नेप्सेका कर्मचारीलाई नियम विपरित ६ महिनाको तलब बराबरको बोनस
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कर्मचारीलाई नियम विपरित बढी बोनस वितरण गरेको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनका अनुसार नेप्सेले कर्मचारीलाई बोनस विनियमाली २०३९ को नियम ७ विपरित बढी बोनस वितरण गरेको जनाएको हो । नेपाल सरकारको स्वामित्वमा नाफा आर्जन गर्ने उद्देश्यले नेपाल सरकारले तोकिदिएको क्षेत्रमा स्थापना भएको एकाधिकार प्राप्त प्रतिष्ठानमा कार्यरत अधिकृत तहका कर्मचारीले एक आर्थिक वर्षमा शुरु तलव स्केलको दुई महिनाको तलब बराबरको रकम र सोभन्दा तल्लो तहका कर्मचारीले तीन महिनाको तलब बराबरको रकमभन्दा बढी हुने गरी बोनस नपाउने व्यवस्था भएकोमा नेप्सले भने बढी नै बोनस वितरण गरेको प्रतिवेदनामा उल्लेख छ । नेप्सेले २०७६/७७ मा कर्मचारी बोनस व्यवस्था गरेको रकमबाट ६ महिनाको तलब बराबरको ८६ लाख ३ हजार रुपैयाँ वितरण गरेको छ । नियमावलीमा भएको व्यवस्था भन्दा बढी भुक्तानी भएको बोनस रकम असुल हुनु पर्ने प्रतिवेदनमा उल्लेख छ ।
शर्माबारे छानविन गर्न बनेको समितिले सिसिटिभी फुटेजको गर्यो निरीक्षण
काठमाडाैं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानविन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ । बुधबार अपरान्ह अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय सो संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सिसीटिभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो । त्यहाँको कार्यकक्षमा जडान गरिएको सिसीटिभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरुसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । उनले समितिका सदस्यहरुलाई अर्थ मन्त्रालयका प्राविधिकहरुले त्यसबारे आवश्यक जानकारी गराएको पनि बताए । यसैबीच, समितिले सो घटनाको सम्बन्धमा आवश्यक कागजात बिहीबार (भोली) दिउँसो २ बजेभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार समेत गरेको छ । सो सम्बन्धमा आवश्यक कागजातसहितको प्रमाणहरु समितिलाई उपलब्ध गराउन आजै (बुधबार) बिहान १० बजे अर्थ मन्त्रालयलाई पत्राचार गरिएको पनि समितिले जनाएको छ । निःवर्तमान अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिहरु सामेल गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । सोही घटनाको सत्यतथ्य बाहिर ल्याउन सो संसदीय विशेष छानवीन समिति गठन गरिएको थियो । समितिमा एमालेबाट प्रदिप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विश्वकर्मा रहनु भएको छ । त्यसैगरी नेपाली काँग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत रहनु भएको छ भने नेकपा (एकीकृत समाजवादी)की सरलाकुमारी यादव, जनता समाजवादीबाट सुरेन्द्रकुमार यादव र लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्षमण कर्ण रहेका छन् । एक हप्ता अघि अर्थात् गत असार २२ गते बुधबार गठन गरिएको सो समितिको सभापति समेत अझै चयन गरिएको छैन । कार्यविधि भने तय गरी छानवीनको कामलाई अघि बढाइएको समितिका सचिव अर्यालले बताए ।
सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई दियो ५ लाख
काठमाडौं । सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई सहयोग गरेको हो । सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा। गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रम अन्तर्गत पहिचान गरिएका ६७५ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा प्रदान गर्न उपयोग गर्ने जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न
काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरु, सिप्रदी ट्रेडिङ्ग प्रा।लि।का प्रतिनिधिहरु र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरिएको थियो । ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा संचालन गर्नका लागि कम्पनीको नेपालभर सेल्स तथा सर्भिस टिम रहेको छ ।
तीन वर्षमा विभूषणमा साढे २४ करोड खर्च, महालेखाले उठायो प्रश्न
काठमाडौं । सरकारले हरेक वर्ष दिने मानपदवी, अलंकार तथा विभिन्न पदकमा करोडौ रकम खर्च हुने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार उक्त विभूषणमा सरकारले ठूलो रकम खर्च गर्दै आएको पाइएको हो । विभूषण ऐन, २०६४ मा ४ प्रकारका १२ श्रेणी मानपदवी, ९ प्रकारका अलंकार र १३ प्रकारका पदकबाट राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनेलाई विभूषण समितिले स्वीकृत गरेको मापदण्ड, २०७५ बमोजिम सिफारिस गर्ने र नेपाल सरकारले निर्णय गर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७५/०७६ मा ५१८, २०७६/०७७ मा ६३३ जना, २०७७/०७८ मा ५९३ र २०७८/०७९ मा ८८७ जनालाई विभूषित गर्ने निर्णय भएको छ । घोषणा गरेका विभूषण तयार गर्न गृह मन्त्रालयले २०७५/०७६ मा ५ करोड ६९ लाख ७७ हजार रुपैयाँ, २०७६/०७७ मा ८ करोड ५० लाख रुपैयाँ र २०७७/०७८ मा १० करोड २२ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ । तीन आर्थिक वर्षमा सरकारले विभूषणको नाममा २४ करोड ४१ लाख ९३ हजार रुपैयाँ खर्च गरेको हो । विगतमा घोषणा भएमध्येको १७६ मानपदवी, ३६ अलकार र ६२ पदकसमेत गरी २७४ विभूषण वितरण नभई मौज्दात रहेको छ । महालेखाले विभूषण तयार गर्न लाग्ने लागत वर्षेनी बढ्दैे गएको भन्दै लागतमा कमी ल्याउन तथा विभूषित हुने संख्या निश्चित गरी खर्चमा नियन्त्रण गर्नुपर्ने उल्लेख गरेको छ ।
दुई इन्स्योरेन्ससहित २६ संस्थानले गरेनन् लेखापरीक्षण, १२ वटा खारेज
काठमाडौं । गत आर्थिक वर्षमा दुई इन्स्योरेन्ससहित २६ संस्थानले लेखापरीक्षण गराएका छैनन् । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार ती संस्थानले आर्थिक वर्ष २०७७/७८ सम्म लेखापरीक्षण नगराएका हुन् । २६ संस्थानमध्ये इन्स्योरेन्सबाट राष्ट्रिय बीमा कम्पनीले ५ वर्ष र राष्ट्रिय बीमा संस्थानले ९ वर्षदेखि लेखापरीक्षण गराएका छैनन् । त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन वर्ष, विशाल बजार कम्पनीले पनि ५ वर्षदेखि लेखापरीक्षण गराउन सकेका छैनन् । २०७८ को जेठ महिनासम्ममा १६ सार्वजनिक संस्थानले मात्र तोकिएको समयमा २०७७/०७८ सम्मको लेखापरीक्षण गराएका छन् । हाल ६९ सार्वजनिक संस्थानमध्ये विभिन्न वर्ष विनिवेश भएका संस्था ३० तथा पछिल्लो समयमा स्थापना भै थप भएका समेत हाल अस्तित्वमा रहेका ४४ संस्थामध्ये ४२ संस्था सञ्चालनमा रहेका छन् । हालसम्म विनिवेश गरिएका ३० संस्थानमध्ये १२ संस्थान खारेजी गरिएकोमा एक संस्थान (कृषि चुन उद्योग लिमिटेड) को मात्र कम्पनी रजिष्ट्रारको कार्यालयबाट कानूनी रुपमा खारेजी प्रक्रिया सम्पन्न भएको छ । अन्य संस्थानहरु कानूनी रुपमा खारेजी प्रक्रिया सम्पन्न भएका छैनन् । रोजगारी तथा उत्पादनमा टेवा पुर्याउने १८ संस्थामध्ये हाल १२ संस्था सञ्चालनमा रहेको, ६ संस्था बन्द भएको तथा निजीकरण भई सञ्चालनमा रहेकामध्ये ७ संस्थान मात्र नाफामा सञ्चालन भएका लेखापरीक्षण भएनन् ।
आइएमई पेबाट हवाई टिकट काट्ने दुई जनाले जिते सुनको सिक्का
काठमाडाैं । आइएमई पेको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ योजना अन्तर्गत सुनको सीक्का जित्ने दुई जना विजेताको नाम घोषणा गरिएको छ । यस याेजना अन्तर्गत सन्देश श्रेष्ठ र राम पुकार महतोले विजेता चुनिएका छन् । दुवै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौं र जनकपुरबाट काठमाडौंको हवाई टिकेट काटेका थिए । यस योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरु मध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको विजेताको नाम आइएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणा अन्तर्गत घोषणा भइसकेको छ ।
स्थानीय तहको बेरुजु १ खर्ब ३६ अर्ब, सबैभन्दा कम ताप्लेजुङमा
काठमाडौं । स्थानीय तहको बेरुजु रकम १ खर्ब ३६ अर्ब ३२ करोड २४ लाख बढी पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार स्थानीय तहको बेरुजु रकम बृद्धि भएको हो । गत आर्थिक वर्ष २०७६/०७७ मा १ खर्ब ३ अर्ब ३ करोड ७७ लाख रुपैयाँ बेरुजु रहेकोमा २०७७/०७८ मा उक्त रकममा बृद्धि भएर १ खर्ब ३६ अर्ब बढी पुगेको हो । महालेखाको प्रतिवेदन अनुसार प्रदेश सरकारतर्फ लेखापरीक्षण अंकको तुलनामा २.५२ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी कर्णाली प्रदेशको ५.०६ प्रतिशत र सबैभन्दा घटी लुम्बिनी प्रदेशको १.०९ प्रतिशत रहेको छ । स्थानीय तहतर्फ लेखापरीक्षण अंकको तुलनमा ४.१८ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी महोत्तरी जिल्लाको पिपरा गाउँपालिका २३.८७ प्रतिशत र सबै भन्दा घटी ताप्लेजुङ जिल्लाको सिरीजङ्घा गाउँपालिका र प्यूठान जिल्लाको मल्लरानी र सरुमारानी गाउँपालिकाको बेरुजु शून्य रहेको छ । यो वर्षको लेखा परीक्षणबाट ५ प्रतिशतभन्दा कम बेरुजु हुने ५३३,५ देखि १५ प्रतिशतसम्म बेरुजु हुने १९३ र १५ प्रतिशत भन्दा बढी बेरुजु हुने स्थानीय तह १८ रहेका छन् । यो वर्ष ३ हजार २८७ संघीय सरकार कार्यलयको लेखा परीक्षण गरिएकोमा १ हजार ३४१ कार्यालय (४०.७९ प्रतिशत) मा उल्लेख्य बेरुजु देखिएन । प्रदेश सरकारी कार्यालयतर्फ १ हजार १३१ को लेखापरीक्षण गरेकोमा ३४७ कार्यालय (३०.६८ प्रतिशत) मा उल्लेख्य बेरुजु नदेखिएको प्रतिवेदनमा उल्लेख छ । यो वर्ष ५ हजार २१७ संघीय सरकारी कार्यालय, प्रदेश र स्थानीय तहको (बक्यौता समेत) १ लाख ५५ हजार ८६९ बेरुजु देखिएकोमा ६४ हजार २७ दफा सैद्धान्तिक र ९१ हजार ८४२ दफा लगती बेरुजु कायम भएको छ ।