काठमाडौं । नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदै गर्दा शिवाकोटीले आफ्नो उम्मेदवारीको तयारी थालेको जनाएका हुन् ।
कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा आएका उनी गत पुसमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्य चुनिएका थिए । १४औँ महाधिवेशनमा उनी निर्वाचन प्रक्रियामार्फत केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
शिवाकोटीले सहमहामन्त्री पदको आफ्नो दावेदारी स्वाभाविक भएको बताएका छन् । राजनीतिलाई चलायमान गर्न व्यक्तिको पनि वृत्ति विकास हुनुपर्ने भएकाले अब सहमहामन्त्री भएर सेवा गर्ने इच्छा भएको उनले बताएका छन् ।
उनले कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको प्रमुख भएर महत्वपूर्ण काम गरे । पार्टी आफैँ इतिहास भए पनि दस्तावेज जरुरी छन् भन्दै पुस्तकालयमा महत्वपूर्ण पुस्तकहरू संकलन गरे । विभागमा थप सदस्यहरू जोडेर सशक्त पारे । फोरम चलाए ।
दुर्भाग्य, उनले गरेको मेहनतमा ‘जेन–जी’ आन्दोलनका नाममा भएको घुसपैठमा पार्टी कार्यालय जलाइयो । जसमा ती महत्वपूर्ण कागजात जले । दस्तावेज जले । अनि प्रजातन्त्र सेनानी थुप्रैका कथा जले । लेखिन बाँकी कहानी जले । यद्यपि उनका हजुरबुबा नन्दप्रसाद शिवाकोटीजस्ता प्रजातन्त्र सेनानीको संघर्षलाई जसरी पुस्तकमा निकालेर दुनियाँलाई चिनाएका छन्, त्यसरी नै बाँकी सेनानीको कथा समेट्ने उनको अभियान रोकिएको छैन ।
उनले यसलाई जगाउन नन्दप्रसाद जानुका फाउन्डेसन नै खोलेका छन् । यो फाउन्डेसनले तीनवटा पुस्तक सार्वजनिक गरिसकेको छ । गत महिनामात्र ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक भएको थियो ।
कांग्रेस राजनीतिमा आउनुअघि शिवाकोटी पत्रकारिता क्षेत्रमा सक्रिय थिए । उनी तत्कालीन समयमा प्रतिनिधिसभाका सभामुख रहेका कृष्णबहादुर महरा र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड काण्डसम्बन्धी समाचार लेखेर चर्चामा आएका थिए । त्यसबखत बहालवाला सभामुख र सञ्चारमन्त्रीको पद खोसिएको थियो ।
नेपाल प्रेस युनियनको महासचिव भएपछि कांग्रेसको मूलधारको राजनीतिमा भित्रिएका उनी गत प्रतिनिधिसभा निर्वाचनमा दोलखाबाट कांग्रेस उम्मेदवार बनेका थिए । पत्रकारितामा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा कलम चलाएका शिवाकोटीले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा पुरस्कारहरू प्राप्त गरेका छन् । उनी कांग्रेस महाधिवेशनका लागि दोलखाबाट महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।
को हुन् अजयबाबु ?
अजयबाबु शिवाकोटी परिवर्तनका पहरेदार हुन् । नयाँ सोचका खानी हुन् । जसले समयसापेक्ष अगाडि बढ्न मद्दत गर्छ । त्यही सोचले उनी जुन क्षेत्रमा लाग्छन्, त्यसलाई सफल बनाएरै छाड्छन् । त्यसको प्रमुख कारण हो, उनको पेसाप्रतिको लगाव । पाँच वर्षअघि पूर्णकालीन राजनीतिमा होमिएका अजयबाबु जसरी पत्रकारितामा सशक्त भूमिकामा उभिए, त्यसरी नै राजनीतिक लगावलाई पनि सशक्तता प्रदान गर्ने भूमिका खोजिरहेका हुन् ।
राजनीतिका स्पष्ट वक्ता
अजयबाबु कलमको तागतले जितेका नेता हुन् । पूर्णकालीन राजनीतिमा आउनुअघि उनी पत्रकारिताका माध्यमबाट आफ्नो भूमिकालाई सशक्त पार्दै आएका थिए । त्यसको फलस्वरूप नीति निर्माणको तहमा आएमात्रै परिवर्तन सम्भव छ भन्ने देखेर उनी कांग्रेसको पूर्णकालीन कार्यकर्ता बने । पार्टीको १४औँ महाधिवेशनबाट २०७८ साल मंसिरमा खुला केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनको राजनीतिले सशक्त गति लियो । उनी पहिलो पाइलामै सफलता हासिल गर्न सफल भए । उनको स्पष्ट बोलीको प्रभाव तत्कालै पर्यो ।
कांग्रेसलाई हार्ने छुट छैन भन्दै होमिएका थिए निर्वाचनमा
उनी पाँच वर्षको दौरान पार्टीलाई सशक्त बनाउन लागिपरे । केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जनताको बीचमा पुगे । कांग्रेसको स्थानीय तहदेखि प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि गरिएको अभियानमा उनी निरन्तर खटिए । जिल्ला मुस्ताङमा पुगेर पार्टीको प्रचारप्रसार र प्रशिक्षण दिन व्यस्त रहे ।
‘कांग्रेसलाई हार्ने छुट छैन’ भन्दै उनले जिल्लाजिल्लामा पुगेर जितको रणनीति बनाउन लागिपरे । कांग्रेसलाई २०७९ को चुनाव जित्न सजिलो थिएन । किनकि कम्युनिस्टले कांग्रेसका एजेन्डाको भ्रम छर्न र उत्तेजना फैलाउन भरमग्दुर प्रयास गरेका थिए । त्यसलाई पनि रणनीतिक तरिकाले उनी जहाँ पुगे, त्यहाँ वास्तविकता बताएर आफ्नो पक्षमा पार्न सफल भए ।
कांग्रेसले जित्नु नै देशले जित्नु भएको बताउँदै अजयबाबुले कांग्रेसले नेपाली राजनीतिमा खेलेको भूमिका बुझाउँदै हिँडे । साथै सञ्चारमाध्यमले सत्यतथ्य कुरा बाहिर ल्याएर सघाउनुपर्नेमा समेत उनले जोड दिँदै सञ्चारकर्मीको मनोबल उच्च बढाउने काम गरे ।
अजयबाबुजस्ता परिवर्तनकारी युवा नेताहरूकै कारण कांग्रेस २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बन्न सफल भयो । समुदायमा कांग्रेस अभियानकै कारण यो सम्भव भयो । अजयबाबुले राजनीतिमा सहमति अहम हुने भन्दै तत्कालीन अवस्थामा दलीय सहमतिअनुसार भएको चुनावी अभियानलाई स्वीकार्नुपर्नेसमेत जोड दिए । जसको परिणाम कांग्रेस दलहरूका बीचमा समेत इमानको राजनीति गर्ने पार्टी बन्यो ।
अजयबाबुले पार्टीले बाटो बिराउँदा आक्रामक शैलीमा ‘कांग्रेस फाली निस्केको हलो जस्तै भएको’ भन्दै सही मार्गमा ल्याउन प्रयास गरे । उनले ‘कांग्रेस हाम्रो हो, कांग्रेस हाम्रो भविष्य हो’ भन्ने लक्ष्य लिएर रूपान्तरणमा होमिनसमेत युवालाई आह्वान गर्दै आए । यो भनाइ जेन–जी युवामा अझ बढी लागू हुन्छ । उनी लामो समयदेखि पार्टीले जेन–जीलाई समेटेर उनीहरूको भावना बुझ्न आग्रह गर्दै आएका नेता हुन् ।
अरूले बाटो बिराउँदा खबरदारी गर्दै आए । चाहे अन्य दलहरूबीचको अवैध साँठगाँठ होस् वा सरकारको नियन्त्रणमुखी नीति, उनले सदैव औँला ठड्याइरहेका छन् । पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी उनले पूरा गर्दै आए । कांग्रेस सधैँ बैसाखी टेक्ने होइन, टेकोबिना खडा हुने पार्टी बनाउनु छ भन्ने सिद्धान्त नेता–कार्यकर्तामा छर्दै गए ।
सभापति गगनकुमार थापाको विचारसँग जोडिएका उनीजस्तै युवा नेताहरूकै कारण आज कांग्रेस परिवर्तनको मार्गमा हिँड्न सफल भएको छ । पार्टी नेतृत्वले बाटो बिराउँदा जहिले पनि प्रश्न तेर्स्याउने उनीजस्ता युवाहरूकै कारण दोस्रो ऐतिहासिक विशेष महाधिवेशन सम्भव भयो । तबमात्र कांग्रेस जेन–जी आन्दोलनपछिको परिस्थितिलाई आकलन गर्दै फागुन २१ को निर्वाचनमा होमिन सफल भयो ।
निर्वाचनको परिणाम त्यो बेलाको परिस्थितिअनुसार नै आए पनि उनी हतोत्साही भएनन् । उनलाई थाहा छ, राजनीतिमा जित–हार हुन्छ । बस्, आफ्नो लक्ष्यबाट विचलित हुनु हुँदैन । चुनावी परिणाम स्वीकार्दै उनी तत्काल पार्टी संगठनमा लागे ।
पत्रकार छँदा पनि रगतमा राजनीति
हजुरबुबा नेपाली कांग्रेसका योद्धा । सँगसँगै त्यागी पनि । पद कि शिक्षा भनी रोज्न लगाउँदा शिक्षा ठूलो भनेर दोलखामा विद्यालय खोलेका हजुरबुबा नन्दप्रसाद शिवाकोटीको त्यो विचार परिवारमै क्रमशः पुस्तान्तरण हुनु नौलो होइन । अझ अजयबाबु त विद्यालय उमेरदेखि नै विचारमा अडिग । साथै क्याम्पसमा पनि उनी आफ्नो सिद्धान्तमा कहिल्यै डगमगाएनन् । साथै उनले दुई दशकभन्दा बढी समय बिताएको पत्रकारिता पेसामा पनि उत्तिकै सशक्त रहे । २६ वर्षअघि उनले थालेको सञ्चारकर्म उनी कांग्रेसको पूर्णकालीन कार्यकर्ता हुने बेलासम्म चलिरह्यो ।
विद्यार्थी, सामाजिक अभियन्ता र जुझारू पत्रकारका नाताले उनी बहुदलदेखिका हरेक परिवर्तनका आन्दोलनमा आफ्नो भूमिका सशक्त पार्न सफल भए । सशस्त्र द्वन्द्वदेखि शाहीकालको त्यो धर्मराएको पत्रकारितामा साहसिक पत्रकारिताको प्रदर्शन गरे । रेडियो नेपालको घटना र विचार होस् वा इमेज च्यानल होस् । नेपाल वन होस् वा इमेज एफएम अनि आफैँ प्रधानसम्पादक भएको हाम्राकुरा डटकम किन नहोस्, उनी पत्रकारिताको धर्ममा कहीँ चुकेनन् । बस्, दुःख पाए त प्रश्न गर्दा । बस्, पक्राउ पर्नुपर्यो त न्याय माग्दा । २०६२–०६३ को जनआन्दोलनका क्रममा आन्दोलनको दृश्य सबैभन्दा पहिले कैद गर्न पुग्ने पत्रकारका रूपमा चिनिन्थे । त्यतिमात्र होइन, लोकतन्त्रका लागि र प्रेस स्वतन्त्रताका लागि घन्किने नाराहरूमा उनको स्वर चर्को बनेर दरबारसम्म पुग्न खोज्थ्यो ।
त्यही प्रतिफलले उनले पत्रकारिता विषयमै स्नातकोत्तर गरे । हाम्राकुरा डटकमका संस्थापक निर्देशक तथा संस्थापक प्रधानसम्पादक भए । १२ वर्ष उक्त जिम्मेवारीमा रहने क्रममा उनले विभिन्न विकृति, विसंगति र भ्रष्टाचारका विषयमा कलम चलाए । नीतिनिर्माताहरूलाई बाटो देखाउने काम गरे । उनी कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका महासचिवसमेत भए । यतिले मात्र पत्रकारितालाई जोगाउन सकिनेमा उनी विश्वस्त भएनन्, तब त मूलधारको राजनीतिमै होमिए ।
उनले गरेका रिपोर्टिङबाट समाजमा व्याप्त विकृति र विसंगति रोक्न गरेको प्रयास अतुलनीय छ । ठूलाठालुले गरेका गल्ती ढाकछोप गर्ने तीतो यथार्थ समाजमा व्याप्त भइरहँदा उनले गरेको रिपोर्टिङबाट तत्कालीन सभामुख कृष्णबहादुर महराको पद गुमेको थियो । त्यस्तै, एमालेका नेता गोकुल बाँस्कोटा सञ्चारमन्त्री रहेका बेलामा उनले ७० करोड भ्रष्टाचारको काण्ड सार्वजनिक गरेपछि बाँस्कोटाले पनि पद छाड्नु परेको थियो । उनी चुनौतीपूर्ण पत्रकारिता निडरपूर्वक गर्ने पत्रकारमा पर्छन् ।
बोलीका पक्का उनले भनेका थिए– ‘राजनीतिमा लागेपछि पत्रकारिताको रिपोर्टिङमा उत्रन्नँ ।’ जुनसुकै माध्यमबाट भए पनि देश विकासका लागि समाजसेवामा अग्रसर भइरहने प्रण गरेका अजयबाबुले पत्रकारिताको सक्रिय जीवनबाट अलग भएर राजनीतिमा होमिए पनि आफू सञ्चार उद्यमीका रूपमा भने रहिरहने बताउँदै आएका छन् । उनले पत्रकारिता सधैँ जीवित र निर्भीक हुनुपर्ने बताउँदै आइरहेका छन् ।
सँगसँगै समाजसेवा पनि
अजयबाबु समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । उनले विभिन्न समयमा गर्ने सहयोग त्यसका उदाहरण हुन् । पत्रकारलाई पर्ने मर्कामा अग्रस्थानमा रहेर त्यसको विरोध गर्छन् भने आपत्–विपत्मा सघाउँछन् ।
उनी समाजको जुनसुकै तहमा पुगेर पनि श्रमदान गर्न पछि पर्दैनन् । २०८० सालमा जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पबाट पीडित बनेका कर्णालीवासीको घाउमा मलम लगाए । भूकम्प प्रभावित रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ५० अस्थायी आवास बनाएर हस्तान्तरण गरे । सो क्रममा उनी १० दिन स्वयं खटिएका थिए ।
पत्रकारितामा सक्रिय रहँदा पुरस्कारबाट सम्मान
उनले गरेको पत्रकारिता कत्तिको सशक्त थियो भन्ने उदाहरण उनले पाएका सम्मानबाट समेत स्पष्टै हुन्छ । उनी नेपाल सरकारबाट प्रबल जनसेवाश्रीबाट विभूषित भए । उनी ईन्जा अवार्ड, रोटरी जर्नो अवार्ड, देशतीर्थ पत्रकारिता पुरस्कारलगायतबाट समेत पुरस्कृत भए ।
जसरी पत्रकारिता गर्दा थुप्रै सम्मानसहित पुरस्कार थापे, जसरी सशक्त पत्रकारिताकै माध्यमबाट प्रबल जनसेवाश्री पुरस्कार पाए, त्यसरी नै पार्टी राजनीतिमा पनि अब्बल नेता बनेर जनसेवामा जुट्न उनी निरन्तर जनताकै वरिपरि रहन्छन् । उनी कांग्रेसी नेता–कार्यकर्तामाझ पनि सहजै भिजिरहेका छन् ।