काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले ‘रेड बुल १३औं कृति अवाड्र्स २०८३’ अन्तर्गत ‘क्रिएटिभिटी कनेक्ट, जहाँबाट सबै कुराको सुरुवात हुन्छ’ भन्ने नाराका साथ ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ ।
विगतका वर्षहरूमा ‘एजेन्सी ब्रीफिङ सेसन’का रूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रमलाई यस वर्ष गैर–सदस्य एजेन्सीहरूलाई समेत सहभागी गराउँदै अवाड्र्सको गरिमा र पहुँच बढाउने उद्देश्यले नयाँ आयोजना गरिएको हो ।
कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचार, सिर्जनात्मक आयाम र उद्योगीहरूबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा गहन छलफल हुनुका साथै अवाड्र्सका विविध मापदण्ड र प्रक्रियाबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा आनका पूर्व अध्यक्ष एवं कृति अवाड्र्सका सुरुवातकर्ता भास्कर राज राजकर्णिकार, आनका प्रथम उपाध्यक्ष उज्वल शाक्य तथा सबैभन्दा धेरै कृति अवाड्र्स जित्न सफल मेकवेजका प्रमुख विधान राजभण्डारीले अवाड्र्सको महत्त्व, १३औं शृंखलाको तयारी र उत्कृष्ट प्रस्तुतीकरणका रणनीतिबारे प्रकाश पारेका थिए ।
आनका अध्यक्ष सुदीप थापाले यस्ता कार्यक्रमले नेपाली विज्ञापन उद्योगमा पारदर्शिता, व्यावसायिक दक्षता र एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।
मुख्य प्रायोजक रेड बुल रहेको यस १३औं शृंखलालाई जीएमडब्ल्यू ओरा, कोका–कोला र यति इन्टरनेशनल कलेजले ‘पावर्ड बाई’ गरेका छन् भने इन्फ्लुएन्सर एजेन्सी इनमार्क इन्डिया एन्ड एसोसिएट्स, एनसेल र प्राइम टाइल्स लगायतका प्रतिष्ठित ब्रान्डहरूले सहयोग गरेका छन् ।