विकासन्युज

साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिने

पर्सा । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलो सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिएका छन् । उनले ओमनबाट नेपाल सरकारले खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो सातादेखि भित्रिने बताएका हुन् । जनता समाजवादी पार्टी नेपालले वीरगञ्जमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले धानबालीका लागि आवश्यक डिएपी मलको अभावबाट पाठ सिक्दै सरकारले रविबालीका लागि पहिलेदेखि नै आवश्यक रासायनिक मलको व्यवस्थामा जुटेको जानकारी दिए । उनले नेपाल सरकारले ओमानबाट आयात गरेको मलमध्ये ३० हजार मेट्रिक टन युरिया कृषि सामग्री कम्पनीले र २० हजार मेट्रिक टन साल्टट्रेडिङ कम्पनीले आयात गर्ने बताए । कृषि क्षेत्रमा हाल देखिएको मल तथा उन्नतजातको बीउबिजनको समस्याप्रति नेपाल सरकार गम्भीर रहेको र ती समस्या समाधानप्रति प्रयत्नशील रहेको मन्त्री यादवले जानकारी दिए । उनले भारतसँग जोडिएका सीमावर्ती नेपाली जिल्लाका किसानले भारतबाट रासायनिक मल खरिद गरी ल्याउँदा कुनै पनि प्रकारको व्यवधान खडा नगर्न प्रशासनलाई निर्देशन दिइएको बताए । रासस

‘अर्थतन्त्रको विषयमा धेरै चिन्तित छु, परिस्थिति सुहाउँदो मौद्रिक नीति ल्याउनुस्’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकसँग आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा व्रिफ्रिङ लिएका छन् । बिहीबार गभर्नर महाप्रसाद अधिकारीसहितको राष्ट्र बैंकको टोलीलाई बालुवाटारमै बोलाएर प्रधानमन्त्री देउवाले मौद्रिक नीतिको ब्रिफ्रिङ लिएका हुन् । व्रिफ्रिङ लिँदै देउवाले सबैलाई सहज हुने खालको नीति ल्याउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । अर्थमन्त्रीको समेत भूमिकामा रहेको प्रधानमन्त्री देउवाले अहिलेको अर्थतन्त्रलाई सुधारको बाटोमा जाने किसिमको मौद्रिक नीति ल्याउन निर्देशन दिएका हुन् । ‘अहिलेको ब्यापार घाटा, विदेशी मुद्रामा पर्दै गएको चापलाई सहज हुने र निजी क्षेत्रलाई पनि सहज हुने खालको मौद्रिक नीति ल्याउन प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ’ राष्ट्र बैंक स्रोतले भन्यो । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले वर्तमान अर्थतन्त्रकाे विषयमा पनि  चिन्ता व्यक्त गरेका थिए । उनले आफू अर्थतन्त्रकाे विषयमा धरै चिन्तित भएकाे बताउँदै परिस्थित सुहाँउदा माैद्रिक नीति ल्याउन पनि सुझाव दिएका छन् । प्रधानमन्त्री र गभर्नर अधिकारीबीच पनि वर्तमान अर्थतन्त्रको विषयमा छलफल भएको थियो ।

उपसभामुखको लागि पुष्पा भुसाल र विद्या भट्टराई भिड्ने

काठमाडौं । प्रतिनिधिसभा उपसभामुखमा लागि हुने चुनावमा एमाले र कांग्रेस उम्मेदवार भिड्ने भएका छन् । शुक्रबार हुने सो चुनावमा प्रमुख प्रतिपक्षी एमालेबाट विद्या भट्टराई र सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल भिड्ने भएका हुन् । भट्टराईको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल छन् । यस्तै, भुसालको प्रस्तावक नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ छन् भने नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी समर्थक छिन् ।

सिभिलका ‘तीन त्याग’ : यसरी बनायो ४५ बाट ८१ को हैसियत

काठमाडौं । २०७७ साल असारमा नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर चिरञ्जिवी नेपालले सबै बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी प्रमुखहरुलाई भेला गरेर एउटा निर्देशन दिए, ‘सात दिनभित्र मर्जरको लागि पार्टनर खोज्नु ।’ गभर्नर नेपालको बच्चौले निर्देशन अनुसारको परिणाम त आएन । उनको निर्देशनपछि बैकिङ क्षेत्रमा तरङ्ग आयो । एक आपसमा मर्जका प्रयास पनि भए । यहि क्रममा सिभिल बैंकले मर्जरको लागि उपर्युक्त पार्टरको रुपमा हिमालयन बैंक रोज्यो । सिभिलमा इन्टरनेशल लिजिङ एण्ड फाइनान्स कम्पनी (आईएलएफसी)मर्ज भइसकेको थियो । आईएलएफसीमा हिमालयन बैंकका प्रवद्र्धकहरू पनि थिए । मर्जसँग उनीहरु सिभिलको प्रवद्र्धक पनि भए । साझा प्रवद्र्धक भएका बैंक तथा वित्तीय संस्था मर्ज गराउने राष्ट्र बैंकको घोषित नीति पनि थियो । सिभिलले हिमालयन रोज्नु पनि स्वाभाविक थियो । २०७७ साउन २ गते सिभिल बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका तत्कालिन अध्यक्ष इच्छाराज तामाङले हिमालन बैंकसँग मर्जका कुराकानी भइरहेको बताएका पनि थिए । असोज ४ गते सिभिल बैंकको सेयर मूल्य उच्च वृद्धि भई सर्किट ब्रेक लाग्यो । सिभिल बैंक हिमालनमा मर्ज हुन लागेको हल्लाले काम गरेको थियो । नेपाल स्टक एक्स्चेञ्जले सिभिल बैंकलाई खास भएको के हो भनेर स्पष्टिकरण माग्यो । प्रतिउत्तरमा सिभिल बैंकले मर्जको लागि हिमालयन बैंकमा प्रारम्भिक चरणको पत्र पठाएको तर, दुई पक्षबीच औपचारिक छलफल समेत नभएको जवाफ दियो । यसबीचमा धेरै उथलपुथल भए । स्रोतका अनुसार हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सकिने जनाउ दियो । तर, स्वाप रेसियो १००ः४५ हुनेगरी । सिभिल बैंकले १००ः६५ माग्यो । ‘२० रुपैयाँका मूल्य अन्तरबाट कुरा चल्यो, आन्तरिक मूल्याङकनमा स्वाप रेसियो १००ः५३ उपयुक्त हुने देखेका थियौं, ५५ रूपैयाँसम्म पाए मर्जमा जाने भन्ने हाम्रो सोच थियो’ सिभिल बैंक स्रोतले भन्यो । तर, हिमालयन बैंकले धेरै महत्व दिएन । पछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने भनी सम्झौता भयो । उता सिभिल बैंकले वित्तीय अवस्थामा कमजोर भएको बेलामा मर्ज गरेर लाभ हासिल गर्न नसकिने निष्कर्ष निकाल्यो । र, मर्जलाई भन्दा वित्तीय अवस्था सुधार गर्नेमा ध्यान केन्द्रीत गर्यो । इन्भेष्टमेन्ट र हिमालयनबीचको मर्जर प्रक्रिया एक वर्षपछि भाँडियो । सिभिल बैंकले मर्जका लागि कुमारी, सिटिजन्स, लक्ष्मीसँग गरेका प्रसायस सार्थक भएन । गत चैतदेखि फेरी हिमालयन र सिभिल बैंकबीच सम्वाद शुरु भयो । हिमालयन बैंकका सीईओ अशोक शमशेर राणा र सिभिल बैंकका सीईओ सुनिल कुमार पोखरेलबीच लामो संवाद भयो । राणाले स्वाप रेसियो १००ः७० को प्रस्ताव गरे । सुनिलले १००ः७५मा प्रस्ताव गरे । अशोकको प्रस्ताव सुनिलले सिभिलको बोर्डलाई सुनाए । सिभिल लचिलो भयो । हिमालयनले ४५ बाट एकै पटक ७० को अफर गर्नुको कारण के थियो त? सिभिल बैंकका बैंकका अध्यक्ष प्रतावजंग पाण्डे भन्छन्–‘दुई वर्षका हाम्रो विजनेश ग्रोथ २०० प्रतिशत छ र नाफा १८० प्रतिशतले वृद्धि भएको छ, हाम्रो नेटवर्क पनि धेरै बढेको छ, सुशासन पनि धेरै राम्रो छ ।’ छलफल चल्दै गयो । घट्नाक्रमहरु नयाँ ढंगले विकसित हुँदै गए । इन्भेष्टमेन्ट बैंक र मेघा बैंकबीच १००ः९० मा मर्ज हुने सम्झौता भयो । ग्लोवल आईएमई र बैंक अफ काठमाण्डू बराबरीको हैसियतमा मर्ज हुने भए । झट्ट हेर्दा बैंकहरू ठूलो बन्ने होडबाजीमा लागेको सन्देश प्रष्ट बुझियो । ठूला बैंकहरूले अझैं ठूलो बन्ने महत्वकांक्षाको फाइदा साना बैंकले खोजे । परिणामस्वरूप महँगो स्वाप रेसियोको अडान कायमै राखे । यता सिभिलले पनि मेघाको बाटो समात्यो । हिमालयन र इन्भेष्टमेन्ट बराबरीको हैसियतमा मर्ज हुन तयार भएको थिए । इन्भेष्टमेन्टले मेघालाई ९० दिएपछि हिमालयनले पनि सिभिललाई ९० दिनुपर्छ भन्ने तर्क सिभिलले अघि सार्यो । सिभिलले ९० माग्दा पनि हिमालयन पछि हटेन । हिमालयन बैंकको पुरानो मर्जर कमिटी भङ्ग भएको थियो । विजय बहादुर श्रेष्ठ, जितेन्द्र धिताल, राधाकृष्ण पोते संलग्न मर्जर कमिटी बन्यो । सिभिल बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक अमिर बोगटी, सदस्य प्रकाश तायल र बैंकका अध्यक्ष प्रतावजंग पाण्डे छलफलमा जुटे । असार २१ गतेपछि वार्ता घनिभूत भए । सिभिल बैंकले नाम छाड्न राजी भयो । सिभिलले नामसँगै अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत पद पनि छोड्न तयार बन्यो । त्यतिबेला हिमालयन बैंकले सिभिललाई ८० रुपैयाँ दिन तयार भयो । सिभिलको मर्जर कमिटी ८२.५ बाट तल झर्न मानेन । अन्तिममा सिभिलको अध्यक्ष पाण्डेले ८१ प्रस्ताव गरे, हिमालयनले समर्थन गर्यो । फेरि कर्मचारी समायोजनको विषयमा मतभेद भयो । सिभिल बैंकले कर्मचारीको पद र सुविधा घट्ने गरी मर्जमा नजाने जनाउँ दियो । हिमालयन बैंक पछि हट्यो । ‘हामीलाई बाध्यता थियो, इन्भेष्टमेन्ट बैंकसँगको मर्ज भाँडिएपछि अर्को मर्जको लागि दबाब थियो, असारभित्र मर्जमा जानेले मात्र सुविधा पाउने अवस्था आयो, हिमालयन बैंकका एक जना सञ्चालकले भने, ‘सिभिल बैंकले नाम, अध्यक्ष, सञ्चालक, सीईओ सबै छोडेपछि हामीले पनि केही छोड्नुपर्छ भनेर समझदारीमा पुगेका हौ ।’ सिभिल प्राप्तिपछि हिमालयन बैंकको विजनेश सिनर्जी प्राप्त हुने हिमालयन बैंकका सञ्चालक जितेन्द्र धितालले बताए । ‘मर्जको प्रक्रिया सुरू भएको छ, डीडीए हुन्छ, राष्ट्र बैंकको निर्देशन, मापदण्ड पालना गर्दै अगाडि जाने हो’ धितालले भने–‘विजनेश डिसिजन गर्दा अहिले वर्तमान मात्र होइन, भविष्यलाई पनि हेरिएको हुन्छ ।’ दुई वर्ष अघिदेखि यसरी सुरू भएको मर्जर प्रयासले बुधबारबाट मूर्त रुप लिएको छ । दुई बैंकबीच मर्जर बारे गाभ्ने तथा गाभिने औपचारिक सम्झौता भएको छ । आफूहरु राष्ट्र बैंकको नीतिको पालना गर्दै अगाडि बढेको र मर्ज प्रक्रिया पनि सफल हुनेमा विश्वस्त रहेको सिभिल बैंकका मर्जर कमिटिका संयोजक अमिर बोगटीले बताए । ‘हामीले सेयरधनी र कर्मचारीलाई मर्का नपर्ने गरी काम गर्दै आएका छौं’ उनले भने, ‘भविष्यमा हुने सम्भावित विवादको विषय टुङ्गिसकेकोले अब समस्या नहोला ।’

सिजीले ल्यायो इन्टरनेट जोडेपछि जहाँबाट पनि चल्ने एसी र फ्रिज, १० वर्षको वारेन्टी

काठमाडाैं । सिजीले आफ्नो ‘सि.जी. मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ । यी उपकरणहरू इन्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने कम्पनीले बताएको छ । सिजीले यस पटक आइओट (ईन्टरनेट अफ थिङ्ग्स) सुविधासहितको प्रिमियम मल्टी डोर तथा साईड बाई साईड रेफ्रिजेरेटर र एसी बजारमा ल्याएको हो । कम्पनीकाे अनुसार यी आइओटी प्रोडक्टहरुलाई ग्राहकले सिजी स्मार्ट होम एपको मार्फत सजिलै चलाउन सक्नेछन् । यस एपमा यी प्रोडक्टहरु एक अर्कासँग इको स्टिमको तरिकाले जोडिएका हुन्छन् । आइओटी सुविधाको साथ ग्राहकले आफ्नो घर र कोठा घरबाहिर भएको बेला पनि चाहिएको अनुसार तापक्रममा कोठालाई न्यानो वा शीतल बनाउन सक्ने र रेफ्रिजेरेटरलाई पनि कन्ट्रोल गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी, मोटरमा र एसीमा ५ वर्षको वारेण्टी दिएको छ ।          

करोडौंको जग्गा कीर्ते गरी बेच्ने मालपोत कार्यालय सप्तरीका कर्मचारीलाई ६ वर्ष कैद

सप्तरी । जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ । राजविराज नगरपालिका–७ को करोडौं मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज –५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज–९ का हरिनारायण शर्मालाई बुधबार जनही छ वर्ष कैद सजाय भएको छ । कीर्ते गरेकामा एक वर्ष, कर्मचारी भएकाले थप दुई वर्ष तथा ठगी गरेकामा तीन वर्ष गरी छ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए । अर्का कर्मचारी सुनसरी दुहबी–४ का उद्धव खतिवडाको कारागारमै मृत्यु भएकाले उनको हकमा मुद्दा खारेज भएको छ । कीर्ते जालसाजी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ५८ वर्षीय नायबसुब्बा खतिवडाको २०७८ पुस २ गते मृत्यु भएको थियो । उनी २०७५ साउनदेखि नै पुर्पक्षका लागि राजविराज कारागारमा थुनिएका थिए । खतिवडासँगै थुनामा रहेका चौधरी र अर्का कर्मचारी हरिनारायण शर्माको कैद अवधि अझै दुई वर्ष बाँकी छ । फरार रहेका शर्मा अदालतमा हाजिर भएपछि २०७५ कात्तिक १३ गतेदेखि थुनामा छन् । करारका कर्मचारी शर्मा श्रेस्तामा कैफियत लेखी फोटो टाँसेर फाँटवालामा पेश गर्ने गर्दथे । यसैगरी जग्गा खरिद बिक्रीमा संलग्न राजविराज–७ गजेन्द्र चोककी देवरानीदेवी दास र डाक्नेश्वरी नगरपालिका–८ घर भई हाल राजविराज–७ मा घर बनाइ बसेकी घुरनीदेवी साहलाई चार वर्ष कैद सजाय भएको छ । दास र साहलाई कीर्ते गरेकामा एक वर्ष र ठगी गरेकामा तीन वर्ष गरी चार वर्ष कैद सजाय भएको अदालतले जनाएको छ । प्रहरीद्वारा २०७५ असार ३२ गते पक्राउ परेकी दास २०७५ साउन १७ गते १५ लाख पाँच हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएकी थिइन् । घुरनीदेवी भने २०७५ पुस ३० गते रु साढे सात लाख धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएकी थिइन् । यस्तै २०७५ असार १९ गते पक्राउ परी साउन १७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका राजविराज–११ का ७८ वर्षीय फुदन साहको कैद सजाय अवधि चार वर्ष पूरा भएको छ । कैद सजाय भुक्तान भएकाले उनी रिहा भएका छन् । उनका छोरा शङ्कर साह तेली र शर्माका नातेदार उपेन्द्र शर्मा फरार रहेका छन् । उनीहरूले राजविराज नगरपालिका–७ की ६९ वर्षीया उषा अर्यालको करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा बिक्री गरेका थिए । अमेरिकामा रहेकी अर्याललाई थाहै नदिई एक महिनामा दुईपटक उनको जग्गा बिक्री भइसकेको थियो । उनले आफ्नो जग्गा खोजी गर्दा अर्कैको नाममा पुगिसकेको चाल पाएपछि न्यायका लागि प्रहरीसमक्ष पुगेकी थिइन् । कीर्ते गरी आफ्नो नाममा जग्गा ल्याई बिक्री गर्ने फुदन साह र खरिद गर्ने देवरानी दासलाई प्रहरीले पक्राउ गरेसँगै कर्मचारीसहितको संलग्नताको रहस्य खुलेको हो । रासस

क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण

ओटावा [क्यानडा] । क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधवारसम्म देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ। एजेन्सीका अनुसार क्युबेकमा २८४, ओन्टारियोमा १५६, ब्रिटिश कोलम्बियामा २९ र अल्बर्टाका आठ जनामा सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालाले मङ्कीपक्स निम्त्याउने भाइरसको निदानात्मक परीक्षण गरिरहेको बताएको छ। मङ्कीपक्सले व्यापक सङ्क्रमण निम्त्याउन सक्ने र यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा बढ्ता पाइएको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्कीपक्स अर्थोपक्स भाइरस परिवारसँग सम्बन्धित छ । रासस-एनआई/सिन्ह्वा

लस एन्जलसमा कारोनाको त्रास, मास्क अनिवार्य गर्ने सरकारी तयारी

लस एन्जलस । कोरोना भाइरसको सङ्क्रमण पुनः बढेकाले एक करोड जनसङ्ख्या भएको यो महानगरमा अनिवार्यरूपमा मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने तयारी भइरहेको छ । अस्पताल भर्ना हुने बिरामीको चापलाई दृष्टिगत गरी मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने सोचमा सरकार रहेको स्वास्थ्य निर्देशक बारबरा फेरेरले बताइन् । बिरामीको चापलाई हेरेर निर्णय गरिने पनि उनले बताइन् । महानगरका अधिकांश बासिन्दा अनुहार मास्क लगाउन बानी परेका छन् । केही वर्षदेखि लगातार मुखौटोले आफ्नो अनुहार छोप्दैआएका निक बारगन घरबाहिर काममा निस्कँदा मास्क लगाउन भुल्दैनन् । अब आफूलाई मास्क लगाउने बानी परेको उनी बताउँछन् । देशव्यापीरूपमा कोभिड–१९ नयाँ प्रजाति बिए फाइभको सङ्क्रमण बढेको छ । नयाँ ओमिक्रोनका प्रजातिले अमेरिकी राज्यहरूमा बिरामीको सङ्ख्या उल्लेख्यमात्रामा बढाएको छ भने बिरामीको मृत्युदरमा पनि वृद्धि भएको छ । रोगको रोकथामका लागि सरकारीस्तरमा सचेतना प्रयास जारी छ । केही स्वास्थ्य विज्ञले सुरक्षात्मक उपाय अवलम्बन गर्न बिलम्ब भएको बताएका छन् । स्क्रिप्स रिसर्च ट्रान्सलेसन इन्सटिच्युटका डा इरिक टोपलले बिए फाइभको सङ्क्रमण घातक भएको चेतावनी दिएका छन् । रासस/एपी