विकासन्युज

सिटिजन्स बैंकका ग्राहकलाई रुपन्देहीस्थित सत्य ओमकार डेन्टलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र रुपन्देहीस्थित सत्य ओमकार डेन्टल होमबीच सम्झौता भएको छ । बैंक र डेन्टलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले सत्य ओमकार डेन्टल होमका विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरी, आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ ।

ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन : बालेन शाह

काठमाडौं । ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बताएका छन् । शाहले सामाजिक सञ्जालमामार्फत सो कुरा बताएका हुन् । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा विशेषगरी ई–स्पोर्टस आयोजना गर्नका लागि छुट्याइएको भनिएको एक करोड रुपैयाँले बालेनलाई विवादमा तानेको हो । ‘रुटिन अफ नेपाल बन्द’लाई बालेनले एक करोड छुट्याएकै भन्दै पछिल्लो साता काठमाडौं महानगरपालिकाका मेयर बालेन विवादमा मुछिएका थिए । ‘नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दैछ भने यहि बर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई–स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन्, यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो,’ उनले लेखेका छन् । उनले कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन गर्ने बताएका छन् ।

महिला कर्मचारीमात्रै राखेर महाराजगञ्जमा एनसेल सेन्टर संचालन

काठमाडौं । एनसेल आजियाटाले काठमाडौंको महाराजगञ्जमा सम्पूर्ण दरुपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर संचालनमा ल्याएको छ । महिला कर्मचारीहरुले मात्र व्यवस्थापन तथा संचालन गरेकाे एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने एनसेले जनाएकाे छ । महाराजगञ्जमा पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर संचालनमा ल्याउन पाउँदा हर्षित भएकाे एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले बताए । ‘यो कदमले एनसेलको डीइआई अर्थात विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्व राख्दछ, कार्यस्थलमा विविधताको समर्थन जस्ता रणनीति र अभ्यासहरुले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग प्रदान गर्दछ,’ उनले भने । एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सकिनेछ । यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्नेछन् । यो एनसेल सेन्टर संचालनमा ल्याइएको अवसरमा यस सेन्टरमा आउने ग्राहकका लागि एक हप्ताको विषेश अफर पनि रहेको कम्पनीले जानकारी दिएकाे छ । यस अफर अन्तर्गत यस सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् । ग्राहकले प्रत्येक ५० रुपैयाँको रिचार्ज बराबर २० को रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्ने एनसेलले जानकारी दिएकाे छ । यसको अर्थ १०० रिचार्ज गर्ने ग्राहकले २० को दुई वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्नेछन् भने ५०० रिचार्ज गर्ने ग्राहकले २० को १० वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्नेछन् यस सेन्टरले आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ः३० बजे देखि साँझ ६ बजे सम्म ग्राहकहरुलाई सेवा प्रदान गर्ने जनाएकाे छ । एनसेलले देशभरी ३१ एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको छ ।

बिहीबार एनआईसी एशियाको सर्वाधिक कारोबार, दोश्रोमा अपर तामाकोशी

काठमाडौं । बिहीबारको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको एकैदिन ३० करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रोमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । दिनभरको कारोबारमा कम्पनीको १४ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा बिहीबारको बजारमा कूल २ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा बढी हो । बुधबारको बजारमा २ अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । त्यस्तै, बिहीबार २२० कम्पनीको ६२ लाख १० हजार कित्ता सेयर खरिद बिक्री भएका हुन् । बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि सुधार देखिएको छ । परिसूचक अघिल्लो दिनको तुलनामा १४.७१ अंकले बढेर २००१.५३ बिन्दुमा पुगेको छ । त्यस्तै, टप गेनको शीर्ष स्थानमा एनआईबिएल प्रगति फण्ड रहेको छ । जसको भाउ ९.९८ प्रतिशितले बढेर प्रतिइकाई १०.१४ रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीहरुमध्ये अपर तामाकोशीको सेयर मूल्य ७.९७ प्रतिशतले बढेर प्रतिकित्ता ५४० रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् ।

४० लाख पुगे करदाता, डाक्टर र इन्जिनियरले नै तिर्दैनन् कर

काठमाडौं । करको दायरामा आउने करदाताको सङ्ख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आव २०७७/७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता पुगेका हुन् । प्रतिवेदनअनुसार आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीनवटै समूहका करदाताको सङ्ख्यामा वृद्धि भएको हो । त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर १५ लाख ७७ हजार ३८३, व्यक्तिगत स्थायी लेखा नम्बर २४ लाख ७१ हजार ७२६ र अग्रिम कर स्थायी लेखा नम्बर नौ हजार ९९८ जनाले लिएका छन् । आव २०७६/७७ को तुलनामा चालु आव २०७७÷७८ आयकरतर्फ १८.९, मूल्य अभिवृद्धितर्फ ४.८७ र अन्तशुल्क इजाजत पत्रतर्फ ९.६८ प्रतिशतले स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्यामा वृद्धि भएको हो । यो वर्ष आयाकरतर्फ स्थायी लेखा नम्बर लिनेको सङ्ख्या छ लाख ४५ हजार ७१७ ले बढेर ४० लाख ५९ हजार १०७ पुगेको छ । यस्तै मूल्य अभिवृद्धितर्फ करमा दर्ता हुनेको सङ्ख्या दुई लाख ६८ हजार ४३६ पुगेको छ भने अन्तशुल्क इजाजतपत्र लिनेको सङ्ख्या एक लाख तीन हजार ४२३ पुगेको छ । डाक्टर र इन्जिनियरले नै तिर्दैनन् कर महालेखाको प्रतिवेदनअनुसार चिकित्सक, इन्जिनियर, वकिल, सल्लाहकार, लेखापरीक्षक, कलाकार, खेलाडी, शिक्षक प्राध्यापकलगायतका पेशाविद्, अधिकांशले स्थायी लेखा नम्बर नलिएका र लिएकाले समेत आय विवरण दाखिला नगरेको उल्लेख गरिएको छ । महालेखाले ५८औँ प्रतिवेदनमा समेत पेशाविद्हरूले आफ्नो पेशागत प्रमाणपत्रलाई नवीकरण गर्दा कर चुक्ता वा कर विवरण पेश गरेको प्रमाणपत्र माग गर्ने व्यवस्था गर्नुपर्ने कुरा उठाएको थियो । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र करचुक्ता प्रमाणपत्र अनिवार्यरूपमा पेश गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ । महालेखाले सम्बद्ध निकायबीच अन्तरआबद्धतासहित उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ । रासस

सर्वाधिक पुँजीसहित ‘नम्बर वान’ बन्ने सगरमाथा लुम्बिनीको रणनीति, सीईओ क्षेत्री, कर्मचारी समायोजन कसरी ?

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने भएका छन् । दुबैले असार ३० गते समझदारी पत्रमा हस्ताक्षर गर्दै मर्जरको प्रकृया अघि बढाएका हुन् । सम्झौता अनुसार दुई कम्पनी १००ः८० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात लुम्बिनी जनरलको १०० कित्ता सेयर हुनेले मर्जरपछि सगरमाथा इन्स्योरेन्सको ८० कित्ता सेयर पाउने छन् । मर्जर पनि बन्ने कम्पनीको नाम ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’ हुने छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री हुने सहमति भएको छ । त्यस्तै, सञ्चालक समिति र कर्मचारीको विषयमा भने निर्णय हुन बाँकी रहेको सगरमाथा इन्स्योरेन्सका सीईओ क्षेत्रीले बताए । ‘क्लोजिङको समय भएकाले सबै विषय टुंगो लगाउन भ्याइएको छैन, मात्र सम्झौता गरिएको हो, क्लोजिङ पछि सबै निर्णय हुन्छ,’ क्षेत्रीले विकासन्युजसँग भने । नियामक निकाय बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० रुपैयाँ हुनुपर्ने व्यवस्था छ । सो अनुसार दुई कम्पनी एक आपसमा मर्जरमा जान लागेका हुन् । यससँगै १०० बराबर ८० को स्वाप रेसियोमा मर्ज भएपछि बन्ने ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी’को चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ नाघ्ने देखिन्छ । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । नयाँ बन्ने कम्पनी पुँजीको आधारमा ‘नम्बर वान’ बन्ने देखिएको छ । बीमाशुल्क सगरमाथा इन्स्योरेन्सको पछिल्लो तथ्यांकअनुसार कम्पनीले ३ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको छ । जुन जेठ २७ गतेसम्मको तथ्यांक हो । चालु आर्थिक वर्ष अर्थात गत जेठ मसान्तसम्ममा भने सगरमाथाले २ अर्ब ७९ करोड रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । जुन असार मसान्तमा बढेर आउने छ । नाफा चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा सगमाथाले २८ करोड ७१ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । त्यस्तै, जनरल इन्स्योरेन्सले ९ करोड ५५ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । कोषहरु गत चैत मसान्तसम्ममा सगरमाथाको बीमा कोषमा १ अर्ब १८ करोड, जगेडा तथा कोषमा ६० करोड ८६ लाख र महाबिपत्ति जगेडा कोषमा ११ करोड ३६ लाख रुपैयाँ छ । त्यस्तै, लुम्बिनी जनरलको जगेडा कोषमा ३१ करोड १७ लाख, बीमा कोष ७७ करोड १७ लाख र महा विपत्ती जगेडामा ३ करोड ४९ लाख रुपैयाँ छ । लाभांश इतिहाश लाभांशको आधारमा हेर्ने हो भने निर्जीवन बीमा क्षेत्रमै सबैभन्दा बढी बोनस सेयर दिने कम्पनीमा सगमाथा इन्स्योरेन्स अगाडि छ । जसले दोहोरो अंकमा नै लाभांश वितरण गरिरहेको छ । यो अवधिमा सगरमाथाका सेयरधनीले न्यूनतम ११ प्रतिशतदेखि अधिकतम १०० प्रतिशतसम्म बोनस सेयर खाएका छन् । त्यस्तै, लुम्बिनी जनरलले पनि आफ्नो क्षमता अनुसार निरन्तर रुपमा प्रतिफल दिइरहेको छ । शाखा संख्या सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसाय गर्दै आएको २५ वर्ष पुरा भएको छ भने लुम्बिनी जनरलले १७ वर्ष पार गरिसकेको छ । यो अवधिमा सगरमाथाले कूल ७३ वटा शाखा, उपशाखा तथा एक्स्टेन्सन मार्फत सेवा दिँदै आएको छ भने लुम्बिनी जनरलले प्रादेशिक, शाखा तथा उपशाखा गरी कूल ४९ वटा शाखा विस्तार गरेको छ । यससँगै अब मर्जर पछि बन्ने कम्पनीको कूल शाखा संख्या १२२ पुग्ने छ । कर्मचारी संख्या हाल सगरमाथामा ३९६ जना कर्मचारी छन् भने लुम्बिनी जनरलमा २५५ जना कर्मचारी कार्यरत छन् । सम्भवतः दुई इन्स्योरेन्स मर्जपछि कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने सम्भावना बढी छ । बीमा समितिले केही दिन अघिमात्रै एक सर्कुलर जारी गर्दै मर्जरमा जाने कम्पनीहरुलाई कर्मचारीले खाईपाई आएको सेवा सुविधा तथा पद नघटाउन निर्देशन दिएको थियो । यो पनि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता, स्वाप रेसियो १००ः८०

नारायणकाजीले गभर्नरलाई भने – कि त होइन भन्ने पुष्टि गर्नुपर्यो कि राजीनामा दिनुपर्यो

काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उनको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे । विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उनको दाबी छ । ‘विवाद भएर सबैलाई उहाँ नै हो भन्ने लागेकाले कि त होइन भन्ने पुष्टि भएको कागज सार्वजनिक गर्नुप¥यो, होइन भने विवाद आयो भनेर उनले राजीनामा दिनुप¥यो’, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेतासमेत रहेका सांसद श्रेष्ठले भने । यस विषयमा उनले एमाले र सम्बन्धित अधिकारीको ध्यानाकर्षण समेत गराएका छन् । ‘अधिकारिको विषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन गरेको छैन, गर्न सक्ने स्थिति पनि होला की नहोला भन्ने प्रश्न गम्भीर छ’, नेता श्रेष्ठले प्रश्न गरे, ‘राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ ले गभर्नर, डेपुटी गभर्नर वा कुनै सञ्चालक सदस्य कुनै पनि राजनीतिक दलमा संलग्न हुनु हुँदैन भन्ने स्पष्ट व्यवस्था रहेको छ भने उहाँ त्यहाँ बसिरहन मिल्छ की मिल्दैन ?’  

साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिने

पर्सा । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलो सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिएका छन् । उनले ओमनबाट नेपाल सरकारले खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो सातादेखि भित्रिने बताएका हुन् । जनता समाजवादी पार्टी नेपालले वीरगञ्जमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले धानबालीका लागि आवश्यक डिएपी मलको अभावबाट पाठ सिक्दै सरकारले रविबालीका लागि पहिलेदेखि नै आवश्यक रासायनिक मलको व्यवस्थामा जुटेको जानकारी दिए । उनले नेपाल सरकारले ओमानबाट आयात गरेको मलमध्ये ३० हजार मेट्रिक टन युरिया कृषि सामग्री कम्पनीले र २० हजार मेट्रिक टन साल्टट्रेडिङ कम्पनीले आयात गर्ने बताए । कृषि क्षेत्रमा हाल देखिएको मल तथा उन्नतजातको बीउबिजनको समस्याप्रति नेपाल सरकार गम्भीर रहेको र ती समस्या समाधानप्रति प्रयत्नशील रहेको मन्त्री यादवले जानकारी दिए । उनले भारतसँग जोडिएका सीमावर्ती नेपाली जिल्लाका किसानले भारतबाट रासायनिक मल खरिद गरी ल्याउँदा कुनै पनि प्रकारको व्यवधान खडा नगर्न प्रशासनलाई निर्देशन दिइएको बताए । रासस