समृद्धि फाइनान्सको जनशक्ति व्यवस्थापन ग्रोथ सेलरले गर्ने
काठमाडौं । समृद्धि फाइनान्स र ग्रोथ सेलरबीच जनशक्ति व्यवस्थापन सम्बन्धित सम्झौता भएको छ । यो सम्झौता पश्चात समृद्धि फाइनान्सको लागि आवश्यक जनशक्ति नियुक्तिका लागि ग्रोथ सेलरले सम्पूर्ण जनशक्ति नियुक्तिका प्रकृयामा सहयोग गर्नेछ । संस्थाको विभिन्न शाखामा आवस्यक जनशक्ती दक्ष अर्धदक्ष, सिकारु आवश्यकता हेरी नियुक्तिको लागि ग्रोथ सेलरले समन्वय गर्नेछ । समृद्धि फाईनान्सलाई आवश्यक जनशक्तिको नियुक्तिमा सहज पहुँच गराई संस्थाको प्रगतिमा ग्रोथ सेलरले महत्वपूर्ण भुमिका खेल्ने ग्रोथ सेलरका संस्थापक अध्यक्ष मोहन ओझाले बताए । त्यस्तै, समृद्धि फाईनान्सका मानव संसाधन विभागका प्रमुख रामहरि रिमालले उक्त सम्झौताबाट संस्थाले आगामी दिनमा अति आवश्यक अवस्थामा नयाँ जनशक्ति नियुक्ति गर्न सहज अवस्था सिर्जना हुने बताए । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।
झापाका कृषकलाई चार करोड अनुदान
बनियानी । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका कृषकलाई रु चार करोड अनुदान उपलब्ध गराएको छ । जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि सहकारी र कृषकलाई रु चार करोड दुई लाख नौ हजार अनुदान रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । प्रदेश सरकारमार्फत दुई करोड १३ लाख ९१ हजार आठ सय १०, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत एक करोड ६७ लाख ६९ हजार आठ सय ६० र सङ्घको सशर्ततर्फको २० लाख ४७ हजार तीन सय ३० जिल्लाका ती कृषि फार्म, कृषि सहकारी र कृषकलाई उपलब्ध गराइएको हो । कृषि ज्ञान केन्द्रले जिल्लामा सञ्चालन गरेको विभिन्न कार्यक्रमबाट तीन हजार तीन सय ९० कृषक परिवार लाभान्वित भएका छन् । प्रदेश सरकारमार्फत आएको कार्यक्रमबाट पाँच सय ६७ महिला र पाँच सय १३ पुरुष गरी एक हजार ८०, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आएको कार्यक्रमबाट एक सय ७८ महिला र एक सय ९७ पुरुष गरी तीन सय ७५, सङ्घ सशर्तबाट ५३ महिला र ५४ पुरुष गरी एक सय २७ तथा माटो तथा मल परीक्षण प्रयोगशालामार्फत एक हजार आठ सय आठ कृषक परिवार लाभान्वित भएका हुन् । लाभान्वित हुनेमा दलित एक सय १३ परिवार, जनजाति तीनसय ५५ र विपिन्न तीन सय ३८ परिवार रहेको कार्यालयले जनाएको छ । दुई लाख १७ हजार मेट्रिकटन खाद्यान्न बचत यता झापामा आव २०७८÷७९ मा दुई लाख १७ हजार चार सय ८६ मेट्रिक टन खाद्यान्न बचत भएको छ । जिल्लामा एक लाख ५९ हजार दुई सय २० हेक्टरमा धान, मकै, गहुँ, कोदो, फापरलगायतका अन्नबाली लगाएको थियो । त्यसबाट सात लाख २६ हजार एक सय १५ मेट्रिक टन खाद्यान्न उत्पादन भएको कार्यालयले जनाएको छ । खानयोग्य कुल उत्पादन चार लाख सात हजार तीन सय ५७ मेट्रिकटनमध्ये जिल्लामा वार्षिक खपत हुने एक लाख ८९ हजार आठ सय ७१ मेट्रिक टन कटौती गरी दुई लाख १७ हजार चार सय ८६ मेट्रिक टन खाद्यान्न बचत भएको कार्यालय प्रमुख विष्टले बताए । कार्यालयले माटो सुधारका लागि माटो नमूना विश्लेषण छ सय, माटो परीक्षण घुम्ती शिविर छ, माटो परीक्षण शिविर नौ, मलको नमूना विश्लेषण ३०, माटो व्यवस्थापनसम्बन्धी सचेनामूलक घुम्ती तालिम १० सञ्चालन गरेको छ । ती कार्यक्रमबाट एक हजार पाँच सय २८ कृषकको माटो सुधारको प्रयास गरिएको छ । जिल्लामा गरिएको नमूना माटो परीक्षणबाट माटोको अवस्था कमजोर रहेको पाइएको छ । सङ्कलित माटोको नमूना परीक्षण गर्दा ७८ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ८० प्रतिशतमा नाइट्रोजन कम, ५३ प्रतिशतमा फस्फोसर कम र ६५ प्रतिशतमा पोटास कम मात्रा रहेको पाइएको कार्यालयले जनाएको छ । रासस
राष्ट्र बैंकको कारवाहीमा परे दुई वाणिज्य बैंक, नगद जरिवाना तिर्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासमा एनसीसी र स्ट्याण्डर्ड चाटर्ड बैंकलाई कारवाही गरेको हो । दुबै बैंकले अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपात कायम नगरेको कारण राष्ट्र बैंकको कारवाहीमा परेका हुन् । सो अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५९७ रुपैयाँ र एनसीसी बैंकलाई ४९ हजार ८८१ रुपैयाँ बराबरको जरिवाना गरिएको राष्ट्र बैंकले जानकारी गराएको छ । गत आवमा पहिलो पटक यी दुई बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकले गत आवको तेश्रो त्रैमासमा कुनै पनि वाणिज्य बैंकलाई कारवाही गरेको थिएन ।
सात महिनामा ३ लाख विदेशी पर्यटक भित्रिए
काठमाडौं । सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बङ्गलादेशबाट एक हजार आठ सय ७४ पर्यटक भित्रिएका छन् । त्यस्तै चीनबाट एक हजार पाँच सय ९३ पर्यटक नेपाल आएका छन् । समग्रमा एसिया र अन्य मुलुकबाट चार हजार एक सय ९५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यसैगरी युरोपबाट नौ हजार एक सय २१, मध्यपूर्वलगायत मुलुकबाट तीन हजार सात सय ३५ र अमेरिकाबाट पाँच हजार दुई सय २८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । कुन महिनामा कति पर्यटक भित्रिए ? बोर्डका अनुसार जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार छ, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार छ सय आठ, जुनमा ४६ हजार नौ सय ५७ र जुलाईमा ४४ हजार चार सय ६२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । बोर्डले छिमेकी मुलुक भारत, बङ्गलादेशसहित एसिया, मध्यपूर्वी एसियाका स्रोतबजारमा प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले जुलाई महिना पर्यटनका लागि अफसिजन रहे पनि पर्यटक आगमन सकारात्मकरूपमा बढिरहेको भन्दै यसले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको सङ्केत गरेको बताए । उनले पर्यटक बढोत्तरीमा भारत, बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे । निर्देशक लामिछानेले पछिल्लो समय भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का तथा एसिया र युरोपियनलगायत मुलुकबाट पर्यटक आगमन बढेको जानकारी दिए । रासस
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । उनलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । यसअघि ट्विनअटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको; साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगी वित्तीय हानी पुर्याएको; सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएको, जसमा अध्यक्ष आफैंले लाभ लिएको; निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको; पदअनुसारको आचरण नदेखाएको लगायतका विषयमा उनलाई स्पष्टीकरण सोधिएको थियो । त्यसपछि उनीमाथि छानबिन गर्नका लागि समितिसमेत गठन गरिएको थियो । छानबिन समितिले अधिकारीलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको र सोही प्रस्ताव अनुसार आजको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरिएको बताइएको छ ।
मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने
काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । निर्वाचन आयोगले दिएको सुझावका आधारमा सरकारले निर्वाचनको मिति तोकेको जनाइएको छ । यसअघि बुधबार बसेको सत्तारुढ गठबन्धन बैठकले पनि आगामी मंशिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो ।
‘कलेज आइडिया हन्ट २०२२’ को लागि रजिष्ट्रेसन खुल्यो
काठमाडौं । आइडिया स्टुडियोले विगत ८ वर्षदेखि सञ्चालन गर्दै आएको ‘कलेज आइडिया हन्ट २०२२’ को लागि रजिष्ट्रेशनको शुरुवात भएको जनाएको छ । व्यवसायिक आइडिया भएका विद्यार्थीहरुबीचमा प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजकले सो कार्यक्रम आयोजना गरेको हो । स्टुडियोले बिहीबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गर्दै प्रतिस्पर्धामा सहभागी हुन चाहेका विद्यार्थीहरुलाई सहभागी हुन आग्रह गरेको छ । प्रतिस्पर्धामा सहभागी हुने मध्ये टप ३ जना विद्यार्थीहरुले प्रतिव्यक्ति १ लाख रुपैयाँ पुरस्कार जित्न सक्ने आयोजकले जनाएको छ । आइडिया स्टुडियोका सिइओ छिरिङ सेर्पाका अनुसार विद्यार्थीहरुमा रहेको आइडिया प्रतिभालाई उद्यममा बदल्नका लागि सो प्रतियोगिताको आयोजना गरिएको हो । ‘कलेज आइडिया हन्ट २०२२’ मा धेरै भन्दा धेरै विद्यार्थीहरुलाई सहभागी गराउने उद्देश्य रहेको शेर्पाले बताए । प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीहरुले आइडिया स्टुडियोको वेबसाइटमा गएर फर्म भरेर सबमिट गर्न सक्ने आयोजकले जनाएको छ । त्यस्तै इच्छुकहरुले आगामी भदौ १९ गतेसम्म फर्म भर्न सक्ने जनाइएको छ । ‘कलेज आइडिया हन्ट २०२२’ मा सरकारी तथा गैरसरकारी क्षेत्रका धेरै निकायहरुले साझेदारी गरेका छन् । नीति साभेदारमा राष्ट्रिय युवा परिषद, ज्ञान साझेदारमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट, बैंकिङ साझेदारमा प्रभु बैंक र एकेडेमिक इनोभेसन साझेदारमा काठमाडौं मोडेल कलेज लगायतका धेरै संस्थाहरु रहेका छन् । पत्रकार सम्मेलन कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, त्रिभुवन विश्वविद्यालयका सहायक निर्देशक डा.गंगाराम बिक, विश्व बन्यजन्तु कोषको तर्फबाट डा. घनश्याम गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
गौतमश्री सहकारी समस्याग्रस्त घोषणा गर्न सिफारिस, घरजग्गा रोक्का, बचतकर्ताको पैसा के हुन्छ ?
काठमाडौं । कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणाका लागि सिफारिस भएको छ । सहकारी विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको हो । सहकारी ऐनको दफा १०४ (१) काे प्रावधान बमाेजिम विभागले समस्याग्रस्त घोषणा गर्नका लागि सिफारिस गरेका विज्ञप्तिमा उल्लेख छ । संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्टलगायत अन्य सञ्चालक तथा उच्चपदस्थ कर्मचारी पनि फरार छन् । संस्थाको साढे ५ अर्बभन्दा बढी रकम जोखिम छ । निक्षेप फिर्ता नपाएको भन्दै ११ सयभन्दा बढी सदस्यले विभागमा उजुरी दिएका छन् । विभागका अनुसार गौतम सहित सन्चालक तथा व्यवस्थापक कर्मचारीहरुलाई सोधपुछ गर्न विभागमा उपस्थित गराइदिन भनी लिखित रुपमा अनुरोध गरी पठाइएकोमा उक्त संस्थाका कुनैपनि संचालक तथा कर्मचारीहरुलाई हालसम्म पनि विभागको सम्पर्कमा नल्याईएको तथा संस्थाको अध्यक्ष, सन्चालक र कर्मचारीहरु कुनैपनि सम्पर्कमा नआएको बताएको छ । सहकारी संस्था, संस्थाका अध्यक्ष श्री राम बहादुर गौतम एवं निजको पत्नी निर्मला खत्री गौतमको नाममा नेपालभर रहेको घर/जग्गा यथासिघ्र रोक्का राखी सहयोग गरिदिन हुन भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई साउन १७ गते अनुरोध गरी पठाइएको पनि विज्ञप्तिमा उल्लेख छ । विभागका अनुसार १७ गतेसम्म १ अर्ब ७५ करोडभन्दा बढिको मागदावी आएको छ । विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले बचतकर्ताको बचत फिर्ताका लागि पहल भइरहेको बताएका छन् । गत मंगलबार मात्रै सो सहकारीका अध्यक्ष रामबहादुर गौतमले आफु विदेशमा रहेको र स्वदेश फर्केपछि सबै बचतकर्ताको पैसा तिर्ने विज्ञप्तिमार्फत् जनाएका थिए ।