काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्य विश्वविद्यालयभन्दा पृथक र विशिष्ट पहिचानसहित अघि बढाउनुपर्ने बताएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले बुद्धको जन्मभूमि लुम्बिनीमा स्थापित विश्वविद्यालयले बौद्ध दर्शन, मौलिक ज्ञान तथा नेपालको रैथाने पहिचानलाई विश्वसमक्ष चिनाउने गरी आफ्नो उद्देश्य केन्द्रित गर्नुपर्ने बताए ।
उनले विश्वविद्यालयलाई इन्जिनियरिङ, विज्ञानलगायतका परम्परागत विषयमा मात्र सीमित नगरी बौद्ध दर्शन तथा यससँग सम्बन्धित विषयको अध्ययन, अनुसन्धान र प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
विश्वविद्यालयका आङ्गिक क्याम्पसहरू विस्तार हुँदै गए पनि मूल उद्देश्य र बौद्ध दर्शनको अध्ययन–अध्यापनबाट विचलित हुन नहुने उनको भनाइ थियो ।
विश्वविद्यालयले आफ्नो विशिष्ट पहिचान कायम राख्दै अन्य शैक्षिक संस्थासँग सहकार्य गरेर अघि बढ्नुपर्ने उहाँले बताए ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयमार्फत नेपालको रैथाने पहिचान, मौलिकता र स्वदेशी ज्ञानलाई विश्वसमक्ष चिनाउने पर्याप्त सम्भावना रहेको चर्चा गरिएको थियो ।
रसुवा बाढीपीडितका लागि १० लाख सहयोग यसैबीच, लुम्बिनी बौद्ध विश्वविद्यालयले रसुवाका बाढीपीडितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
विश्वविद्यालयले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत राहत कोषका लागि उक्त रकम हस्तान्तरण गरेको हो ।
बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ ।