आइएमई पेबाट हवाई टिकट काट्ने दुई जनाले जिते सुनको सिक्का
काठमाडाैं । आइएमई पेको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ योजना अन्तर्गत सुनको सीक्का जित्ने दुई जना विजेताको नाम घोषणा गरिएको छ । यस याेजना अन्तर्गत सन्देश श्रेष्ठ र राम पुकार महतोले विजेता चुनिएका छन् । दुवै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौं र जनकपुरबाट काठमाडौंको हवाई टिकेट काटेका थिए । यस योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरु मध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको विजेताको नाम आइएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणा अन्तर्गत घोषणा भइसकेको छ ।
स्थानीय तहको बेरुजु १ खर्ब ३६ अर्ब, सबैभन्दा कम ताप्लेजुङमा
काठमाडौं । स्थानीय तहको बेरुजु रकम १ खर्ब ३६ अर्ब ३२ करोड २४ लाख बढी पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार स्थानीय तहको बेरुजु रकम बृद्धि भएको हो । गत आर्थिक वर्ष २०७६/०७७ मा १ खर्ब ३ अर्ब ३ करोड ७७ लाख रुपैयाँ बेरुजु रहेकोमा २०७७/०७८ मा उक्त रकममा बृद्धि भएर १ खर्ब ३६ अर्ब बढी पुगेको हो । महालेखाको प्रतिवेदन अनुसार प्रदेश सरकारतर्फ लेखापरीक्षण अंकको तुलनामा २.५२ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी कर्णाली प्रदेशको ५.०६ प्रतिशत र सबैभन्दा घटी लुम्बिनी प्रदेशको १.०९ प्रतिशत रहेको छ । स्थानीय तहतर्फ लेखापरीक्षण अंकको तुलनमा ४.१८ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी महोत्तरी जिल्लाको पिपरा गाउँपालिका २३.८७ प्रतिशत र सबै भन्दा घटी ताप्लेजुङ जिल्लाको सिरीजङ्घा गाउँपालिका र प्यूठान जिल्लाको मल्लरानी र सरुमारानी गाउँपालिकाको बेरुजु शून्य रहेको छ । यो वर्षको लेखा परीक्षणबाट ५ प्रतिशतभन्दा कम बेरुजु हुने ५३३,५ देखि १५ प्रतिशतसम्म बेरुजु हुने १९३ र १५ प्रतिशत भन्दा बढी बेरुजु हुने स्थानीय तह १८ रहेका छन् । यो वर्ष ३ हजार २८७ संघीय सरकार कार्यलयको लेखा परीक्षण गरिएकोमा १ हजार ३४१ कार्यालय (४०.७९ प्रतिशत) मा उल्लेख्य बेरुजु देखिएन । प्रदेश सरकारी कार्यालयतर्फ १ हजार १३१ को लेखापरीक्षण गरेकोमा ३४७ कार्यालय (३०.६८ प्रतिशत) मा उल्लेख्य बेरुजु नदेखिएको प्रतिवेदनमा उल्लेख छ । यो वर्ष ५ हजार २१७ संघीय सरकारी कार्यालय, प्रदेश र स्थानीय तहको (बक्यौता समेत) १ लाख ५५ हजार ८६९ बेरुजु देखिएकोमा ६४ हजार २७ दफा सैद्धान्तिक र ९१ हजार ८४२ दफा लगती बेरुजु कायम भएको छ ।
लुम्बिनी जनरलका नवनियुक्त अध्यक्ष मुलले लिए शपथ
काठमाडौं । लुम्बिनी जनरलका नवनियुक्त अध्यक्ष मनोहर दास मुलले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष पदमा पुन निर्वाचित भएका मुलले आजै अर्थात असार २९ गते नै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट शपथ लिएका हुन् । इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी ४ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गराएको थियो । जसमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि-लुम्बिनी बिकास बैंक लि) रहेका छन् । त्यसपछि बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कूल ४ सञ्चालकमध्ये मुललाई पुनः अध्यक्ष पदमा नियुक्त गराउने निर्णय गरेको हो । सपथ समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र कम्पनी सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो । यो पनि पढ्नुहोस् लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित, सञ्चालकमा ४ जना निर्वाचित
प्रभु इन्स्योरेन्सको साधरणसभाले खोल्यो मर्जरमा जाने बाटो
काठमाडाैं । प्रभु इन्स्याेरेन्सकाे मर्जरमा जाने बाटाे खुलेकाे छ । इन्स्याेरेन्सकाे मंगलबार सम्पन्न विशेष साधरणसभाले कम्पनीकाे मर्जरमा जाने बाटाे खाेलेकाे हाे । उक्त सभाले कम्पनीकाे चुक्ता पूँजीकाे बढाउन भविष्यमा कुनै निर्जिवन बीमा कम्पनीहरुसँग एक आपसमा मर्जर तथा प्राप्ति गर्ने सक्ने निर्णय गरेकाे छ । सभाले आवश्यकता अनुसार हकप्रद जारी गरी पूँजी वृद्धि गर्न सक्ने निर्णय गर्दै साे सम्बन्धी आवश्यक निर्णय गर्न तथा तत् सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायतका मर्जर तथा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पुर्ण प्रक्रिया पुरा गर्न संचालक समितीलाई अख्तियारी प्रदान गरेकाे छ ।
बुधबार काेराेनाका २०६ जना संक्रमित थपिए, उपत्यकामा मात्रै १२५
काठमाडौं । देशभर बुधबार कोभिड–१९ का २०६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २४ घण्टामा २०६ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयको अनुसार तीन हजार १ सय ७५ परीक्षणमध्ये २०६ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो । बुधबार दिउँसोसम्म देशभर कोभिड–१९ का एक हजार सकृिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएकाे छ ।
मर्जरमा जाँदै जनरल र सानिमा जनरल इन्स्योरेन्स, सम्झौता भोलि
काठमाडौं । जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने तयारीमा छन् । जसको लागि दुई कम्पनीले असार ३० गते बुधबार सम्झौता गर्न लागेका हुन् । ‘एमओयू भोलि बिहीबार गर्ने तयारी भइरहेको छ,’ जनरल इन्स्योरेन्सका सीईओ रामचन्द्र श्रेष्ठले विकासन्युजसँग बताए । यद्पि, हालसम्म स्वाप रेसियो, मर्जर पछि बन्ने कम्पनीको सीईओ, सञ्चालक समिति लगायतका विषय टुङ्गो लागि नसकेको उनले बताए । हाल जनरल इन्स्योरेन्स र सानिमा जनरल दुबै इन्स्योरेन्सको चुक्ता पुँजी १ १ अर्ब रुपैयाँ छ । यदि दुई इन्स्योरेन्स १ बराबर १ अनुपातको स्वाप रेसियोमा मर्ज भए मर्जर पछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ । बीमा समितिले न्यूनतम पुँजी २ अर्ब ५० करोड रूपैयाँ तोकेको छ ।
अर्थतन्त्रले धान्नै नसक्ने आयत भयाे : अध्यक्ष अग्रवाल
काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले अर्थतन्त्रले धान्नै नसक्ने आयत भएकाे बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकउण्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले बजारमा माग पनि ह्वात्तै बढेको छ र समयमै विकास खर्च हुन नसकेकाे बताए । यस्तै, अध्यक्ष अग्रवालले सहुलियतपूर्ण कर्जालाई उत्पादनसँग जोड्नु पर्ने बताएका छन् । ‘औद्योगिकरणाको आवश्यकता देखिएको छ, आयात प्रतिस्थापन गर्ने उद्योगको आवश्यक छ, बैंकहरुले दीर्घकालीन स्रोत व्यवस्थापन र उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ,’ उनले भने । उनले राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा जाने कर्जामा २ प्रतिशत प्रिमियम तोक्नु पर्ने बताए । ‘बैंकहरुले कोल्याटरबेसभन्दा पनि प्रोजेक्टबेस लगानी गर्नु पर्छ, एसएमईका लागि केही निश्चित कोष सिर्जना गरेर लगानी गर्नु पर्ने आवश्यक छ,’ उनले भने ।
कोरोना रोकथाममा सरकारले दुई वर्षमा खर्च गर्याे ३२ अर्ब
काठमाडौं । सरकारले कोरोना महामारीमा ३२ अर्ब बढी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कोरोना महामारी व्यवस्थापनमा ३२ अर्ब ६४ करोड ६ लाख खर्च गरेका हुन । प्रतिवेदन अनुसार संघीय सरकार अन्तरगत गत आर्थिक वर्ष २०७७/०७८ मा कोभिड १९ रोकथाम र नियन्त्रणमा विनियोजित बजेट र केन्द्रीय कोरोना कोषबाट १२ अर्ब २२ करोड ११ लाख, प्रदेश सरकारको खर्च २ अर्ब ११ करोड ६७ लाख र स्थानीय तहबाट ४ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ गरी १९ अर्ब ९ करोड ६७ लाख रुपैयाँ खर्च गरेका हुन । यस्तै, गत वर्ष २०७६/०७७ को खर्च १३ अर्ब ५४ करोड ३९ लाख गरी कोरोना व्यवस्थापनमा ३२ अर्ब ६४ करोड ६ लाख खर्च भएको हो । उक्त खर्च रकम विभिन्न दातृनिकाबाट प्राप्त सहायता, वस्तुगत सहायता लगायतको रकम समावेश नभएको प्रतिवेदनमा उल्लेख छ ।