कांग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो हो : डा. सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवादलाई लिएर कांग्रेस विभाजन नभएको दाबी गरेका छन् ।

शनिबार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्ने क्रममा उनले कांग्रेसभित्र केही विवाद देखिए पनि पार्टी विभाजन नभएको दाबी गरेका हुन् । उनले कांग्रेसभित्रको विवाद मिलाउने जिम्मेवारी आफूहरूको रहेको बताए । महामन्त्रीमा विजयी भएमा सुरुमा नै पार्टीभित्रको विवाद समाधानमा आफू लाग्ने उनको भनाइ छ ।

उनले पार्टीभित्र आफू प्रो–कोइराला रहेको बताए । उनले आफू बीपी कोइरालाको अनुयायी र गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता भएको उल्लेख गर्दै कोइराला परिवारले नेपाली कांग्रेसको स्थापनामा महत्वपूर्ण योगदान गरेको बताए । मोरङमा बस्ने भएकाले आफू स्वाभाविक रूपमा कोइराला विचारसँग नजिक रहेको उनको भनाइ थियो ।

उनले भने, ‘म बीपी कोइरालाको अनुयायी हो । गिरिजाबाबुको कार्यकर्ता हो । मोरङमा बस्ने मान्छेहरू प्रो–कोइराला नै हुन्छन्, म प्रो–कोइराला नै हो । यो स्वीकार्नलाई मलाई लाज छैन । यो पार्टीको स्थापना पनि कोइराला फ्यामिलीले नै गरेको हो । अहिले पार्टीको विरासत अथवा पार्टीको छवि खस्किएको अवस्था छ, यसलाई बरकरार राख्नका निम्ति हाम्रो उम्मेदवारी हो ।’

सभापतिमा कसलाई समर्थन गर्ने भन्नेमा भने स्पष्ट नभएको उनले बताए । सभापतिमा उम्मेदवारी कसैले घोषणा नगरेकाले अहिले सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ । गत वर्षको जेन–जी आन्दोलनको भावना, युवाका विचार र लोकतन्त्रको संरक्षणलाई अघि बढाउन सक्ने युवा उम्मेदवारलाई आफ्नो समर्थन रहने उनले बताए ।

उनले भने, ‘अहिले सभापतिमा चाहिँ धेरै आकांक्षीहरू हुन सक्छन्, कम आकांक्षीहरू हुन सक्छन्, सर्वसम्मत हुन सक्छ, सबैभन्दा पहिला महामन्त्रीमा मेरो उम्मेदवारी घोषणा भइसकेको र सभापतिको उम्मेदवारी घोषणा हुन बाँकी रहेकोले सभापति घोषणा भइसकेपछि युवाहरूलाई अथवा युवाहरूका विचारलाई गत वर्षको जेन–जी मुभमेन्टको सेन्टिमेन्टलाई क्यारी गर्न सक्ने र लोकतन्त्रलाई बचाउन सक्ने युवा उम्मेदवारमध्ये मेरो समर्थन रहन्छ । अब उम्मेदवारी नै घोषणा नगरिकन फलानो हो म किन भन्ने ?’

उनले आफूले कुनै छुट्टै टिम नबनाउने पनि बताए । 

Share News