कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, २ एम्बुलेन्स मैदानमै

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको स्वास्थ्य कक्ष सञ्चालनमा ल्याइने भएको छ । महाधिवेशन प्रतिनिधिका लागि स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य कक्षको व्यवस्था गरिएको हो ।

महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार महाधिवेशन स्थल खुलामञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य कक्ष तयार गरिएको छ । पाँच वटा कक्ष रहने स्वास्थ्य कक्षबाट सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक सेवा प्रदान गरिनेछ ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा. केसीले स्वास्थ्य कक्ष दुई चरणमा सञ्चालन हुने बताए । उनका अनुसार स्वास्थ्य कक्षमा चिकित्सक, स्वास्थ्य सहायक तथा नर्स गरी ३० जना स्वास्थ्यकर्मी परिचालन हुनेछन् । स्वास्थ्य कक्षबाट रक्तचाप र सुगर परीक्षणका साथै सिटामोल, जीवनजल तथा घाउ चोटमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराइनेछ ।

प्रतिनिधिलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था आए नजिकै वीर अस्पताल, राष्ट्रिय ट्रमा केन्द्र र वसुन्धरा स्थित बीपी स्मृति अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ । त्यसका लागि महाधिवेशन स्थलमै दुइवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।

रातिको समयमा पनि स्वास्थ्य सेवा आवश्यक पर्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको डा. केसीले बताए । होटलमा बसेका प्रतिनिधिलाई स्वास्थ्यसम्बन्धी समस्या आएमा होटलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।

नेपाल स्वास्थ्यकर्मी संघकी उप-महासचिव शोभा उप्रेती खरेलले स्वास्थ्य कक्षमा आयुर्वेद र आधुनिक चिकित्सा दुवै सेवा उपलब्ध हुने बताइन् । उनका अनुसार आवश्यक औषधिसमेत स्वास्थ्य कक्षमै उपलब्ध हुनेछ ।

Share News