काठमाडौं । सरकारले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।
कार्यालयका अनुसार कालिकोटको खाँडाचक्र-१ स्थित गोर्खबहादुर बटाला मुख्य व्यक्ति रहेको बटाला निर्माण सेवालाई तिलागुफा नगरपालिकाको सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।
यस्तै, पूर्वाधार विकास कार्यालय, लमजुङको सिफारिसमा गोरखाको भीमसेन थापा गाउँपालिका-५ स्थित बुढीगण्डकी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति सुरेशबाबु श्रेष्ठ हुन् ।
सडक डिभिजन, जुम्लाको सिफारिसमा मैना शाही मुख्य व्यक्ति रहेको सुर्खेतको बिनम्र निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।
यस्तै, सडक डिभिजन, जुम्लाकै सिफारिसमा सुर्खेतको वीरेन्द्रनगर-३ स्थित धुर्वप्रसाद कँडेल मुख्य व्यक्ति रहेको धुर्व निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।
मुगुको छायानाथ रारा-१ स्थित चण्डिका शाही मल्ल मुख्य व्यक्ति रहेको अविनाश निर्माण सेवालाई पनि सडक डिभिजन, जुम्लाको सिफारिसमा एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
कार्यालयले असोज १६ गतेको निर्णयअनुसार सम्बन्धित सार्वजनिक निकायबाट लेखी आएबमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको छ । कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।