विकासन्युज

सरकारी ठेक्काबाट ५ निर्माण कम्पनी आउट, १ देखि ३ वर्ष कालोसूचीमा

काठमाडौं । सरकारले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । कार्यालयका अनुसार कालिकोटको खाँडाचक्र-१ स्थित गोर्खबहादुर बटाला मुख्य व्यक्ति रहेको बटाला निर्माण सेवालाई तिलागुफा नगरपालिकाको सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै, पूर्वाधार विकास कार्यालय, लमजुङको सिफारिसमा गोरखाको भीमसेन थापा गाउँपालिका-५ स्थित बुढीगण्डकी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति सुरेशबाबु श्रेष्ठ हुन् । सडक डिभिजन, जुम्लाको सिफारिसमा मैना शाही मुख्य व्यक्ति रहेको सुर्खेतको बिनम्र निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै, सडक डिभिजन, जुम्लाकै सिफारिसमा सुर्खेतको वीरेन्द्रनगर-३ स्थित धुर्वप्रसाद कँडेल मुख्य व्यक्ति रहेको धुर्व निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । मुगुको छायानाथ रारा-१ स्थित चण्डिका शाही मल्ल मुख्य व्यक्ति रहेको अविनाश निर्माण सेवालाई पनि सडक डिभिजन, जुम्लाको सिफारिसमा एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कार्यालयले असोज १६ गतेको निर्णयअनुसार सम्बन्धित सार्वजनिक निकायबाट लेखी आएबमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको छ । कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्न रास्वपाले डाक्यो बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा बैठक बस्न लागेको हो । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनलगायत विषयमा छलफल हुनेछ । यस्तै, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियान, मधेस प्रदेश संगठनको लेखापरीक्षण प्रतिवेदन तथा विविध विषय बैठकका कार्यसूचीमा रहेका छन् ।

काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । आज शनिबार र भोलि आइतबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्र तथा काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले नियमित मर्मतसम्भार, भूमिगत केबल सञ्चालन तथा केही फिडरको भार स्थानान्तरण गर्न विद्युत् आपूर्ति बन्द गर्न लागेको जनाएको छ । प्राधिकरणका अनुसार आज रत्नपार्क वितरण केन्द्रअन्तर्गत कमलादी, त्रिपुरेश्वर र बबरमहल फिडरबाट विद्युत् आपूर्ति बन्द हुनेछ । कमलादी फिडरअन्तर्गत जामे मस्जिद, घण्टाघर, स्काई टावर, गणेश मन्दिर, हेरिटेज प्लाजा, होटल याक एन्ड यती तथा प्रज्ञा भवन आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । त्रिपुरेश्वर फिडरअन्तर्गत धरहरा, नेपाल टेलिकम क्षेत्र, बागदरबार, केन्द्रीय कारागार, रंगशाला, त्रिपुरेश्वर चोक तथा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । बबरमहल फिडरअन्तर्गत रानीपोखरी प्रहरी प्रभाग, आर्मी हेडक्वार्टर, भृकुटीमण्डप, नेपाल टेलिकम, भन्सार कार्यालय, पशु अस्पताल तथा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । भोलि आइतबार पनि बबरमहल, त्रिपुरेश्वर र थापाथली फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । बबरमहल फिडरअन्तर्गत रानीपोखरी प्रहरी प्रभाग, आर्मी हेडक्वार्टर, भृकुटीमण्डप, नेपाल टेलिकम, भन्सार कार्यालय, पशु अस्पताल तथा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । त्रिपुरेश्वर फिडरअन्तर्गत टेकु सबस्टेसन, टेकु चोक हुँदै त्रिपुरेश्वर चोकसम्म तथा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । थापाथली फिडरअन्तर्गत नर्भिक अस्पताल, प्रसूति गृह, प्रसूति गृह मार्ग, मार्टिन चौतारी, कुरिया गाउँ, बबरमहल कर कार्यालय तथा आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । प्राधिकरणले निर्धारित काम समय अगावै सम्पन्न भए विद्युत् सेवा पनि निर्धारित समयभन्दा अगावै सञ्चालनमा ल्याइने जनाएको छ । विद्युत् आपूर्ति बन्द हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

आज ४ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका तराई भू-भागमा पनि आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भाग तथा देशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भू-भागमा बिहानपख हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ ।

पृथ्वी राजमार्गको वैकल्पिक सडक आज ५ घण्टा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार परेवाटार-पिपलटार-आदमटार-बेलिनटार-मास्टार सडकखण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालयले वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलाको पक्की पुल बगाएको थियो । पुल बगेपछि परेवाटार-पिपलटार-आदमटार-बेलिनटार-मास्टार सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ । जिल्ला प्रशासन कार्यालयले सडक बन्द रहने अवधिमा यात्रु तथा सवारीसाधनलाई धादिङबेँसी-सुनौलाबजार-भोर्ले-कोसीखोला-फोस्रेटार-कल्लेरीटार सडकखण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

अर्थमन्त्री डा. वाग्लेको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

काठमाडौं । विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा एक उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल आज अमेरिकाको वासिङ्टन डी.सी. प्रस्थान गरेको छ । अर्थ मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आगामी असोज १९ र २० गतेसम्म हुने उक्त भ्रमणका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माणको ’ग्रे लिस्ट’बाट बाहिरिने प्रक्रिया लगायतका बृहत् आर्थिक सुधारका विषयमा गहन छलफल हुनेछ ।  भ्रमणका क्रममा अर्थमन्त्री डा. वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनका उच्चपदस्थ अधिकारीहरूका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।  सो अवसरमा हालै भोटेकोशीमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनरुत्थान, पुनर्निर्माण तथा उत्थानशील विकासका लागि थप सहायता परिचालनबारे विश्व बैंक र अमेरिकी सरकारका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।  साथै, नेपालमा सडक र विद्युत प्रसारण लाइनजस्ता महत्त्वपूर्ण पूर्वाधारमार्फत रोजगारी तथा आर्थिक अवसरको सिर्जना गर्न विकास साझेदार र निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि पहल गर्ने योजना पनि रहेको मन्त्रालयले जनाएको छ ।

बंकुलबाट १ करोड ५ लाखभन्दा बढी मूल्यको अवैध स्टिकर बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमजुवा रौतहटको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको १ करोड ५ लाखभन्दा बढी मूल्यको १ लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद गरेको छ । शुक्रबार दिउँसो अन्दाजी १५ः४५ बजे रौतहट जिल्लाको बौधिमाई नगरपालिका–७ स्थित बंकुल भन्सार पछाडिको धानबारीबाट सशस्त्र प्रहरी निरीक्षक अच्युत सुवेदीको कमाण्डमा खटिएको टोलीले उक्त अवैध स्टिकर बरामद गरेको हो । भारतबाट अवैध रुपले कार्टुनमा राखी नेपालतर्फ ल्याउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ सामान छाडेर फरार भएका थिए । उक्त कार्टुन जाँच गर्दा नेपाल सरकार आन्तरिक राजस्व विभागबाट जारी हुने किसिमको ५० यूपी १८० एमएल साइजको मदिराको बोतलमा टास्ने स्टिकर फेला पारेको हो । बरामद स्टिकर आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।

ठमेलमा पर्यटकलाई दुःख दिने तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा स्वदेशी तथा विदेशी पर्यटकलाई दुःख हैरानी दिने, लागू औषध तथा यौनजन्य गतिविधिमा दुरुत्साहन गर्ने र बिचौलियाको रूपमा काम गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । ‘सुरक्षित ठमेल, जाने होइन ?’ अभियानअन्तर्गत सार्वजनिक मर्यादा एवं शान्ति भंग गर्ने, डान्स, दोहोरी, बार तथा क्लबहरूमा बिचौलियाको काम गर्ने र अनैतिक क्रियाकलापमा संलग्न रहनेहरूविरुद्ध प्रहरी वृत्त लैनचौरको टोलीले कारबाही अघि बढाएको हो ।  सार्वजनिक स्थल तथा सडक खण्डमा सर्वसाधारण एवं पर्यटकलाई अभद्र व्यवहार र दुःख हैरानी दिएको गुनासोका आधारमा असोज १५ गतेसम्म सञ्चालन गरिएको कारबाहीका क्रममा प्रहरीले शंकास्पद ३१ जनालाई नियन्त्रणमा लिएको थियो ।  प्रारम्भिक छानबिन र अनुसन्धानका क्रममा संलग्नता पुष्टि भएपछि पोखरा महानगरपालिका-११ घर भई हाल मनमैजु बस्ने २० वर्षीय लक्की गुरुङ, गोरखा नगरपालिका-९ घर भई नयाँबजार बस्ने २३ वर्षीय प्रबिन तामाङ र सिन्धुली कमलामाई नगरपालिका-४ घर भई सोह्रखुट्टे बस्ने २९ वर्षीय सनिस भुजेलमाथि मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका तीनै जनाउपर अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।