक्ष आग्रह गरेका थिए । मन्त्री चौधरीले कृषकका समस्या प्रत्यक्ष रूपमा बुझेर समाधानका लागि आवश्यक पहल गर्ने बताइन् ।

उनले कृषि क्षेत्रको विकासका लागि सरकार, स्थानीय तह, कृषक तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताइन् ।

Share News