आर्थिक कूटनीतिलाई व्यापार र उद्योग विस्तारसँग जोड्नुपर्नेमा अध्यक्ष अग्रवालको जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई प्रशासनिक तथा राजनीतिक कार्यमा मात्र सीमित नराखी व्यापार, लगानी र उद्योग प्रवद्र्धनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । 

नेपाल चेम्बर अफ कमर्सको सचिवाल जमलमा मंगलबार एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड ईन्टरनेशनल अफेयर्स (एमआईएईडि) का मास्टर्स ईन इन्टरनेशनल अफेयर्स, इकोनोमी उण्ड डिप्लोमेसीका विद्यार्थीहरूसँगको अन्तरक्रियामा विद्यार्थीका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष अग्रवालले नेपालको आर्थिक हित प्रवद्र्धनका लागि कूटनीतिक संयन्त्रलाई थप सशक्त बनाउनुपर्ने बताएका हुन् । 

नेपालको आर्थिक कूटनीतिको प्राथमिकता निर्यात प्रवद्र्धन, विदेशी लगानी आकर्षण, उद्योग विस्तार र नयाँ अन्तर्राष्ट्रिय बजारको खोजी हुनुपर्ने उनको भनाइ थियो । विदेशस्थित नेपाली दूतावास तथा नियोगलाई आर्थिक गतिविधिको सक्रिय केन्द्रका रूपमा विकास गरी सम्बन्धित मुलुकका लगानीकर्ता, व्यवसायी तथा व्यापारिक समुदायसँग प्रत्यक्ष सम्पर्क बढाउनुपर्ने उनले बताए । 

अग्रवालले प्रधानमन्त्रीको हालैको संयुक्त राष्ट्रसंघ महासभा सम्बोधन तथा अन्तर्राष्ट्रिय भ्रमणलाई पनि आर्थिक कूटनीतिको एउटा महत्वपूर्ण पक्षका रूपमा उल्लेख गरे । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आर्थिक सम्भावना, आवश्यकता र राष्ट्रिय हितका विषय उठाउनु तथा विभिन्न मुलुकसँग आर्थिक सम्बन्ध विस्तार गर्नु आर्थिक कूटनीतिकै हिस्सा भएको भन्दै उनले प्रधानमन्त्रीको सम्बोधनको प्रशंसा गरे । 

उनले अहिलेको समय आर्थिक शक्ति सुदृढ गर्ने समय भएको बताउँदै आर्थिक रूपमा बलियो बनेपछि मुलुकले आफ्ना राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष थप प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने धारणा राखे। आर्थिक सामथ्र्यले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध र वार्तामा प्रभाव बढाउने भएकाले उत्पादन, व्यापार, लगानी र निर्यातको क्षमता विस्तारलाई प्राथमिकता दिनुपर्ने उनले बताए । 

अध्यक्ष अग्रवालले नेपालको आर्थिक कूटनीतिमा नयाँ सोच आवश्यक रहेको उल्लेख गर्दै ‘ट्रेड, इन्भेस्टमेन्ट एन्ड टुरिजम प्रमोसन’ लाई कूटनीतिक नियोगको महत्वपूर्ण जिम्मेवारी बनाउनुपर्ने बताए । डिजिटल माध्यमको प्रयोगमार्फत अन्तर्राष्ट्रिय बजारसँग जोडिने तथा विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पूँजी र सञ्जाललाई समेत नेपालको आर्थिक विकासमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो । 

उनले नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुनु आवश्यक रहेको उल्लेख गर्दै त्यसबाट उत्पन्न हुने सम्भावित चुनौतीलाई लिएर अनावश्यक चिन्ता गर्नुभन्दा अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता र अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तारमा ध्यान दिनुपर्ने बताए । 

अग्रवालले नेपालको कुल व्यापारमा भारतको हिस्सा करिब ६५ प्रतिशत र चीनको हिस्सा करिब १५ प्रतिशत रहेको उल्लेख गर्दै एलडीसी स्तरोन्नतिपछि व्यापारमा पर्ने सम्भावित प्रभावलाई व्यवस्थापन गर्न सकिने बताए । उनले भारत र चीनसँगको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्दै अन्य मुलुकसँग पनि व्यापारिक सम्बन्ध र निर्यातको दायरा बढाउनुपर्नेमा जोड दिए । 

अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा राजनीतिक तथा जनताको लोकतन्त्र स्थापित भए पनि आर्थिक लोकतन्त्र अझै प्राप्त हुन नसकेको बताए । आर्थिक रूपमा सबल नभएसम्म राजनीतिक उपलब्धिलाई दिगो बनाउन कठिन हुने भन्दै उनले उत्पादन, व्यापार, लगानी, रोजगारी र निर्यात विस्तारमा केन्द्रित आर्थिक नीति आवश्यक रहेको बताए ।

अध्यक्ष अग्रवालले रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्ने बताए। विदेशमा रहेका नेपालीले आर्जन गरेको पूँजीसँगै उनीहरूले प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई नेपालको आर्थिक विकासमा उपयोग गर्नुपर्ने उनको धारणा थियो । वैदेशिक रोजगारीमा जाने जनशक्तिको सीप विकासमा जोड दिँदै उनले दक्ष जनशक्ति उत्पादन र सीप प्रमाणीकरणमार्फत नेपाली श्रमिकको आम्दानी तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने बताए । 

नेपालमा उत्पादन लागत उच्च भएकाले नेपाली उद्योगले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको उल्लेख गर्दै अध्यक्ष अग्रवालले सरकारले उत्पादन तथा निर्यात क्षेत्रलाई लक्षित गरी अनुदान तथा सहुलियतको व्यवस्था गर्नुपर्ने बताए । उद्योगको उत्पादन लागत घटाउने, कच्चा पदार्थ तथा आवश्यक वस्तुको आयातलाई सहज बनाउने र निर्यातकर्तालाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनको भनाइ थियो । 

आयात सहजीकरणसँगै निर्यातमा समेत सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले नेपाली वस्तु विदेशी बजारमा प्रतिस्पर्धी बनाउन निर्यातमा आवश्यक अनुदान र प्रोत्साहन उपलब्ध गराउनुपर्ने बताए । उत्पादन लागत कम गर्न विद्युत्, पूर्वाधार, वित्तीय पहुँच, कर तथा अन्य लागतका विषयमा पनि सुधार आवश्यक रहेको उनले औंल्याए । 

अग्रवालले अहिलेको समय आर्थिक शक्ति सुदृढ गर्ने समय भएको बताए। आर्थिक रूपमा बलियो मुलुकले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना राष्ट्रिय हितका विषय प्रभावकारी रूपमा उठाउन सक्ने उल्लेख गर्दै उनले आर्थिक कूटनीतिलाई राष्ट्रिय आर्थिक विकासको रणनीतिसँग जोड्नुपर्ने बताए । 

उनले नेपालले राजनीतिक लोकतन्त्र र जनताको लोकतन्त्र प्राप्त गरे पनि आम नागरिकले आर्थिक अवसर, रोजगारी, उद्यमशीलता र समृद्धिको समान पहुँच पाउने आर्थिक लोकतन्त्रको लक्ष्य अझै हासिल गर्न बाँकी रहेको बताए। त्यसका लागि सरकार, निजी क्षेत्र र युवा पुस्ताबीच सहकार्य गर्दै उत्पादन तथा रोजगारी सिर्जनामा केन्द्रित नीति अघि बढाउनुपर्नेमा उनले जोड दिए । 

अन्तरक्रियामा विद्यार्थीहरूले एलडीसी स्तरोन्नति, आर्थिक कूटनीति, रेमिट्यान्स, वैदेशिक रोजगारी, सीप विकास, निर्यात, लगानी तथा निजी क्षेत्रका चुनौतीलगायत विषयमा अध्यक्ष अग्रवालसँग जिज्ञासा राखेका थिए ।

अग्रवालले विद्यार्थीका प्रश्नको जवाफ दिँदै नेपालको आर्थिक विकासका लागि नयाँ सोच, प्रतिस्पर्धी उत्पादन र प्रभावकारी आर्थिक कूटनीति, युवा पुस्ताको सकृय भूमिका अपरिहार्य रहेको औल्याउँदै  नेपालको आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र र कूटनीतिक संयन्त्रबीच सहकार्य आवश्यक रहेको बताए । 

Share News