वीरगन्ज नाकाबाट ५३ अर्ब ६८ करोडको निर्यात, गत वर्षकोभन्दा ५० प्रतिशतले वृद्धि
पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/८९ मा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशत वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा ५३ अर्ब ६८ करोड २८ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा गत २६ अर्ब ८१ करोड पाँच लाखभन्दा बढी अर्थात् ८० अर्ब ४९ करोड ३३ लाखभन्दा बढीको सामान निर्यात भएको थियो । अघिल्लोे आवको तुलनामा गत आवमा ४९ दशमलव ९४ प्रतिशत बढी हो । उक्त नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत वस्तु रहेको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले अघिल्लो आवको तुलनमा गत आवमा भटमासको प्रशोधित तेल निर्यातमा १३ प्रतिशतले कमी आएको तर सूर्यमुखीको प्रशोधित तेल ५६ प्रतिशत, फलफूलको जुस ४१ प्रतिशत, जमोठ कपडाको निर्यात ४५ प्रतिशतले वृद्धि भएको बताए । भारत तथा तेस्रोमुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सरकारले दिएको अनुदानकोे दायरालाई अझै फराकिएलो बनाए निर्यात प्रवद्र्धनमा मद्दत पुग्ने उद्योगपति व्यवासायीको भनाइ थियो ।
लघुवित्तले ऋण असुल्न घरमा ताला लगाएपछि…
धादिङ । लघुवित्त संस्थाबाट पीडित भएका स्थानीयवासीहरुले जिल्ला प्रशासन कार्यालयमा पाँच बुँदे मागपत्र बुझाएका छन् । जिल्ला सदरमुकाम धादिङबेँसीमा पीडित महिलाले विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई माग पत्र बुझाएका हुन् । लघुवित्तबाट ऋण लिएपछि कहिल्यै तिर्न नसकिने भएको र किस्ता तिर्नुपर्ने दिन पैसा दिन नसके आर्थिक तथा मानिसिकरुपमा यातना दिने गरेको गुनासो पीडितहरुको थियो । सिद्धलेक गाउँपालिका–४ की चमेली मगरले आफ्नो बारी बेचेर ऋण तिर्दा पनि घरमा ताला लगाइदिन्छु भन्दै घलुवित्त संस्थाका व्यक्ति आएर ज्यादती गरेपछि मर्नु कि बाँच्नुभएको बताइन् । दुई रोपनी १२ आना जग्गा बेचेर ऋण तिरियो । मुक्तिनाथ, छिमेकी, साधना डिप्रोस, निर्धन, गणपतिलगायत लघुवित्तको समूहमा पालैपालो बसेकी उनले लघुवित्तमा बस्न थालेपछि तनाव हुँदै आएको पिडा पोखिन् । सुरुमा आएर समूहमा बसेपछि गरिबलाई फाइदा पुग्छ भने र एक एक गरी समूहमा सहभागी गराउन कर्मचारी आए । त्यसपछि उनीहरुले ऋण दिने भन्न थाले थोरै ऋण लिएर काम गर्नसकिने भएकोले राम्रै होला भनेर ऋण लिइयो । भनेको मितिमा ऋण तिर्न खोज्दा श्रीमान् बिरामी परेर उपचारमा रकम खर्च भयो । ऋण तिर्न नसकेपछि प्राय दिन दिनै लघुवित्तका मान्छे आएर मानसिक र आर्थिक रुपमा दुर्व्याहार गरेको चमेलीको गुनासो थियोे । सिद्धलेक गाउँपालिका बुङचुङकी सीतादेवी साहीको अवस्था पनि उस्तै छ । छिमेकी, साधना लघुवित्तमा आवद्ध भएर ऋण लिएपछि सावा र व्याजका लागि रकमबुझाउनाका साथै भैँसी र बाख्रा बिक्री गरेर तिर्दासमेत नसकेपछि दुई रोपनी जग्गा बेच्नुपरेको बताइन् । ऋण तिर्न नसकेपछि उनीहरुले घरमा बस्नसमेत नदिने गरेको लघुवित्तपीडितले सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालालाई सुनाए । ऋण तिर्न नसक्ने महिलालाई आत्महत्या गर्नुपर्ने अवस्था समेत सिर्जना गराएको सङ्घर्ष समितिका राष्ट्रिय अध्यक्ष नानीराम ज्ञावालीले बताए । ५० हजार ऋण लिएपछि कहिल्यै तिरेर नसकिने भएको र आफूले गरेको बचतसमेत फिर्ता नदिने गरेको उनको भनाइ थियो । आफ्नो र नेत्रावती डबजोङ कटुञ्जे सुनार गाउँका किसान विकको घरमा डिप्रोस वित्तीय संस्थाले ताला लगाएको अध्यक्ष ज्ञवालीले बताए । गाईवस्तु बेचेर पनि ऋण तिर्दा पनि चुक्ता नभएपछि घरबाहिर मानिस निकालेर ताला लगाइएकोले परिवार नै विस्थापित भएको सोही स्थानका लीला विकले बताइन् । नीलकण्ठ नगरपालिका– ९ मा साइला श्रेष्ठसहित दुई जनाको घरमा डिप्रोस लघुवित्तले ताला लगाएपछि परिवार विस्थापित भएको छ । पीडितमाथिको ज्यादती बन्द गर्नुपर्ने, लघुवित्तको ऋण मिनाहा गर्नुपर्ने, सरकारले बिना ब्याजको ऋण उपलब्ध गराउनुपर्ने, यस्ता वित्तीय संस्था खारेज गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा ऋण दिनुपर्ने भन्दै पीडित एकजुट भएको जिल्ला सङ्घर्ष समितिका सुशीला भट्टराई श्रेष्ठले बताइन् । राष्ट्रको नियमअनुसार एकजना व्यक्ति बढीमा दुई ओटा लघुवित्तमा मात्र बस्न पाउनेमा यहाँ सात आठ ओटामा राखेर विचल्ली बनाएकोे सङ्घर्ष समितिले जनाएको छ । जिल्लामा मात्र २० भन्दा बढी लघुवित्तले महिलामार्फत समूह बनाएर ऋण लगानीसमेत गर्दै आएको छ । हप्तै पिच्छे बैठक राखी बचतसमेत सङ्कलन गर्ने लघुवित्तले बचत पासबुकसमेत नदिएको उनीहरुको गुनासो थियो । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले कानुन विपरीत वित्तीय संस्थाले कुनै काम गरेको उजुरी परे तत्काल कारबाही गरिने बताए । रासस
फोटोन चीनको भ्यालुएबल ब्राण्डको सूचीमा
काठमाडौं । फोटोनलाई चीनको भ्यालुएबल ब्राण्डमा सूचित गरिएको छ । १५ औं विश्व ब्रान्ड शिखर सम्मेलन २०२२ ले फोटोनलाई चीनको भ्यालुएबेल ब्राण्डमा सूचित गरेको हो । विगत १७ वर्ष देखि फोटोन चिनको नम्बर १ कमर्सियल भेहिकल कम्पनि हो । फोटोनका पिकअप र ट्रक मोडेलहरू, जस्तै टुनल्याण्ड, औमार्क, औहक, औलिन बजारमा अत्यधिक रुचाईका भेहिकलहरु हुन् । नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९९सिट क्षमताको भ्यान भ्यु सीएस२ एल र १६९सिट क्षमताको भ्यान भ्यु सीएस २ विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ । कम्पनीले साथै, कम्पनीले छिट्टै इभी कमर्सियल भित्राउने जनाएको छ ।
कर्मचारी सञ्चय कोषको स्वामित्वको सम्मान र प्रतिफल सुनिश्चित हुनुपर्छ, सधैं मर्जरको पक्षमा छौं : जितेन्द्र धिताल
कर्मचारी सञ्चय कोषमा करिब डेढ दशक काम गरिसकेका चार्टड एकाउन्टेन्ट जितेन्द्र धिताल गत वर्षको भदौदेखि कोषकोे निमित्त प्रशासकको जिम्मेवारीमा छन् । कोषमा सिनियर म्यानेजरबाट काम सुरू गरेका धितालसंग यसअघि भारत र नेपालका विभिन्न संस्थामा काम गरेको समेत अनुभव छ । सार्वजनिक वित्त व्यवस्थापनमा दक्षता राख्ने धितालले चार्टड एकाउन्टेन्सीसंगै अर्थशास्त्रमा र सुचना प्रविधिमा स्नातकोत्तर तथा कानुनमा स्नातक समेत गरेका छन् । उनै धितालसँग कर्मचारी सञ्चय कोषसंग सम्बन्धित विविध विषयमा विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । कर्मचारी सञ्चय कोषका लागि गत आर्थिक वर्ष कस्तो रह्यो ? कर्मचारी सञ्चय कोषको गत आर्थिक वर्ष समष्टीगत रुपमा सन्तोषजनक नै भयो । गत वर्ष शुरुमा विगत देखिको कर्मचारी व्यवस्थापनको समस्या, आन्तरिक मुद्दा मामिला तथा केही नयाँ घटनाक्रमसंगै संस्थागत नेतृत्वको अन्योलता समेत थियो । यी विविध समस्याका बाबजुत पनि हामी अगाडि बढ्यौं । कोषको उद्देश्य प्राप्त गर्न जिम्मेवारी अनुसार काम पनि ग¥यौं । नेपाल सरकारबाट नया कर्मचारी सेवा शर्त स्वीकृत गराई दुई तिन वर्षदेखि रोकिएको कर्मचारीको वृद्धि विकासको अवरोध खोलिएको छ यसबाट कर्मचारीहरुको मनोवल बढेको । यसै आर्थिक बर्षमा सञ्चयकर्ताहरूको लागि पनि नयाँ प्रडक्टको रूपमा जग्गा खरिद कर्जा, घरकर्जा सापटी लागू भएका ३२ वटै जिल्लाहरुमा एकैपटक लागू गरिएकोछ । अर्को महत्वपूर्ण विषय भनेको सञ्चय कोषले प्रविधिमा निकै राम्रो फ्डको मारेकोे छ । कोभिडको समयदेखि हामीले आईटीलाई थप प्राथमिकता दिँदै कोषको कारोबारमा आईटीको अधिकतम् प्रयोग गर्दै आइरहेका थियौं । हामीले गत बर्ष बैकहरु जस्तै आषाढ मसान्तमा सञ्चयकर्ताहरुकोे व्यत्तिगत खाताको हिसाब मिलान गरी लेजर निकाल्यौं । जुन कोषको इतिहासकै महत्वपूर्ण उपलब्धि हो । त्यसैले संस्थागत हिसाबमा हामीले गत आबलाई उपलब्धिमुलक बर्षका रूपमा लिएका छौं । कोषलाई एसोशिएसन अफ डेभलपमेन्ट फाइनानसिङ इन्सिच्युट अफ एसिया प्यासिफिकले गत बर्ष आइटीको प्रयोगमा भएको उपलब्धिको लागि अनलाइन सर्भिसेज समूहमा पुरिस्कृत गरी यस बर्षको अक्टुवरमा हुने समारोहमा सो अवार्ड लिन आमन्त्रण समेत गरेका छ । यो पनि हाम्रो लागि गौरवको विषय हो । कम्पनीको वित्तीय विवरण कस्तो आउँदैछ ? विगतका वर्षहरूमा सञ्चयकर्ताहरुको खाताको हिसाब मिलान गरी लेजर निकाल्न भदौ असोज सम्म कुर्नु पर्ने अबस्था थियो । जसले गर्दा वित्तिय विवरण निकाल्न मंसिर पौष लाग्ने गर्दथ्यो । तर, गत आर्थिक वर्ष असार मसान्तमै लेजर निकाल्न सम्भव भयो । जुन प्रविधिको सहयोगले नै हो । सञ्चयकर्ताको व्यक्तिगत खाता बन्द भएपछि अब हामीले एक महिनाभित्रै वित्तीय विवरण तयार गर्न सक्नेछौ । कोषको ब्यालेन्ससिटमा केही नकारात्मक असर पर्छकि भन्ने अनुमान थियो । त्यसको लागि हामीले दायित्व व्यवस्था समेत गरेका थियौं । तर, नेपाल वायुसेवा निगमले डेढ अर्ब रुपैयाँ किस्ता तिरेपछि यसको राम्रो रिफलेक्सन व्यालेन्ससिटमा हुने भएको छ । तामाकोसीबाटपनि किस्ता तिर्न सुरु भइसकेकोछ । कोषबाट ठूलो ऋण प्रवाह भएका संस्थाहरुबाट रकम भुक्तानी हुन शुरु भएकोले वित्तिय विवरण उत्साहप्रद नै आउँछ । कर्मचारी सञ्चय कोषले लगानी गरेको नेपाल वायुसेवा निगम, फुलवारी रिसोर्ट, सीटीसी मल लगायतले ऋण तिर्न सकेका छैनन्, कोषलाई कर्जा असुलीमा समस्या किन आउँछ ? सञ्चयकोष कर्मचारीहरुको अवकाश कोष हो । कोषमा जम्मा भएको रकम परिचालन गर्नुपर्ने हुन्छ । तर, हामीले कर्जा लगानी गर्दा भोलि कुनै समस्या नआओस् भनेर पर्याप्त सावधानिका साथ कर्जा लगानी गर्छौं । परियोजनाको सम्भाव्यतासंगै ऋणीको कर्जा भुक्तानी गर्ने क्षमता र प्रर्याप्त धितोका आधारमा मात्र हामी ऋण लगानी गर्छौं । पाँच सय अर्बको कोषबाट प्राइभेट सेक्टरका परियोजनाहरुमा गएको कर्जा १ प्रतिशत पनि छैन । त्यसमा पनि खराब भएकाहरुको संख्या तथा रकम ज्यादै न्युन छ । बैकहरु संग सह–वित्तियकरणमा लगानी गरेका केही परियोजना बाहेक हामीले दिएका कर्जामा त्यस्तो ठूलो समस्या छैन । स्वेच्छिक भएपनि हामीले नेपाल राष्ट्र बैकले जारी गर्ने जोखिम सम्बन्धि मापदण्डहरू पालना गर्ने गरेका छौ । कोषलाई नै समस्या पार्ने खालको अवस्था छैन । सरकारले सञ्चय कोषलाई वायुसेवा निगमलाई दिएको ऋण आफै असुल गर्न भनिसकेको छ, तपाईंहरु कसरी असुल गर्नुहुन्छ ? हुन त ऋण असुल गर्ने प्रक्रिया अगाडि बढाउने काम कोषको नै हो । सरकारले भन्नु राम्रो कुरा पनि हो । सरकारको ग्यारेन्टीमा प्रवाह भएको कर्जा हो । यो ऋण असुल गर्नका लागि सबैको भूमीका हुन्छ । हामीलाई वायुसेवा निगमको व्यवस्थापकिय पक्षमा देखिएको समस्या तथा बढ्दै गएको वित्तिय दायित्वका कारण पहिले केही असहज महसुश गराएको थियो । सञ्चयकर्ताको प्रतिफलमा प्रत्यक्ष असर पर्न जाने भएकोले यसमा हामी गम्भीर थियौं । असुलिको प्रक्रियामा जाने तयारिमा पनि थियौं । तर, अब वायु सेवा निगमले किस्ता तिर्न सुरु गरेर केही सकारात्मक सन्देश दिएको छ । त्यसैले अहिल्यै यसमा आत्तिनु पर्ने अवस्था बनिसकेको छैन । अहिले एउटै प्रकृतिका पेन्सनमा आधारित कोषहरू तीनवटा छन्, सामाजिक सुरक्षा कोष आएपछि कर्मचारी सञ्चय कोषको बिजनेसमा के–कस्तो प्रभाव पर्यो ? असर नै नपर्ने भन्ने त हुँदैन । तर, न्युन छ । कोषसंग अनिवार्य तथा स्वेच्छिक गरी दुई किसिमका अवकाश कोष छन् । हामीले सरकारी कर्मचारीहरुको अनिवार्य र निजी क्षेत्रका कर्मचारीहरुको सम्झौता मार्फत् रकम लिएर अवकाश कोष संचालन गरीरहेकोमा निजी क्षेत्रका कर्मचारीहरुको हामीमा धेरै ठूलो भोलुम छैन । यो करिब ८ प्रतिशत मात्र भएकोले यसको असर ठुलो छैन । कर्मचारी सञ्चय कोष विगत ६० बर्षदेखि यस क्षेत्रमा काम गर्दै आएको संस्था हो । नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको स्थापनापछि भएको हो । पछि बनेका संस्थाहरूको ऐनमा एउटै किसिमको व्यवस्था हुनु र काम पनि उस्तै र्गनु अझ भनौं दायरा भित्र नआएकाका लागि भन्दा कोषमा रकम जम्मा भइरहेका कर्मचारी र रोजगारदातालाई नै लक्षित गरी काम गर्नुले आम सञ्चयकर्ता कर्मचारी र रोजगारदाता बीच अन्योलता छाएको हो । अहिले नै दायरा स्पष्ट पारिएको छैन । हामीकहाँ भएका निजी क्षेत्रका सञ्चकर्ताहरू यी विषयहरुमा स्पष्टता नभएकोले अन्य ठाउँमा जान चाहिरहेका छैनन् भने हामीले पनि ऐनमा भएको व्यवस्थाभन्दा फरक व्याख्या गर्न सकेका छैनौं । एउटै प्रकृतिका यी तीन वटै अवकाश कोषहरूबीच मर्जर कत्तिको सम्भव छ ? हो, यो आवश्यक पनि छ । अहिले बैंक तथा वित्ती क्षेत्रमा मर्जरको लहर छ यसमा मात्र होइन अवकाश कोषहरुमा पनि त्यसको आवश्यकता र संभावना देखिन्छ । आयकर ऐनले दुई प्रकारको अवकाश कोषको परिकल्पना गरेको छ । एउटा अवकाश कोष भनेको आयकर ऐनमै व्यवस्था भएको छ । जुन स्वीकृति नलिएरै सञ्चालन हुन्छ जस्तैः कर्मचारी सञ्चय कोष, नागिरक लगानी कोष र सामाजिक सुरक्षा कोष । अर्को, आयकर नियमावलि अन्तर्गत विभागबाट स्वीकृति लिई संचालन हुन्छ । जस्तै विभिन्न संस्थाका कर्मचारीहरुको लागि ति संस्थाहरुबाट नै संचालित अवकाश कोषहरु, यिनिहरुको संख्या ठुलो छ । अन्य मुलुकहरुमा भएको व्यवस्थालाई हेर्दा सरकारी तथा सार्वजनिक क्षेत्र, निजि क्षेत्र र सर्वसाधारण जनाताको लागि अलग–अलग निकायबाट सामाजिक सुरक्षाका कार्यक्रमहरु संचालन गरिएको पाइन्छ । त्यसैले हामीकहाँ पनि संचालनमा रहेका विभिन्न अवकाश कोषहरुलाई यिनै समुह अन्र्तगत रहेर संचालन हुने गरी समायोजन गर्नसक्ने संभावना छ र यो आवश्यकता पनि भइसकेकोछ । कर्मचारी सञ्चय कोषले विभिन्न बैंक तथा वित्तीय क्षेत्र र बीमा कम्पनीहरुमा पनि लगानी गरेको छ, प्रतिफलको ट्रेण्ड कस्तो छ ? लागानी भएका कम्पनीहरुको प्रतिफल सन्तोषजनक नै छ । कुनै कम्पनीको केही बढी त कुनैको केही कम हुनु तस्वभाविक नै हो । तर, औसतमा राम्रो छ । कर्मचारी सञ्चय कोषको लागानीको उद्देश्य शेयरको ट्रेडभन्दा पनि दीर्घकालीन प्रतिफल हो । हामीले पब्लिक सेयरमा लगानी गर्दैनौें संस्थापक सेयरमा मात्रै लगानी गर्छौं । दोश्रो बजारबाट सेयर किन बेच गरी मुनाफा आर्जन गर्ने गरेका छैनौं । हामी सबल र सक्षम कम्पनीहरुबाट निरन्तर राम्रो लाभांश चाहन्छौं । क्षणिक बजार ‘अप एण्ड डाउन’को मतलब हामीलाई हुँदैन । हामी कम्पनीको पफर्मेन्स खोज्छौं । कोषको लगानीको पोर्टफोलियो हेर्ने हो भने कम्पनीहरुको सेयरको लगानी ज्यादै नै न्युन छ । तर, पनि कोषको कष्ट अफ फण्ड भन्दा निकै नै माथि औसत प्रतिफल यस्ता लगानीबाट पाइरहेका छौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले अक्सनमा राखेको सेयरमा कोषले इन्ट्रेष्ट देखाइरहेको हो ? अवकाश कोषको प्रकृती अनुरुप हामीले निरन्तरको प्रतिफल दिने राम्रा कम्पनीहरुको सेयरमा लगानी गर्नु पर्ने हुन्छ । बजार अनुरुप सेयर खरिद बिक्रिको माध्यमबाट मुनाफा बुक गर्ने हिसाबले मात्र लगानी गर्दा सबै सञ्चयकर्ताहरुलाई समान प्रतिफलको अवसर प्राप्त नहुने भएकोले हामी राम्रो कम्पनीहरुको संस्थापक सेयर र यसबाट प्राप्त हुने लाभांशलाई प्राथमिकतामा राख्छौं । बजारमा कहिलेकाहिँ उपलब्ध हुने हामीले पहिले नै लगानी गरेका संस्थामा भएको संस्थापक सेयरको अंश बढाउन खोजेका मात्र हौं । कतिपय संस्थामा भएको कोषको सेयरको अंश मर्जर तथा एक्विजिशनको कारणबाट घट्दै गइरहेको थियो । यसमा साइज मेन्टेन गर्न अर्थात् सेयर लगानीको अंश साइजेबल पार्नका लागि पनि अक्सनमा आएकोे, बिक्दा बिक्दै बाँकी रहेका सेयर खरिद गरेका हौं । हामी संस्थाको हिसाबले पनि कम्पनीहरुमा हाम्रो दरिलो उपस्थिति चाहन्छौं । कोष ऐनमा भएको पछिल्लो संशोधनपछि बैक वित्तिय संस्थाहरु बाहेक सरकारी निकायसंग मिलि स्थापना गरिएका पुर्वाधार लक्षित कम्पनीहरुमा पनि हाम्रो लगानी छ । यस अन्र्तगत हामिले केहि जलविद्युत संग सम्बन्धित कम्पनीहरुमा लगानी गरेका छौं । तर, तिनिहरुको प्रतिफल सन्तोषप्रद छैन । बाहिर जति नै कुराहरु भएपनि कम्पनीहरुमा हाम्रो उपस्थितीले ति कम्पनीहरुको संस्थागत सुशासन कायम गर्ने विषयमा होस् वा व्यापारिक भन्दा सरकारी तथा सार्वजनिक हितका क्षेत्रमा पनि योगदान गरिरहेको छ । यसको मतलब बैंक तथा वित्तीय क्षेत्रमा कर्मचारी सञ्चय कोषले आफ्नो स्वामित्वको बलियो उपस्थिति चाहेको हो ? त्यस्तो पनि होइन । सञ्चय कोषको लगानी सामान्य रुपमा नै होस् भन्ने चाहेको हो । हामी रिसोर्सफुल छौं । तर, हामी ट्रेडर चाही होइनौं । हामीले दीर्घकालीन रुपमा प्रतिफल आउने क्षेत्रमा लगानी गर्छौं । पुँजी बजारमा अधिकाशं ट्रेडिङ गरेर तत्काल लाभ लिन चाहनेहरुको भीड छ । लामो सयमसम्म पर्खिन सक्ने धैर्यता सबैमा हुँदैन । तर, कोषको लगानीको उद्देश्य ट्रेडिङभन्दा पनि दीर्धकालिन प्रतिफल नै हो । हामीले साइलेन्ट्ली संस्थापक सेयर लिएर निरन्तर रुपमा प्रतिफल लिने हो । हामीले एउटा सञ्चयकर्ता कर्मचारीको जागिर जीवन सुरुवातदेखि पेन्सनसम्मको अवधि हेरेर योजना बनाउनु पर्ने हुन्छ । सञ्चय कोष ऐनमा व्यवस्था भएको भन्दा अन्यथा लगानी गर्न सकिदैन । त्यसैले बैक वित्तिय क्षेत्रका कम्पनीहरुको संस्थापक सेयरमा लगानी गर्नु कोषको दीर्घकालिन बचत परिचालन तथा पुँजी बजारको विकास दुवै किसिमले महत्वपूर्ण छ । एउटा संस्थागत लगानीकर्ताको तर्फबाट कर्मचारी सञ्चयकोषले अहिलेको सेयर बजारको आरोह–अवरोहलाई कसरी हेरेको छ ? हाम्रो पुँजी बजार विश्लेषण तथा फ्याक्टवेसभन्दा पनि हल्लाको भरमा चलेको जस्तो देखिन्छ । सबैको पहुँच र उपस्थिती पनि छैन । ठूला लगानीकर्ता हरूले विभिन्न तरिकाबाट सहजै बजारलाई प्रभाव पार्न सक्ने अवस्था छ । एनालिटिकल हुन सकिरहेका छैनौं । र, त्यो खालको ट्रेन्ड पनि छैन । त्यस कारण पनि निश्चित बर्गले प्ले गर्न सक्ने मौका पाउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणबाट अर्थतन्त्रमा परेको प्रभावसंगै बजारमा देखिने चक्रिय मुभमेन्ट स्वभाविक भएपनि कहिलेकाहीँ अस्वभाविक अवस्था देखिँदा भने हाम्रो बजारमा स्थापित सिद्धान्तहरुले काम गर्दैनन कि भने जस्तो देखिन्छ । ट्रेडिङको उद्देश्य नभएकोले कोषको सेयर लगानीलाई आरोह अवरोहले प्रत्यक्ष प्रभाव पार्दैन । सञ्चय कोषको जलविद्युतमा लगानी कस्तो छ ? जलविद्युत क्षेत्रमा कोषको करिब ५० अर्बको लगानी छ । सञ्चयकर्ताहरुको बुहत सहभागितामा कोष, नेपाल विद्युत प्राधिकरण तथा विद्युत उत्पादन कम्पनी मिलेर बनाउन लागेको ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना र विद्युत प्राधिकरणले बनाउन लागेको तामाकोसी पाचौं आयोजनाको लगानी समेतलाई हेर्दा यो रकम ज्यादै ठुलो हुन जान्छ । कोषले लगानी गरेको जलविद्युत आयोजना मध्ये अपर तामाकोशिले ऋण भुक्तानी शुरु गरेको छ भने आगामि बर्ष भित्र मध्ये भोटेकोशी, रसुवागढी तथा सान्जेन आयोजनाहरु पनि सम्पन्न हुने अवस्थामा छन् । बेतन कर्णालीको निर्माणको प्रक्रिया के भइरहेको छ ? बेतन कर्णाली आयोजना कोषले सञ्चयकर्ताहरुको लागि निर्माण गर्न लागेको हो । ४३९ मेगावाटको यो आयोजना ‘रेडी टु गो’को अवस्थामा छ । जग्गा अधिग्रहणको काम शुरु भइसकेको छ । पहुँच मार्ग निर्माण भइसकेको छ । अडिट टनेल खनिसकिएको छ । क्याम्प हाउस पनि बनिसकेको छ । अन्तर्राष्टिय परामर्शदाता छनौटको लागि सुचना प्रकाशित भएको छ भने वातावरणीय अध्ययनको काम समेत भइरहेकोछ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री (पीपीए)प्रक्रिया छ । पाँच वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो आयोजना कोषले सञ्चयकर्ताहरुलाई दिने मुनाफा रकमबाट बनाउन लागिएको हो । सञ्चयकर्ताका लागि सेवा सुविधा के कस्ता छन् ? हामीले सञ्चकर्ताको सेवा सुविधालाई दुई किसिमबाट हेर्छौं । पहिलो पुराना सेवा सुविधालाई निरन्तरता दिने र यसमा वृद्धि गर्दै लैजाने । दोश्रो नयाँ सुविधाहरु थप गर्दै लैजाने । सञ्चयकोषका सुविधाहरु अन्तर्गत एउटा अवकाश भएपछि प्रतिफलसहित उनीहरुको नियमित अवकाशको रकम भुक्तानी गर्ने र अर्को उनीहरु सर्भिसमै रहँदा उनीहरुलाई विभिन्न कर्जा सुविधा दिने । घरसापटी, विशेष सापटी, शैक्षिक सापटी, घरजग्गा खरिद सापटी, मर्मत सापटी तथा सरल चक्र कर्जा यिनै सापटीहरु हुन् । जसलाई सञ्चयकर्ताहरुले सेवामा रहँदा नै उपभोग गर्न सक्नेछन् । यस्तै, सामाजिक सुरक्षाका सुविधा अन्र्तगत कडा रोगको लागि १० लाख, अस्पताल भर्ना भइ उपचार गरेमा १ लाख बरावरको औषधोपचार खर्च सोधभर्ना, सुत्केरी तथा शिशु स्याहार, दुर्घटना क्षतिपुर्ति, काजकिरिया खर्च आदी पर्दछन् । पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदर पनि बढाउँदै गएका छन् । सञ्चय कोष बैंक तथा वित्तीय संस्थाहरुका लागि राम्रो संस्थागत निक्षेपकर्ता हो, यसले कोषको कमाइमा कस्तो प्रभाव परेको छ ? निक्षेपको ब्याजदरले हामीलाई असर गरेको छ । गत वर्ष बैंकहरुले निक्षेपको ब्याज बढाए । हामीले बैंक तथा वित्तीय संस्थाको जसरी मासिक रुपमा ब्याजदर घटबढ गर्न सक्दैनौं । अघिल्लो वर्ष हामीले सञ्चयकर्तालाई ७.६ प्रतिशतमा कर्जा दिन्थ्यौं । बैंकहरुले मुद्दती निक्षेपमा १२ प्रतिशत सम्म दिइरहेका थिए । त्यसले हामीबाट पैसा लिएर त्यहाँ बचत गर्नेको संख्या बढ्यो । कोषबाट गएको पैसा हुन त बैंकमै गएको होला । तर, कोषबाट स–सानो भुक्तानीको रुपमा गएको रकम सबै बैकमा नगएकोले तरलताको समस्या बढाउनमा सहयोगि भएको देखिन्छ । सञ्चयकोषको लगानी जोखिम रहने परियोजना कर्जाहरुमा भन्दा मुद्रा बजार र पुँजी बजारका सुरक्षित उपकरणहरु तथा सञ्चयकर्ता केन्द्रित रहने भएकोले ब्याजदर घटबढ को असर प्रत्यक्ष रुपमा पदर्छ । लामो समयको छलफलपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर भाँडियो, यसको मुख्य प्लेयरका रुपमा धेरैले कर्मचारी सञ्चय कोषलाई लिए, यसमा कोषको धारणा के छ ? मिडियामा लेखिएक ाकुराहरुलाई हेरेर हामी धेरैले आफ्नो धारणा बनाउने गर्छौं । त्यसमा सत्यता कति छ भन्ने कुरा बुझ्नु पर्छ । कर्मचारी सञ्चय कोष आफ्नो लगानी भएका संस्थाहरुको मर्जर सम्बन्धमा सधै सकारात्मक छ । तर, मर्जरमा जाँदा हामीले हाम्रो दीर्घकालीन प्रतिफल हेर्छौं । त्यो कायमै हुनु पर्छ भन्ने हो । सञ्चय कोषको लगानी सुरक्षित हुनु पर्छ र हामीले गर्ने सम्झौता सञ्चयकर्ताको हित विपरित हुनु हुँदैन भन्ने हो । सञ्चयकोष सार्वजनिक संस्था भएकोले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जरका सम्बन्धमा केहि प्राविधिक पक्षहरु जस्तै समान मापदण्ड लिई बैकहरुको सम्पत्ति तथा दायित्वको मुल्याङकन हुनुपर्ने, महालेखापरीक्ष्काले औंल्याएका विषयहरुको सम्बोधन हुनुपर्ने लगायतका विषयमा हाम्रो सुझाव थियो । लगानीको अवमुल्यन नहोस्, सञ्चयकर्तालाई प्रत्यक्ष नोक्सानी नहोस् भन्ने अभिप्राय थियो । तर, त्यो विषय सम्बोधन हुन सकेन । यस विषयमा सम्बद्ध सबै निकायहरुलाई हामीले समयमा नै जानकारी गराएका थियौं । अहिले हिमालयन र सिभिल बैंकबीच पनि मर्जरको सम्झौता भएको छ, यी दुई बैंकबीच मर्जर सफल हुने सम्भावना कत्तिको छ, मर्जर सफल बनाउन कोषको भूमिका के रहन्छ ? कोषले हिमालयन र नेपाल इन्भेष्टमेन्टको मर्जरको प्रक्रियालाई ज्यादै नजिकबाट नियालेको कारण मर्जर प्रक्रियमा कसरी जानु पर्दो रहेछ, त्यतिबेला के कस्ता समस्या तथा कमि कमजोरी भएका थिए भन्ने तर्फ ध्यान दिई यसपटक यी विषयहरु नदोहोरिने अवस्था बनाउन सचेत हुनु पर्दछ । आफ्नो लगानी रहेका संस्थाहरुको मर्जर तथा एक्विजिशन सम्बन्धमा कोषको धारणा र वटमलाईन स्पष्ट छ । सोही अनुरुप अगाडि बढ्दा कोषको लगानी भएका दुवै बैंकहरुको मर्जर तथा एक्विजिशन प्रक्रिया सफल नै हुन्छ भन्ने आशा गरेका छाैं । कहिलेकाहीँ सञ्चय कोषको नियमनमाथि पनि प्रश्न उठ्छ, कोष राष्ट्र बैंकको नियमन भित्र आउनु पर्छ भन्ने विषय पनि उठ्छ, तपाईंहरुलाई पनि अब अभिभावक चाहिन्छ भन्ने लाग्दैन ? सञ्चय कोषसँगै नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष पनि अवकाश कोषका रुपमा संचालनमा छन् । बैंक तथा वित्तीय संस्था र अवकाश कोषहरु फरक हुन् । यिनीहरुको बिजनेस मोडालिटी र उद्धेश्य पनि फरक छ । राष्ट्र बैंकका लागि बैंक तथा वित्तीय संस्थाहरुको नियमन नै पर्याप्त देखिन्छ । तर, अवकाश कोषहरुकालाई नियामक संस्थाको भने आवश्यकता महसुस हुन थालेको छ । सञ्चय कोष र नागरिक लगानी कोष अर्थमन्त्रालय अन्र्तगत र सामाजिक सुुरक्षा कोष श्रम मन्त्रालय अन्तर्गत छ । यी तिनवटै अवकाश कोषहरुको नियामक एउटै हुनु पर्छ जस्तो लाग्छ । यस विषयमा नेपाल सरकारले बेला–बेला कुरा उठाइहरेको पनि छ । अध्ययन भइरहेको होला । कोषको आगामी योजना के छ ? कोषले आफ्नो रणनीतिक योजना अनुरुप वित्तिय कारोबारको पारदर्शिता, सामाजिक सुरक्षा सुविधाहरुको स्थायित्व, सुचना प्रविधिको उच्चतम प्रयोग, मानव शंसाधनको व्यवस्थापन र कोषको सुरक्षित परिचालन जस्ता विषयहरुमा कन्द्रित भएर कार्य गरिरहेको छ । अन्य मुलुकमा भएका असल अभ्यासहरुलाई कार्यान्वयन गर्न त्यस्ता अन्र्तराष्ट्रिय संस्थाहरुसँग मिलेर थप काम गर्न लागेका छौ । कोषले बैदेशिक रोजगारमा रहेका व्यत्तिहरुमा दायरा विस्तार गर्ने कुरा पनि उठाएका थियौं । त्यसका लागि ऐन संशोधन पनि गर्यौं । तर, अहिले त्यो वर्गलाई सामाजिक सुरक्षा कोषले समेटेन भनेपछि रोकियौं । र, हामिलाई प्राप्त निवृतभरण कोष संचालनको जिम्मेवारीलाई कसरी स्थायित्व दिने भनेर लागि परेका छौं । सञ्चयकर्ताहरुलाई प्रदान गर्दै आएको स्वास्थ्य औषधोपचार खर्च सोधभर्ना कार्यक्रम परिवार समेतमा विस्तार गर्न अध्ययन भइरहेको छ ।
आशा लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले बिहीबार एक सुचना जारी गर्दै विभिन्न पदमा कर्मचारी मागेकाे हाे । लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृतका लागि १ जना, वरिष्ठ प्रबन्धकका लागि १ जना, सहायक प्रबन्धकका लागि १ जना कर्मचारी मागेको हो । साथै, लघुवित्तले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकका लागि केही मात्रामा कर्मचारी मागेको छ । लघुवित्तकाे अनुसार नायब प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर र वरिष्ठ सहायकका लागि न्यूनतम योग्यता स्नातकोत्तर गरी बैंक तथा वित्तिय संस्थाको काम गरेकाे हुनुपर्नेछ । त्यस्तै, सहायकले प्लस टु र कनिष्ठ सहायकले एसईई उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा काम गरेकाे हुनुपर्नेछ । प्रशिक्षार्थी सहायकले भने १० कक्षा उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी जानकार भएकाे हुनुपर्नेछ लघुवित्तले जनाएकाे छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन २६ गतेभित्र लघुवित्तकाे वेवसाइट आवेदन दिइसक्नुपर्नेछ ।
कच्चा पदार्थको अभावले फस्टाउन सकेनन् घरेलु उद्योग
बाँके । थोरै पूँजी लगानीबाट सञ्चालन हुने घरेलु तथा लघु उद्योग यहाँ फस्टाउन सकेका छैनन् । कच्चा पदार्थको अभाव, खुला सिमाना, सरकारी निकायको कम चासो, प्रशिक्षणको कमीलगायत कारण उद्योगको अवस्था दिन प्रतिदिन प्रतिकूल हुँदै गएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अनुसार नेपाल–भारत खुला सिमानाका कारण भारतबाट आयात हुने सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्नु, उपभोक्ता भारतीय बजारप्रति आकर्षित हुनु र उत्पादित सामग्री भारतलगायत तेस्रो मुलुकमा निर्यात गर्न नसक्नुले पनि उद्योग क्रमशः बन्द हुने अवस्थामा पुगेको हो । जिल्लामा सञ्चालित करिव ३०० भन्दा बढी साना तथा मझौला एवं लघुउद्योग सङ्कटमा पर्दै गएको महासङ्घले जनाएको छ । करिब एकदेखि तीन लाखसम्म लगानी रहेको साना उद्योगबाट उत्पादित वस्तुले बजार सङ्कटको अवस्था झेल्दै आएको महासङ्घका पूर्वअध्यक्ष जीवनाथ सापकोटाले बताए । उनले भने,’जिल्लामा सञ्चालित सर्वत, दालमोठ, मैनबत्ती, ढकिया, सजावटका सामग्री, हस्तकला र निर्माण सामग्रीलगायत उद्योग जेनतेन सञ्चालन हुँदै आएका छन् ।’
गण्डकी सरकारले घटायो सवारी करको जरिवाना, २० प्रतिशतमा झर्यो
कास्की । गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक वर्षदेखि सवारी करको जरिवानामा वृद्धि गरेर एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिन थालेपछि सरकारको सर्वत्र आलोचना भएको थियो । मुख्यमन्त्री निवासमा बुधबार साँझ बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन २०७६ को व्याख्या गर्दै बाधा अड्काउ फुकाउने सुविधाको प्रयोग गरेर जरिवानाको दर घटाएको हो । गण्डकीमा आर्थिक ऐनमार्फत यसअघिका वर्षमा कर र जरिवाना लाग्दै आएकामा सरकारले चालु वर्षदेखि सवारी तथा यातायात व्यवस्था ऐनमार्फत जरिवाना लिन सुरु गरेको थियो । चालु वर्षको सुरुआतदेखि सवारी करमा एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिइएकामा अब घटाएर २० प्रतिशतमा झारिएको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले बताए । उनका अनुसार अबदेखि पहिलो आर्थिक वर्ष नाघेमा २०, दोस्रोमा ४०, तेस्रोमा ६०, चौथोमा ८० प्रतिशत र पाँचौँ वर्ष नाघेमा मात्र दोब्बर जरिवाना लिइने छ । मन्त्रिपरिषद्को निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ । मन्त्री खड्काले भने, ‘विगतमा आर्थिक ऐनअनुसार जरिवाना कार्यान्वयन हुँदै आएको थियो । एक आर्थिक वर्ष नाघेपछि ३२ प्रतिशत जरिवाना लगाउने व्यवस्था थियो तर यस वर्षको आर्थिक ऐन जरिवानाका बारेमा मौन रहेपछि सवारी ऐनअनुसार जरिवाना लगाउँदा सेवाग्राहीलाई मर्का परेको अनुभुति भएपछि मन्त्रिपरिषद्को आकिस्मक बैठकले त्यसलाई घटाएर पहिलाभन्दा पनि सस्तो बनाएका छौँ ।’ सवारी ऐनमा बाधा अड्काउ फुकाउको व्यवस्था प्रदेश सरकारलाई दिएअनुसार मुख्य न्यायाधीवक्ता, यातायायात मन्त्रालयका सचिवसहितको उच्चस्तरीय समितिको बैठकले अर्थमन्त्रालय र कानुन मन्त्रालयको समेत राय लिएर शुल्क घटाउने निर्णय गरिएको मन्त्री खड्काले बताए । उनले भने, ‘जनतालाई जुन कुराले सहज हुन्छ सोही बाटोबाट जानुपर्दछ भनेर ऐनको व्याखा गरेका छौँ । यसलाई राजपत्रमा प्रकाशित गरेर यातायात व्यवस्था कार्यालयलाई पत्राचार गर्नेछौँ । जसरी कर सेवाग्राही पिडादायी र आतङ्कित भएर पीडा व्यक्त गर्नुभएको थियो यसलाई सरकारले समाधान गरेको छ ।’ अघिल्लो वर्ष प्रदेशको आर्थिक ऐनमा सवारी करको जरिवाना सम्बन्धमा म्याद सकिएको पहिलो महिनामा पाँच प्रतिशत, दोस्रो महिनामा १० प्रतिशत, तेस्रो महिनामा २० प्रतिशत, आर्थिक वर्षको अन्त्यसम्ममा २० प्रतिशत र एक आर्थिक वर्ष कटेपछि ३२ प्रतिशत जरिवाना गर्ने व्यवस्था थियो तर चालु आवको आर्थिक ऐनमा जरिवानासम्बन्धी कुनै व्यवस्था गरिएको थिएन । आर्थिक ऐनमा व्यवस्था नभएपछि यातायात व्यवस्था कार्यालय कास्कीले एक आव कट्नै बित्तिकै २०० प्रतिशत जरिवाना लिन थालेको थियो । सेवाग्राहीको चर्को आलोचनापछि यातायात व्यवस्था कार्यालयले आव २०७८÷७९ र सोभन्दा अघिल्ला आवका तिर्नुपर्नै बक्यौता कर तथा जरिवाना सङ्कलन अर्काे सूचना नभएसम्मका लागि स्थगन गरेको छ । रासस
लक्ष्मी बैंकको सीईओमा पुनः शाह, ४ वर्षका लागि थपियो कार्यकाल
काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय बिक्रम शाहलाई पुनः नियुक्त गरेको छ । चार वर्षे कार्यकाल सकेका शाहलाई बैंक सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि २०७६ कात्तिकमा बैंकको सीईओमा नियुक्त भएका थिए । बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका सुदेश खालिङको कार्यकाल सकिएपछि शाहलाई बैंकले सिईओमा नियुक्त गरेको थियो । अहिले पुनः शाह नै सीईओ बनेका हुन् । अब उनले ४ वर्षका लागि काम गर्नेछन् । तीन दशक लामो बैंकिङ अनुभव भएका शाहकले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गरेका हुन् । उनले सो बैंकमा १० वर्ष काम गरेका थिए । शाहको नेतृत्वमा लक्ष्मी बैंकले आफ्नो छुट्टै छवि निर्माण गरेको छ । हरेक वित्तीय परिसूचकमा अब्बल रहेको लक्ष्मी बैंकले बैंकभित्रबाटै नेतृत्व चयन गर्ने अभ्यास आत्मसाथ गर्दै आएको छ ।