मौद्रिक नीतिले कर्जाको ब्याजदर बढ्छ, रोजगारी सिर्जनामा पनि समस्या हुन्छ : परिसंघ

<p>काठमाडौं । नेपाल उद्योग परिसंघ नेपालले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले कर्जाको ब्याजदर बढ्ने बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै परिसंघले मौद्रिक नीति कार्यान्वयनबाट मुद्रा आपूर्ति घट्ने, वाह्य क्षेत्र तथा शोधनान्तरस्थितिमा परेको चाप कम हुने र कर्जाको ब्याजदर बढ्ने बताएको हो । केन्द्रिय बैंकले उत्पादन मुलक क्षेत्रका लागि खुकुलो तथा अन्य क्षेत्रका लागि कसिलो मौद्रिक [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग परिसंघ नेपालले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले कर्जाको ब्याजदर बढ्ने बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै परिसंघले मौद्रिक नीति कार्यान्वयनबाट मुद्रा आपूर्ति घट्ने, वाह्य क्षेत्र तथा शोधनान्तरस्थितिमा परेको चाप कम हुने र कर्जाको ब्याजदर बढ्ने बताएको हो ।

केन्द्रिय बैंकले उत्पादन मुलक क्षेत्रका लागि खुकुलो तथा अन्य क्षेत्रका लागि कसिलो मौद्रिक नीति ल्याएको परिसंघको भनाइ छ ।

‘अर्थ व्यवस्थालाई चलायमान बनाउन उत्पादनशील क्षेत्रलाई सहज नीति ल्याउन परिसंघले दिएका कतिपय सुझाव राष्ट्र बैंकले सम्बोधन गरेतापनि अनिवार्य नगद मौज्दात, वैधानिक तरलता, बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर बढाउनाले कर्जाको ब्याजदर बढ्ने निश्चित छ । यसले बजारमा विद्यमान तरलतामा समेत थप दबाब सिर्जना हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

परिसंघको अनुसार चालू मौद्रिक नीतिका कारण बजारको समग्र मागमा थप संकुचन आइ रोजगारी सिर्जना समेत प्रभावित हुने देखिएको छ । मौद्रिक नीतिले उत्पादन मुलक क्षेत्रमा अधिक्तम २ करोडको कर्जामा सिमित हुने भनिएकालाई राष्ट्र बैंकले आगामी दिनहरूमा सच्याई ठुला कर्जामा समेत विस्तार गर्ने अपेक्षा गरेको परिसंघले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात प्रयोजनका लागि वा पुँजीकोषको रुपमा गणना गर्न सकिने अवधि थप गर्ने व्यवस्था मिलाउने, ग्रिन फाइनान्सिङलाई प्रोत्साहन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय हरित वण्ड निष्काशन गर्नुपर्ने परिसंघका सुझाव समेटिएकोमा परिसंघले खुशी व्यक्त गरेको छ ।

यस्तै, परिसंघले बैंक तथा वित्तिय संस्था मर्जर र प्राप्तिको समयमा धितोपत्र कारोबार नरोक्ने व्यवस्था स्वागत योग्य रहेको पनि बताएको छ । राष्ट्र बैंकले कृषिलगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात, र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा पुनरकर्जा सुविधा पर्यटन क्षेत्रलाई पनि प्रदान गर्न  आग्रह गरेको छ ।

कर्जाको लागत महँगो हुँदा नेपाल सरकारले वित्तनीति मार्फत लिएको ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न कठिन हुने भएकोले बाह्य क्षेत्र सन्तुलनमा आँच नआउने गरी समग्र मागलाई समन्वय गर्नेतर्फ मौद्रिक नीतिको आगामी प्रथम त्रैमासिक समिक्षामा नीतिगत दर पुनरावलोकन गर्न परिसंघले आग्रह गरेको छ ।

Share News