विकासन्युज

पैसा नभएको बैंकको चेक काट्ने चितवनकी बन्दना पक्राउ, साढे एक करोड जरिवाना तिर्नुपर्ने

काठमाडौं । बैंकिङ कसुरकी फरार प्रतिवादी चितवनकी बन्दना उप्रेती पक्राउ परेकी छिन् ।नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले उप्रेतीलाई बुधबार काठमाडौंको चण्डोलबाट पक्राउ गरेको हो । उप्रेतीले निजलाई पैसा नभएको प्राइम कमर्सियल बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उच्च अदालत पाटनले बैंकिङ कसुरमा गएको असार ५ गते फैसला गर्दै उप्रेतीलाई बैकिङ कसुर अन्तरगत एक करोड ५९ लाख रुपैयाँ जरिवानासहित ३० दिन कैद भुक्तानीको फैसला सुनाएको थियो ।

अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । इन्स्योरेन्स र क्यापिटलबीच सेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको हो । बिहीबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब अजोड इन्स्योरेन्सकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनिहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलले गर्नेछ ।  

आइएलटिएसको शुल्क अब इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । इसेवा र ब्रिटिस काउन्सिलकाबीच भएको अनलाइन भुक्तानी सम्झौता बमोजिम ब्रिटिस काउन्सिलले लिने आइएलटिएस परिक्षाको शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो । साथै नजिकै रहेका इसेवाको ऐजेन्ट नेटवर्क मार्फत समेत उक्त शुल्क भुक्तानी गर्न सकिनेछ । उक्त विद्युतिय भुक्तानी प्रविधिले विद्यार्थीहरुलाई सहजता पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएकाे छ । इसेवाले हाल ५७ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

सनराइज बैंकद्वारा अटिजम सम्बन्धि संस्थालाई आर्थिक सहयोग

काठमाडौं । सनराइज बैंकले अटिजम भएका बालबालिकाको संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले जडिबुटी नरेफाटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि संचालित गैरनाफा मूलक संस्था विशेष स्कुल तथा पुनस्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको  हो । बैंकले संस्थालाई नयाँ भवन निर्माणको लागि साढे एक लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले संस्थाका अध्यक्ष सबिता उप्रेतिलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी छिन् । नेपाल लगायत विश्वव्यापी रुपमा अटिजम बढ्दै गइरहेको हालको परिप्रेक्षमा करिब १०० मा १ को अनुपातमा अटिजम रहको अनुमान छ ।

महालेखाले नियमनमा खोट देखाएपछि राष्ट्र बैंकले गर्यो सीईओहरूसँग छलफल, अब कडाइ गर्ने चेतावनी

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले राष्ट्र बैंकको नियमनमा कमजोरी देखाएपछि राष्ट्र बैंकले बैंकहरुलाई बोलाएर सम्झाएको छ । राष्ट्र बैंकले बिहीबार केही बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई राष्ट्र बैंक बोलाएर अब गल्ति नदोहोर्याउन भन्दै सम्झाएको हो । बुधबार महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९औं वार्षिक प्रतिवेदनमार्फत् नेपाल राष्ट्र बैंकले नियमनमा सुस्तता देखाउँदा बैंकहरुमा विकृति बढेको जनाएकाे थियो । सो प्रतिवेदन सार्वजनिक भएको पछिल्लो दिनमै केही बैंकका सीईओहरुलाई मात्रै राष्ट्र बैंकमा बोलाएर राष्ट्र बैंकले सम्झाएको हो । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आयोजना गरेको बैठकमा गभर्नर महाप्रसाद अधिकारीसहित डेपुटी गभर्नर निलम ढुंगाना र बम बहादुर मिश्रसँगै सो विभागका प्रमुख डा. गुणकर भट्टलगायत बैंकका सीईओहरु उपस्थित थिए । स्रोतका अनुसार राष्ट्र बैंकको नियमनमा खोट देखिएपछि राष्ट्र बैंकले आगामी आर्थिक वर्षको सुरुवातदेखि नै नियमनमा कडाय गर्ने बताएको हो । ‘बैठकमा केही बैंकका सीईओहरु मात्रै उपस्थित थिए, राष्ट्र बैंकले अब नियमन कडा हुने बताएको थियो, बैठकमा बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिसनसँगै आगामी मौद्रिक नीतिको विषयमा पनि छलफल भएको थियो,’ स्रोतले भन्यो । यस्तै, राष्ट्र बैंकका सह—प्रवक्ता नारायण पोखरेलले आज नियमन विभागले बैठक राखेको बताए । ‘हामीले विभिन्न बैंकहरुलाई राष्ट्र बैंक बोलाएर मर्जर तथा एक्विजिजनको विषय, कुनै नीतिगत व्यवस्था तथा कम्लायन्स नपुर्याएको विषयमा छलफल गरिरहन्छाैं, आज पनि यिनै विषयमा छलफल भएको हो,’ उनले भने । यसअघि पनि बैंकका सीईओहरुलाई बोलाएर राष्ट्र बैंकले साउनदेखि नियमनमा कडाइ गर्ने बताएको थियो । बुधबार महालेखा परीक्षकको कार्यालयले पनि नियमन कमजोर भएको उल्लेख गरेपछि राष्ट्र बैंकले बैंकहरुसँग थप सल्लाह गर्न आज बैठक राखेको हो । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवदेनका अनुसार राष्ट्र बैंकले एक वर्षमा वाणिज्य बैंकहरुमा तीन पटक, विकास बैंकमा आठ पटक, वित्तीय कम्पनीमा चार पटक र लघुवित्तमा १२ पटक गरी कुल २७ पटक मात्रै अनुगमन तथा सुपरिवेक्षण गरेको जनाएको छ । सञ्चालक समितिले असल शासन अभ्यासको प्रभावकारिता, स्वार्थको द्वन्द्व व्यवस्थापन, रणनीतिक मूल्यहरूको सन्दर्भमा सामर्थ्य र कमजोरीहरूको मूल्याङ्कन गर्ने नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सम्बन्धित सामग्री : सीईओलाई राष्ट्र बैंकको डिनरसहितको क्लास : नाफामुखी नबन्नु, साउनदेखि नियमन कडा हुन्छ

स्माटच्वाईस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच स्मार्ट क्युआर प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।

ग्लोबल आइएमई बैंक युरोमनी अवार्ड फर एक्सलेन्सबाट सम्मानित, कार्यसम्पादन उच्चस्तरीय

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिडेट “युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२” बाट सम्मानित भएको छ । बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका छन् । सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ्ग क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो । बैंकले ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो । युरोमनी म्यागाजिन बैंङ्गिक क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको छ । युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरु रहेका छन् । अमेरिकाको बैंक अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ । बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट २८ लाखभन्दा बढि ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।

प्राध्यापकले अल्छी गर्दा प्रश्नपत्र हुबहु भयो : त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताए । ‘प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्नेजस्ता समस्या देखिए’, उनले भने, ‘प्राध्यापकको अल्छीका कारणले प्रश्नपत्र दोहरिएको हो ।’ उनले त्रिविको परीक्षामा प्रश्नपत्र हुबहु सम्बन्धमा सम्बन्धित प्राध्यापकलाई कारबाही गरिएको बताए । त्रिविले प्रश्नपत्र हुबहुका सम्बन्धमा प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । सोही छानबिन समितिको सिफारिसमा तीन जना प्राध्यापकलाई कारबाही गरिएको उनले बताए । त्रिविमा मानविकी सङ्कायले गत जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । यस्तै व्यवस्थापन सङ्कायको स्नातक तह बिबीए छैटौँं सेमेष्टरको यही असार २२ गते र असार २५ गतेको प्रश्नपत्र पनि हुबहु पाइएको छ । यस्तै मोर्डन नेपाल कलेजको तीन महिनाअघि सोधिएको प्रश्नपत्र असार २२ गतेको परीक्षामा र शङ्करदेव क्याम्पसले लिएको प्रिबोर्ड परीक्षामा सोधिएको प्रश्नपत्र यही असार २५ गते बिबीएलाई सोधिएको थियो । ‘ती उपप्राध्यापकलाई प्रश्नपत्र बनाउन दिँदा उनले मोर्डन कलेजमा नै सोधिएको प्रश्नपत्र दिनुभयो’, उनले भने, ‘यसरी तीन महिनाअघि मोर्डन कलेजको आन्तरिक परीक्षामा सोधिएको प्रश्नपत्र त्रिविको परीक्षामा पनि सोधिएको पाइयो ।’ उनले समाजिक सञ्जालले गर्दा हुबहु प्रश्नपत्रबारे जानकारी प्राप्त भएको भन्दै अबदेखि हस्तलिखित प्रश्नपत्र माग्ने बताए । ‘प्राध्यापकले प्रश्नपत्र बनाउनुभन्दा अर्काको किताबबाट सार्ने गरेको पाइएको छ’, उनले भने, ‘अबदेखि हामी हस्तलिखित प्रश्नपत्र माग्ने छौँ ।’ त्रिविका उपकुलपति डा. बास्कोटाले प्रश्नपत्रका हुबहु सम्बन्धमा त्रिविले प्राडा भोजराज अर्यालको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको बताए । समितिमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हुबहु प्रश्नपत्रमा संलग्नलाई कारबाही गरिने बताए । ‘हुबहु प्रश्नपत्र अल्छीपनाले होइन, गल्ती गरेका हुन्’, उनले भने, ‘हुबहु प्रश्नपत्र बनाउनेलाई कारबाही गर्नुपर्दछ ।’ समितिद्धारा कारबाही गर्न निर्देशन समिति सभापति जयपुरी घर्तीले हुबहु प्रश्नपत्र बनाउनेलाई कारबाही गर्न निर्देशन दिइन् । ‘प्रश्नपत्रका सम्बन्धमा कहाँ–कहाँ गल्ती भएको छ’, उनले भनिन्, ‘ती गल्ती गर्नेलाई कारबाही गर्नुपर्दछ ।’ समिति सदस्य योगेश भट्टराईले दोषीलाई कारबाही गर्नुपर्ने भन्दै त्रिवि कार्यालय तोडफोड गर्नेलाई पनि कारबाही गर्नुपर्ने बताए । समिति सदस्य गिरिराजमणि पोखरेलले त्रिविलाई पुनः संरचना गर्नुपर्ने बताए । सदस्य नवीना लामाले त्रिवि तहसनहस बन्न पुगेको भन्दै सबै मिलेर जोगाउन आवश्यक रहेको बताइन् । समिति सदस्य मनकुमारी जिसी, सरिता न्यौपाने, मानबहादुर विकलगायतले त्रिविमा पटक–पटक प्रश्नपत्रमा हुने कमजोरीलाई अन्त्य गर्नुपर्ने भन्दै प्रश्नपत्रको सेटबाट नभई प्रश्नपत्र बैंकबाट छान्नुपर्नेमा जोड दिए । रासस