काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
उनलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।
यसअघि ट्विनअटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको; साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगी वित्तीय हानी पुर्याएको; सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएको, जसमा अध्यक्ष आफैंले लाभ लिएको; निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको; पदअनुसारको आचरण नदेखाएको लगायतका विषयमा उनलाई स्पष्टीकरण सोधिएको थियो । त्यसपछि उनीमाथि छानबिन गर्नका लागि समितिसमेत गठन गरिएको थियो ।
छानबिन समितिले अधिकारीलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको र सोही प्रस्ताव अनुसार आजको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरिएको बताइएको छ ।