काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सोमबारदेखि सुरु हुँदैछ । आइतबार काठमाडौंको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो ।
बन्द सत्रको एजेन्डा तय गर्न सोमबार खुलामञ्चमै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। बैठकमा सहभागी हुन केन्द्रीय नेताहरू खुलामञ्चमा पुग्न थालेका छन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बन्द सत्रमा पेस हुने विभिन्न प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट पारित भएपछि मात्रै बन्द सत्र सुरु हुनेछ । सम्बन्धित समितिहरूले आफ्नो जिम्मेवारीअनुसार प्रस्ताव पेस गर्ने र त्यसलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि बन्द सत्रको एजेन्डा तय गरिने उनले बताए ।
बन्द सत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्ताव तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।
बन्द सत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेछ । बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।
निर्वाचन समितिले सोमबार साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । मतदाता नामावली प्रकाशनपछि दाबी विरोध तथा छानबिनको प्रक्रिया अघि बढाइनेछ । प्राप्त दाबी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउने गरी निर्वाचन समितिले आवश्यक तयारीसमेत अघि बढाएको छ ।
मंगलबार उम्मेदवारी मनोनयन
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार नयाँ केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी मनोनयन दर्ता हुनेछ । सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।
उम्मेदवारी मनोनयनसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि हुने प्रतिस्पर्धाको तस्वीर थप स्पष्ट हुने अपेक्षा गरिएको छ। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी नेताहरूले यसअघि नै आन्तरिक छलफल, भेटघाट र समर्थन जुटाउने प्रयासलाई तीव्र बनाउँदै आएका छन् ।