नेप्सेले रोकिदियो प्रभु लाइफको सेयर कारोबार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनी मर्जरमा जाने भएसँगै नेप्सेले असार ३१ गतेदेखि दोश्रो बजारको कारोबार रोकिदिएको हो । प्रभु लाइफ महालक्ष्मी लाइफसँगै मर्जरमा जान लागेको हो । सो सम्बन्धमा दुबै कम्पनीले असार ३० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । यससँगै उक्त मर्जर प्रकृया सम्पन्न नभएसम्म दोश्रो बजारमा कम्पनीको सेयर कारोबार हुँदैन ।
ज्योति ग्रुपको विवादले लुम्बिनी विकास बैंकमा भाँडभैलो
काठमाडौं । धेरै वटा विकास बैंक र फाइनान्स मर्ज हुँदै बनेको लुम्बिनी विकास बैंकमा फेरि विवाद देखिएको छ । विवादले रातारात बैंकमा अध्यक्ष, सञ्चालक र सीईओ फेरिएका छन् । असार २८ गते बसेको लुम्बिनी विकास बैंकको सञ्चालक समितिको ४२५ औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । श्रेष्ठले साउन २ गतेदेखि कार्यभार समाल्ने जनाएका थिए । उक्त निर्णय बैंकले नेपाल स्टक एक्स्चेञ्ज मार्फत सर्वसाधारणलाई सूचित पनि गराएको थियो । तर असार २९ गते नै बैंक सञ्चालक समितिमा पहिरो गयो । बैंकका अध्यक्ष रिसालको पद गयो । उनको ठाउँमा प्रविणकुमार श्रेष्ठ चयन भए । रिसाल स्याकार कम्पनीको प्रतिनिधित्व गर्दै बैंकमा सञ्चालक बनेका थिए र अध्यक्ष भएका थिए । स्याकारले उनलाई फिर्ता बोलाएको छ । रिसालको सट्टाका कम्पनीले लोमस मानन्धरलाई सञ्चालक बनाएको छ । प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बाेहाेरा सञ्चालक समितिमा भएको फेरवदलसँग प्रमुख कार्यकारी अधिकृत नियुक्त सम्बन्धि दुई दिनअघिको निर्णय खारेज गरिएको छ । साथै, बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा वर्तमान प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहोरालाई नै पुनः नियुक्ति दिने निर्णय गरेको छ । असार २९ गते बसेको बैंक सञ्चालक समितिको ४२६ औं बैंककले नयाँ सञ्चालक र अध्यक्ष नियुक्त गरेको निर्णय नेप्सेमा असार ३० गते सार्वजनिक भएको छ । ३० गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत बोहोरालाई नै दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको जानकारी बैंकले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत दिएको छ । २८ गते प्रमुख कार्यकारी अधिकृतमा नियुक्त विजयबहादुर श्रेष्ठ यो सबै विवादको कारण स्याकार कम्पनीबाट प्रतिनिधित्व गर्ने व्यक्ति फेरवदलसँगै भएको स्रोतले बतायो । स्याकार कम्पनी ज्योति समूहको स्वामित्वमा छ । ज्योति समूहमा दाजुभाई विवादले धेरै ठाउँमा समस्या देखिँदै आएको जानकारहरु बताउँछन् । देवः विकास पुरानो नेतृत्वको हातमा लुम्बिनी बैंक, विजयले पाए सीईओमा नियुक्ती
सेवाग्राहीबाट जबर्जस्ती बढी शुल्क लिने ६ जना बिचौलिया पक्राउ
काठमाडौं । नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा-अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योञ्जन लामा, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय विमल पुलामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरुले सेवाग्राहीबाट जबर्जस्ती बढी शुल्क लिने गरेकाले पक्राउ गरिएको हो । पक्राउ परेका ६ जनामाथि मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिए । रासस
शतप्रतिशत हकप्रद जारी गर्दै अपर तामाकोशी, पुँजी २१ अर्ब नाघ्ने
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । असार ३० गते बसेको कम्पनी सञ्चालक समितिले चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । हाल अपर तामाकोशीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । शतप्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ । बिहीबारको बजारमा कम्पनीको सेयर प्रतिकित्ता ५४० रुपैयाँमा किनबेच भएको थियो ।
भोक्सवागेनको गाडीकाे सफ्टवेयर अवैध, प्रभावित ग्राहकलाई क्षतिपूर्ति दिनुपर्नै
युरोपेली अदालत (सीजेईयू) ले बिहीबार भोक्सवागेन डिजेल गाडीहरूमा राखिएको सफ्टवेयर अवैध रहेको फैसला गरेको छ । निश्चित तापक्रममा प्रदूषण उत्सर्जन फिल्टरलाई निष्क्रिय बनाउने उक्त सफ्टवेयर अवैध भएको घोषणाले प्रभावित ग्राहकहरूका लागि क्षतिपूर्तिको बाटो खोलिदिएको छ । “वर्षको अधिकांश समयमा सामान्य तापक्रममा उत्सर्जन नियन्त्रण प्रणालीको प्रभावकारिता कम गर्ने डिजेल गाडीको सफ्टवेयर निषेधित उपकरण हो,” यूरोपेली अदालतको फैसलामा उल्लेख गरिएको छ । तापक्रम १५ भन्दा कम र ३३ डिग्री सेल्सियस (५९ डिग्री फारेनहाइट) भन्दा बढी हुँदा सफ्टवेयरले फिल्टरिङलाई कम गर्छ वा पूर्णतया निष्क्रिय पार्छ । अदालतले आफ्नो फैसलामा भनेको छ, “यूरोपेली मापदण्ड स्तरमा तोकिएको उत्सर्जन सीमा १५ डिग्री सेल्सियसभन्दा निकै कम भए पनि यसलाई नियमन गर्नुपर्ने उल्लेख छ ।” सन् २०११ देखि सन् २०१३ को बीचमा भोक्सवागन गाडी किनेका क्रेताहरूको गुनासोपछि अस्ट्रियाको सर्वोच्च अदालत र दुई क्षेत्रीय अदालतहरूले सीजेयूमा मुद्दा दायर गरेका थिए । यस फैसलाको प्रतिक्रियामा जर्मन सवारीसाधनले आफ्नो गाडीमा प्रयोग गरिने ‘थर्मल विन्डो’ ठीक रहेको दावी गरेको छ । कम्पनीले भनेको छ, “तिनीहरूले क्षति वा दुर्घटनाको रूपमा इन्जिनको तत्काल जोखिमबाट जोगाउँछन् ।” “कार्यवाहीबाट प्रभावित ईए–१८९ गाडीको निकासबाट आउने ग्यास पुनः १० डिग्री सेल्सियसको बाहिरी तापक्रमसम्म शतप्रतिशत सक्रिय भएको र यसरी वर्षको अधिकांश समयमा यो प्रयोगका लागि कानुनसम्मत हुनेछ, कम्पनीले भनेको छ । भोक्सवागनले अदालतको निर्णयको प्रभाव ‘सामान्य’ हुने विश्वास गरेको छ । राष्ट्रिय अधिकारीहरू र अदालतहरूले अझै पनि उक्त सफ्टवेयर प्रयोग गर्न जायज छ कि छैन भन्ने बिषयमा निर्णय गर्नुपर्ने दावी कम्पनीको रहेको छ । “थर्मल विन्डो’का कारण भएको क्षतिको कथित दाबीलाई आधार बनाउने कानुनी कार्यहरू असफल भइरहेका उसले जनाएको छ । भोल्क्सवागन समावेश भएको छुट्टै ‘डिजेलगेट’ काण्डमा ४५ हजारभन्दा बढी शिकायतकर्ताको प्रतिनिधित्व गर्ने जर्मन वकिल क्लाउस गोल्डेनस्टीनले बताए । उनले भने, “आजको निर्णयसँगै भोक्सवागन फेरि एकपटक गाडीको निकासबाट आउने ग्यास काण्डमा फसेको छ ।” सन् २०१५ मा सुरु भएको ‘डिजेलगेट’ काण्डमा, भोक्सवागनले उत्सर्जन परीक्षणको लागि लाखौं डिजेल गाडीहरूमा छली गरेको स्वीकार गरेको छ । यस काण्डले थुप्रै प्रमुख युरोपेली कार निर्माता तथा कार पूर्जा आपूर्तिकर्ताहरूलाई चोरी सफ्टवेयरको विकासमा तिनीहरूको कथित भूमिकामाथि फन्दामा पारेको छ । एजेन्सी
बिल गेट्सले सबै सम्पति गेट्स फाउन्डेसनलाई दिने
काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले आफ्नो सबै सम्पति गेट्स फाउन्डेसनलाई दिने घाेषणा गरेका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै उनले सबै सम्पति फाउन्डेसनलाई दिने घाेषणा गरेका हुन् । उनले यसै महिना फाउन्डेसनलाई थप २० अर्ब डलर (करिब २५ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ) दान गर्ने बताएका छन् । बिल गेट्स र उनी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सले संयुक्त रूपमा सञ्चालन गर्दै आएको उक्त फाउन्डेसनले गरिबी निवारण, असमानता र रोगब्याधी न्यूनिकरणको क्षेत्रमा काम गर्दै आइरहेको छ । यस फाउण्डेशन विश्व स्वास्थ्य संगठनको लागि सबैभन्दा ठूलो निजी दाता हो । २०१८ मा यसको वार्षिक दान अमेरिका पछि दोस्रो थियाे ।
विदेशी मदिराको अवैध कारोबार बढ्ने जोखिम उच्च
काठमाडौं । सरकारले तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएको मौका छोपेर अवैध रुपमा आयातित विदेशी मदिराको कारोबार व्यापक हुने जोखिम बढेको सम्बन्धित व्यवसायीले बताएका छन् । सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत वैशाख १४ गते राजपत्रमा सूचना प्रकाशित गरी तयारी मदिरालगायत १० किसिमका वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । वैधानिक बाटोबाट विदेशी ब्रान्डका मदिरा भित्रिन नपाएको र आयातकर्ता व्यवसायीसँग भएको स्टक सकिँदै गएकोले अवैध रुपमा मदिरा भित्र्याउने समूह सक्रिय हुन थालिसकेको विदेशी मदिराका अधिकृत विक्रेताहरु बताउँछन् । प्रतिबन्धका कारण आफूहरुले आयात गर्न नपाएको अवस्थामा पनि विदेशी मदिराका नयाँ नयाँ संस्करण बजारमा देखिएको उनीहरुको भनाइ छ । त्यस्तो मदिरा हवाई यात्रुले ड्युटी फ्री र अवैध कारोबारीले खुला सिमानाबाट भित्र्याएको अनुमान व्यवसायीको छ । दसैं, तिहार जस्ता मदिरा बढी खपत हुने सिजन नजिकिएकोले आयातमा लगाइएको प्रतिबन्ध खारेज नगरे अवैध कारोबार चुलिने व्यवसायी बताउँछन् । अहिले नै एलसी नखोले दशैंको बेला बजारमा सामान पु¥याउन नसकिने उनको भनाइ छ । मदिरामा उच्च दरमा राजस्व लाग्ने हुँदा भारतबाट भन्सार र अन्य कर छलेर ल्याउनेले धेरै नाफा कमाउँछ । जसले गर्दा यसको अवैध कारोबारमा ठूलै समूह सक्रिय रहेको आशंका गरिन्छ । मदिरा आयात गर्दा ३०० प्रतिशतसम्म कर लाग्छ । भारतमा नेपालको तुलनामा मदिरामा कम कर लाग्ने हुँदा उता कर तिरेरै ल्याउँदा पनि राम्रै नाफा हुने अध्ययनले देखाएको छ । नेपालमा मदिरा आयात खुला रहेकै बेला पनि गत माघमा ठूलो परिमाणमा अवैध रुपमा आयातित विदेशी मदिरा काठमाडौंमा बरामद भएको थियो । प्रहरीले काठमाडौंको रामकोट, बानेश्वर, कपनलगायत ठाउँबाट २१६ कार्टुन कर छलेको विदेशी मदिरा बरामद गरेको थियो । उक्त कारोबारमा संलग्न चारजना पक्राउ परेका थिए । त्यसबेला रेड लेबल, चिभास रिगल, एब्सोलुट जस्ता विदेशी ब्रान्डका मदिरा बरामद भएको थियो । ‘यहाँ आयात खुला हुँदा पनि त्यति ठूलो परिमाणमा अवैध तरिकाले मदिरा भित्र्याइएको थियो भने अहिलेको अवस्था कस्तो होला ?’ व्यवसायी भन्छन्, ‘अहिले त आयातमा प्रतिबन्ध छ ।’ ठूलो मात्रामा विदेशी मुद्रा खर्च नगरी उल्लेख्य राजस्व संकलन गर्न सकिने मदिरा आयातमा प्रतिबन्ध लगाउँदा सरकारको राजस्व गुमेको तर आयात नरोकिएको आयातकर्ता व्यवसायीको गुनासो छ । नेपालमा विदेशबाट वार्षिक डेढ अर्ब हाराहारीको तयारी मदिरा आयात हुन्छ । त्यसबाट सरकारले तीन अर्ब जति राजस्व असुल्छ । ‘आयातमा प्रतिबन्ध लाग्दा चोरबाटोबाट मदिरा आइरहेको छ, बजारमा किनबेच पनि भइहरेको छ तर सरकारले पाउने राजस्व गुमेको छ,’ विदेशी मदिराको आयात तथा बिक्रीवितरणमा संलग्न एक व्यवसायीले भने, ‘पैसा बिदेसिन रोकियो त ?’ आयात–निर्यातकर्ता व्यापारीहरुको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले पनि एक विज्ञप्ति जारी गरी आयातमा लगाइएको प्रतिबन्धले चोरी पैठारी बढाएको भन्दै विभिन्न वस्तुमा सरकारले लगाएको आयात प्रतिबन्ध खारेज गर्न आग्रह गरेको छ । संघले नेपाल जस्तो खुला सिमाना भएको मुलुकमा मोटरगाडी, मोटरसाइकल जस्ता दर्ता गरेपछि मात्र प्रयोग गर्न पाइनेबाहेकका वस्तुको आयात प्रतिबन्धले नरोकिने बरु अवैध कारोबारको जोखिम बढाउने बताएको छ । संघका महासचिव मदन मित्तल बच्चाको खेलौना, मदिरा, तास, इनर्जी ड्रिंक्स जस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा चोरबाटोबाट भित्रिने बताउँछन् । महासचिव मित्तलले तीन वर्षअघि आयातमा प्रतिबन्ध लागेको विदेशी इनर्जी ड्रिंक्स नेपाली बजारमा पाइरहेको घटनालाई उदाहरणको रुपमा अघि सार्दै प्रश्न गरे, ‘२०७६ असारदेखि औपचारिक रुपमा आयात नभएको इनर्जी ड्रिंक्स बजारमा कसरी आयो ? प्रतिबन्धले तस्करी बढायो कि आयात रोक्यो ?’ संघका वरिष्ठ उपाध्यक्ष विनोद सेठिया आयातमा प्रतिबन्ध लाग्दा औपचारिक माध्यमबाट हुने विदेशी मुद्राको बहिर्गमन रोकिएको देखिए पनि त्यसको अर्को पाटो झन् डरलाग्दो हुने बताउँछन् । यसले रेमिट्यान्स आप्रवाहमा समेत कमी ल्याउन सक्ने उनको आशंका छ । अवैध आयात, न्यून बिजकीकरण लगायतमा संलग्न कारोबारीले विदेशमा कमाउने नेपालीलाई बढी विनिमय दर दिएर उनीहरुको रकम ओसार्ने काम गर्न सक्ने सेठियाको आशंका छ । उनको जस्तै आशंका बैंकरहरुले पनि धेरै अघिदेखि गर्दै आएका छन् । संघले आयातको एलसी खोल्दा ५० र १०० प्रतिशत नगद मार्जिन राख्नुपर्ने प्रावधान हटाउन पनि आग्रह गरेको छ । यसले बैंकलाई बाहेक सरकार, व्यवसायी, उपभोक्ता कसैलाई पनि फाइदा नभएको भन्दै संघले एलसीमा अनिवार्य नगद मार्जिन र टिटीलगायतका अन्य भुक्तानी माध्यमबाट भुक्तानी गर्नमा लगाइएको प्रतिबन्धले त्यस्ता माध्यमबाट भुक्तानी गरेबापत निर्यातकर्ताले दिने सहुलियतबाट पनि नेपाली आयातकर्ता वञ्चित भएको उल्लेख गरेको छ । ‘उपभोक्तालाई महँगीको भारी बोकाउने र व्यवसायको लागत बढाउने नगद मार्जिनको व्यवस्था खारेज गरी साबिककै व्यवस्था कायम गर्न पनि संघ आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । भुक्तानीमा एलसी अनिवार्य गर्दा सानो सानो कारोबारको भुक्तानीमा समस्या आउने र यसले गर्दा भारतबाट स–सानो परिमाणमा हुने आयातलाई अवैध बाटोतर्फ धकेलिरहेको संकेत मिलेको भन्दै त्यसमा पनि ध्यान दिन संघले आग्रह गरेको छ ।
यामाहा बाइक किन्दा तेञ्जिङले जिते साढे २० लाख रुपैयाँ
काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्षलाई लक्षित गरेर ल्याएकाे अफरकाे विजेता घाेषणा गरेकाे छ । कम्पनीले काठमाडौं निवासी तेञ्जिङ लामालाई साे अफरकाे विजेता घाेषणा गरेकाे हाे । विजेता लामालाई कम्पनीले त्रिपुरेश्वरस्थित यामाह साेरुममा २० लाख ७९ हजारको चेक हस्तान्तरण गरेकाे छ । कम्पनीले प्रत्यक्ष प्रसारण गरी लक्की ड्रमार्फत विजेता छानेकाे थियाे । बम्पर बिजेता लामाले पोखरास्थित भिएडब्लू इण्टरप्राइजेजबाट यामाहा रेजेडआर १२५ सिसिको स्कुटर खरिद गरेका थिए । यामाहा रेजेडआर प्रति लिटर ५८ किलोमिटर (औसतमा) माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर रहेको कम्पनीको दाबी छ । यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले आउँदै गरेको दसैँतिहारलाई लक्षित गरी थप आकर्षक अफरका लागि कम्पनीले तयारी गरिरहेको जानकारी दिएका छन् ।