विकासन्युज

अध्यक्ष बन्ने इच्छा छ की छैन भनेर सरकारले सोधेको थियो : हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले आफूलाई सरकारले अध्यक्ष बन्ने इच्छा छ की छैन भनेर सोधेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै हमालले बोर्डमा अध्यक्ष पद रिक्त रहेका बेलामा आफूलाई अध्यक्ष बन्ने इच्छा छ की छैन भनेर सरकारले सोधेको बताएका हुन् ।  ‘मैले बुझेको कुरा के हो भने, फर्म डे वान, म आएको दिनदेखि र आउनुभन्दा अगाडि जतिखेर मलाई नेपाल सरकारले यो विषय (सेबोन) मा इच्छा छ की छैन्, आउनु पर्याे भन्दाखेरि मैले यो विषयमा गहन अध्ययन गर्न थाले,’ उनले भने ।  यो भनाईले धितोपत्र बोर्डको अध्यक्षमा प्रक्रिया चलाएपनि उनको नियुक्ति पक्कापक्की नै रहेको बुझिन्छ । धितोपत्र बोर्ड नेतृत्व विहीन भएका बेला सरकारले हमाललाई अध्यक्ष बन्न प्रस्ताव गरेको उनको भनाइले स्पष्ट पारेको छ । अध्यक्ष छनोटका लागि सिफारिस समिति बनाएपनि सबै फिक्स्ड रहेको उनको यस भनाइबाट बुझ्न सकिन्छ ।  आफू सेबोनको अध्यक्ष भएर ५ महिना अघि आउँदा ५६ जना कर्मचारीले काम गरिरहेकामा १५ जना कर्मचारी थपेर ७१ जना पुर्याएको बताए । ‘सेबोनले ५७९ संस्थाको नियमन गर्छ, म आउँदा ५ महिनाअघि ५६ जना थियो भने अहिले १५ जना थपेर ७१ जना पुगेका छन्,’ उनले भने । लगानीकर्ताको हितलाई सोचेर मात्रै हरेक विधिमा काम गरिरहेकाे उनको दाबी छ । ‘लगानीकर्ताको हकहित संरक्षण र सुरक्षा प्रदान भयो की भएन भयो की भएन ? त्यहाँबाट सुरु गर्यो भने हामी सेभ ठाउँमा पुग्छौ भन्ने मलाई पूर्ण विश्वास छ,’ अध्यक्ष हमालले भने ।  २०७९ साल भित्र कमोडिटी एक्सचेन्ज सञ्चालनमा आउने दाबी अध्यक्ष हमालले गरेका छन् । सरकारले पनि सहयोग गर्नेमा आफू ढुक्क रहेको उनको भनाइ छ । एसएमई प्ल्याटफर्म २ महिनाभित्र प्राविधिक कठिनाइ समाधान गर्ने उनले बताए । बजारमा सन्तुलन कायम गर्न वास्तविक क्षेत्रका कम्पनीलाई भित्र्याउन आफूले काम गरिरहेको उनको भनाइ छ । बुक बिल्डिङ विधिमार्फत रियल सेक्टरका कम्पनी पूँजी बजारमा ल्याउने उनले बताए ।  क्यापिटल मार्केट इन्स्टिच्युट यही वर्ष स्थापना गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए । ‘म आएको दिनदेखि भनिरहेको छु, म मेरै कार्यकालमा क्यापिटल मार्केट इन्स्टिच्युट यहि २०७९ भित्र नै खोल्ने मेरो सपना छ, त्यो रियल सपना हो,’ उनले भने । 

‘गलत गर्ने सहकारीलाई तत्काल कारवाही हुन्छ, घर जग्गामा लगानी नगर्नु’

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले गलत गर्ने सहकारीलाई तत्काल कारवाही हुने बताएका छन् । बिहीबार स्मार्ट च्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा काठमाडौंमा आयोजित सहकारीका लागि कोप कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘गलत गर्नेलाई र सदस्यको पैसा उठाएर अनुत्पादक क्षेत्रमा लगानी गर्नेलाई तत्काल कारवाही गर्छु,’ उनले भने । पछिल्लो समय एकपछि अर्को सहकारीमा समस्या देखिएको भन्दै उनले सो बताएका हुन् । साथै, सहकारीले सदस्यको हितमा काम गर्नुपर्ने र प्रविधिमैत्री हुनुपर्ने उनको भनाई छ ।

बैंकहरु पौठाजोरी खेल्नमा व्यस्त भए : पूर्वगभर्नर क्षेत्री

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बैंकहरु पौठाजोरी खेल्नमा व्यस्त भएको बताएका छन् । बिहीबार स्मार्ट च्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा काठमाडौंमा आयोजित सहकारीका लागि कोप कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । सामाजिक संस्थागत उत्तरदायित्वमा फोकस हुनुपर्ने बैंकहरु अहिले नाफामा केन्द्रीत भएका उनको भनाई छ । ‘बैंकहरु नाफामा केन्द्रीत भए, सामाजिक संस्थागत उत्तरदायित्वमा फोकस हुनु पर्ने, प्रविधिमा ध्यान दिनु पर्ने,’ उनले भने । त्यस्तै, राष्ट्रिय सहकारी बैंकले प्रविधिमा प्राथमिकता दिए सर्वसाधारणलाई प्रविधि बुझ्न र प्रयोग गर्न टेवा पुग्ने उनको भनाई छ ।

सहकारीको ब्याज कम हुनुपर्छ, जोखिम बढेकोप्रति चिन्तित छु : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमी व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले सहकारीको ब्याज कम हुनुपर्ने बताएकी छिन् । बिहीबार स्मार्ट च्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा काठमाडौंमा आयोजित सहकारीका लागि कोप कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो बताएकी हुन् । ‘सहकारीमा सबैभन्दा कम ब्याज हुनु पर्ने हो, तर यही क्षेत्रमा बढी ब्याज छ,’ उनले भनिन् । साथै, सहकारी क्षेत्र जोखिमयुक्त भएकोमा आफू चिन्तित रहेको समेत बताइन् । ‘पछिल्लो समय सहकारीमा देखिएको सहकारीको गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको छ, अब सबै बदलिन आवश्यक छ,’ मन्त्री श्रेष्ठले भनिन् । त्यस्तै, सहकारी क्षेत्रको विकासमा सबै लाग्नु पर्ने उनको भनाई छ ।

ग्लोबल आइएमई र बिओकेबीच मंसिरभित्र एकीकृत कारोबार हुन्छ : सीईओ बज्राचार्य

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आगामी मंसिरभित्र ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके) बीच एकीकृत कारोबार हुने बताएका छन् । बिहीबार स्मार्ट च्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा काठमाडौंमा आयोजित सहकारीका लागि कोप कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘मंसिरसम्म बैंक अफ काठमाण्डूसँग एकीकृत कारोबार हुन्छ,’ उनले भने । गत असार २ गते मात्रै दुई बैंकबीच एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । सम्झौता अनुसार दुई बैंक बराबरी हैसियतमा मर्जरमा गएका हुन् । साथै, उनले अन्य सूचकमा जस्तै डिजिटल बैंकिङमा पनि ग्लोबल आइएमई बैंक अगाडि रहेको दावी गरे । ‘ग्लोबल आइएमई बैंक नेपालको इतिहासमै सबैभन्दा ठूलो बैंक हो, डिजिटल बैंकिङमा पनि ग्लोबल बैंक अगाडि नै छ, दैनिक एक लाखभन्दा बढी ट्राजेक्सन कार्डबाट हुन्छ,’ उनले भने । साथै, उनले ग्लोबल बैंक सहकारी क्षेत्रमा पनि सहयोग गर्न तयार रहेको बताए ।

मालपोतका कर्मचारीले घुस बिना काम गर्दैनन् – अध्यक्ष वाग्ले

विगत साढे तीन दशकदेखि घरजग्गा व्यवसायमा लागेका सक्रिय व्यवसायी हुन् इच्छाबहादुर वाग्ले । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष समेत रहेका वाग्लेले घरजग्गा व्यवसायमात्रै होइन शिक्षा, पर्यटन लगायत क्षेत्रमा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् घरजग्गा धितो कर्जामा कडाइ गरेपछि घरजग्गा व्यवसायीहरू असन्तुष्ट बनेका छन् । वर्तमान घरजग्गा व्यवसाय, सरकारले गरेको नीति र वाग्लेको व्यक्तिगत व्यवसायिक जीवनको विषयमा विकासन्युजका सन्तोष रोकाया र राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

स्वास्थ्य बीमाको दायरालाई १० लाख पुर्याउन गगन थापाको सुझाव

काठमाडौं । स्वास्थ्य बीमाको दायरालाई १० लाख पुर्याउन नेपाली कांग्रेशका नेता तथा सांसद गगन थापाले सुझाव दिएका छन् । बिहीबार स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङलाई भेटेर नेता थापाले सो सुझाव दिएको बताएका छन् । साथै नेता थापाले मन्त्री खापुङलाई सेवा सहज र गुणस्तरीय बनाउन र कर्मचारी व्यवस्थापनको लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयन गर्न सुझाव दिएका छन् । मन्त्री खापुङले आफुले राखेको सुझाव कार्यान्वयन गर्ने कुरामा सकरात्मक पहल गर्ने आफुलाई विश्वास लागेको बताएका छन् ।

हुलास स्टिल, परिसंघ र उद्योग प्रवर्द्धन केन्द्रबीच सम्झौता : तालिमपछि युवालाई रोजगारी

काठमाडाैं । नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उधोग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षिय सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीहरूलाई रोजगारीमुलक तालिम दिने प्रतिवद्धता सहित त्रिपक्षिय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा उधोग प्रवर्द्धन केन्द्रका तर्फबाट उप–सचिव ऋृषिराम पंगेनी, नेपाल उद्योग परिसंघको तर्फबाट महानिर्देशक दिपक राज जोशी र हुलास स्टिलको तर्फबाट ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रबि केसीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार ३ महिनाको तालिम पश्चात् हुलास स्टिलले २ वर्षको लागि रोजगारमुलक प्रशिक्षण कार्यक्रममा छनौटमा परेका व्यक्तिलाई निति नियम अनुसार रोजगारीको अवसर प्रदान गर्नेछ । त्यस्तै, प्रशिक्षण तालिम अवधिको न्यन्तम खर्च भने नेपाल सरकारले व्यहोर्नेछ । कार्यस्थलमा आधारित रोजगारमुलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि,२०७९ मा रहेको प्रावधान अनुसार यो सम्झौता गरिएको हो ।