काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सार नियन्त्रणका नाममा सीमानाकामा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने र दुःख दिने काम भइरहेको आरोप लगाएका छन्।
पार्टीको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै साहले भारतबाट स्थलमार्ग हुँदै घरायसी प्रयोजनका लागि ल्याइने सामान्य सामग्रीमा समेत सरकारले भन्सारका नाममा सर्वसाधारणलाई दुःख दिने गरेको बताए ।
तर, हवाईमार्गबाट आउने व्यक्तिले लाखौं मूल्यका सामान ल्याउँदा भने सहजता दिइएको उनको आरोप छ ।
‘भन्सार नियन्त्रणको नाउँमा निजी सम्पत्ति लुट्ने जो काम भइरहेको छ, त्यो बन्द होस् भन्न चाहन्छौं,’ उनले भने, ‘प्लेनमा आउनेको एउटा नियम छ, महँगा–महँगा सामान ल्याउन पाउने, तर रक्सौल बोर्डरबाट गरिब मान्छेले १० हजारको सामान ल्याउँदा खोसिन्छ ।’
साहले सीमा सुरक्षाका नाममा तराईका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको संख्या र क्याम्प बढाइएकोप्रति पनि असन्तुष्टि जनाए ।
नेपालको सीमा भारतसँग मात्र नभई चीनसँग पनि जोडिएको उल्लेख गर्दै उनले हिमाली, पहाडी तथा पूर्व–पश्चिम सबै क्षेत्रमा सीमा सुरक्षालाई समान प्राथमिकता दिनुपर्ने बताए ।
‘के बोर्डर खाली तराईमा मात्र छ कि हिमालमा पनि छ? पहाडमा पनि छ ? पूर्व र पश्चिममा बोर्डर छैन ? अनि तिब्बततिर किन नबढाएको ? चीनको बोर्डरमा किन नबढाएको ?,’ उनले प्रश्न गरे ।
सीमा सुरक्षा नै उद्देश्य भए सुस्ता र कालापानीलगायतका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।
‘सीमा सुरक्षा गर्नलाई हो भने सुस्तामा किन नराखेको ? कालापानीमा किन नपठाएको ?,’ साहले भने, ‘हाम्रो नक्सामा भएको जग्गामा सेना–प्रहरी नपठाउने, अनि जनताको छिनछिनमा दुःख दिन तराईका बोर्डरमा सशस्त्रको संख्या र क्याम्प बढाउने ?’
साहले किसानको समस्या समाधानमा पनि सरकारले ध्यान नदिएको आरोप लगाए । किसानले मलखाद, बजार र उत्पादनको उचित मूल्य नपाएको भन्दै उनले कृषि उत्पादन बिक्री गरेपछि समेत लामो समयसम्म भुक्तानी नपाउने अवस्था रहेको बताए ।
‘किसानको हालत खराब छ । किसानको कोही माइबाप छैन। न ऊसँग मलखाद छ, न आफूले उत्पादन गरेको सामानको रेट छ, न मार्केट छ,’ उनले भने ।
उखु, मकै लगायतका कृषि उपज बिक्री गरेपछि पनि किसानले लामो समयसम्म रकम नपाएको भन्दै उनले किसानलाई उत्पादनका लागि आवश्यक सामग्री, बजार र उचित मूल्य उपलब्ध गराउनु सरकारको दायित्व भएको बताए ।
सहकारी तथा लघुवित्त पीडितको समस्या समाधानमा समेत सरकार गम्भीर नभएको साहको आरोप छ । पीडितसँग गरिएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई उनले आग्रह गरे ।
‘सरकारले सम्झौता मात्र गर्छ, कार्यान्वयन गर्दैन। सम्झौता जुन हातले गर्नुभएको छ, कार्यान्वयन पनि त्यही हातले गर्नुस्। अनि मात्र हामी विश्वास गर्छौँ, जनताले विश्वास गर्छ,’ उनले भने ।
साहले वर्तमान सरकारसँग रहेको दुई तिहाइको राजनीतिक शक्तिलाई जनताले अनुभूति गर्ने परिणाममा बदल्नुपर्नेमा जोड दिए । तर सरकारले आफ्नो क्षमता र बहुमतअनुसार काम गर्न नसकेको उनको आरोप छ ।
‘दुई तिहाइको ताकत छ, यसलाई परिणाममा बदल्नुस्। दुई तिहाइको बोझ जस्तो नठान्नुस्,’ उनले भने, ‘आज सरकारलाई दुई तिहाइको बोझ जस्तो भएको छ । आफ्नै बोझले आफै थिचिने जस्तो भएका छन् ।’
सरकारले १०० दिनमा १०० वटा काम गर्ने घोषणा गरे पनि ६ महिना बितिसक्दा त्यसअनुसारको परिणाम नदेखिएको साहले बताए । सरकार आफैले १०० दिनपछि गरेको कार्यसम्पादन मूल्यांकनमा समेत उत्तीर्ण हुन नसकेको उनको दाबी छ ।
‘हामीले १०० बुँदे दिनुभयो, म १०० दिनमा १०० वटा काम गर्छु भन्नुभयो । म सोध्न चाहन्छु, के भयो १०० वटा काममा? के–के काम गर्नुभयो ? कति प्रतिशत गर्नुभयो ?,’ उनले प्रश्न गरे ।
सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै साहले घोषणामै सीमित नभई परिणाम देखिने गरी काम गर्न सरकारलाई आग्रहसमेत गरे ।