काठमाडौं । काठमाडौं जिल्ला अदालतले विभिन्न मुद्दामा १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले यसअघि जारी गरेको पक्राउ पुर्जीअनुसार पक्राउ परी हाजिर नभएका तथा घरठेगाना फेला नपरेका व्यक्तिका नाममा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतका अनुसार सहकारी ठगीसम्बन्धी मुद्दामा ज्ञान श्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष युवराज घले तथा अष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक तथा लेखा समितिका पदाधिकारीसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
अष्ट बचत तथा ऋण सहकारी संस्थासम्बन्धी मुद्दामा सञ्चालक समिति सदस्य प्रकाश खड्का, लेखा समिति सदस्य सुवास बुढाथोकी र बविता खड्का, सञ्चालक समिति अध्यक्ष अनिल खड्का, उपाध्यक्ष विजय खड्का, सचिव जीवन बुढाथोकी, कोषाध्यक्ष कुम्भराज जोशी, संस्थाका सदस्य सुशिल विक्रम राणा, सञ्चालक समिति सदस्य शुशिला बोहरा तथा लेखा समिति संयोजक गोविन्द बुढाथोकीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ ।
त्यस्तै, चोरीसम्बन्धी कसुरका विभिन्न मुद्दामा चन्द्रागिरि नगरपालिका–१४ नैकापका सुशान्त खत्री अर्थात् राज रोक्का भन्ने राकुमार रोकाविरुद्ध पनि ३५ दिने पक्राउ पुर्जी जारी गरिएको छ ।
अदालतले पक्राउ पुर्जी ३५ दिनभित्र सम्बन्धित व्यक्ति आफैँ अदालतमा उपस्थित हुन वा पक्राउ परी अदालतमा हाजिर हुन भनेको छ । तोकिएको अवधिभित्र हाजिर नभई म्याद गुजारी फरार रहेमा कानुनबमोजिम कारबाही हुने अदालतले जनाएको छ ।