राष्ट्रिय सहकारी बैंकले बनायो ३ अर्बको तरलता व्यवस्थापन कोष
ललितपुर । सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंकले ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । बैंकको सञ्चालक समितिको साउन १९ गते बिहान सम्पन्न सञ्चालक समितिको वैठकले सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा बैंकका तर्फबाट सहयोग तथा समन्वय गर्नका लागि कोष स्थापना गर्ने निर्णय गरेको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । बैंकमा आवद्ध भएर कारोबार गरिरहेका र तरलता व्यवस्थापनका कारण समस्यामा परेका सहकारीहरुलाई तत्काल समन्वय गरी संकटबाट जोगाउनका लागि बैंकका सञ्चालक रामहरि बजगाईको संयोजकत्वमा बैकका ७ वटै प्रदेशका संयोजकहरु र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइ सदस्य रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यदल समेत गठन गरेको छ । सहकारीमा देखिएका समस्याहरु समाधानका लागि जुन प्रदेशमा समस्या आउछ, त्यो प्रदेशको संयोजक सदस्य रहने गरी गठित कार्यदलले सहकारीमा देखिने समस्याको समाधानका लागि तत्काल समन्वय गरिने अध्यक्ष उप्रेतीले जानकारी दिए । सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान गरी सहकारी संघ संस्थाहरुले काम गर्दै गर्दा आइपर्ने समस्या समाधानका लागि बैंकका तर्फबाट समन्वय गर्ने र आवश्यकताका आधारमा तत्काल सहयोग समेत गर्ने गरी कोष स्थापना गरिएको बैंकका प्रमुख कार्यकारी अधिृकत बद्रीकुमार गरागाईंले जानकारी दिए ।
ग्लोबल आइएमई बैंकले ३५ जना छात्रालाई कक्षा ७ देखि १२ सम्म नि:शुल्क पढाइदिने
काठमाडाैं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । बैंकको यस कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक (सरकारी) विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ । समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै आर्थिक रुपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ । मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
शुक्रबारको सेयर कारोबार हटाउँदै नेप्से
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले शुक्रबारको सेयर कारोबार हटाउने तयारी गरेको छ । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेप्सेका उपमहानिर्देशक निरञ्जन फुयालले सो बताएका हुन् । ‘दुई घण्टाको कारोबार औचित्य नदेखेपछि शुक्रबारको कारोबार हटाउने तयारी गरेको हो,’ फुँयालले भने । नेप्सेले परीक्षणको लागि भन्दै गत जेठ महिनादेखि शुक्रबार पनि कारोबार शुरु गरेको थियो । उक्त कारोबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा हुँदै आएको थियो । तर, सो दिनको कारोबार त्यति प्रभावकारी नभएको र हटाउनको लागि चौतर्फी दवाव आएकोले नेप्सेले हटाउने तयारी गरिरहेको हो । त्यस्तै, अन्य देशमा अर्थतन्त्रमा समस्या आयो भने स्टक मार्केट घट्ने गरेको छ तर नेपालमा त्यसको बिपरित हुने गरेको बताउँदै भुकम्प गएको बेला र कोरोना महामारी बेला नेप्से बढेको इतिहास रहेको जानकारी गराए । साथै, उनले पुँजीबजार विकासको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)को संरचना बदल्नु पर्ने बताए । ‘सरकारी कर्मचारीले नेप्से र खाद्य संस्थानलाई एउटै दृष्टिकोणबाट हेर्ने गरेको छ, त्यो सोच बदल्नु पर्छ, सेबोनको संरचना बदल्नु पर्छ, सिडियस एण्ड क्लियरिङ्गलाई खण्ड खण्ड गर्नुपर्छ,’ उनले भने । त्यस्तै, मार्जिन लेण्डिङ बैंकबाट नगरी ब्रोकरबाट गर्नुपर्ने उनको भनाई छ । ‘मार्जिन लेण्डिङ ब्रोकरबाट गर्नु पर्नेमा बैंकबाट गर्दा चार्ज लागेको हो, राष्ट्र बैंकले मार्जिन लेण्डिङ्गलाई ब्रोकर कम्पनीलाई दिनुपर्ने बैंकलाई दिँदा शुल्क बढी लागेको हो,’ फुँयालले भने । साथै, उनका अनुसार नेपाली पुँजीबजारमा भेन्चर क्यापिटल इक्विटी, कमोडिटी मार्केट र नयाँ स्टक मार्केट आवश्यक रहेको छ ।
मार्जिन लेण्डिङको भविष्य नदेखेपछि ७ ब्रोकर कम्पनीले लाइसेन्स नविकरण गरेनन् : अध्यक्ष मैनाली
काठमाडौं । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले ७ वटा ब्रोकर कम्पनीले लाइसेन्स नै नवीकरण नगरेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मार्जिन लेण्डिङको सम्भावना नदेखेपछि नवीकरण नगरेको बताएका हुन् । अन्य देशकोभन्दा नेपालमा ब्रोक्रेज सेवा सस्तो रहेको उनी बताउँछन् । हाल ५० वटा ब्रोकर कम्पनी संचालन रहेकोमा एउटा ब्रोकरले २६ हजारभन्दा बढीलाई सेवा दिने उनले बताए । यस्तै, उनले नेप्सेको भन्दा सेबोनको शुल्क धेरै भएको पनि बताए । ‘सेयर बिक्री गर्दा लगानीकर्ताको खातामा ट्रान्सर्फर गर्दा २५ रुपैयाँ मात्रै छ, फोन गरेर सेयर खरिद बिक्री गरेमा ५० रुपैया लिने गर्छन्,’ उनले भने । मैनालीले नेपालमा मात्रै उधारोमा सेयर कारोबार हुने र मेरो कम्पनीमा डीपी खोल भनेर भन्ने गरिएको बताए । त्यस्तै, सेबोनको नीति तथा कार्यक्रममा ब्रोक्ररको मुद्दा समावेश नभएको उनले गुनासो गरे । सेबोन आफ्नो नियामक भूमिकामा स्पष्ट नभए पुँजी बजारको विस्तार नहुने उनको भनाइ छ ।
नेपाल लाईफको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर साधारणमा परिणत भएको छ । बिहीबार मात्रै इन्स्योरेन्सको ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ६० र ४० प्रतिशत रहेको थियो ।
अर्थसचिव मरासिनी भए सरुवा, अब को आउलान् अर्थमन्त्रालय ?
काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी सरुवा भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको हो । बैंठकले मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ । अर्थमन्त्री जनारदन शर्मा र मरासिनीबीच विवाद बढेपछि उनको सुरुवा भएको हो । बजेट निर्माणमा मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेशको विषयमा ठूलो विरोध भएपछि अर्थमन्त्री शर्मा र मरासिनीको विवाद बढेको थियो । मरासिनीले शर्मा मन्त्रालयमा हुँदासम्म आफु काममा नफर्किने भन्दै विदामा बसेका थिए । जेठपछि मात्रै उनी तीन पटक विदामा बसिसकेका छन् । बजेट सार्वजनिक लगत्तै उनी लामो समय विदामा बसेर अमेरिका घुम्न गएका थिए । अर्थमन्त्रालय श्रोतको अनुसार अहिले अर्थसचिवका लागि राजस्व सचिव कृष्णहरि पुष्कर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल, योजना आयोगका सचिव केवल भण्डारीको नाम चर्चामा छ । अर्थमन्त्री शर्माले राजश्व सचिव पुस्करलाई नै अर्थसचिव बनाउन खोजेको पनि बुझिएको छ । शर्मा अर्थमन्त्रीमा नियुक्त हुँदा पनि पुस्करले नै स्वागत गरेका थिए । सम्बन्धित समाचार : ‘प्रिय पात्र’ का रूपमा इन्ट्री गरेका मरासिनी ‘धोकेवाज’ बनेर बाहिरिँदै
प्राइम लाइफ इन्स्योरेन्सको सीईओ बने निर्मल दाहाल, पाए समितिको स्वीकृति
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका निर्मल दाहालले बीमा समितिको स्वीकृति भएका छन् । समितिले उनलाई साउन १९ गते बिहीबार प्राइम लाइफको सीईओ पदको लागि स्वीकृति दिएको हो । कम्पनीको कामु सीईओको जिम्मेवारी सम्हालिरहेका दाहाललाई यसअघि नै कम्पनी सञ्चालक समितिले सीईओ पदमा नियुक्त गरिसकेको थियो । जसको स्वीकृतिको लागि बीमा समिति पठाइएको थियो । सोही अनुसार समितिले उनलाई स्वीकृति दिएको हो । कम्पनीको कामु सीईओको जिम्मेवारी पाउनुभन्दा तीन महिनाअघि दाहाल बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । कम्पनीले उनलाई साउन १ देखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी सुम्पेको थियो । असार मसान्तबाट इन्स्योरेन्सका निवर्तमान सीईओ मनोज कुमार भट्टराईको दोस्रो कार्यकाल सकिए लगत्तै उनले कामुको जिम्मेवारी पाएका हुन् । दाहाल यसअघि यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत थिए । जहाँ उनी ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर थिए । सक्षममा जोडिनु पूर्व उनी लक्ष्मी बैंकमा कार्यरत थिए । शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट बैकिङ करिअर शुरु गरेका थिए ।
नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम
काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । कारोबार खुलेदेखि ओरालो लागेको परिसूचक दिनभरकै न्यूनतम बिन्दुमा झरेको छ । बुधबारको तुलनामा परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.७७ प्रतिशतले घटेको हो । बुधबारको परिसूचक भने एकल अंकले घटेको थियो । त्यस्तै, अघिल्लो दिन ४ अर्ब माथिको सेयर कारोबार भएको बजारमा बिहीबार ३ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा २६ करोड रुपैयाँले कम हो । कारोबार घटेको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २५ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य भने घटेर ८०५ रुपैयाँमा झरेको छ । बजारमा १० करोडभन्दा माथिको सेयर कारोबार हुनेमा अन्य दुई कम्पनी रहेका छन् । हिमालयन डिष्टिलरी र अपि पावरको क्रमशः १३ करोड १७ लाख र १२ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । घटेको बजारमा पनि बलेफी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिनको तुलनामा कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६२.६० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, यूनाइटेड इदि मार्दी आरबी हाइड्रोपावरको भने ९.५२ प्रतिशतले सेयर मूल्य घटेको छ । बिहीबार प्रतिकित्ता ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बिहीबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।