मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेकाले अबको दुई÷तीन दिन मनसुन कमजोर भई वर्षा कम हुने विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १ र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २६ दशमलव छ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव चार डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३ दशमलव आठ डिग्री सेल्सियस छ ।
गोदावरी नगपालिकामा रेबिजको भ्याक्सिन निःशुल्क
ललितपुर । गोदावरी नगपालिकाका केही स्वास्थ्य संस्थाले निःशुल्करूपमा नागरिकलाई रेबिजको भ्याक्सिन (सुई) लगाउने भएको छ । कुनै पनि व्यक्तिलाई कुकुरले टोेकेमा सो रोगबाट जोगाउन नगरपालिकाले उक्त खोपको व्यवस्था गरेको हो । गोदावरी–५ स्थित लेले प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ११ को बज्रवाराही चापागाउँ अस्पताल र वडा नं १४ को बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रबाट उक्त खोप दिइने गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर थापाले जानकारी दिए । उनले भने, ‘नगरवासीको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर हामीले खोपको व्यवस्था गरेका हाैँ ।’ सो खोप गोदावरीका मात्र नभइ अन्य पालिकाका नागरिकलाई समेत निःशुल्क लगाइने थापाले बताए । स्वास्थ्य सेवा विभागको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको पहलमा ललितपुरका ६ पालिकामध्ये गोदावरीमा सो खोपको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए । उनले भने, ‘गोदावरीमा रेबिजबाट कोही पनि सङ्क्रमित नहुन् भनी भ्याक्सिनको व्यवस्था गरेका हाैँ ।’ यसअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात् पाटन अस्पतालमा मात्र उक्त खोपको व्यवस्था थियो । कुकुरले टोकेमा रेबिजको भ्याक्सिन सुरुको दिनमा दुई मात्रा, लगाएको तीन दिनमा दुई मात्रा र साताँै दिनमा दुई मात्रा लगाउनुपर्ने हुन्छ । रासस
बैंकका पूर्व सीईओलाई कर्जा तिर्न नबिलको ताकेता, सफल बैंकर्स व्यवसायमा असफल
काठमाडौं । बैंकर्सको रुपमा सफल व्यक्ति अरु व्यवसायमा असफल हुन सक्छन् । यस्ता उदाहरणहरु बेलाबखत प्रकट भइरहेको हुन्छ । नबिल बैंकले शुक्रबार प्रकाशित गरेको ‘ऋण कर्जा चुक्ता भुक्तान गर्ने ३५ दिने सूचना’मा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतको नाम पनि छ । नबिलले अमरसिद्धि ह्याच प्रा.लि.को नाममा ३५ दिने सूचना जारी गरेको छ । त्यसका सञ्चालक र जमानतकर्तामा कृष्णकुमार भट्टराई, प्रयागराज काफ्ले, राजेन्द्र कुमार श्रेष्ठ र चेतना घिमिरे छन् । घिमिरे भ्याली काेल्ड स्टाेरका सञ्चालक कृष्ण प्रसाद घिमिरेकी छाेरी हुन् । अमरसिद्धि ह्याचले कुखुराकाे दाना उत्पादन गर्दै अाएकाे छ । त्यसमध्ये भट्टराई बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । उनी नेपाल राष्ट्र बैंकले समस्याग्रत घोषणा गरेपछि गोर्खा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका भट्टराईले धेरै वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा काम गरेका थिए । त्यतिबेला उनलाई धेरैले राम्रो बैंकर्सको रुपमा नाम लिन्थे । त्यसअघि मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएका, नेपाल विकास बैंकर्स संघको अध्यक्ष, प्रदेश सांसद हुँदै सूदुरपश्चिम प्रदेशको अर्थमन्त्री भएको झपट बोहारालाई पनि एक बैंकले कर्जा तिर्न ३५ दिने सूचना जारी गरेको थियो । त्यसअघि राष्ट्र बैंकका पूर्व गभर्नर तथा नविल बैंकका पूर्व अध्यक्ष सत्येन्द्रप्यारा श्रेष्ठ पनि कर्जा तिर्न नसकेर कालोसूचिमा परेका थिए । कर्जा तिर्न बैंकले ३५ दिने सूचना प्रकाशित गर्नु ऋण आर्थिक संकटमा परेको अवस्था हो भने कालोसूचिमा परेपछि बैंकबाट कर्जा लिन, सार्वजनिक पद धारण गर्न पाइदैन । कतिपय अवस्थामा सार्वजनिक सेवा लिन पनि निषेध गरिएको हुन्छ ।
आजबाट मतदाता नामावली संकलन नहुने
काठमाडौं । आजबाट आगामी निर्वाचनका लागि मतदाता नामावली संकलन नहुने भएको छ । निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन नगर्ने जनाएको हो । गत असार १ गतेबाट आगामी प्रदेश र संघलाई लक्षित गरेर आयोगले मतदाता नामावली संकलन थालेको थियो । मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रवारदेखि रोकिएको छ । यसअघि अनलाइन प्रविधिमार्फत् मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा शनिवारसम्म काम हुने जनाएको छ ।
तीन दिनपछि खुल्यो बेनी–जोमसोम सडक
गलेश्वर । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो । अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । बीच बाटोमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिराले काभ्रेभिरमा तीन मिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभिरमा करिब ५० मिटर सडक भासिएको थियो । मौसममा सामान्य सुधार आएपछि बुधबारदेखि सडक मर्मतको काम थालिएको छ । सडक स्तरोन्नतिमा परिचालन गरिएको निर्माण कन्स्ट्रक्सनका उपकरण र जनशक्ति परिचालन गरेर बेनी–जोमसोम सीधा यातायात सञ्चालनमा ल्याइएको सुपरभाइजर शेरचनले बताए । काभ्रेभिरमा सडक अवरुद्ध हुँदा पैदलयात्री पैरोथाप्लाको पदमार्ग हुँदै घुमाउरो बाटोबाट यात्रा गर्न बाध्य थिए । वर्षाका कारण खोलामा आएको बाढीले म्याग्दीको बेगखोलामा समेत अवरुद्ध भएको सडकलाई खुलाइएको छ । वर्षात्को समयमा गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिराले सडक अवरुद्ध हुने गरेको छ । बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिराको उच्च जोखिम छ । म्याग्दी–काभेभिर सडकको सिमानाको बाँदरजुँगे भिर आसपासमा छिनछिनमा खस्ने पहिराले यात्रुले जोखिममा पर्ने गरेका छन् । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत विस्फोटक पदार्थको प्रयोगका कारण पहिराको जोखिम अत्यधिक छ । रासस
काठमाडौं विश्वविद्यालयमा ‘मास्टर्स इन मिडिया स्टडिज’ को अध्ययन सुरु, ४ लाख शुल्क लाग्ने
काठमाडौं । काठमाडौं विश्वविद्यालयले स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ । विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षिकसत्रदेखि सञ्चार उद्यमशीलता, व्यवस्थापन र विशिष्टताका आयामहरू अध्यापनका लागि स्नातकोत्तरको भर्ना आह्वान गरिएकोे विभागका प्रमुख डा सुधाम्शु दाहालले जानकारी दिए । एक शैक्षिकसत्रमा २० विद्यार्थीसम्म रहने यो तहमा एसियाको मौलिक परम्परा, संस्कृति, चलचित्र र प्रविधिलाई आधारशीला मानेर सञ्चारमाध्यमका विभिन्न आयामको अध्ययन हुनेछ । विश्वविद्यालयका सहप्राध्यापक डा निर्मलमणि अधिकारीले उक्त तहमा एक चौथाइ अनुसन्धानसहित प्राविधिक सीप र सैद्धान्तिक ज्ञानको समिश्रण हुने र उत्पादित जनशक्ति अन्तार्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र रोजगारमूलक हुने बताए । सो तहमा अध्ययनका लागि चार लाखसम्म शुल्क लाग्ने र कुल विद्यार्थीको २० प्रतिशतसम्म छात्रवृत्ति दिइने दाहालले बताए ।
ठमेलभित्रको अव्यवस्थित तार हटाइने
काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ । ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो । परिषद्का अध्यक्ष भविश्वर शर्माले राजधानीको प्रमुख पर्यटकीय केन्द्रलाई व्यवस्थित र सुन्दर बनाउनका लागि ठमेलभित्र देखिएका समस्या समाधानका लागि परिषद्ले काम गर्दै आएको जानकारी दिए । उक्त बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका अनावश्यक तार हटाई व्यवस्थित गर्ने सम्बन्धमा सात सदस्यीय समितिसमेत गठन गरेको छ । समितिमा परिषद्को तर्फबाट उपाध्यक्ष सहदेव धमला, केवल टिभीका तर्फबाट सुधीर पराजुली, आइस्पानका तर्फबाट सुवास खड्का, नेपाल टेलिकमको तर्फबाट सरिता महर्जन र सुनिल कर्ण, नेपाल विद्युत् प्राधिकरणको तर्फबाट दीपेन्द्र बुढाथोकी र एनसेलको तर्फबाट विनायक बुढाथोकी रहेका छन् । यस्तै ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र देखिएका ढलको समस्या, पार्किङको समस्या, सडकपेटीमा बसेर माग्ने व्यक्तिको समस्यालगायतका समस्या समाधानका लागि काम गर्दै आएको छ ।
५.२१ अर्ब नाफा कमाउँदै राष्ट्रिय वाणिज्य बैंक नम्बर वान बन्यो, निजीलाई टक्कर दिने बैंकका अन्य सूचक कस्ता ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३७.३८ प्रतिशत अर्थात १ अर्ब ४१ करोड ८७ लाख ७० हजार रुपैयाँ बढेको छ । अघिल्लो वर्ष ३ अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बैंकले ५ अर्ब २१ करोड ४२ लाख ४७ हजार रुपैयाँ खुद नाफा आजर्न गरेको हो । निजी क्षेत्रका वाणिज्य बैंकलाई टक्कर दिँदै राष्ट्रिय वाणिज्य बैंक धेरै नाफा आर्जन गर्नेमा एक नम्बर बनेको हो । यसअघि नै वित्तीय विवरण सार्वजनिक गरेको ग्लोबल आइएमई बैंकले नाफा ५ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । जुन राष्ट्रिय वाणिज्य बैंकको तुलनामा थोरै कम हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढपछि नाफा बढेको हो । पछिल्लो समय व्यवस्थापन टिममा अब्बल ब्यक्तिको प्रवेशसँगै बैंले ठूलो प्रगति गरेको हो । गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशत बढेर ९ अर्ब ६६ करोड ९२ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २४ करोड ३९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारसम्ममा बैंकको खुद फि तथा कमिसन आम्दानी ६.८८ प्रतिशत घटेर ६७ करोड २ लाख ५९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत बढेर ११ अर्ब २७ करोड ७९ लाख ८८ हजार रुपैयाँ, सञ्चालन मुनाफा ३७.६७ प्रतिशत बढेर ७ अर्ब १ करोड ८४ लाख ९६ हजार रुपैयाँ, र वितरणयोग्य नाफा ३२.९५ प्रतिशत घटेर ३ अर्ब ३ करोड २३ लाख ७३ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४६.६९ प्रतिशत बढेर १४ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ, जगेडा कोष ०.२९ प्रतिशत बढेर १८ अर्ब ५४ करोड २९ लाख १८ हजार रुपैयाँ, निक्षेप १.६९ प्रतिशत घटेर २ खर्ब ५९ अर्ब ३८ करोड ३२ लाख ६७ हजार रुपैयाँ र कर्जा १९.२२ प्रतिशत बढेर २ खर्ब १२ अर्ब ४ करोड ९५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा सिमित भएको छ । अघिल्लो वर्ष ३७.२७ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । नाफामा एनएमबि, प्राइम र सिद्धार्थ बैंकबीच टक्कर, करोडबाट अर्ब क्लबमा नेपाल एसबिआई