साढे ३ लाख घुस लिएको अभियोगमा रोल्पाका इञ्जिनीयर विरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इञ्जिनीयर नवन डाँगी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इञ्जिनीयर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब तयार पारी अन्तिम भुक्तानीका लागि फाइल पेश गर्दा घुस मागेको पाइएको छ । आयोगका अनुसार सुरुमा ५० हजार बराबरको घुस माग गरेको भन्ने विषयमा अनुसन्धान गर्दा उनले थप तीन लाख ५६ हजार ५०० बराबरको घुस लिएको खुलेको छ । आयोगले बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
एचआईभीको औषधि नपाउँदा ज्यान गयाे, सहज रूपमा उपलब्ध गराऔं : महासंघ
काठमाडौं । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले सहज रूपमा औषधि उपलब्ध गराउन माग गरेको छ । बुधबार महासंघको टोलीले राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रलाई ज्ञापनपत्र बुझाएर सहज रूपमा औषधि उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको हाे । महासंघका अध्यक्ष खगेन्द्र खड्काले सरकारी लापरवाहीले सङ्क्रमितको ज्यान समेत गइरहेको बताए । सङ्क्रमितहरूले खाने एआरभी वितरणमा केन्द्रले नै अवरोध गरिरहेकाले गर्दा केही जिल्लामा औषधि नपुगेको र सङ्क्रमितले औषधि खान नपाएको महासंघले जनाएको छ। त्यस्तै, कास्की र सुनसरीमा हेपाटाइटिस–सी भएका सङ्क्रमितको उपचार गर्ने तयारी भएपनि केन्द्रकै लापरवाहीले समयमै औषधि नपाउँदा दुई जनाको ज्यान गएको महासंघले जनाएको छ।
गुराँस लाइफले झापामा बीमितको परिवारलाई गर्यो साढे ५२ लाख भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ५२ लाख ५५ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रम गरी झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बीमित सुदेश राईको परिवारलाई सो रकम भुक्तानी गरेको हो । कम्पनीले राईकी श्रीमती रुबिना तामाङ्गलाई बिमांक र बोनस सहित सो रकम भुक्तानी गरेको हो । मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको वार्षिक नगद फिर्ता जीवन बीमा गराएका थिए । कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक तथा क्षेत्रिय प्रमुख गिरधर श्रेष्ठले व्यक्तीको मृत्युको अपुरणीय क्षतिको भरपाई नहुने तर बीमाबाट प्राप्त रकमले आश्रित परिवारलाई सहयोग पुग्ने बताएका थिए । बीमाको जनचेतना अभावले बीमा आवश्यक नभएको सोच्ने र आवश्यक भएको दिन पछुताउने गरेकाले बेलैमा जीवन बिमा गराई ढुक्क हुन आग्रह गरेका थिए ।
बैंक अफ काठमाण्डूका ग्राहकलाई कोेरियन भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट
काठमाडौं । बैंक अफ काठमाण्डूका र कोरियन भाषा सिकाई संस्था थेयाङ हान्गुल ईन्स्टिच्युटबीच सम्झौता भएको छ । बैंक र इन्स्टिच्युटबीच बैंकका ग्राहकलाई भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको हो । बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल ईन्स्टिच्युटबाट यो छुट पाउनेछन् । नेपाल सरकार, श्रम मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीचको समझदारी अनुरुप रोजगार अनुमती प्रणाली अन्र्तगत वार्षिक ९ हजारभन्दा बढि नेपाली नागरिकहरु कोरियन भाषा उत्तिर्ण गरि कामदारका रुपमा गणतन्त्र कोरिया गईरहेका छन् । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
मन्दाकिनी हाइड्रोको आईपीओमा १६ गुणा बढी आवेदन
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओमा अन्तिम दिन मागभन्दा १६.५३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरङका अनुसार कम्पनीको आईपीओमा बिहीबार ५ बजेसम्म १६ लाख १० हजार ९२६ जना आवेदककाे आवेदन परेको हाे । एक करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषहरुका लागि र बाँकी कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित
फाइल फाेटाे काठमाडौं । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो । विधेयकमाथि बिहीबार नै दफाबार छलफल प्रारम्भ भएको थियो । विधेयक पारित भएको घोषणा गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने – ‘हुन्छ भन्ने माननीय सदस्यहरुको बहुमत भएकोले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रश्ताव बहुमतले पारित भएको घोषणा गर्दछु ।’ त्यसैगरी बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक, २०७९ पनि पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
व्यवसायी त्वानावासुले खाली चेकमा हस्ताक्षर गर्न लगाई ५ करोड १४ लाख रुपैयाँ भरेर बाउन्स गराए
काठमाडौं । भक्तपुरका निर्माण व्यवसायी केशव त्वानावासुले खाली चेकमा हस्ताक्षर गर्न लगाएर बाउन्स गरी सम्पती हडप्न खोजेको आरोप बौद्व धर्म गुरु भीमसुवा गुरुङले लगाएका छन् । व्यवसायी त्वानावासुले आफैले ५ करोड १४ लाख ६० हजार रुपैयाँ भरेर बाउन्स गरेको आरोप गुरुङले लगाएका हुन् । गुरुङले गत जेठ २ गते त्वानावासुसँग आएका जीवन बुढाथोकी लगायत ९ जनाले विप्लव समुहका हौ भन्दै हतियार खल्तीमा छ भनेर धम्काएर ६ घण्टा बन्धक बनाएको समेत बताए । उनले अफिसमा रहेको हिमालयन बैंकको उक्त रकम भुक्तानी हुने ३ वटा चेक लगेको सुनाइन् । उनीहरुले आफ्नो छोरा मार्ने र आफुलाई अपाङ्ग बनाउने धम्की दिएर चेक जबरजस्ती लगेको रुदै बताइन् । रिम्पोछे ट्रष्टकी अध्यक्ष समेत रहेकी गुरुङले नियन्त्रणबाट छाडे लगत्तै महानगरीय प्रहरी वृत्त स्वयम्भुमा जानकारी गराएपनि सुनुवाई नगरेको भन्दै दुखेसो पोखिन् । लगत्तै उनले जिल्ला प्रहरी परिसर टेकुमा आफुलाई अन्याय परेकोबारे जाहेरी दिन जाँदा दर्ता नगरेको पनि सुनाइन्् । गुरुङले सभामुख, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, संघिय संसद समेत १२ वटा कार्यालयमा प्रमाणको रुपमा सिसिटिभी फुटेजसहित निवेदन पेश गरेपनि सुनुवाइ नभएको गुनासो गरिन् । धुकुछु कन्स्ट्रक्सन कम्पनीका संचालक केशव त्वानाबास र अस्का कन्स्ट्रक्सनका सञ्चालक बिनोद कुमार तामाङबीच जापानको निको शहरमा स्वयम्भु स्तुपा निर्माण गर्न एनपीओ आस्पा जापानसँग र अस्का कन्स्ट्रक्सनले सम्झौता भएको थियो । सम्झौता अनुुसार धुकुछु कन्स्ट्रक्सन कम्पनीका संचालकले गुरु रिम्पोछे ट्रष्टको खातामा ३ करोड रुपैयाँ जम्मा गरेको र उक्त रकम विनोद कुमार तामाङले बुझेपनि कोभिडको कारण काम अगाडी बढाउन सकेनन् । सम्झौता बमोजिम काम नभएपछि ३ करोड रुपैयाँ बुझेका विनोद कुमारले रकम फिर्ता गर्न नसकेपछि केशवले आफुमाथि अपराधिक कार्य गरेको उनको दाबी छ । गुरुङले आफु अन्यायमा परेको बताइन् । उनले भनिन्, ‘केशवले निकै टर्चर दियो, टर्चर पनि यतिसम्म दियो कि मर्नु कि बाच्नुसम्म टर्चर दियो, सात–सात घण्टा नियन्त्रणमा लिएर मेरो चेक जबरजस्ती लगेको छ, त्यसमा पनि मेरो खाता क्लोज गरेर फेरी त्यही चेकलाई हनुमान ढोकामा बाउन्स गर्न पुगेको रहेछ ।’ गुरुङले केशवसँग अफिसकै कामको सिलसिलामा चिनजान भएको बताइ्न् । आफ्नो तामाङ दाजुभाईले स्वयम्भुको लागि जम्मा गरेको उक्त रकम फिर्ता हुनुपर्ने उनको भनाई थियो ।
मुक्तिनाथ विकास बैंकद्धारा विश्व हिन्दु महासङ्घ संस्थालाई सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पुस्तक प्रकाशनका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले विश्व हिन्दु महासङ्घ जिल्ला शाखा, स्याङजाले प्रकाशन गर्ने ‘वैदिक सभ्यता’ नामक पुस्तकको प्रकाशनका लागि उक्त रकम सहयोग गरेको हो । यस सहयोगबाट संस्थाले धर्म तथा संस्कृति संरक्षणका लागि गर्ने कार्यमा सहयोग पुग्ने बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट उप क्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्ले, अन्य आधिकारिक सदस्यहरु, वालिङ नगरपालिकाका नगर उप–प्रमुख कविता तिवारी र विश्व हिन्दु महासङ्घ जिल्ला शाखा, स्याङजाका अध्यक्ष, उपाध्यक्ष लगायत सम्पुर्ण कार्यसमितिहरु र अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।