विकासन्युज

राम्रो देश पठाइदिन्छु भन्दै ठग्ने चितवनका श्रीकृष्ण पक्राउ, ६ वर्ष जेल सजायसहित ६ लाख जरिवाना

काठमाडौं । वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी चितवन बस्ने ४६ वर्षीया श्रीकृष्ण घिसिङ तामाङ पक्राउ परेका छन् । तामाङलाई सर्वोच्च अदालतले २०७७ साल चैत १७ गते वैदेशिक रोजगार ठगी मुद्दामा ६ वर्ष जेल र ६ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार काठमाडौंको कलंकीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । ब्युरोका अनुसार फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उनलाइ पेस गरिएको छ । वैदेशिक रोजगार संचालन गर्ने अनुमति नै नपाएका उनले राम्रो पारिश्रमिक हुने भनी इजरायल जापान लगायतका वैदेशिक मुलुकमा पठाइदिने प्रलोभनमा पारेर पीडितहरुसँग ठगी गरेको कसुरमा उक्त सजाय भएको व्युरोले जनाएको छ ।

भरतपुर महानगरमा कम बेरुजु, सबैभन्दा बढी बिराटनगरको

चितवन । महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा छ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु बिराटनगरको देखिएको हो । उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा बेरुजु प्रतिशत विराटनगरको १६ दशमलव ५७ प्रतिशत छ भने भरतपुरको ० दशमलव ५६ प्रतिशत छ । त्यस्तै वीरगञ्जको नौ दशमलव ८० प्रतिशत, ललितपुरको आठ दशमलव ०६ प्रतिशत, काठमाडाैंको पाँच दशमलव ४० प्रतिशत र पोखराको पाँच दशमलव ३५ प्रतिशत रहेको छ । छ महानगरको समग्रमा बेरुजु छ दशमलव १३ प्रतिशत हुन आउँछ । पेश्की बाहेक बेरुजुको प्रतिशत विराटनगरको १५ दशमलव १३ प्रतिशत, वीरगञ्जको नौ दशमलव ६३ प्रतिशत, ललितपुरको चार दशमलव ०३ प्रतिशत, काठमाडौँको चार दशमलव ६४ प्रतिशत, पोखराको पाँच दशमलव १७ प्रतिशत र भरतपुरको ० दशमलव २५ प्रतिशत रहेको छ । बेरुजुमध्ये पेश्की रकममा विराटनगरको छ करोड १७ लाख, वीरगञ्जको एक करोड ३३ लाख, ललितपुरको २७ करोड ७२ लाख, काठमाडौंको १५ करोड छ लाख, पोखराको एक करोड ७९ लाख र भरतपुरको तीन करोड ५३ लाख रहेको छ । प्रतिवेदनमा म्याद नाघेको पेश्की समेतको बेरुजु विराटनगरको ७१ करोड १५ लाख, वीरगञ्जको ७६ करोड २८ लाख, ललितपुरको ५५ करोड ४० लाख, काठमाडौंको एक अर्ब छ करोड ७४ लाख, पोखराको ५४ करोड ६१ लाख र भरतपुरको छ करोड ४५ लाख रहेको छ । महालेखाले विराटनगरको चार अर्ब २९ करोड ५२ लाख, वीरगञ्जको सात अर्ब ७८ करोड ४२ लाख, ललितपुरको छ अर्ब ८७ करोड ३५ लाख, काठमाडौंको १९ अर्ब ७७ करोड ६० लाख, पोखराको १० अर्ब २१ करोड ४६ लाख र भरतपुरको ११ अर्ब ५५ करोड ७६ लाखको लेखापरीक्षण गरेको थियो । महालेखाले छ महानगरपालिकाको ६० अर्ब ५० करोड ११ लाखको लेखापरीक्षण गरेको प्रतिवेदनमा जनाइएको छ । भरतपुर महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले बेरुजु तत्काल फर्छाैट गर्ने परिपाटीको विकासका कारण बेरुजु कम भएको बताए । ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फर्छाैटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम भएको उनको भनाइ थियो । महानगर प्रमुख रेनु दाहालले आर्थिक सुशासन र पारदर्शीतामा यो महानगर अग्रणी रहेको प्रतिवेदनले देखाएको बताइन् । उनले भनिन्, ‘जवाफदेहीता, पारदर्शीता र आर्थिक मितव्ययिततामा हामी प्रतिबद्ध छौँ ।’ सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको भन्दै महानगरप्रमुख दाहालले छिटोछरितो सेवा प्रवाहमा महानगर लागेको जानकारी दिइन् । महानगरका जनप्रतिनिधिले अतिरिक्त सेवा सुविधा नलिएको र सुशासनमा जोड दिएका थिए । उनले भनिन्, ‘आम महानगरवासीले काम गर्दा प्रचलित नीति नियमलाई पालना गरिदिन अनुरोध गर्दछु ।’ कर्मचारीले भनेअनुसारका कागजपत्र तयार गरेर पारदर्शी ढङ्गबाट काम गर्दा बेरुजु नआउने र कामको गुणस्तरीयता बढ्ने उनको भनाइ थियो । देशका छ महानगरमा सङ्घ र प्रदेशकोसमेत धेरै बजेट ल्याएर भौतिक पूर्वाधारसहितका विकासका काम गर्ने महानगरमा भरतपुर अग्रणी छ । रासस

संविधान तथा ऐन विपरित राष्ट्रिय परीक्षा बोर्डले करोडौं रकम उठाउने काम गर्यो

काठमाडौं । नेपालको संविधान तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ विपरित राष्ट्रिय परीक्षा बोर्डले करोडौं रुपैयाँ शुल्क उठाउने काम गरेको छ । माध्यमिक तहको शैक्षिक कार्यक्रम अन्तर्गत राष्ट्रिय परीक्षा बोर्डले संविधान र ऐन विपरित रजिष्ट्रेसन, परीक्षा र प्रमाणपत्र लगायतका शिर्षकमा शुल्क उठाएको महालेखापरीक्षकको ५९औं प्रतिवेदनले औंल्याएको छ । नेपालको संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था रहेको छ । त्यस्तै निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ मा माध्यमिक तहको शिक्षालाई निःशुल्क गर्ने भनिएको छ । तर, राष्ट्रिय परिक्षा बोर्डले आर्थिक वर्ष ०७७/०७८ मा विद्यार्थीबाट गैरकानुनी ढंगले विभिन्न शिर्षकमा ३ करोड ९६ लाख रुपैयाँ शुल्क संकलन गरेको महालेखापरीक्षकको ५९औं प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखाले राष्ट्रिय परीक्षा बोर्डले ऐन विपरित शुल्क असुल गर्ने कार्यलाई बन्द गरी माध्यमिक तहमा निःशुल्क शिक्षाको व्यवस्था गर्न प्रतिवेदनमार्फत भनेको छ ।

सुन्दर यातायातले नेपालमै विद्युतीय गाडी बनाउने, चिनियाँको पनि लगानी, ३ सयलाई रोजगारी

फाइल फोटो काठमाडौं । सुन्दर यातायातले नेपालमा नै सवारी उत्पादन गर्ने गरी एसेम्बलिङ उद्योग बनाउने तयारी थालेको छ । कम्पनीले रुपेन्देहीको सैनामैना नगरपालिकामा चार पाँग्रे विद्युतीय सवारी साधनको एसेम्बलिङ उद्योग बनाउने तयारी गरेको हो । अहिले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारेर फिल्डिङको काम भैरहेको बताएको छ । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार सुन्दरको भगिनी कम्पनी सुन्दर अटो इञ्जिनियरिङमार्फत् उक्त प्लान्ट रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा सञ्चालन हुनेछ । प्लान्ट सञ्चालनका लागि नगरपालिकाले १२ बिघा जग्गा उपलब्ध गराइसकेको छ । उक्त जग्गामा नै हाल अस्थायी भौतिक संरचना निर्माणको तयारी भएको उनको भनाइ छ । अब सवारी उत्पादन सुन्दर अटो इञ्जिनियरिङअन्तर्गत हुनेछ भने ब्रिक्री–वितरण सुन्दर ट्रेडर्सले गर्ने सम्झौता भएको छ । मध्यस्थकर्ताको भूमिका सुन्दर यातायातले गर्ने थापाले जानकारी दिए । ‘प्लान्टबाट पहिलो वर्ष तीन सय वटा सवारी उत्पादन गर्ने योजना छ, त्यसपछि आवश्यकताअनुसार हरेक वर्ष उत्पादन बढाउँदै लैजान्छौं,’ उनले भने । प्लान्टमा ४९ प्रतिशत सुन्दर अटो इञ्जिनियरिङ र ५१ प्रतिशत चिनियाँ कम्पनीको लगानी हुने उनले बताए । प्लान्ट निर्माण भएपछि थप तीन सय रोजगारी सिर्जना हुने उनले बताए । कोरोना भाइरस महामारीका कारण प्लान्ट निर्माणमा ढिलाई भएको कम्पनीका अध्यक्ष थापाले बताए । ‘कोभिडका कारण हामीले तयार पारेको डिपीआर परिवर्तन गरेर नयाँ बनाउँदा केही ढिलाई भयो, बीचमा देशमा विदेशी मुद्रा सञ्चितीमा कमी भएको भन्दै नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्दा उपकरण ल्याउन ढिलाई भयो’, उनले भने । उनले २ वर्षअघि तयार पारिएको डिपीआरमा केही नयाँ कुरा थप गर्नुपर्ने चिनियाँ कम्पनीको सुझाव अनुसार नयाँ डिपीआर तयार बनाइएको बताए । ‘हाम्रो योजना अनुसार नै ६ महिनाभन्दा बढी समय लगाएर डिपीआर तयार पारेका थियौँ, कोरोनाका कारण प्लान्ट निर्माण गर्न सकिएन’, उनले भने, ‘कोरोनापछि अवस्था सामान्य हुँदा पहिला बनाएको डिपीआर पुरानो भयो, धेरै परिवर्तन गर्नुपर्ने जस्ता मागहरु चिनियाँ कम्पनीहरुबाट आउन थालेपनि नयाँ डिपीआर तयार बनाउन समय लाग्यो, योजना अनुसार निर्माणमा ढिलाई हुँदा निर्माण खर्चसँगै समय लम्बिदा खर्च बढ्यो ।’ पछिल्लो समय आयातमा केही सहज भएपछि आफुहरुले चिनियाँ कम्पनीलाई आवश्यक उपकरण ल्याउन पत्र पठाइसकेको उनको भनाइ छ । ‘केही उपकरण आइसकेका छन्, बाँकी उपकरण आएपछि छिट्टै एसेम्बलिङ उद्योग सञ्चालनमा ल्याउँछाँै,’ उनले भने । छुट कार्यान्वयनमा आएपछि उपकरण ल्याइने सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नेपालमा नै सवारी साधन एसेम्बलिङ गर्ने उद्योगलाई आवश्यक उपकरण आयातमा घुट दिने घोषणा गरेको थियो । सरकारले गरेको घोषणा अनुसार उपकरण आयातमा सरकारको निर्णयको पखाईमा बसेको अध्यक्ष थापाले बताए । साउन १ गतेबाट सरकारले ल्याएको बजेटको घोषणा अनुसार कार्यान्वयन हुने भन्दै साउनदेखि प्लान्टका लागि आवश्यक पर्ने ट्रष्ट निर्माण गर्ने उनको भनाइ छ । ‘पुरानो डिपीआरमा स्थाई भौतिक संरचना निर्माण गर्ने थियो, अहिले नयाँ डिपीआरमा ट्रष्ट (अस्थाई संरचना) निर्माण गर्ने भनिएको छ, फलामको ट्रष्ट निर्माण गर्न लामो समय लाग्दैन, अबको तीन महिनाभित्र प्लान्ट सञ्चालनमा ल्याउने हाम्रो योजना छ’, उनले भने । ट्रष्ट निर्माणको जिम्मा दिएको कम्पनीले अबको तीन महिनाभित्र सम्पूर्ण काम सक्ने बताएको छ । भौतिक संरचना निर्माण सकिनासाथ उपकरण जडान गरेर प्लान्ट सञ्चालनमा ल्याउने उनको भनाइ छ । कम्पनीले प्लान्टका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि ३३ करोड रुपैयाँ खर्च गर्नेछ । यस्तै, आवश्यक उपकरण चिनियाँ कम्पनी चिनियाँ कम्पनी सिचुवाङ गुहाङ अटोमोबाइल्स र बिएके चाइनिज कम्पनीले ल्याउनेछ । आवश्यक उपकरण चिनियाँ कम्पनीले नै ल्याउने गरी सम्झौता भएको भन्दै प्लान्ट सञ्चालनका लागि यति नै रकम खर्च हुन्छ भन्ने अनुमान गर्न नसकिने उनले बताए ।

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता, स्वाप रेसियो १००ः८०

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्ज हुने भएका छन् । सो सम्बन्धमा दुई कम्पनीले असार ३० गते बिहान ९ बजे प्रारम्भिक समझदार पत्र (एमओयू)मा हस्ताक्षर गरेका हुन् । दुई इन्स्योरेन्सबीच १००ः८० को अनुपातमा प्राप्ति गर्ने तथा गराउने सहमति भएको हो । ‘१००ः८० को रेसियोमा सम्झौता भएको हो,’ लुम्बिनी जनरल इन्स्योरेन्स श्रोतले विकासन्युजसँग भन्यो । अर्थात मर्जपछि लुम्बिनी जनरलको १०० कित्ता सेयर हुने सेयरधनीले सगरमाथा इन्स्योरेन्सको ८० कित्ता सेयर पाउने छन् । त्यस्तै, मर्जपछि बन्ने कम्पनीको नाम, सीईओ तथा अध्यक्षको बारेमा भने निर्णय हुने बाँकी रहेको छ । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १००ः८० को स्वाप रेसियोमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ । उक्त सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्सका सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरलका सञ्चालक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यससँगै दुबै कम्पनीको सेयर कारोबार पनि रोक्का भएको छ । नेप्सेले असार ३० गतेदेखि नै दुबै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।

नेप्सेमा थप दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा थप दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले मर्जर प्रकृयामा गएका सानिमा जनरल र जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिदिएको हो । यी दुईले असार २९ गते मात्रै मर्जरमा जानको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सोहि अनुसार नेप्सेले असार ३० गतेदेखि दुबै कम्पनीको सेयर कारोबार रोकिदिएको हो । यससँगै अब दुई इन्स्योरेन्सबीचको मर्जर प्रकृया सम्पन्न भई एकीकृत कारोबार नभएसम्म दोश्रो बजारमा सेयर कारोबार खुल्ने छैन । दुबै इन्स्योरेन्स समान हैसियत अर्थात १ बराबर १ को अनुपातमा एक आपसमा मर्ज हुन लागेका हुन् । पछिल्लो समय नेप्सेमा अधिकांश बीमा कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । सबै कम्पनी धमाधम मर्जर प्रकृयामा जनलाई एमओयू गरेसँगै नेप्सेले कारोबार रोक्का गरिदिएको हो ।

सिभिल बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । दोश्रो बजारमा सिभिल बैंकको सेयर कारोबार रोक्का भएको छ । हिमालयन बैंकसँगै एक्वायर हुने भएसँगै नेप्सेले असार ३० गतेदेखि सिभिलको सेयर कारोबार रोक्का गरिदिएको हो । हिमालयनले सिभिललाई एक्वायर गर्न असार २९ गते प्रारम्भिक सम्झौता गरेको हो । दुई बैंकबीच १००ः८१ को अनुपातमा प्राप्ति गर्ने तथा गराउने सहमति भएको हो । अन्तिम कारोबारमा सिभिलको सेयर ८.२३ प्रतिशतले बढेर प्रतिकित्ता २१३ रुपैयाँ पुगेको थियो । यो पनि पढ्नुहोस् हिमालयन-सिभिल मर्जर : साढे २० अर्ब पुँजी, कर्मचारीको हैसियत बराबर, अन्य सूचकमा कस्तो ?

चन्द्रागिरीको केबलकार बेलुकी ९ बजेसम्म चढ्न पाइने

काठमाडौं । अबदेखि चन्द्रागिरी जाने केबलकार बेलुकी ९ बजेसम्म चढ्न पाइने भएको छ । चन्द्रागिरी घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकले बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म केबलकार चढ्न पाउने भएका हुन् । चन्द्रागिरी हिल्सले २०७९ साउन १ गतेदेखि लागू हुने गरी उक्त सेवा दिन लागेको हो । साथै, दैनिक मध्यान्ह १२ बजेदेखि १ बजेसम्म र साँझ ५ः३० बजेदेखि ६ः१५ सम्म भने केबलकार बन्द अर्थात बिश्राम हुने कम्पनीले जानकारी गराएको छ ।