ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामको निरीक्षण, बाँध जोखिममुक्त

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको बाँधको निरीक्षण गरेका छन् । 

पछिल्लो ८–१२ असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ शनिबार कुलेखानी ड्याम पुगेका थिए । मन्त्री श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गराएका थिए ।

मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताए । भारी वर्षाका बेला बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको उनले बताए ।

‘सतह म्यानेज गर्ने, २४ सै घण्टा निगरानीमा राख्ने, तल्लो तटमा पनि सूचना प्रवाह गरेर अलर्ट राख्ने गरिएको थियो,’ उनले भने, ‘आज आएर हेर्दा म्यानेज भएको छ । ड्याम स्टेबल छ ।’

‘केही दिनअघिको अविरल वर्षाका कारण देशका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा कुलेखानी बाँधमा पनि पानीको सतह सतर्कता तहमा पुगेको थियो र सम्भावित जोखिमको चिन्ता बढाएको थियो । साथै, यसले विद्युत् आपूर्ति व्यवस्थापनमा समेत केही दबाब सिर्जना गरेको थियो । नेपालको विद्युत् प्रणालीको ‘ब्याकअप’का रूपमा रहेको कुलेखानी जलविद्युत् केन्द्रमा पनि यसको प्रभाव परेको थियो,’ उनले भने ।

उनले थपे, ‘आज कुलेखानी जलाशय तथा विद्युत् केन्द्रको स्थलगत अध्ययन गर्यौँ । बाँधको वर्तमान अवस्था र जलाशयमा रहेको पानीको सतह हेर्दा आगामी सुक्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहजता हुने विश्वास बढेको छ । ऊर्जा सुरक्षालाई बलियो बनाउँदै भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार निरन्तर सक्रिय छ ।’

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठले कुलेखानी विद्युत् प्रणालीको मेरुदण्ड भएको बताए ।

‘यसले सिस्टमलाई पिकिङका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनले भने, ‘सिस्टम अपरेटको पोइन्ट अफ भ्युबाट ठूलो योगदान रहिआएको छ ।’

एमडी श्रेष्ठले बाँधको अवस्था सामान्य रहेको बताए ।

Share News