सेयर बजारले बैंकलाई च्यालेन्ज दिनुपर्छ : डा. श्रेष्ठ
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले नेपालको पुँजी बजारले बैंकिङ्ग क्षेत्रलाई चुनौति दिनुपर्ने बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘सेयर बजारले बैंकलाई च्यालेन्ज दिनुपर्छ, बजारले बजारले च्यालेन्ज दिएपछि मात्रै बैंक पनि प्रतिस्पर्धात्मक बन्न सक्छन्,’ उनले भने । उनका अनुसार अर्थतन्त्रमा दुई प्रकारका फाइनान्सियल स्ट्रक्चर रहेका छन् । एउटा बैंक बेस र अर्को मार्केट (पुँजी बजार) बेस । राष्ट्र बैंकले बैंक बेस नियमन गर्छ भने मार्केट बेस भनेको अल्टरनेटिभ रहेको उनको भनाई छ । दुई वटा फाइनान्सियल स्ट्रक्चर भएपनि एकअर्काका परिपूरक भएको उनको भनाइ छ। उनले बैंकिङ्ग क्षेत्रमा लिक्वीडि नभएको बेलामा पुँजि बजारले ठूला कम्पनीलाई दिने बताए । ‘ठूला कम्पनीले बैंकबाट पैसा नपाएमा पुँजी बजारमा गएर पैसा ल्याउन सक्छन्, त्यहाँबाट पैसा उठाउन सक्छन्, बैंकबाट पैसा उठाउन सक्ने अवस्था नरहेमा प्राथमिक र दोस्रो बजारले लिक्विडिटी दिन्छ,’ उनले भने । वछिल्लो समय पुँजि बजारमा आकर्षण बढेको उनको बुझाइ छ । कर्मचारीहरुले पनि आफ्नो पेसालाई कम महत्व दिएर सेयर बजारमा कारोबार गर्ने गरेको आफुले पाएको उनले बताए । ‘पछिल्लो समय पुँजी बजारमा कर्मचारी आफ्नो प्रोफेसन बिर्सेर सेयर बजारमा आकर्षित भएका छन्, उनीहरुको झुकाव रियल लाइफभन्दा नि सेयर बजारमा बढी छ,’ उनले भने । त्यस्तै, बजारमा बण्ड ल्याउन पनि सहज वातावरण र मार्केटमा सहभागी हुन धेरै ज्ञानको आवश्यक रहने उनको भनाई छ ।
कृष्णहरि पुष्करलाई अर्थसचिवको जिम्मा
काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । अर्थमन्त्री जनारदन शर्मा र मरासिनीबीच विवाद बढेपछि उनको सुरुवा भएको हो ।
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार बनाउने निर्णय गरेको हो । पछिल्लो समय पोखराको नयाँ पुलदेखि मुस्ताङको मुक्तिनाथसम्मको केवलकार परियोजना अघि बढाइरहेका उनी विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा आवद्ध थिए ।
सहकारीको योगदान थप वृद्धि गर्न सरकार र अभियानबीचको सहकार्य आवश्यक छ : सचिव थपलिया
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफ्नो २० औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवस साउन १९ गते विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसका अवसरमा आयोजित मुख्य कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाले गरेका थिए । सो अवसरमा बोल्दै सचिव थपलियाले सहकारी क्षेत्रमार्फत समाज रुपान्तरण गर्न सकिने योगदानलाई थप वृद्धि गर्नका लागि सरकार र अभियानबीचको निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बताए । सहकारी क्षेत्रको थप सुधारका लागि नीतिगत व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु पर्नेमा उनकाे भनाइ छ । कार्यक्रममा पूर्वमन्त्री केशव प्रसाद बडालले सहकारी भनेको करयोग्य नागरिक निर्माण गर्ने क्षेत्र भएकाले सहकारीलाई करमुक्त बनाउन सरकारले ध्यान दिनु पर्ने र सहकारीले त्यस अनुकुलका काम गर्नु पर्ने बताएका थिए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले नेपालको सहकारी अभियानलाई प्रभावकारी बनाउन निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय सहकारी बैंकलाई पूर्ण बैकिङ कारोबारको अनुमति दिनका लागि सरोकारवाला निकायले ध्यान दिनु पर्नेमा जोड दिए । सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीको प्रवद्र्धनका लागि निर्माण गर्ने गरी ऐनमा व्यवस्था भएका कर्जा न्यायाधिकरण, कर्जा सूचनाकेन्द्र सञ्चालनका लागि विभाग तदारुकताका साथ लागि परेको बताएका छन् । कार्यक्रममा बैंकले सञ्चालन गरेको इ–लाइब्रेरी को सहकारी सचिव राम प्रसाद थपलियाले शुभारम्भ गरेका थिए । सो अवसरमा राष्ट्रिय सहकारी बैंकको बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, कोपोमिस सम्बन्धी प्रस्तुतीकरण सहकारी विभागका अधिकृत आमोद प्रसाद पुडासैनी र सहकारीका लागि कर सम्बन्धी संशोधित कानुनी व्यवस्थाहरु विषयमा चार्टर्ड एकाउण्टेण्ट शेषमणी दाहालले प्रस्तुत गरेका थिए । कार्यक्रममा बैंकले सञ्चालन गरेको वित्तिय साक्षरतामा सहकारीको भूमिका विषयक निवन्ध प्रतियोगितामा पुरस्कृत भएका विद्यार्थीहरुको नाम घोषणा बैंकका सञ्चालक एवम् शिक्षा, तालिम तथा सम्मान उपसमितिका संयोजक राम बहादुर जिसीले प्रस्तुत गरेका थिए । स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसका अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष के.बी.उप्रेती, स्वागत लेखा समितिका सदस्य तथा राष्ट्रिय विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी र सञ्चालन बैंकका सञ्चालक केदार मानन्धरले गरेका थिए । भौतिक तथा भर्चुअल रुपमा समेत सञ्चालन भएको कार्यक्रममा देशभरका बैंकका सदस्य सहकारी संघ संस्थाका प्रतिनिधि तथा अभियानका विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बुक बिल्डिङमा दुर्घटना निम्तिदैन, सबै कर्मचारीलाई सचेत गराएको छु : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बुक बिल्डिङमा दुर्घटना हुन नदिन गृहकार्य गरिरहेको बताए । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘बुक बिल्डिङमा अर्को पटक दुर्घटना हुन नदिन सेबोनका कर्मचारीलाई सचेत गराएको छु, एक पटक दुर्घटना हुँदा पछि परेको र अर्को पटक पनि दुर्घटना भयो भने धेरै पछि परिन्छ, त्यसैले बुक बिल्डिङमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको छ,’ उनले भने । विगतमा पूर्व अध्यक्ष भिष्म ढुंगाना परिवार र नेप्सेका सीईओ चन्द्र साउदले सर्बोत्तमको सेयर किनेको खुलासा भएपछि बूक बिल्डिङमा विवाद परेको थियो । उक्त विवाद अबका दिनमा नदोहोरिन बोर्डले आवश्यक काम कारवाही अघि बढाएको जानकारी गराएको छ । त्यस्तै, लगानीकर्ताले बजारलाई विश्वास गरेको र बजार बढेमा सबै लगानीकर्ताले फाइदा लिन सक्ने उनको भनाई छ । ‘व्यवहारमा समायोजन गर्यो भने विकास सम्भव छ, चेतना, सचेतना फैलाउनु पर्ने छ, पुँजी बजारप्रति सबैको हेर्ने दृष्टिकोण समान हुनुपर्छ,’ उनले भने । त्यस्तै, हालको नेप्सेको प्रणालीले १७० भन्दा बढी ब्रोकर नधान्ने भएकाले प्रणालीलाई थप सुधार गरी नेप्सेको सिस्टममा ठूलो फड्को मार्नु पर्ने उनले बताए । ‘टिप्पणी वा निर्णय उठाउदा टेबुल टेबुलमा छलफल भएको छ, एउटा सरकार आउने उसले टेबुल गर्ने, अर्को सरकार आउने उसले टेबुल गर्दा ढिला भएको हो,’ हमालले भने । विगतमा ५६ जना कर्मचारीले ५७९ कम्पनी नियमन गर्नुपर्ने बाध्यता रहेको बताउँदै अध्यक्ष हमालले आफू आएपछि १५ जना थपेर ७१ जना पुर्याएको समेत जानकारी गराए । सम्बन्धित सामाग्री ५७९ कम्पनीको नियमन गर्दै धितोपत्र बोर्ड, साना कम्पनी आउँदा अस्थीरता बढेको दावी
सहकारी बैंकले शुरु गर्यो इ-लाइब्रेरी
ललितपुर । राष्ट्रिय सहकारी बैंकले सहकारी क्षेत्रका विभिन्न नीतिगत व्यवस्था, शिक्षा लगायतका विषय जानकारी हुने पुस्तक तथा अभिलेखहरु समेटेर इलाइब्रेरी स्थापना गरेको छ । बैंकको २० औं स्थापना तथा कारोबार शुभारम्भ दिवसका अवसरमा बैंकले इलाइब्रेरी स्थापना गरेको हाे बैंकले स्थापना गरेको इलाइब्रेरीको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाले उद्घाटन गरे । बैंकको इलाइब्रेरीमा बैंकको समग्र अवस्था, स्थानीय तह, प्रदेश र संघीय ऐन तथा नियमावलीहरु, शिक्षामलुक सामग्री, टेक्निकल टुल्स, नमुना नीति कार्यविधिहरु, तालिमका भिडियोहरु, सहकारी सम्बन्धी लेख रचनाहरु लगायतका सामग्री हेर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए । बैंकले सञ्चालन गरेको इलाइब्रेरी http://elibrary.ncbl.coopमा गएर हेर्न सकिने गुरागाईले जानकारी दिए ।
सङ्क्रमणको चौथो लहरको सङ्केत !
काठमाडौं । नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि सङ्क्रमण बढ्न थालेको बताइएको छ । नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको सङ्क्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । पहिले यहाँ सङ्क्रमणदर ०.५ प्रतिशतसम्म झरेकामा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ । साउन १८ गते नौ सय १५ सङ्क्रमित, साउन १७ गते आठ सय १४, साउन १६ गते आठ सय ९५ सङ्क्रमित र एक जनाको निधन भएको छ । यस्तै साउन १५ गते छ सय २०, साउन १४ गते चार सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते पाँच सय ७७ जना र दुई जनाको मृत्यु, साउन १२ गते सात सय १० र दुई जनाको मृत्यु, साउन ११ गते पाँच सय ६४ र एक जनाको मृत्यु, साउन १० गते छ सय ३८ र दुई जनाको मृत्यु भएको छ । यसरी सङ्क्रमण दैनिक बढेर हजारको नजिक पुग्न थालेको छ । दैनिक सङ्क्रमण बढिरहेकाले नेपालमा कतै सङ्क्रमणको चौथो लहर आएको त होइन भन्ने लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको लहर ग्राफले देखाउने गरेको र अहिले देखिएको सङ्क्रमणको ग्राफले अर्को लहरको सङ्केत गरेको बताए । सरकारले आधिकारिकरूपमा सङ्क्रमणको चौथो लहर भन्ने नगरेको र सङ्क्रमणको ग्राफले नै लहर बताउने गरेको उहाँको भनाइ रहेको छ । ‘हामीले पहिले पनि ग्राफ बढे पनि सङ्क्रमणको लहर भनेको थिएनाैँ । अहिले पनि हामी भन्दैनौँ’, उनले भने, ‘तर अहिले सङ्क्रमणको ग्राफले आफैँ अर्को लहर देखाएको छ ।’ स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले अहिले दैनिक बढिरहेको सङ्क्रमणले चौथो लहरको सङ्केत गरेको बताउँछन् । ‘सरकारले आधिकारिकरूपमा चौथो लहर भन्ने गरेको छैन । तर अहिले दैनिक हजारको सङ्ख्याले सङ्क्रमणको चौथो लहरको सङ्केत गरेको छ’, उनले भने, ‘यदि यसैगरी सङ्क्रमण बढ्न थाल्यो भने चौथो लहर नआउला भन्न सकिन्न ।’ उनले सङ्क्रमण साउन र भदौमा धेरै माथि (पिक)मा पुग्ने र त्यसपछि घट्ने बताउँछन् । खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा सङ्क्रमण देखिने गरेको छ । ती मानिसहरूले नै सङ्क्रमण सारिरहेका छन् । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले साउनदेखि नै कोरोना भाइरस सङ्क्रमणको चौथो लहर सुरु भएको बताउँछन् । ‘सङ्क्रमणको पाँच प्रतिशतभन्दा माथि भयो भने अर्को लहर आएको भन्ने हुन्छ’, उनले भने, ‘नेपालमा अहिले बढेको सङ्क्रमणको अवस्था हेर्दा १५ प्रतिशतकै हाराहारीमा रहेको छ ।’ उनी अहिलेको सङ्क्रमणको तह माथिल्लो तह (पिक लेभल)मा पुगेपछि पुनः घट्ने बताउँछन् । भारतको खुला सिमाना र विदेशबाट आएका सङ्क्रमितले सङ्क्रमण सार्ने गरेको उनले बताए ।उनका अनुसार अहिले देखिएको ‘विएफाइव’ भेरियन्टले छिटो मानिसमा सारे पनि सङ्क्रमितलाई भने गम्भीर बनाउँदैन । उनले सङ्क्रमित बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड लागू गर्न र कोरोना भाइरसको चौथो बुष्टर लगाउन आग्रह गरे । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । यस्तै दोस्रो सङ्क्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो सङ्क्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी (लकडाउन) गरेको थियो । नेपालमा पहिलो लहर विसं २०७६ चैतदेखि २०७७ मङ्सिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सङ्क्रमणका दोस्रो लहर विसं २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म देखिएको थियो । मन्त्रालयले सम्भावित सङ्क्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई सङक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको छ । यस्तै मन्त्रालयले देशभरिका १७ अस्पताललााई सम्भावित जोखिमलाई ध्यानमा दिएर कोरोना भाइरसका बिरामीको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ । सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ । यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ । मृतक अधिकांश खोप नलगाएका कोरोना भाइरसको सङ्क्रमणबाट छ महिनासम्म कसैको पनि निधन भएको थिएन । तर पछिल्लो दिनमा भने दैनिक एक वा दुई जनाको सङ्क्रमणबाट निधन हुने गरेको छ । साउन १ गतेबाट सङ्क्रमणबाट मानिस मर्न थालेका हुन् । पछिल्ला समय कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाएकामध्ये ८० प्रतिशतले खोप नलगाएको पाइएको छ । महाशाखाका प्रमुख डा गेलालले सङ्क्रमणबाट निधन भएकामध्ये ८० प्रतिशतले खोप नलगाएको र २० प्रतिशतले पूर्ण मात्राको खोप नलगाएको जानकारी दिए । रासस
५७९ कम्पनीको नियमन गर्दै धितोपत्र बोर्ड, साना कम्पनी आउँदा अस्थीरता बढेको दावी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यवाहक उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माले बोर्डमा सूचीकरण भएका ५७९ कम्पनीको नियमन गरिरहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कम्पनीको संख्या अत्यधिक भएकाले नियमनमा समस्या हुने उनको भनाइ छ । तर, धितोपत्र सम्बन्धी कानुन समय सापेक्ष बनाउने बताउँदै उनले बोर्डलाई जफाबदेहिता सहितको स्वायत्त निकाय बनाउनुपर्नेमा जोड दिए । ‘बोर्डलाई जवाफदेहिताको स्वायत्त निकाय बनाउँछौं, नेपाल स्टक एक्स्चेञ्ज र सिडिएसको संरचना परिवर्तन गर्दै प्रतिस्पर्धी बनाउने तयारी भइरहेको छ,’ उनले भने । त्यस्तै, उनले दोश्रो बजारमा थोरै पुँजी भएका कम्पनी सूचीकृत हुँदा बजारको अस्थीरता बढेको समेत दावी गरे । साथै, बोर्डले पुँजी बजार विकासको लागि शैक्षिक संस्था संचालन गर्ने उनले जानकारी दिए ।