विकासन्युज

एकवर्षमा नेक्सन इभी ७ सय बिक्री, १८ सय बुक

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा नेक्सन इभीको नेपाली बजारमा बिक्री वितरण प्रारम्भ गरेको १ वर्ष पुरा भएको छ । एक वर्ष अवधिमा सो इभी अन्य कम्पनीका इभी गाडीहरुको तुलनामा धेरै नेपालीले मन पराउने गाडीको रुपमा स्थापित भएको छ । सिप्रदी ट्रेडिङका सेल्स हेड साओजंग सिंजापतिका अनुसार टाटाको इभि गाडी १ वर्षमा नेपालमा ७ सय वटा बिक्री भए । अहिलेपनि कम्पनीसँग नयाँ गाडी खरिदको लागि १ हजार ८ सयले बुक गरेको उनले जानकारी दिए । टाटाको इभी मध्ये धेरैले नेक्सन इभी डार्क लक्जरियस भर्सनलाई मन पराएको सिंजापति बताउँछन् । गाडीको डिजाइन, प्रविधि, सञ्चालन खर्च, चार्जिङ क्षमता, ब्याट्रीको आयु र सुलभ मूल्यको कारणले चालकहरुले मन पराएको कम्पनीको दाबी रहेको छ । ‘गाडीको बिक्री एकदमै राम्रो रह्यो, सोही अनुसार यससँग सम्बन्धित भौतिक पूर्वाधार हामीले नेपालभरी नै बनाएका छौं । चार्जिङ देखि रिपेयरिङ स्टेशन देशभरी नै बनाएका छौं,’ कम्पनीका सिइओ राजनबाबु श्रेष्ठले विकासन्युजलाई बताए । श्रेष्ठले कम्पनीले मागको चापलाई सम्बोधन गर्न नसकेको र त्यो पनि विस्तारै सुधार हुँदै गएको बताए । कम्पनीले नेपालमा शुरुमा गाडी लन्च गर्दाखेरीको अवस्थामा कायम भएको बिक्री मूल्य र अहिलेको अवस्थामा झण्डै २ लाख रुपैयाँ बराबरको फरक परेको उनले बताए । ‘जतिजनाले गाडी लिनुभयो उहाँहरु असाध्यै खुसी हुनुभयो, उहाँहरुले खुसी भएर नै रेस्पोन्स गरिरहनुभएको छ,’ श्रेष्ठले भने । कम्पनीले अहिलेसम्म १६ ठाउँमा फास्ट चार्जिङ स्टेशन, १ सय ५० ठाउँमा एसी चार्जर स्टेशन र १५ ठाउँमा सम्पूर्ण सर्भिस दिनसक्ने सर्भिस सेन्टर निर्माण गरेको छ । ‘हामीले चार्जिङ स्टेशन र सर्भिस सेन्टरको लागि पुरै नेपाल नै कभर गरिसकेका छौं,’ श्रेष्ठले भने । नेपालमा टाटाको टिगोर इभी, नेक्सन इभी डार्क र नेक्सन इभी उपलब्ध रहेका छन् । कम्पनीले उपभोक्ताहरुलाई बिक्री गरेको १ वर्षमा सर्भिसको क्षेत्रमा धेरै गुनासो नआएको सिप्रदी ट्रेडिङका सर्भिस हेड कपिल क्षेत्री बताउँछन् । चार्जिङमा चालकहरुले अपनाउनुपर्ने नियम नअपनाउँदा केही समस्या आएको क्षेत्रीको भनाइ छ । ‘केही चालकहरुले फास्ट चार्जिङ मात्रै गर्ने र स्लो चार्जिङलाई ध्यान नदिँदा समस्या आउन सक्छ, कम्तिमा चारपटक फास्ट चार्जिङ गरेपछि एकपटक स्लो चार्ज गर्नुपर्छ । यो ब्याट्रीको जीवनको लागि महत्वपूर्ण कुरा हो,’ क्षेत्रीले भने । पछिल्लो समयमा कम्पनीले सफ्टवेयर समेत अपग्रेड गरेको उनको भनाइ छ ।

नेप्से दोहोरो अंकले बढ्दा ५ अर्बको कारोबार

काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ । यस साता एक दिन बाहेक सबै बिहीबारसम्म सेयर बजार बढेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर बजार सम्बन्धी केही सकारात्मक व्यवस्था गरेकाले सेयर बजार बढेको सेयर जानकारहरु बताउँछन् । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४९ अंकले बढेर २१२७ अंकमा बन्द भएको छ । बुधबार पनि नेप्से परिसूचक २३.८३ अकंले बढेको थियो । बिहीबार २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार कित्ता सेयर ७२ हजर ४५० पटक किनबेच हुँदा ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा लगानी गर्नका लागि सेयर लगानीकर्तामा अन्यौलता कायम रहेका बेला सेयर बजार बिहीबार दोहोरो अंकले बढेको हो । पछिल्लो समय देशको अर्थतन्त्र संकटमा पर्न थालेको भन्दै सेयर लगानीकर्तामा त्यसले नकारात्मक असर पारिरहेको छ । तर यस साता हालसम्म बजार बढेको हुँदा एक किसिमको रौनकता लगानीकर्तामा छाएको देखिन्छ । बिहीबार बैंकिङ्ग समूह ०.१२ प्रतिशत, ट्रेडिङ्ग समूह ०.२३ प्रतिशत, होटल एण्ड टुरिजम समूह २.३३ प्रतिशत, विकास बैंक समूह २.२४ प्रतिशत, हाइड्रोपावर समूह १.१९ प्रतिशत, फाइनान्स समूह ३.१३ प्रतिशत, माइक्रोफाइनान्स समूह १.४६ प्रतिशत, जीवन बीमा समूह ०.१५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.४६ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.९५ प्रतिशत बढेको छ । यता निर्जीवन बीमा समूह ०.०१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.४६ प्रतिशत, अन्य समूह ०.२ प्रतिशतले घटेको छ । आज हिजो मात्रै नेप्सेमा आईपीओ सूचीकृत भएको बिन्ध्यबासिनि हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम सम्पन्न गर्न प्राविधिक समिति गठन

काठमाडौं ।  नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीका अनुसार सहरी विकास मन्त्रालयका सहसचिव प्रकृर्ण तुलाधरको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेको डा. रेग्मीले जानकारी दिए । सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका सिनियर डिभिजन इञ्जिनीयर प्रकाश अर्याल, आर्थिक प्रशासन प्रमुख र लेखा अधिकृत युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्का इञ्जिनीयर राजु श्रेष्ठ सदस्य रहने गरी प्राविधिक समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत दीपेन्द्र रावल, भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल पनि सदस्य रहने निर्णय भएको उहाँले जानकारी दिए । समितिले २१ दिनभित्र प्राविधिक प्रतिवेदन तयार गरी पेश गर्ने छ । समितिमा आवश्यकता अनुसार राष्ट्रिय सतर्कता केन्द्रलाई समेत राख्ने गरी समिति गठन गरिएको हो । युवा तथा खेलकुद मन्त्रालयले स्वामित्व ग्रहण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्मा पेस गरेको प्राविधिक समिति गठनको विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो । यस समितिले रङ्गशाला निर्माण कार्य के कसरी प्रारम्भ भयो, रङ्गशाला निर्माणका लागि तयार गरिएको संरचना (स्ट्रकचर), ड्रईङ्ग, डिजाईन र लागत अनुमान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ कि छैन भन्ने विषयमा अध्ययन गर्ने छ । यस्तै निर्माणस्थलको जग्गाको स्वामित्वको विषयमा विस्तृत अध्ययन गरी उक्त बाँकी निर्माण कार्य कुन विधिबाट सम्पन्न गर्न उचित हुने भन्ने विषयमासमेत प्राविधिक समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले काम अघि बढाउने सचिव रेग्मीले जानकारी दिए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मन्त्री परिषद्को निर्णय रङ्गशाला निर्माणका लागि महत्वपूर्ण उपलब्धि भएको बताइन् । उनले भनिन्, ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित जिल्लाका जनप्रतिनिधिको ‘डेलिगेसन’ पश्चात मन्त्रालय र मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको छ ।’ छिट्टै रङ्गशाला निर्माणको काम अघि बढ्नेमा उनले विश्वास व्यक्त गरिन् । रङ्गशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनले काम गर्दै आएकामा कोरोना कहर र आर्थिक अभावको कारण देखाउँदै भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो । भरतपुर महानगरपालिकाको विसं २०७८ माघ २७ गतेको स्वामित्व लिन नेपाल सरकारलाई अनुरोध गरेअनुसार अध्ययनका लागि प्राविधिक समिति गठन गरिएको हो । रङ्गशाला निर्माणका लागि रु तीन अर्ब लाग्ने अनुमान गरिएको थियाे । रासस

मौद्रिक नीतिले कर्जाको ब्याजदर बढ्छ, रोजगारी सिर्जनामा पनि समस्या हुन्छ : परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघ नेपालले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले कर्जाको ब्याजदर बढ्ने बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै परिसंघले मौद्रिक नीति कार्यान्वयनबाट मुद्रा आपूर्ति घट्ने, वाह्य क्षेत्र तथा शोधनान्तरस्थितिमा परेको चाप कम हुने र कर्जाको ब्याजदर बढ्ने बताएको हो । केन्द्रिय बैंकले उत्पादन मुलक क्षेत्रका लागि खुकुलो तथा अन्य क्षेत्रका लागि कसिलो मौद्रिक नीति ल्याएको परिसंघको भनाइ छ । ‘अर्थ व्यवस्थालाई चलायमान बनाउन उत्पादनशील क्षेत्रलाई सहज नीति ल्याउन परिसंघले दिएका कतिपय सुझाव राष्ट्र बैंकले सम्बोधन गरेतापनि अनिवार्य नगद मौज्दात, वैधानिक तरलता, बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर बढाउनाले कर्जाको ब्याजदर बढ्ने निश्चित छ । यसले बजारमा विद्यमान तरलतामा समेत थप दबाब सिर्जना हुनेछ,’ विज्ञप्तिमा भनिएको छ । परिसंघको अनुसार चालू मौद्रिक नीतिका कारण बजारको समग्र मागमा थप संकुचन आइ रोजगारी सिर्जना समेत प्रभावित हुने देखिएको छ । मौद्रिक नीतिले उत्पादन मुलक क्षेत्रमा अधिक्तम २ करोडको कर्जामा सिमित हुने भनिएकालाई राष्ट्र बैंकले आगामी दिनहरूमा सच्याई ठुला कर्जामा समेत विस्तार गर्ने अपेक्षा गरेको परिसंघले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात प्रयोजनका लागि वा पुँजीकोषको रुपमा गणना गर्न सकिने अवधि थप गर्ने व्यवस्था मिलाउने, ग्रिन फाइनान्सिङलाई प्रोत्साहन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय हरित वण्ड निष्काशन गर्नुपर्ने परिसंघका सुझाव समेटिएकोमा परिसंघले खुशी व्यक्त गरेको छ । यस्तै, परिसंघले बैंक तथा वित्तिय संस्था मर्जर र प्राप्तिको समयमा धितोपत्र कारोबार नरोक्ने व्यवस्था स्वागत योग्य रहेको पनि बताएको छ । राष्ट्र बैंकले कृषिलगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात, र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा पुनरकर्जा सुविधा पर्यटन क्षेत्रलाई पनि प्रदान गर्न  आग्रह गरेको छ । कर्जाको लागत महँगो हुँदा नेपाल सरकारले वित्तनीति मार्फत लिएको ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न कठिन हुने भएकोले बाह्य क्षेत्र सन्तुलनमा आँच नआउने गरी समग्र मागलाई समन्वय गर्नेतर्फ मौद्रिक नीतिको आगामी प्रथम त्रैमासिक समिक्षामा नीतिगत दर पुनरावलोकन गर्न परिसंघले आग्रह गरेको छ ।

साना किसान विकास लघुवित्तले माग्यो कर्मचारी, मासिक तलब ८५ हजार

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले बिहीबार एक सूचना जारी गर्दै  विभिन्न पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले अनुगमन, रिपोर्टिङ र ज्ञान व्यवस्थापन विशेषज्ञ९एम।आर।के।एम० १ जना र फिल्ड कोअडिनेटर पदका लागि ५ जना कर्मचारी मागेको हो । एम.आर.के.एमका लागि स्नातकोत्तर पास भई मोनिटोरिङ रिर्पोटिङ नलेज म्यानेजमन्ट सम्बन्धी २ वर्षको अनुभव भएको हुनुपर्नेछ । यस्तै, फिल्ड कोअडिनेटरका लागि स्नातकोत्तर पास भई बैंक तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्नेछ । दुबै तहका लागि कम्प्युटर सम्बन्धी ज्ञान, अंग्रजी र नेपाली टाइपिङ् गर्ने र दुई पांग्रे सवारी चलाउन सक्ने हुनुपर्ने लघुवित्तले जनाएको छ । लघुवित्तले दुवै पदको लागि मासिक तलब पचासी हजार तोकेको छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र लघुवित्तको वेभसाइटमा गएर साउन २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

लगानी गर्न आयोजना नपाएपछि बैंकमा पैसा राखेर ब्याज खाँदै एचआईडीसीएल, ६ प्रतिशत लाभांश दिने

काठमाडौं । जलविद्युत क्षेत्रमा लगानी गर्ने उद्धेश्यले स्थापना भएको कम्पनी हो हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) । २३ अर्ब ४९ करोड रुपैयाँ पुँजी भएको यस कम्पनीमा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व छ । राष्ट्र बैंकले २०६९ मा राष्ट्र बैंक ऐनको दफा ७६ अनुसार एचआईडीसीएललाई ऋण लगानी गर्न स्वीकृत प्रदान गरेसँगै जलविद्युतमा पूर्ण रूपमा लगानी गर्ने अधिकार यस कम्पनीले पायो । तर, पछिल्लो समय भने यस कम्पनीले प्रयाप्त रूपमा लगानी गर्नका लागि आयोजना नै नपाएको कम्पनीको भनाइ छ । कम्पनीले हालै मात्र आफुसँग भएको मौज्दात रकमलाई निक्षेपमा राख्नका लागि बैंकहरूसँग आवेदन मागेको छ । वाणिज्य बैंकहरूले प्रस्ताव गरेको उच्च ब्याजदरलाई पारित गर्दै कम्पनीले आफ्नो रकम निक्षेपका रुपमा बैंकमा राख्नेछ । पछिल्लो समय लगानी गर्नका लागि आयोजना नपाएकै कारण यस कम्पनीले मौज्दात रकमलाई बैंकमा राखिरहेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन कुमार गौतमले अहिलेसम्म सेयरबाट उठेको रकम लगानी हुन नसकेको धारणा राखे । उनका अनुसार अहिले कम्पनीले जलविद्युतमा लगानी गर्नका लागि प्रयाप्त रूपमा आयोजना पाएको छैन । ‘सेयरबाट उठेको पैसा पुरै लगानी हुन सकेको छैन, बैंकमा राखेको पैसाबाट केही प्रतिफल दिएको हो, यसबाट दीर्घकालमा प्रतिफल दिनै सकिँदैन्,’ उनले भने । हाल भएको रकमलाई लगानी गरेर १० प्रतिशत मात्रै प्रतिफल दिन सकिने उनको भनाइ छ । ‘२०/२२ अर्बको रकम लगानी गरेर दिने प्रतिफल भनेको १० प्रतिशतभन्दा बढी छैन, त्यसमा १ प्रतिशत रकम प्रशासनिक खर्च, सरकारलाई २.७० रुपैयाँ कर तिर्नुपर्छ, सबै घटाएर ६ प्रतिशत मात्रै हुन्छ ।’ उनले भने, ‘यहि मोडलमा लगानी गर्ने हो भने प्रतिफल ६ प्रतिशतभन्दा माथि हुन सक्दैन, २० अर्ब पूँजी छ भने ८० अर्ब अन्य रकम ल्यायो भने प्रतिफल दिन सकिन्छ, त्यो ८० अर्बले पनि आम्दानी बढाएर ४ प्रतिशत प्रतिफल बढी भएर १०/११ प्रतिशत प्रतिफल दिन सकिन्छ ।’ हाल कम्पनीले एचआईडीसीएलको आगामी योजनामा अपर अरुण, बझाङ्गको चैनपुर सेती र डोटीको जगदुल्ला लगायतको नेतृत्व गर्ने उनले बताए । नेतृत्व गर्ने भनिएपनि कति प्रतिशत लगानी गर्ने भने प्रष्ट भइनसकेको उनको भनाइ छ । ‘एचआईडीसीएललाई जलविद्युत क्षेत्रको डेडिकेटेड (मुख्य) कम्पनीका रुपमा स्थापित गर्छाै, सरकारको लगानी भएकाले निजी क्षेत्रका कम्पनीले पनि विश्वास गर्छन्, स्रोतको खोजिका लागि सरकारी निकायहरुमा रहेको पैसालाई परिचालन गर्ने योजना छ,’ सीइओ गौतमले भने । उनका अनुसार सरकारका संस्थाहरुले ठूलो रकम बैंकमा डिपोजिट राखेर ब्याज मात्रै आर्जन गरिरहेको धारणा राखे । ‘सरकारी कोषहरू (प्रहरी तथा आर्मी कोष) मा भएको राज्यको रकम हो, यति ठूलो रकम पूर्वाधारमा आवश्यक छ, कोषहरूमा भएको रकमले कुनै फाइदा दिएको छैन,’ उनले भने, ‘अवकाश कोष, सरकारी कोषको रकमलाई जलविद्युत क्षेत्रमा लगानी गर्नुपर्छ, त्यो रकम रिस्क लिएर एचआईडीसीएलले लगानी गर्छ, किनभने उनीहरूले सिधै लगानी गर्न पाउँदैनन् ।’ एचआईडीसीएलसँग लगानी गर्ने संरचना तयार रहेकाले त्यस्ता कोषहरुमा रहेको पैसालाई जोखिममा लिएर लगानी गर्न तयार रहेको उनले बताए । एचआईडीसीएल सरकारी कम्पनी भएकाले सबैले विश्वास गर्ने उनको बुझाइ छ । जलविद्युत क्षेत्रमा लगानी गर्नका लागि एचआईडीसीएलसँग एउटा छुट्टै संरचना (टिम) नै तयार पारिएको छ । त्यो टिमले जलविद्युत क्षेत्रमा लगानी गर्ने सबै संरचना तयार गर्ने गर्छ । जलविद्युतमा लगानी गर्ने योजना बनाएका संस्थाले पहिलो प्राथमिकतामा एचआईडीसीएललाई राख्नुपर्ने सीईओ गौतम बताउँछन् । एचआईडीसीएलमार्फत् गरेमा सबै विषयहरू व्यवस्थापन सहज रूपमा हुने उनको तर्क छ । यदि कुनै आयोजना भएमा एचआईडीसीएलमा आउन उनले आग्रह गरे । ‘कुनै बैंक जलविद्युतमा लगानी गर्न चाहन्छ, बैंकसँग जलविद्युतमा लगानी गर्नका लागि डेडिकेटेड टिम हुँदैन्, जलविद्युत क्षेत्र बुझेकै हुँदैन्, तर एचआईडीसीएलसँग डेडिकेटेड टिम भएकाले आउट सोर्स गर्छ, वित्तीय स्रोत पनि खोजिदिन्छ,’ सीईओ गौतमले भने, ‘एचआईडीसीएल जलविद्युत क्षेत्रको डेडिकेटेड संस्था हो, आयोजनाको प्राइसिङ, रिभ्यू लगायत गर्ने क्षमता छ, तर, उनीहरूले कुनै निजी कम्पनीलाई दिन्छन्, हामीले गर्दा सस्तो पनि पर्न जान्छ ।’ कम्पनीले लगानी क्षमता बढाउन आन्तरिक रूपमा विभिन्न संस्थाहरूसँग भएको रकम परिचालन गर्ने, पावर बण्ड जारी गर्ने, विदेशबाट सस्तो ब्याजदरमा ऋण ल्याउने तयारी एचआइडीसीएलले गरेको छ । आयोजनाको प्रगति सन्तोषजनक एचआईडीसीएलले हालसम्म १३ वटा आयोजनामा लगानी गरिरहेको छ । लगानी गरेका सबै कम्पनीको प्रगति सन्तोषजनक रहेको उनले बताए । कुनै पनि आयोजनामा चिन्ताजनक अवस्था नभएको उनी बताउँछन् । कुनै पनि आयोजना तोकिएको समय र लगातमा सम्पन्न नहुने गरेको उनले बताए । उनले कोरोना महामारी लगायत बाढी पहिरोले पछिल्ला दिनहरुमा परियोजना निर्माणमा धेरै असर पुगेको बताए । ९ वटा आयोजना निर्माणको अन्तिम चरणमा रहेको बताउँदै उनले यस वर्ष भित्र ती आयोजना सम्पन्न हुने उनको दाबी छ । कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब रुपैयाँको हाराहारीमा नाफा हुन सक्ने अनुमान गरेको छ । पूँजी वृद्धिमा समस्या पछिल्लो समय बैंकहरू धमाधम मर्जरमा जान थालेपछि तिनिहरुको पूँजी एचआईडीसीएलको भन्दा धेरै हुन पुगेको छ । पूँजी वृद्धि भएपछि बैंकहरू आफै ठूला आयोजनामा लगानी गर्न सक्षम हुन थालेका छन् । जसले गर्दा एचआईडीसीएललाई समस्या हुन सक्ने आँकलन पनि गरिएको छ । सीईओ गौतम एचआईडीसीएलको बैंकहरूसँग कुनै प्रतिस्पर्धा नभएको बताउँछन् । ‘बैंकहरूसँग एचआईडीसीएलको प्रतिस्पर्धा छैन, किनभने बैंकहरूको विविध ब्यापार हो, बैंकले जलविद्युतमा पनि लगानी गर्न पाउँछ,’ उनले भने, ‘जलविद्युतको नेतृत्व एचआईडीसीएलले गरेपनि स्रोत जुटाउन सक्दैन्, त्यो बेला बैंकलाई बोलाउनै पर्छ, हामी यति प्रतिशत लगानी गर्छाै, तपाईं यति प्रतिशत लगानी गरिदिनुहोस् भन्नुपर्ने बाध्यता छ, तर स्रोत प्रयाप्त नभएपनि जलविद्युतमा एचआईडीसीएलको विशेष लगाव छ ।’ हकप्रद नै बिक्री भएन एचआईडीसीएललाई संस्थापक सेयर बिक्री गर्न सकस परेको छ । कम्पनीले साउन १५ गतेदेखि २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेको छ । यसअघि कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर बिक्रीमा राखेको थियो । तर, सो समयमा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिक्री भएको छ । सबै सेयर बिक्री नभएपछि कम्पनीले पुनः बिक्रीमा राखेको हो । त्यसअघि कम्पनीले २०७८ असोज ७ देखि १४ गतेसम्म बिक्रीमा राखेको थियो । तर, न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिने व्यवस्थाका कारण सेयर बिक्री भएको थिएन । लगानीकर्तालाई छिटो प्रतिफल चाहिएको हुँदा हकप्रद सेयर बिक्री नभएको उनले बताए । आकर्षक प्रतिफल नदेखेर संस्थापक सेयर बिक्री नभएको उनको भनाइ छ । पावर बण्ड जारी गर्ने लगानी क्षमता बढाउनका लागि कम्पनीले पावर बण्ड जारी गर्ने योजना राखेको छ । तर, अहिले कुनै पनि परियोजना नभएकाले तत्काल बण्ड जारी नहुने उनको धारणा छ । ‘पावर बण्ड जारी गर्ने योजना छ तर, जारी गरिएको बण्डको रकम बैंकमा राख्न होइन, शुरूमा इन्भेष्टमेन्टको योजना ल्याउनुपर्छ,’ उनले भने । रकम ल्याएर लगानी नभएमा भनेको प्रतिफल दिन नसकिने उनले बताए ।

भदौ १ गतेदेखि बन्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

काठमाडौं । सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । समितीले महानगरले सम्झौताअनुसार काम नगरेको र उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै फोहोर फाल्न नदिने घोषणा गरेको जनाएको छ ।

काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा संचालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल शाखा विस्तार गर्ने क्रममा तीन स्थानमा शाखाहरु संचालनमा ल्याएको छ । बैंकले भक्तपुरको सूर्यविनायक, धुम्बराही र ललितपुरको थसिखेलमा शाखाहरु संचालनमा ल्याएको हो । यससँगै बैंकको काठमाडौं उपत्यकाभित्र यस बैंकको शाखा संख्या ३५ पुगेको छ । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्योउने लक्ष्य बैंकले राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३१ वटा ए।टि।एम। र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।