काठमाडौं । नेपालको स्टार्टअप तथा उद्यमशीलता वातावरणलाई थप सशक्त, लगानीमैत्री र देशव्यापी बनाउने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच समझदारी भएको छ ।
समझदारीअनुसार सीएनआईवाइईएफ र टीएसएनले संयुक्त रूपमा ‘फाउन्डर्स हब’ नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रममार्फत हरेक वर्ष १०० वटा स्टार्टअपलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा सहभागी स्टार्टअपलाई व्यवसाय विकास, परामर्श, उद्योगसँग पहुँच तथा सम्बन्ध विस्तार, लगानीको तयारी र सम्भावित लगानीकर्तासँग जोड्ने काम गरिने जनाइएको छ ।
समझदारीपत्रमा सीएनआईवाइईएफका निवर्तमान अध्यक्ष आशिष श्रेष्ठ र टीएसएनका प्रमुख सञ्चालन अधिकृत सौगात ओझाले हस्ताक्षर गरेका छन् ।
साझेदारीअन्तर्गत सीएनआईवाइईएफले आफ्ना सदस्य तथा साझेदार संस्थाको सञ्जालमार्फत टीएसएनका कार्यक्रमका लागि सम्भावित प्रायोजक, संस्थागत साझेदार तथा अन्य सरोकारवालासँग सहकार्य विस्तार गर्न सहजीकरण गर्नेछ ।
यो सहकार्य काठमाडौंमा मात्र सीमित नराखी नेपालका विभिन्न शहर तथा उदाउँदा उद्यमशीलता केन्द्रसम्म विस्तार गर्ने योजना रहेको छ । स्थानीय स्तरमै नयाँ व्यवसाय तथा उद्यमी जन्माउने र नवप्रवर्तन तथा उद्यमशीलताको पहुँच देशका विभिन्न भूगोलसम्म पुर्याउने लक्ष्य साझेदारीले लिएको जनाइएको छ ।