काठमाडौं । महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवर्द्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले काठमाडौंको जमलमा ‘चेम्बर बजार’ सञ्चालनमा आएको छ ।
नेपाल महिला चेम्बरको आयोजनामा शनिबारदेखि नेपाल चेम्बर अफ कमर्सको जमलस्थित भवनमा चेम्बर बजार सञ्चालनमा आएको हो ।
चेम्बर बजारमा महिला उद्यमीले उत्पादन गरेका खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्रीलगायत विभिन्न वस्तु बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन् ।
त्यस्तै, आयात–निर्यातसँग सम्बन्धित सामग्रीका साथै दैनिक उपभोग्य वस्तुहरू समेत सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महिला उद्यमीका उत्पादनलाई बजारसँग जोड्ने, उनीहरूको व्यापार विस्तारमा सहयोग गर्ने तथा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले चेम्बर बजार सञ्चालनमा ल्याइएको हो ।
नेपाल महिला चेम्बरले जमलबाट सुरु भएको चेम्बर बजारलाई आगामी दिनमा काठमाडौंमा मात्र सीमित नराखी देशका प्रमुख सहर तथा विभिन्न क्षेत्रमा विस्तार गर्ने योजना अघि सारेको छ ।