विकासन्युज

विकास हाइड्रोपावरको सेयर मूल्य समायोजन, प्रतिकित्ता ५१० रुपैयाँ

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेड (बीएचसीएल) को सेयर मूल्य बोनस सेयरपछि समायोजन गरिएको छ । कम्पनीले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयरका आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५१० रुपैयाँ कायम भएको छ । बोनस सेयर समायोजनअघि कम्पनीको अन्तिम कारोबार मूल्य ५६१ रुपैयाँ थियो । १० प्रतिशत बोनस सेयरका कारण मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।

उत्पादन र रोजगारी सिर्जना गर्ने शिक्षा आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाले व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउनुपर्ने बताएका छन् । सेन्ट जेभियर्स स्कुल गोदावरी र जावलाखेलको ७५औँ वार्षिकोत्सव समारोहलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षाको उद्देश्य परीक्षामा राम्रो अंक ल्याउने वा प्रमाणपत्र हासिल गर्नेमा मात्र सीमित हुन नहुने बताए । उनले शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोध विकास गर्ने माध्यम भएको उल्लेख गरे । नेपाल विविध भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिले समृद्ध देश भएकाले शिक्षाले विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो । समय परिवर्तनशील भए पनि आधारभूत मानवीय मूल्यलाई अझ बलियो बनाउन आवश्यक रहेको उनले बताए । सूचना प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा भविष्यका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने गरी नेपालको शैक्षिक प्रणाली विकास गर्नुपर्ने उनको भनाइ थियो । राष्ट्रपति पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको मागअनुसार पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्ने बताए। ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु शिक्षाको प्रमुख दायित्व रहेको उनले उल्लेख गरे । त्यस्तै, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा योगदान पुग्ने गरी स्वदेशमै उत्पादन तथा रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सक्ने शिक्षा आवश्यक रहेको राष्ट्रपति पौडेलले बताए । उनले हरेक नागरिकमा देशभक्तिको भावना विकास गर्ने शिक्षामा समेत विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

३.३४ अर्बमा भरलेलीले पाँचतारे होटल बनाउँदै, बैंकको साढे २ अर्ब लगानी

काठमाडौं । भरलेली हस्पिटालिटी प्राइभेट लिमिटेडले बाराको सिमरामा ३ अर्ब ३४ करोड ५० लाख रुपैयाँको लागतमा पाँचतारे होटल निर्माण गरिरहेको छ । कम्पनीले २ लाख २० हजार १५८ वर्गफुट क्षेत्रफलमा ११८ कोठाको होटल निर्माण गर्न लागेको हो । प्रस्तावित होटलमा रेस्टुरेन्ट तथा बार, सभा कक्ष, व्यायामशाला, क्यासिनो बोर्ड रुम, भोज कक्ष तथा सम्मेलन हललगायतका सुविधा रहनेछन् । होटलले आवास, खानपान, व्यावसायिक बैठक, सम्मेलन तथा विभिन्न सामाजिक समारोहका लागि सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । कम्पनीका अध्यक्ष अंकुश श्रेष्ठ रहेका छन् । उनी नेपोभिट सेरामिक प्राइभेट लिमिटेडमा समेत सञ्चालकका रूपमा आबद्ध छन् । अर्का प्रवर्द्धक अनिश श्रेष्ठसँग पनि विभिन्न क्षेत्रमा उद्यमशीलताको अनुभव रहेको छ ।  होटल निर्माणको कुल लागत ३ अर्ब ३४ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले आयोजनाको लागतमध्ये २ अर्ब ५० करोड ९० लाख रुपैयाँ ऋण र ८३ करोड ६० लाख रुपैयाँ स्वपुँजीबाट जुटाउने योजना बनाएको छ । यसअनुसार आयोजनाको ऋण र स्वपुँजी अनुपात ७५:२५ रहनेछ । आयोजना हाल प्रारम्भिक निर्माण चरणमा रहेको छ । आयोजनाका लागि आवश्यक जग्गा खरिद भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकनसमेत सम्पन्न भएको छ । २०२६ सेप्टेम्बरको मध्यसम्म आयोजनाको वित्तीय प्रगति करिब १३ प्रतिशत रहेको कम्पनीले जनाएको छ । आयोजनाका लागि आवश्यक ऋण व्यवस्थापनको प्रक्रिया पनि अघि बढिरहेको छ । कुल २ अर्ब ५० करोड ९० लाख रुपैयाँ ऋण आवश्यक पर्नेमा हालसम्म बैंकबाट ३० करोड रुपैयाँ ऋण स्वीकृत भएको छ । त्यस्तै, आयोजनाका लागि आवश्यक ८३ करोड ६० लाख रुपैयाँ स्वपुँजीमध्ये करिब १९ प्रतिशत रकम हालसम्म लगानी भइसकेको कम्पनीले जनाएको छ ।  होटल व्यवसायमा स्थायी लागत उच्च हुने भएकाले लगानीको प्रतिफल प्राप्त गर्न तथा नाफामा पुग्न तुलनात्मक रूपमा लामो समय लाग्ने गर्छ । विशेषगरी प्रिमियम स्तरका होटल निर्माण सम्पन्न गर्न तीनदेखि चार वर्ष लाग्न सक्ने र सञ्चालनमा आएपछि व्यवसायलाई स्थिर अवस्थामा पु¥याउन थप दुईदेखि तीन वर्ष लाग्न सक्ने कम्पनीको भनाइ छ । मध्यमस्तरका बजेट होटलको तुलनामा प्रिमियम होटल निर्माणमा ठूलो लगानी आवश्यक पर्ने भएकाले प्रतिफल प्राप्त गर्ने अवधि पनि लामो हुने गर्छ । त्यसैले निर्माण सम्पन्न भएपछि पनि होटलले तत्काल अपेक्षित आम्दानी तथा नाफा हासिल गर्ने अवस्था नआउन सक्ने कम्पनीले जनाएको छ । सिमरामा अवस्थित होटलले रणनीतिक स्थानको लाभसमेत लिन सक्ने देखिन्छ । होटल सिमरा विमानस्थलबाट करिब ५ किलोमिटरको दूरीमा रहेको छ । सिमरा प्रमुख व्यावसायिक तथा औद्योगिक क्षेत्र भएकाले आसपासका औद्योगिक प्रतिष्ठान, व्यावसायिक केन्द्र तथा यातायात सञ्जालबाट होटलले लाभ लिन सक्ने दाबी गरेको छ । होटलका लक्षित ग्राहकमा भारतीय तथा विदेशी पर्यटक, व्यावसायिक यात्रु, कर्पोरेट संस्था, विभिन्न संघसंस्था तथा स्वदेशी ग्राहक रहनेछन् । रणनीतिक स्थान र विविध आतिथ्य सुविधाका कारण होटलले आवास, खानपान, व्यावसायिक बैठक, सम्मेलन, गोष्ठी तथा सामाजिक समारोहका लागि ग्राहक आकर्षित गर्ने लक्ष्य राखेको छ ।

धनगढीमा सुरु भयो ‘कान्छा दाई’ होम डेलिभरी सेवा

काठमाडौं । धनगढीमा घर तथा कार्यालयमै खाना र खाजा पुर्‍याउने होम डेलिभरी सेवा सुरु भएको छ । ‘कान्छा दाई’ एपमार्फत आफूलाई मन परेको रेस्टुरेन्टको खाना तथा खाजा घरमै मगाउन सकिने गरी शुक्रबारदेखि सेवा सुरु गरिएको हो । सुदूरपश्चिमका लागि ‘कान्छा दाई’को फ्रेन्चाइज मनुश्री मल्टीसर्भिस प्रालिले सञ्चालनमा ल्याएको हो । सेवा सुरु भएको अवसरमा तीन दिनसम्म ग्राहकलाई २० प्रतिशत छुट र निःशुल्क डेलिभरीको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सुरुवाती चरणमा धनगढीका ब्रेड बक्स, पोटली, वल्र्ड हाउस बेकरी, गौतम फास्ट फुड र हेम फुडलगायत रेस्टुरेन्ट तथा खाद्य व्यवसायबाट खाना तथा खाजा अर्डर गर्न सकिनेछ । मनुश्री मल्टीसर्भिसका सञ्चालक दिनेश बोहराका अनुसार रेस्टुरेन्टमा पुगेर खाना खान नसक्ने तथा घर, कार्यालय वा काम गर्ने स्थानमै खाना मगाउन चाहने ग्राहकलाई लक्षित गरी सेवा सुरु गरिएको हो । उनका अनुसार ‘कान्छा दाई’ एपमार्फत आफूलाई मन परेको खाना तथा खाजा जुनसुकै समयमा अर्डर गर्न सकिनेछ । अर्डर गरेको केही समयमै ग्राहकले उपलब्ध गराएको स्थानमा खाना पुर्‍याइनेछ । ‘कान्छा दाई’ एप एन्ड्रोइड र आईफोन दुवैमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । हाल यो सेवा धनगढीसहित नेपालगन्ज, कोहलपुर, दाङ र जोमसोमलगायतका क्षेत्रमा सञ्चालनमा रहेको छ । धनगढीपछि महेन्द्रनगर र अत्तरियामा समेत सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक बोहराले बताए । धनगढीमा यसअघि एपमार्फत विभिन्न रेस्टुरेन्ट तथा खाद्य व्यवसायबाट खाना अर्डर गरी घरमै पुर्‍याउने सेवा व्यापक रूपमा उपलब्ध थिएन । ‘कान्छा दाई’को सेवा सुरु भएपछि घर, कार्यालय वा आफू रहेको स्थानबाटै खाना तथा खाजा अर्डर गर्न सकिने भएकाले ग्राहकलाई सहज हुने कम्पनीले जनाएको छ ।

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न जमलमा सुरु भयो ‘चेम्बर बजार’

काठमाडौं । महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवर्द्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले काठमाडौंको जमलमा ‘चेम्बर बजार’ सञ्चालनमा आएको छ । नेपाल महिला चेम्बरको आयोजनामा शनिबारदेखि नेपाल चेम्बर अफ कमर्सको जमलस्थित भवनमा चेम्बर बजार सञ्चालनमा आएको हो । चेम्बर बजारमा महिला उद्यमीले उत्पादन गरेका खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्रीलगायत विभिन्न वस्तु बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन् । त्यस्तै, आयात–निर्यातसँग सम्बन्धित सामग्रीका साथै दैनिक उपभोग्य वस्तुहरू समेत सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । महिला उद्यमीका उत्पादनलाई बजारसँग जोड्ने, उनीहरूको व्यापार विस्तारमा सहयोग गर्ने तथा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले चेम्बर बजार सञ्चालनमा ल्याइएको हो । नेपाल महिला चेम्बरले जमलबाट सुरु भएको चेम्बर बजारलाई आगामी दिनमा काठमाडौंमा मात्र सीमित नराखी देशका प्रमुख सहर तथा विभिन्न क्षेत्रमा विस्तार गर्ने योजना अघि सारेको छ ।

पार्टीको महाधिवेशन ऐतिहासिक भूमिमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छ : देवराज चालिसे

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको १५औँ महाधिवेशन ऐतिहासिक राजनीतिक महत्त्व बोकेको स्थलमा हुन लागेको बताएका छन् । महाधिवेशनस्थल खुलामञ्चमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले नेपालको राजनीतिक इतिहासमा खुलामञ्चको विशेष महत्त्व रहेको बताए । २०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३६ सालको जनमतसंग्रहका लागि पहिलो ऐतिहासिक सार्वजनिक सम्बोधन खुलामञ्चबाट गरेको उनले बताए । २०४६ सालको राजनीतिक परिवर्तनका लागि नेपाली कांग्रेसका नेता गणेशमान सिंहले पनि खुलामञ्चबाटै परिवर्तनको उद्घोष गरेको उनले बताए । नेपाली कांग्रेसको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनसँग जोडिएको महत्त्वपूर्ण स्थानमा पार्टीले १५औँ महाधिवेशन गर्न लागेको उनको भनाइ छ । महाधिवेशनले बीपी कोइरालाको विचारलाई भविष्यको नेपालसँग जोड्ने वैचारिक आधार तय गर्ने उनले बताए । आधुनिक, प्रविधियुक्त र सान्दर्भिक नेपालको परिकल्पनालाई बीपीको विचारसँग जोडेर अघि बढाउने लक्ष्य रहेको उनको भनाइ छ । महाधिवेशनले पार्टीको संरचनागत र नीतिगत सुधार दुवै गर्ने उनले बताए । युवाको सहभागिता विस्तार, नीति निर्माणमा प्रबुद्ध वर्ग र प्रवासी नेपालीको प्रतिनिधित्व तथा सुशासनलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ । उनले भने, ‘नेपालको राजनीतिमा ऐतिहासिक र प्रतीकात्मक महत्त्व छ । यही भूमि हो, जसले २०३३ सालमा जननायक बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि सार्वजनिक रूपमा ऐतिहासिक पहिलो सम्बोधन २०३६ सालको जनमतसंग्रहको सन्दर्भमा यही स्थलमा, यही बगलमा गर्नुभएको थियो । बीपी कोइरालाको आह्वान मात्रै थिएन, गणेशमानजीले २०४६ सालको परिवर्तनको उद्घोष यही भूमिबाट गर्नुभएको हो ।'  उनका अनुसार आइतबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटन समारोहपछि हुने बन्दसत्रमा पार्टीको आगामी राजनीतिक, आर्थिक, सामाजिक र सांगठनिक दिशाबारे विस्तृत छलफल हुनेछ । बन्दसत्रमा पार्टी सभापति गगन थापाले आगामी पाँच वर्षमा कांग्रेसले लिने राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी र परराष्ट्र नीतिसहितका विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नेछन् । उपसभापति विश्वप्रकाश शर्माले पनि समसामयिक विषयमा प्रतिवेदन प्रस्तुत गर्ने उनले बताए । महाधिवेशनमा पार्टीको विधान संशोधनमार्फत संरचनागत सुधारका विषयमा समेत छलफल हुने उनले बताए । उनले विधानमा केही परिवर्तन यसअघि नै भइसकेको बताए । उनले महाधिवेशनले नेतृत्वलाई भन्दा नीति चयनलाई विशेष प्राथमिकता दिएको पनि बताए । महाधिवेशनमा सहभागी प्रतिनिधिले ३ हजार ५ सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्नुपर्नेछ । देशभरबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको उनले बताए । केही जिल्लामा निर्वाचन तथा मतगणना भइरहेकोले आइतबार बिहानसम्म सबै प्रतिनिधि काठमाडौं आइपुग्ने उनको भनाइ छ । महाधिवेशनका गतिविधि, बसोबास, भोजन तथा अन्य कार्यक्रमसम्बन्धी सूचना प्रतिनिधिलाई क्यूआर कोड र एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ । महाधिवेशनका क्रममा प्रत्येक दिन दुई पटक पत्रकार सम्मेलन गरी छलफलमा उठेका विषय, प्रतिनिधिको धारणा र पार्टीका गतिविधिबारे जानकारी गराइने कांग्रेसले जनाएको छ ।

नख्खु कारागारबाट दीपक भट्टको सरुवा सिन्धुपाल्चोक

काठमाडौं । विवादित व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको छ । शनिवार भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार सार्न लागिएको हो । नख्खु कारागारका एक प्रहरी अधिकृतले भट्टलाई सिन्धुपाल्चोक कारागारमा लैजान लागिएको जानकारी दिए ।  उनले विकासन्युजसँग भने, 'अबको ५-१० मिनेटमा कारागारबाट भट्टलाई लगिन्छ । कारागार विभागबाट पत्र आएको छ । सबै पक्रिया पुर्‍याएर कारागारबाट आजै लैजान लागिएको छ ।' किन सिन्धुपाल्चोक लागिएको भन्ने प्रश्नमा उनले आफूलाई जानकारी नभएको बताए ।  असारको तेस्रो साता व्यवसायी भट्टलाई डिल्ली बजारको कारागारबाट नख्खु कारागारमा सारिएको थियो । विशेष अदालतको आदेशअनुसार व्यवसायीहरू दीपक भट्टलाई लागि थुनामा पठाइएको हाे ।  सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा मुछिएका उनीलाई विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । 

कृषि उद्योगका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र भैरहवाका कृषि उद्योगी–व्यवसायीबीच कृषि क्षेत्रको विकास, औद्योगिकीकरण तथा उद्योग सञ्चालनका क्रममा देखिएका समस्या र चुनौतीबारे छलफल भएको छ । भैरहवास्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालयमा आयोजित बैठकमा कृषि उत्पादनको व्यावसायीकरण, कृषि उपजको प्रशोधन तथा बजारीकरण, स्वदेशी उत्पादनको प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणका विषयमा छलफल गरिएको हो । बैठकमा कृषि उद्योगको विकासका लागि आवश्यक नीतिगत सुधार, उद्योग सञ्चालनका क्रममा भोग्नुपरेका व्यावहारिक समस्या, कच्चा पदार्थको उपलब्धता, उत्पादन लागत तथा बजार व्यवस्थापनलगायतका विषयमा उद्योगी–व्यवसायीले आफ्ना धारणा र सुझाव राखेका थिए । उद्योगी–व्यवसायीका समस्या र सुझाव सुनेपछि कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई उत्पादनमुखी, आत्मनिर्भर र औद्योगिक रूपमा सक्षम बनाउन सरकार, किसान र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन् । उनले कृषि उत्पादनलाई उद्योगसँग जोडेर मूल्य अभिवृद्धि, रोजगारी सिर्जना तथा स्वदेशी उत्पादनको बजार विस्तार गर्न कृषि उद्योगको महत्वपूर्ण भूमिका रहेको बताइन् । मन्त्री चौधरीले उद्योगी–व्यवसायीले उठाएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन् । बैठकको समापन गर्दै उनले कृषि क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रसँगको सहकार्य र संवादलाई निरन्तरता दिने बताइन् । कृषि उद्योगको विकासमार्फत किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो ।