सेयर रोक्का सम्बन्धी निर्देशिका २ हप्ता भित्रमा लागु गरिने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिका दुई हप्तामा लागु गर्ने बताएका छन् । धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेश कुमार हमालले यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का गर्ने व्यवस्था खारेज गरेपछि नेपाल धितोपत्र बोर्डले सेयर रोक्का निर्देशिका तयार पारिरहको छ । मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का सम्बन्धी विषय आफुले उठाएको उनले बताए । लगानीकर्तालाई अन्याय नहोस् भनेर आफुले सो विषय उठान गरेको उनको दाबी छ । अब मर्जर तथा प्राप्तिमा धितोपत्र बोर्डको नीति लागु हुने उनले बताए । ‘मौद्रिक नीति सार्वजनिक भएको दिनदेखि नै विज्ञ टिम बनाएर निर्देशिका तयार पारिरहेका छन्, अबको १० दिनभित्रमा जारी गर्छाैं, यसमा हतार गर्नु हुँदैन, सबै मुद्धाहरु हेर्नुपर्छ,’ उनले भने । उनले बढीमा २ हप्ताभित्रमा उक्त निर्देशिका लागु गर्ने बताए । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्का गर्ने विद्यमान व्यवस्था खारेज गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी बोर्डलाई दिएको थियो । उक्त सेयर कारोबार रोक्का सम्बन्धीको टोलीमा बोर्डका कानुनको उपकार्यकारी कृष्णप्रसाद पोखरेल, कार्यकारी निर्देशक विनयदेव आर्चाय र प्रवक्ता रुपेश केशी रहेका छन् ।
लुम्बिनी विकास बैंकले फोटोन र चङ्गनका गाडी किन्न ग्राहकलाई सजिलै कर्जा दिने
काठमाडौं । लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सबीच सम्झौता भएको छ । फोटाेन र चङ्गन ब्राण्डका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने उक्त सम्झौता भएको हो । सो सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र एमए।डब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारीयाले संयुक्त रुपमा हस्ताक्षर गरे । सो सम्झौतापत्र अनुसार लुम्बिनी विकास बैंकले सबै शाखाहरुबाट यो सुविधा लिन सकिनेछ ।साथै सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देशभरी रहेको १३ वटा शोरुम मार्फत खरिद गर्न सक्नेछन । लुम्बिनी विकास बैंकले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु मार्फत सेवा दिँदै आएकोे छ ।
एकैदिन ७१० जनामा देखियो कोरोना संक्रमण
काठमाडौं । एकैदिन ७१० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार ५ हजार २५ जनामा परीक्षण गर्दा ७१० जनामा संक्रमण देखिएको हो । यस्तै, आज २१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण २ जनाको मृत्यु भएको छ ।
सगरमाथा इन्स्योरेन्सले गर्यो दुई करोड ६५ लाखको दावी भुक्तानी
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले दुई करोड ६५ लाखको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले २०७८ साल पुस २१ गते भारतको मलानपुरमा भएको सडक दुर्घटनाका कारण भएको क्षति अन्तर्गत हाइटन्सन स्वीचगियरलाई दुई करोड ६५ लाख ७४ हजार ८४८ को बीमा दावी भुक्तानी गरेको हो । सगरमाथा इन्स्योरेन्सका भक्तपुर शाखाका प्रमुख भरत अधिकारीले बिहीबार सो रकम बराबरको चेक स्विचगियरका अध्यध द्वारिक श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब ८५ करोड बराबरको रकम भुक्तानी गरेको थियो ।
सम्भावित क्षतिबाट बच्दै सेयर लगानीकर्ता, धितोपत्र बोर्डले कोष सञ्चालन गर्ने
काठमाडौं । नेपाल धितोपत्र पत्र बोर्डले धितोपत्र बजारको लागि क्षतिपूर्ति कोष सञ्चालन गर्ने भएको छ । बिहीबार धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले सो बताएका हुन् । ‘धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने संभावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि क्षतिपूर्ति कोष सम्बन्धी नियमावली तर्जुमा गरी लागु गरिनेछ,’ अध्यक्ष हमालले भने । पूँजी बजार विकासका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न चार खम्बे नीति तयार गरेको उनले बताए । चार खम्बाहरुमा संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने, बजारको सन्तुलन तथा विस्तार गर्ने, बजार पारदर्शिता तथा मेरिट बेस प्रणालीको विकास गर्ने र नियमन निकायको वाच डग एजेन्सी भूमिका सशक्तिकरण गर्ने रहेका छन् ।
नेपाल बैंकले ल्यायो डबल धमाका मुद्दती खाता, ६ वर्षमा दुई गुणाले पैसा बढ्ने
काठमाडौं । नेपाल बैंकले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ । त्यसैगरी, रेमिट्यान्सबाट प्राप्त रकम यस मुद्दती खातामा लगानी गर्दा छ वर्ष ११ महिना २ दिनमा रकम दुईगुणा हुनेछ । यस मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकले २१९ शाखाहरु, १८३ एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।
‘५५ बिघा जमिनमा लगाएको सबै केरा नष्ट हुँदा बीमाले जीवित रहने बाटो खुल्यो’
भजनी । गएको जेठ २८ र असार २ गतेको हावाहुरीका कारण कैलालीको टीकापुरका टेकेन्द्र धामीले लगाएको केरा खेतीमा ठूलो क्षति पुग्यो । ५५ बिघा जमिनमा लगाइएको अधिकांश केरामा क्षति पुगेपछि उनलाई निकै चिन्तित बनायो । उत्पादन दिनेबेला प्राकृतिक प्रकोपका कारण केरा नष्ट भएपछि काम गर्ने जागर नै मर्याे । टेकेन्द्रले केरा खेतीसँगै टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरेका हजारौँ केराका बिरुवा समेत नष्ट भए तर केराको बीमा गरिएका कारण आज उनले ठूलो राहतको महसुस भएको बताए । ‘केराको बीमा गरिएका कारण आज यसै पेसामा जीवित रहने बाटो खुलेको छ । धेरै नभए पनि अलिकति राहत हुने आधार बीमाले दिएको छ,’ टेकेन्द्रले भने, ‘राम्रो इन्स्योरेन्स कम्पनीमा बीमा गर्दा किसानले बीमा दाबी भुक्तानी पाउने रहेछन् भन्ने विश्वाससमेत लागेको छ ।’ उनले गत माघ महिनामा केराको शिखर इन्स्योरेन्स कम्पनीमा बीमा गराएका थिए । जेठ महिनामा केरा खेती नष्ट हुँदा कम्पनीले उनलाई नौ लाखको बीमा दाबी भुक्तानी गरेको छ । टेकेन्द्रले केराको एउटा बोटको उत्पादन मूल्य ६०० हुने भए पनि प्रतिबोट १७६ रुपियाँ पाउँदा पनि कृषिमा सुरक्षाको महसुस भएको बताएका छन् । शिखर इन्स्योरेन्समा बाली बीमा गरेका टीकापुरका अन्य छ किसानले पनि १९ लाख ४२ हजार ३६६ भुक्तानी पाएका छन् । सिद्धिविनायक केरा फार्मका सञ्चालक पार्वती जैसीले बीमाको रकम पाएपछि केरा खेती निरन्तर गर्ने आत्मबल बढेको बढेको बताए । ‘कृषि बीमा पहिले पनि गरिन्थ्यो तर क्षति पुग्दा भुक्तानी लिनै कठिन हुने भएकोले त्यसमा लाग्नै छोडेका थियौँ,’ उनले भने, ‘अहिले प्राप्त भएको बीमा दाबी भुक्तानीले नष्ट भएको खेती विस्तार गर्नका लागि सहयोग पुग्ने भएको छ ।’ जिल्ला केरा व्यवसायी सङ्घका अध्यक्ष दीपेन्द्र थारुले यसअघि कतिपय बीमा कम्पनीले बीमा नै नगरिदिने र गरिहाले पनि बैंक प्रयोजनका लागि मात्रै भनेर भुक्तानी नपाइने अवस्था रहेको बताए । उनले सयौंँ किसानलाई केही बीमा कम्पनीले ठगेको गुनासो गर्दै केराको बीमा गर्दा केराको मात्र नगरी त्यहाँका अन्य संरचनालगायतको बीमा गरेर किसानलाई ठगेको उल्लेख गरे । ‘केही व्यवसायी नै बीमा कम्पनीमा लागेका छन् । उनीहरु आफ्नो व्यवसायको बीमा अर्कै कम्पनीसँग गर्ने र अरुलाई भने आफू काम गर्ने कम्पनीमा बीमा गर्न प्रेरित गर्दै आएका थिए ।’ अध्यक्ष थारुले केरा किसानका लागि बीमा भुक्तानी घाइतेलाई प्राथमिक उपचारजस्तै भएको बताउँदै अधिकांश किसानले बैंकबाट ऋणका लागि मात्रै बीमा गरेकोजस्तो देखिएको बताए । बीमा समितिका सुदूरपश्चिम कार्यालय प्रमुख ओमबहादुर अधिकारीले केही कम्पनीका कारण बीमा गर्याे भने दाबी पाइदैन भन्ने गुनासा आइरहे पनि त्यसलाई निरुत्साहित गर्न किसान आफै लाग्नुपर्ने बताए । उनले बीमा दाबीलाई कम्पनीले छोटो अवधिमै भुक्तानी दिनुपर्ने बताउँदै चालु वर्षदेखि केरा प्रतिबोट बीमा २४५ रुपैयाँ भएको पनि उनले जानकारी दिए । समयमै बीमा दाबी दिन पाएकोमा कम्पनी पनि खुसी रहेको शिखर इन्स्योरेन्सका सुदूरपश्चिम प्रबन्धक डिल्लीराज शर्माले बताए । बीमा रकम हस्तान्तरण गर्दै टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले हरेक वर्ष नोक्सान व्यहोर्दै आएका टीकापुरका किसानलाई छोटो अवधिमै बीमा भुक्तानी दिएकोमा किसान आकर्षित हुने बताउँदै शिखर इन्स्योरेन्सलाई टीकापुरमै शाखा खोल्न आग्रह गरे । केराको पकेट क्षेत्र हावाहुरीले टीकापुरमा बसेिन केरामा ठूलो क्षति गरिरहेको थियो । बीमाबापत रकम पाएको भने यो पहिलो पटक हो । रासस
पूँजी बजारमा हुने चलखेल निरुत्साहित गर्छौं : अध्यक्ष हमाल
काठमाडौं । धितोपत्र बजारलाई विकास तथा विस्तार गर्दै प्रतिस्पर्धि बनाउने नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले बताएका छन् । धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् । त्यस्तै, सुपरिवेक्षणलाई सक्रिय बनाएर पूँजी बजारमा हुने चलखेललाई निरुत्साहित गर्ने अध्यक्ष हमालले दावी गरे । उनले सर्वसाधारण लगानीकर्ताको सहभागिता बढाउन सातै प्रदेशमा लगानीकर्तालाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । धितोपत्र बजारलाई उच्च प्रविधिमैत्री बनाएर सेवाग्राहीलाई तिव्र सेवा दिने बताएका छन् । त्यसैगरी उनले आरटीजिएस प्रणाली मार्फत सेवा दिने बताए । बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउन अन्तराष्ट्रिय बजारमा भएको व्यवस्थालाई लागु गर्ने उनको भनाइ छ ।