गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण सार्वजनिक गर्ने भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने बन्दसत्रमा थापाले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दशकका लागि पार्टीको वैचारिक, राजनीतिक, संगठनात्मक र राष्ट्रिय कार्यदिशा अघि सार्न लागेका हुन् ।

थापाको प्रतिवेदनमा ऐतिहासिक आत्मसमीक्षा र वर्तमान राष्ट्रिय परिवेश, कांग्रेसको पहिचान र राष्ट्रिय दायित्व, वैचारिक दिशा तथा नवीकरण र समुन्नत नेपालको अवधारणा तथा कार्य प्रणालीलाई मुख्य आधार बनाइएको छ ।
प्रतिवेदनमा कांग्रेसको ऐतिहासिक यात्रा, प्राप्त उपलब्धि र अझै पूरा हुन बाँकी दायित्वको समीक्षा गरिएको छ ।

विगतका राजनीतिक संघर्ष र उपलब्धिबाट सिक्नुपर्ने पाठसँगै १५औँ महाधिवेशनले आगामी चार वर्षको नेतृत्व र त्यसपछिको राजनीतिक दिशाका लागि लिनुपर्ने दायित्वलाई समेत प्रतिवेदनमा जोड दिइएको छ ।

थापाले पछिल्लो समय कांग्रेसमा देखिएको सत्ता–केन्द्रित राजनीति, संगठनात्मक कमजोरी र युवा पुस्तासँग बढेको दूरीलाई पनि आत्मसमीक्षाको विषय बनाएका छन्। निर्वाचनमा भएको पराजय र पछिल्ला दुई दशकको राजनीतिक अभ्यासको समीक्षा गर्दै परिवर्तनका उपलब्धि र अधुरा वाचाबीचको अन्तरलाई पहिचान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

प्रतिवेदनमा भदौको जनउभारदेखि १५औँ महाधिवेशनसम्मको राजनीतिक घटनाक्रमलाई समेत विश्लेषण गरिएको छ। बदलिँदो सामाजिक मनोविज्ञान, पुस्ताबीच बढ्दै गएको दूरी, अर्थतन्त्रको अवस्था, बसाइँसराइ र विश्वमा भइरहेको तीव्र परिवर्तनलाई वर्तमान राष्ट्रिय परिवेशका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको छ ।

त्यस्तै, लोकतन्त्रप्रतिको आलोचना विस्तारै लोकतन्त्रकै अस्वीकारसम्म पुग्न सक्ने जोखिम र लोकरिझ्याइँले वैध जन असन्तोषलाई गलत राजनीतिक निष्कर्षतर्फ लैजान सक्ने अवस्थाप्रति पनि प्रतिवेदनले सचेत गराएको छ । यस्तो अवस्थामा कांग्रेसले लोकतन्त्रको पक्षमा आफ्नो ऐतिहासिक र समकालीन दायित्व स्पष्ट रूपमा निर्वाह गर्नुपर्ने थापाको दृष्टिकोण छ ।

जिम्मेवार प्रतिपक्षदेखि राष्ट्रिय शक्तिसम्म

प्रतिवेदनले कांग्रेसलाई केवल निर्वाचनका बेला सक्रिय हुने दलका रूपमा नभई निर्वाचनबीच पनि समाजमा निरन्तर उपस्थित रहने राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ। जिम्मेवार र स्पष्ट प्रतिपक्षको भूमिका निर्वाहसँगै नागरिकका गुनासा सुन्ने, प्रमाणमा आधारित निष्कर्ष निकाल्ने र समाधान प्रस्तुत गर्ने राजनीतिक पद्धति विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

थापाले कांग्रेसको दायित्व प्रतिपक्षमा सीमित नभई राष्ट्रिय शक्ति र लोकतान्त्रिक सन्तुलनको आधारका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्। त्यसका लागि आन्दोलनका सन्देशलाई संस्थागत रूपान्तरण, राजनीतिक ऊर्जालाई लोकतान्त्रिक संस्थागतकरण र सार्वजनिक विश्वासलाई पुनर्निर्माण गर्नुपर्ने विषय प्रतिवेदनमा समेटिएको छ ।

सामाजिक आन्दोलन, पार्टी संगठन र लोकतान्त्रिक मध्यस्थताबीचको सम्बन्ध, सार्वजनिक संवाद, साझा तथ्यमा आधारित सामाजिक सम्बन्ध तथा प्रमुख प्रतिपक्षको भूमिकालाई पनि प्रतिवेदनले प्राथमिकतामा राखेको छ। साथै पुस्तागत परिवर्तन, नयाँ राजनीतिक नेतृत्वको प्रवेश र नेतृत्व निर्माणलाई कांग्रेसको आगामी कार्यभारका रूपमा अघि सारिएको छ ।

राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादको नयाँ व्याख्या

थापाको राजनीतिक प्रतिवेदनमा कांग्रेसको वैचारिक आधारलाई २१औँ शताब्दीको बदलिँदो परिवेश अनुकूल पुर्नव्याख्या गर्ने प्रयास गरिएको छ। राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई स्थायी राजनीतिक आदर्शका रूपमा राख्दै तीनलाई समुन्नत नेपालको लक्ष्यसँग जोडिएको छ ।

राष्ट्रियतालाई राष्ट्रको स्वाधीनता र जनताको सामूहिक स्वशासनसँग, लोकतन्त्रलाई सार्वजनिक शक्तिमाथि नागरिकको स्वामित्वसँग तथा लोकतान्त्रिक समाजवादलाई राजनीतिक स्वतन्त्रतासँगै वास्तविक सामाजिक–आर्थिक स्वतन्त्रतासँग जोडेर व्याख्या गरिएको छ ।

यी तीन आदर्शको सम्बन्धलाई स्वतन्त्र राष्ट्र, सार्वभौम नागरिक र न्यायपूर्ण समाज निर्माणको आधारका रूपमा प्रस्तुत गर्दै थापाले राष्ट्रिय मेलमिलापलाई पनि असहमतिका बीच साझा राष्ट्रिय समुदाय निर्माण गर्ने माध्यमका रूपमा अघि सारेका छन् ।

‘समुन्नत नेपाल’को अवधारणा

प्रतिवेदनको अर्को महत्वपूर्ण पक्ष ‘समुन्नत नेपाल’को अवधारणा र त्यसलाई कार्यान्वयन गर्ने कार्यप्रणाली हो। लोकतान्त्रिक, संवैधानिक, सामाजिक–आर्थिक तथा मानवीय आधारमा समुन्नत नेपाल निर्माणको दृष्टिकोण अघि सारिएको छ ।

थापाले समुन्नतिलाई केवल आर्थिक वृद्धिसँग सीमित नगरी नागरिकको सामथ्र्य, अवसर, सहनिर्माण र जवाफदेहिताको चक्रसँग जोड्ने प्रस्ताव गरेका छन् । यही अवधारणालाई ‘नागरिकता सञ्चालन प्रणाली’का रूपमा व्याख्या गर्दै राज्य, नागरिक र संस्थाबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने प्रयास गरिएको छ ।

‘कस्तो कांग्रेस?’ को स्पष्ट खाका

प्रतिवेदनले आगामी कांग्रेस ‘विचारमा स्पष्ट, संगठनमा जीवन्त र जनताप्रति जवाफदेही’ हुनुपर्ने निष्कर्ष अघि सारेको छ। यसअन्तर्गत सदस्यता, नागरिक सहभागिता र पार्टीभित्र स्वामित्वको भावना बढाउने, तहगत समन्वय र साझा सामर्थ्यमा आधारित संगठन निर्माण गर्ने तथा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने प्रस्ताव गरिएको छ ।

त्यस्तै, अर्थपूर्ण समावेशिता, पाँच पुस्ताको सहयात्रा, परिवारको अपनत्व, राष्ट्रिय सरोकारमा आधारित सामाजिक आन्दोलन र विचार तथा नेतृत्व निर्माणको केन्द्रका रूपमा कांग्रेसलाई विकास गर्ने विषय प्रतिवेदनमा समेटिएका छन् । जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड र स्पष्ट कार्य प्रतिबद्धता, पार्टीको स्वच्छ वित्तीय आधार तथा सार्वजनिक लेखापरीक्षणलाई पनि संगठनात्मक सुधारको महत्वपूर्ण पक्षका रूपमा अघि सारिएको छ ।

थापाले आगामी चार वर्षको नेतृत्व काललाई स्पष्ट कार्यभार र कार्यान्वयनसँग जोड्दै त्यसपछि पनि निरन्तर सुधारमार्फत आगामी दशकका परिणाम हासिल गर्ने राजनीतिक योजना प्रस्तुत गर्न खोजेका छन् । प्रतिवेदनको निष्कर्षमा नागरिकका आकांक्षा पूरा गर्ने, लोकतन्त्रको प्रतिफल जनजीवनमा पुर्याउने र कांग्रेसले आफ्ना मूल राजनीतिक मूल्यप्रति अडान कायम राख्ने विषयलाई केन्द्रमा राखिएको छ ।

१५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुन लागेको यो प्रतिवेदनले कांग्रेसको विगतको आत्मसमीक्षादेखि आगामी दशकको राष्ट्रिय पुनर्जागरण, समुन्नत नेपाल निर्माण र पार्टीको वैचारिक तथा संगठनात्मक रूपान्तरणसम्मको समग्र खाका अघि सार्ने देखिएको छ ।

Share News