विकासन्युज

अमेरिका पुगे अर्थमन्त्री वाग्ले, सोमबार उच्चस्तरीय भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् । उनी गएराति अमेरिकाको राजधानी वासिङ्टन डीसी पुगेका हुन् । वासिङ्टन डीसीमा अर्थमन्त्री वाग्लेलाई अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका पदाधिकारीहरूले स्वागत गरेका थिए । अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ । भेटवार्तामा नेपाल–अमेरिका आर्थिक साझेदारी तथा सहयोग अभिवृद्धि, नेपालको पुनर्निर्माण, वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट नेपालको बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने बताइएको छ । यस्तै, हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनःनिर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल हुनेछ । भ्रमणका क्रममा सडक, विद्युत् प्रसारण लाइनलगायत महत्त्वपूर्ण पूर्वाधारमा लगानी बढाउँदै नेपालमा रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइनेछ ।  विकास साझेदार तथा निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि पहल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको जनाइएको छ । अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) का उच्चपदस्थ अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग पनि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

एफएनसीसीआईको पर्यटन तथा हवाई यातायात समितिको उपसभापतिमा थपलिया नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को पर्यटन तथा हवाई यातायात समितिको उपसभापतिमा  कुमारमणि थपलिया नियुक्त भएका छन् । थपलिया नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का निवर्तमान अध्यक्षसमेत हुन् । एफएनसीसीआई अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गठित समितिमा थपलियालाई उपसभापतिको जिम्मेवारी दिइएको हो । समितिको सभापतिमा संघर्ष बिष्ट रहेका छन् । थपलियालाई नियुक्तिको औपचारिक पत्र असोज १६ गते एफएनसीसीआई सचिवालय काठमाडौंमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो । समितिले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन तथा दिगो विकासमा निजी क्षेत्रको सहभागिताका लागि संस्थागत मञ्चका रूपमा काम गर्ने जनाएको छ । पर्यटन पूर्वाधार तथा सेवा, सेवाको गुणस्तर, उद्योगका समस्या, नीतिगत संवाद तथा सार्वजनिक–निजी क्षेत्रबीचको सहकार्य समितिको प्राथमिकतामा रहनेछन् ।  थपलियाले सन् २०२४ देखि २०२६ सम्म नाट्टाको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनी प्रिसियस ट्राभल्स एन्ड टुर्स प्रालिका प्रमुख कार्यकारी अधिकृतसमेत हुन् ।  उनले सन् २०२५ मा नेपाल पर्यटन बोर्डको बोर्ड सदस्यका रूपमा समेत काम गरेका थिए ।  पर्यटन क्षेत्रमा गरेको योगदानको कदर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्व पर्यटन दिवसको अवसरमा उनलाई ‘पर्यटन उत्कृष्टता पुरस्कार २०२५’ प्रदान गरेको थियो ।  नाट्टाको नेतृत्वमा रहँदा थपलिया पर्यटन नीति, उद्योगको प्रतिनिधित्व तथा अन्तर्राष्ट्रिय सहकार्यमा सक्रिय थिए । उनले स्पेन, भारत, भुटान, श्रीलंका, चीन, म्यानमार र बंगलादेशलगायतका देशका पर्यटन संस्था तथा सरोकारवालासँग सहकार्य र संस्थागत सम्बन्ध विस्तारमा भूमिका खेलेका थिए ।  त्यसैगरी, थपलिया विश्वव्यापी ट्राभल एजेन्टहरूको संस्था युनिभर्सल फेडेरेसन अफ ट्राभल एजेन्ट्स एसोसिएसन (यूएफटीएए)का बोर्ड सदस्यसमेत हुन् । त्यहाँ उनले नेपालको ट्राभल ट्रेडको प्रतिनिधित्व गर्दै आएका छन् । एफएनसीसीआईको नयाँ जिम्मेवारीमा उनले पर्यटन नीति, हवाई सेवा तथा कनेक्टिभिटी, पूर्वाधार, लगानी, व्यावसायिक प्रतिस्पर्धा र सार्वजनिक–निजी क्षेत्रको सहकार्यका विषयमा आफ्नो अनुभव उपयोग गर्ने अपेक्षा गरिएको छ ।

युएई भन्छ– ‘आतंकवादी हमला’को प्रयास

काठमाडौं । फ्लाई दुबईको विमानका कप्तानमाथि क्र्यास एक्स गरी विमान नियन्त्रणमा लिन खोज्ने सहपाइलटले आतंकवादी आक्रमणको प्रयास गरेको संयुक्त अरब इमिरेट्स (यूएई)ले जनाएको छ । यूएईका महान्यायाधिवक्ता हमद सैफ अल–शम्सीले शनिबार सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गर्दै सहपाइलटले उडानकै क्रममा आफ्नो योजना कार्यान्वयन गर्न खोजेको बताएका छन् । उनका अनुसार सहपाइलटले ककपिटभित्र क्र्यास एक्स (आपतकालीन बञ्चरो) प्रयोग गरी कप्तानमाथि आक्रमण गरेका थिए । त्यसपछि उनले विमानको नियन्त्रण आफ्नो हातमा लिन खोजेको यूएईले जनाएको छ । अल–शम्सीले घटनाबारेको अनुसन्धान जारी रहेको बताउँदै आक्रमणको पूर्ण परिस्थिति, उद्देश्य तथा सम्भावित सम्बन्धहरू पत्ता लगाउने काम भइरहेको जानकारी दिएका छन् । घटनास्थलबाट प्राप्त भौतिक तथा डिजिटल प्रमाणको प्राविधिक परीक्षण र विश्लेषणसमेत भइरहेको उनले बताए । यूएईका राष्ट्रपतिका वरिष्ठ सल्लाहकार अनवर गर्गाशले पनि उक्त घटनालाई आतंकवादी गतिविधिका रूपमा उल्लेख गरेका छन् । उनले चरमपन्थविरुद्धको संघर्ष अझै समाप्त नभएको भन्दै घृणायुक्त अभिव्यक्तिमार्फत आतंकवादलाई उचित ठहराउने प्रयास पनि खतराको हिस्सा भएको बताएका छन् । सेप्टेम्बर ३० मा दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको एफजेड १०७३ उडानमा १७२ यात्रु तथा चालक दलका सदस्य थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विमानमा सवार अधिकांश व्यक्ति इजरायली नागरिक रहेको बताएका छन् । उनका अनुसार आक्रमणकारीले विमान नै दुर्घटनाग्रस्त गराउन खोजेका थिए । तर विमानलाई सुरक्षित रूपमा साउदी अरबको तबुक विमानस्थलमा अवतरण गराइएको थियो । सञ्चारमाध्यमका रिपोर्ट तथा प्रत्यक्षदर्शीका अनुसार कप्तानमाथि आक्रमण गरेपछि यात्रु तथा चालक दलका सदस्यहरूले सहपाइलटलाई नियन्त्रणमा लिएका थिए । यूएईका महान्यायाधिवक्ताले आक्रमणमा प्रयोग भएको हतियार ‘क्र्यास एक्स’ रहेको पहिलोपटक स्पष्ट गरेका हुन् । बेलायतको नागरिक उड्डयन प्राधिकरण र रोयल एयर फोर्स म्युजियमका अनुसार ठूला विमानमा आपतकालीन अवस्थामा ककपिटबाट बाहिर निस्कनका लागि चालक दलले प्रयोग गर्न सक्ने यस्तो बञ्चरो राखिएको हुन्छ । एसोसिएटेड प्रेसले घटनाबारे जानकार तीन व्यक्तिलाई उद्धृत गर्दै सहपाइलट ओमानी नागरिक हमाम अल–हमामी रहेको जनाएको छ । तीमध्ये एक जना खाडी क्षेत्रका र अर्का पश्चिमी देशका कूटनीतिज्ञ रहेको बताइएको छ ।  उनीहरूले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा जानकारी दिएका थिए । यद्यपि सीएनबीसीले सहपाइलटको पहिचान स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । नेतान्याहुले घाइते विमान चालक भारतीय नागरिक स्मित मच्छर रहेको बताएका छन् । रियादस्थित भारतीय दूतावासले मच्छर तबुकस्थित अस्पतालमा उपचाररत रहेको र उनको अवस्था स्थिर रहेको जनाएको थियो । पछि फ्लाई दुबईले कप्तानलाई यूएई फर्काइएको जानकारी दिएको छ । इजरायली प्रधानमन्त्रीले ककपिटमा प्रवेश गरेर विमान नियन्त्रणमा लिन सहयोग गर्ने यात्रु यानिभ हायुनलाई ‘नायक’ भन्दै उनको बहादुरीको प्रशंसा गरेका छन् । उनले हायुन विश्वस्तरीय सम्मानको हकदार रहेको बताएका छन् । उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ को तथ्यांकअनुसार बोइङ ७३७ म्याक्स ८ विमानले आपतकालीन संकेत प्रसारण गर्नुअघि असामान्य रूपमा तीव्र उचाइ परिवर्तन गरेको थियो । फ्लाइटराडार २४ का अनुसार एफजेड १०७३ विमान केवल २९ सेकेन्डमा १४ हजार फिटभन्दा बढी उचाइबाट तीव्र रूपमा तल झरेको थियो । ट्रान्सपोन्डर तथ्यांकमा विमानको ठाडो गति प्रतिमिनेट करिब ३० हजार फिट तल झर्नेदेखि १० हजार फिट माथि उक्लिनेसम्म देखिएको थियो । सामान्य उडानका क्रममा विमानको ठाडो गति प्रतिमिनेट ४ हजार फिटभन्दा माथि वा तल पुग्नु निकै दुर्लभ हुने फ्लाइटराडार २४ ले जनाएको छ । 

रहबर अन्सारीको आरोपमा निजी मेडिकल कलेज संघको आपत्ति

काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका सम्बन्धमा प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले लगाएका आरोपप्रति निजी मेडिकल तथा डेण्टल कलेज एसोसिएशन अफ नेपालले आपत्ति जनाएको छ । सांसद अन्सारीले नेशनल मेडिकल कलेजमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्यका रूपमा देखाएर स्नातकोत्तर (पीजी) सिट लिएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरेको तथा अनियमितताबारे आवाज उठाउने विद्यार्थीको अध्ययन र आवासमा अवरोध गरिएको आरोप लगाएका थिए । एसोसिएशनले चिकित्सा शिक्षाको गुणस्तर नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले उठेका आरोपमाथि निष्पक्ष छानबिन हुनुपर्ने जनाएको छ ।  आरोप प्रमाणित भएमा सम्बन्धित नियामक निकायबाट कानुनअनुसार कारबाही हुनुपर्ने एसोसिएशनको धारणा छ । तर, छानबिनबाट प्रमाणित नभएका आरोपलाई तथ्यका रूपमा प्रस्तुत गर्न नहुने एसोसिएशनले स्पष्ट पारेको छ ।  अधिकारप्राप्त निकायबाट अनुसन्धान र आधिकारिक निष्कर्ष आउनुअघि आरोपलाई नै स्थापित तथ्यका रूपमा प्रचार गर्दा सम्बन्धित संस्थाको प्रतिष्ठा, विद्यार्थीको मनोबल तथा भविष्य, चिकित्सक र स्वास्थ्यकर्मीको पेशागत प्रतिष्ठामा असर पर्न सक्ने उसको भनाइ छ । एसोसिएशनले चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिललगायत अधिकारप्राप्त निकायलाई सार्वजनिक रूपमा उठेका विषयमा शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ । विद्यार्थीको भविष्य, बिरामीको सेवा र नेपालको चिकित्सा शिक्षाप्रतिको सार्वजनिक विश्वासलाई केन्द्रमा राख्दै सम्बन्धित सबै पक्षलाई संयमित, जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति तथा व्यवहार अपनाउन पनि एसोसिएशनले अनुरोधसमेत गरेको छ ।

गाजामा इजरायली हवाई हमलाः दुई लडाकु कमाण्डरसहित पाँच सर्वसाधारणको मृत्यु

काठमाडौं । इजरायली सेनाले गाजा सहरमा गरेका पछिल्ला हवाई आक्रमणहरूमा प्यालेस्टिनी इस्लामिक जिहादका दुई प्रमुख कमाण्डर तथा एक आवासीय भवनमा चार महिलासहित पाँचजना सर्वसाधारण मारिएका छन् ।  इजरायली प्रतिरक्षा बल (आईडीएफ) ले युद्धविराम सम्झौता उल्लंघन गरी सैन्य क्षमता पुनःस्थापना गरिरहेको आरोप लगाउँदै लडाकु समूहका कमाण्डरहरूलाई निशाना बनाएको जनाएको छ भने अर्कोतर्फ आवासीय क्षेत्रमा भएको बमबारीको सर्वत्र निन्दा भएको छ ।  गाजा सहरमा शुक्रबार र शनिबार भएका श्रृंखलाबद्ध हवाई हमलाहरूले युद्धग्रस्त क्षेत्रमा मानवीय तनाव थप चर्काएको छ ।  इजरायली सेनाद्वारा जारी आधिकारिक विज्ञप्तिअनुसार शुक्रवार इस्लामिक जिहादको रकेट संयन्त्र हेर्ने सुजैया बटालियनका कमाण्डर अहमद महमुद हर्ब रामलावी र एन्टी—ट्याङ्क मिसाइल समूहका प्रमुख मुनिर इब्राहिम मसरलाई लक्षित गरी मारिएको हो ।  सेनाले दुवै जनाले संगठनको सैन्य सामथ्र्य पुनःनिर्माण गर्न भूमिका खेलिरहेको दाबी गरेको छ । इजरायलले सर्वसाधारणको क्षति कम गर्न सटीक हतियार र हवाई निगरानी प्रयोग गरिएको जिकिर गरे पनि शनिबार बिहान पश्चिम गाजा सहरस्थित एक आवासीय अपार्टमेन्टमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ ।  प्यालेस्टिनी स्रोतहरूका अनुसार अल–असाला भवनको भुइँतल्लामा भएको आक्रमणमा मारिनेहरूमा चार जना महिला रहेका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी अल–शिफा मेडिकल कम्प्लेक्समा पुर्‍याइएको छ ।  प्रत्यक्षदर्शी तथा स्थानीय बासिन्दाहरूले आवासीय भवनमा भएको बमबारीबाट ठूलो भौतिक क्षति भएको र भग्नावशेषमुनि अन्य व्यक्तिहरू पुरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।   यसैबीच, इजरायलको सरकारी सञ्चारमाध्यम कान टिभीले रातभर गरिएको आक्रमणमा हमासका वरिष्ठ अधिकारी अली अल–अमौदीलाई लक्षित गरिएको बताए पनि यसको स्वतन्त्र पुष्टि इजरायली सेना वा हमास दुवै पक्षबाट हुन सकेको छैन ।  प्यालेस्टिनी विदेश मन्त्रालयले आवासीय भवनमा भएको आक्रमणको कडा शब्दमा भर्त्सना गर्दै यसलाई प्यालेस्टिनी नागरिकविरुद्ध इजरायलले गरेको निरन्तर ‘युद्ध अपराध’को संज्ञा दिएको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूले पछिल्लो ४८ घण्टामा मात्र अस्पतालहरूमा सात शव र २० जना घाइते भर्ना भएको तथ्यांक सार्वजनिक गरेका छन् । 

नेपाली कांग्रेस महाधिवेशनः गोविन्द भट्टराई उपसभापति पदमा भिड्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५ औं महाधिवेशनमा उपसभापति पदमा चुनाव लड्ने भएका छन् । नेविसंघका पूर्वकेन्द्रीय सदस्य तथा पूर्व पार्टी केन्द्रीय सदस्य समेत रहेका भट्टराईले सबैबाट उपसभापति पदमा लड्न सुझाव आएकाले उम्मेदवारी दिन लागेको जानकारी दिए । ‘देश तथा विदेशबाट समेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीहरूबाट सुझाव आएको छ,’ उनले भने, ‘मैले त्यसलाई सम्मान गरेर उम्मेदवारी दिने निर्णय गरेको छु ।’ इमान्दार र नैतिकवान नेताको छवि बनाएका भट्टराईले नेविसंघको अध्यक्ष रहँदा भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्व गरेका थिए ।  उनको नेतृत्वमा भएको स्ववियु निर्वाचनमा ८० प्रतिशत स्ववियुमा नेविसंघको पक्षमा नतिजा आएको थियो । अहिले प्रियतावादीको लोकरिझ्याईं र पुरातनवादी सोच दुवै पार्टी र देशका लागि घातक भन्दै भट्टराईले कांग्रेसलाई आम मान्छेको पार्टीका रुपमा पुनर्परिभाषित गराउनु आवश्यक रहेको र आफ्नो शक्ति त्यसैमा लगाउने बताए ।

रु. १ दरका नयाँ सिक्का ल्याउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु. १ दरका नयाँ सिक्का छाप्ने प्रक्रिया अगाडि बढाएको छ । राष्ट्र बैंकले आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै रु. १ दरका नयाँ सिक्का छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरुलाई आग्रह गरेको हो। राष्ट्र बैंकले ४० करोड थान नयाँ सिक्का छाप्नेछ .  इच्छुक कम्पनीले आउँदो नोभेम्बर २ तारिखसम्म बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ। बोलपत्र राष्ट्र बैंकको थापाथलस्थित बैंकिङ विभागमा पेस गर्नुपर्नेछ। योग्य कम्पनीले प्रस्ताव पेस गर्दा २० हजार रुपैयाँ वा १३१ अमेरिकी डलर वा ११५ युरो धरौटी राख्नुपर्नेछ। राष्ट्र बैंकले छनौट गरेका कम्पनीले सिक्का डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्नेछ ।  

ज्योति विकास बैंकले १५ हजार भिसा डेबिट कार्ड खरिद गर्ने

काठमाडौं । ज्योति विकास बैंकले बैंकिङ सेवा प्रयोजनका लागि १५ हजार थान खाली भिसा डेबिट कार्ड खरिद गर्ने भएको छ । बैंकले योग्य नेपाली फर्म तथा कम्पनीबाट कार्ड आपूर्तिका लागि बोलपत्र आह्वान गरेको हो । इच्छुक कम्पनीले आगामी अक्टोबर ९ अर्थात् असोज २३ गतेसम्म बोलपत्र बुझाउनुपर्नेछ ।  बोलपत्रमा सहभागी हुन कम्पनी कम्तीमा तीन वर्षदेखि दर्ता भएको हुनुपर्ने, आपूर्ति गर्न प्रस्ताव गरिएको उत्पादनको अधिकृत वितरक हुनुपर्ने र बैंक, संस्थागत क्षेत्र वा सरकारी निकायमा कम्तीमा तीनवटा समान प्रकृतिका आपूर्ति कार्य गरेको अनुभव हुनुपर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ वा २०८२/८३ मध्ये कुनै एक वर्षमा कम्पनीको वार्षिक कारोबार कम्तीमा ५० लाख रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ । बोलपत्रसँग कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, कम्पनी परिचय, प्रबन्धपत्र तथा नियमावली, कर चुक्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, अनुभवसम्बन्धी प्रमाणपत्र र उत्पादकको आधिकारिक पत्रलगायत कागजात पेस गर्नुपर्नेछ । साथै परीक्षणका लागि खाली कार्डका कम्तीमा पाँच थान नमुना पनि बुझाउनुपर्नेछ ।