ठमेलमा पर्यटकलाई दुःख दिने तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा स्वदेशी तथा विदेशी पर्यटकलाई दुःख हैरानी दिने, लागू औषध तथा यौनजन्य गतिविधिमा दुरुत्साहन गर्ने र बिचौलियाको रूपमा काम गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

‘सुरक्षित ठमेल, जाने होइन ?’ अभियानअन्तर्गत सार्वजनिक मर्यादा एवं शान्ति भंग गर्ने, डान्स, दोहोरी, बार तथा क्लबहरूमा बिचौलियाको काम गर्ने र अनैतिक क्रियाकलापमा संलग्न रहनेहरूविरुद्ध प्रहरी वृत्त लैनचौरको टोलीले कारबाही अघि बढाएको हो । 

सार्वजनिक स्थल तथा सडक खण्डमा सर्वसाधारण एवं पर्यटकलाई अभद्र व्यवहार र दुःख हैरानी दिएको गुनासोका आधारमा असोज १५ गतेसम्म सञ्चालन गरिएको कारबाहीका क्रममा प्रहरीले शंकास्पद ३१ जनालाई नियन्त्रणमा लिएको थियो । 

प्रारम्भिक छानबिन र अनुसन्धानका क्रममा संलग्नता पुष्टि भएपछि पोखरा महानगरपालिका-११ घर भई हाल मनमैजु बस्ने २० वर्षीय लक्की गुरुङ, गोरखा नगरपालिका-९ घर भई नयाँबजार बस्ने २३ वर्षीय प्रबिन तामाङ र सिन्धुली कमलामाई नगरपालिका-४ घर भई सोह्रखुट्टे बस्ने २९ वर्षीय सनिस भुजेलमाथि मुद्दा दर्ता गरिएको छ ।

पक्राउ परेका तीनै जनाउपर अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News