हिमालयन हाइड्रोपावरको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
काठमाडाैं । हिमालयन हाइड्रोपावरले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीले शुक्रबार क्यपिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हाे । सम्झौतापत्रमा हाइड्रोपावर कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिषेक के.सी. र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकामा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७७ साल असाेज १२ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको थियाे । उत्पादित विद्युतशक्ति राष्ट्रिय प्रसारण लाईनमा जोडिइसकेको यस कम्पनीको अधिकृत पुँजी १९८ करोड तथा जारी पुँजी १०९.५० करोड रहेको छ । कम्पनीले सर्वसाधारण समुहतर्फ छुट्याइएको २०.५५ प्रतिशत अर्थात २२.५० करोड बराबरको सेयरमध्ये आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ जिल्लाका स्थानिय बासिन्दाहरुको लागि ८.२२ प्रतिशत अर्थात ९ करोड र सर्वसाधारणको लागि १२.३३ प्रतिशत अर्थात १३.५० करोड बराबरको सेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ ।
कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयद्वारा एक वर्षमा ८२१ योजना सम्पन्न
जाजरकोट । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजना सम्पन्न गरेको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक भएको हो । दुई हजार ७२५ योजनामध्ये ८२१ योजना सम्पन्न गरिएको मन्त्रालयका निमित्त सचिव गोपाल शर्माले जानकारी दिए । खानेपानीतर्फका १४७ वटा योजना बहुवर्षीय ठेक्कामार्फत काम भइरहेको, ७४ क्रमागत योजना यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्नका लागि काम भइरहेका र त्रिहत्तर नयाँ योजना यो वर्षमा कार्यान्वयन हुने क्रममा रहेका रहेका छन् । त्यस्तै चार योजना समपूरक रहेका छन् । सिँचाइतर्फ बहुवर्षीय १२, क्रमागत २७३ र नयाँ ५५ योजना यो वर्ष सञ्चालनमा रहेका छन् । जनता सिँचाइतर्फका २५ योजना र सिँचाइको संस्थागत विकासमा १० योजना रहेका छन् । एक सय २९ योजनामध्ये क्रमागत ५३ योजना अघिल्लो आवमा सम्पन्न भइसकेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । त्यस्तै तटबन्ध तथा पहिरो व्यवस्थापनतर्फ १० जिल्लामा बहुवर्षीय दुई वटा योजनाको काम भइरहेको छ । त्यस्तै ६७ योजना क्रमागत रहेकामा यो वर्ष अधिकांश सम्पन्न हुने अवस्थामा रहेको उनको भनाइ थियो । चालु आवमा २७ योजना नयाँमध्ये समपूरकको एक योजना रहेको छ । बहुवर्षीय तटबन्धतर्फ दुई, सिँचाइतर्फ १२, खानेपानी आठ गरी जम्मा १२ वटा रहेका छन् । त्यस्तै क्रमागत खानेपानीतर्फ आठ योजना छन् । एक सय ५५ नयाँ योजनाको यो आवमा काम हुने भएको छ । अघिल्लो वर्षमा छुट्याइएको बजेटबाट ७४ दशमलव ८३ प्रतिशत विकासको काम भएको मन्त्री सिंहले जानकारी दिनुभयो । सुर्खेतमा ४०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । दैलेखमा ३००, जुम्लामा २१७, कालीकोट १६५, सल्यानमा ३७०, रुकुममा २३०, जाजरकोटमा ११३, हुम्लामा १४०, डोल्पामा १४७, र मुगुमा १२० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै नदी नियन्त्रण कार्यबाट उकास भएको जग्गा १३६ हेक्टर रहेको छ । सुर्खेतमा २२, दैलेखमा पाँच, जुम्लामा सात, कालिकोटमा चार, सल्यानमा ४०, रुकुममा १७, जाजरकोटमा १९, हुम्लामा छ, डोल्पामा सात र मुगुमा नौ हेक्टर क्षेत्रको जग्गा उकास भएको छ । त्यसैगरी ५४ हजार ९१७ जनसङ्ख्यले अघिल्लो आवमा पानी पिउन पाएको तथ्याङ्क सार्वजनिक भएको छ । त्यस्तै १२ करोड रकम बेरुजु रहेको जानकारी गराइएको छ । असुल गर्नुपर्ने एक करोड ६८ लाख ७८ हजार, नियमिततर्फको रु नौ करोड ८९ लाख २६ हजार र पेश्कीमध्ये एक करोड ३२ लाख ५५ हजार रहेको छ । सबैभन्दा बढी असुल गर्नुपर्ने बेरुजु मुगु, हुम्ला र सुर्खेतको रहेको छ । सल्यान र दैलेखमा असुल गर्नुपर्ने बेरुजु रकम नै नभएको पाइएको छ । पेश्की रकम लिएर फछ्र्योट नगर्नेमा कालिकोट रहेको छ । रासस
कर्मचारीलाई मर्जरको त्रास, सेवा सुविधा र पद टुङ्ग्याएर मात्रै सम्झौता गर्न माग
काठमाडौं । पछिल्लो समय एकपछि अर्को बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुबीच मर्जर सम्झौता भएपछि कर्मचारीहरु चिन्तामा परेका छन् । मर्जरका नाममा कर्मचारीको सेवा सुविधा कटौति हुने, नियमित रुपमा हुनुपर्ने काम कारवाहीहरुलाई मर्जरको बाहनामा अवरुद्ध गर्ने लगायतका काम भएकोले त्यस्तो बन्द गर्न अपील गरेका छन् । नेपाल बित्तीय संस्था कर्मचारी संघले शुक्रबार बीमा समितिलाई ध्यानआकर्षण पत्र बुझाउँदै विभिन्न मागहरु राखेको छ । संघले पछिल्लो समय धेरै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुबीच मर्जर सम्झौताका नाममा दुई संस्थाका कर्मचारीबीच विभेद बढेको बताउँदै त्यसको अन्त्य हुनु पर्ने धारणा राखेको छ । संघले समितिलाई ध्यानआकर्षण पत्र बुझाउँदै बीमकहरुको पुँजीगतआधारलाई मजबुत गरी प्रतिस्पर्धात्मकक्षमताको बिकास गर्ने र बीमा क्षेत्रमा रहेका अनेकन विसंगतिहरुलाई न्यूनिकरण गर्ने हेतुले नियामकनिकायले बीमा क्षेत्रलाई लक्षित गरी ल्याएको यो मर्जर तथाप्राप्तिको अवधारणा भएको बताउँदै संस्थामा कार्यरत ठूलो जनशक्तिको रोजगारी जोखिममा पर्ने देखिएको उल्लेख गरेको छ । ‘कम्पनीका अचल सम्पत्ति,लगानीकर्ताको लगानी तथा लामो समय सम्मका लागि भनी कम्पनीले बहन गरेको बीमितहरुको जोखिमयी सबैको लेखा जोखा भई रहँदा कम्पनीको बिकास र बिस्तारमा दिन रात नभनी परिचालित हुने चलायमान मानवीय सम्पत्ति अर्थात कर्मचारीहरुको व्यवस्थापनको सम्बन्धमा नियमनकारी निकाय, लगानीकर्ता र कम्पनीको उच्च व्यवस्थापनले यस बारेमा जारी गरेको निर्देशनले यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा लगायतका विषयहरुमा अझै पनि पूर्ण रुपमा सम्बोधन नगरेको प्रति संघको गम्भीर ध्यानाकषर्ण भएको छ,’ ध्यानआकर्षणपत्रमा उल्लेख छ । बीमा समितिले सैद्धान्तिक सहमतिकालागिगाभ्ने, गाभिने बीमकका कर्मचारीको ब्यवस्थापनको बिवरण पेश गर्नुपर्ने भन्ने उल्लेख भएको आधारमा सैद्धान्तिक सहमतिदिनु पूर्व ति संस्थाहरुको सम्पूर्ण पाटाहरुको बिस्तृत अध्ययन विश्लेषण गरिनुको साथै संस्थामा कार्यरत कर्मचारीहरुको पद, तह र सेवा सुविधाको समायोजन लगायत जनशक्ति ब्यवस्थापनका सम्पुर्ण खाका पेश गरे पश्चातमात्र सैद्धान्तिक स्वीकृतिदिई मर्जर तथा प्राप्ति प्रकृयालाई अगाडि बढाउन आग्रह गरेको छ । यस्ता छन् संघको माग १) संस्थाको कर्मचारी विनियम अनुसार नियमित रुपमा हुनुपर्ने काम कारवाहीहरुलाई मर्जरको बाहनामा अवरुद्ध गर्ने कार्य बन्दगरियोस् । २) संस्थामा रहेका रिक्त दरबन्दीका पदपूर्तिका कामहरुलाई नियमितता दिइयोस् । ३) श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेको कर्मचारीहरुको नियमित रुपमा हुनुपर्ने वृत्तिविकास र सामूहिक सौदाबाजीलाई मर्जरका नाममा अवरुद्ध गर्ने काम बन्द गरियोस् । ४) बीमा कम्पनीहरुको मर्जर तथा प्राप्तिको कार्यको समयावधिलाई निश्चित गरियोस् ।
अब इसेवाबाट सिधै होटल पनि बुक गर्न मिल्ने
काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिनेछ । ग्राहकहरुले इसेवा एप मार्फत नेपालका कुनैपनि क्षेत्रका होटल बुक गर्न सक्नेछन् । कम्पनीको अनुसार हाल इसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी छ । इसेवाले अनलाइन मार्फत होटल बुक गर्ने भएमा इसेवामा सम्पर्क गर्न समेत आग्रह गरेको छ । इसेवामा भएका होटलहरुको सूची इसेवा होटल डटकममा गएर हेर्न सकिनेछ । यस्तै, इसेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेकाे जनाएको छ । हाल यो सेवा एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भएपनि केहीदिनमा आइओएसमा सेमत उपलब्ध हुनेछ । इसेवाका होटल विभाग प्रमुख अनुज विष्टले डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पना अनुसार होटलको सेवा सुरुवात गरेको बताए । कोभिडपछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले केही हदसम्म टेवा पुर्याउँछ भन्ने विश्वास लिएको उनले बताए । ‘भविष्यमा अन्तराष्ट्रिय होटलसँग पनि सहकार्य गरि अन्तराष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरुलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउनेछौँ,’ उनले भने ।
अब सहकारी बन्द भएपनि सदस्यले एटिएमबाट पैसा झिक्न पाउने, कोप कार्ड जारी
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप कार्डको सेवा सुरु गरेकाे छ । राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीचको सहकार्यमा बिहीबार राष्ट्रिय सहकारी बैंकको २०औं स्थापना दिवसको अवसरमा टेक्नोलोजिजले कोप कार्डको सेवा सुरु गरेकाे हाे । यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन । सहकारीहरुले आफनो सदस्यहरुलाई कोप कार्डको वितरण गरे पछि सहकारीमा आवद्ध सदस्यहरुले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटीएम मार्फत रकम निकाल्न सक्नेछन भने पोसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन । यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ । नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोवाइल बैंकिङ मार्फत आफनो सेवा दिँदै आएको छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सुबिधा पु¥याउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भुमिका र कारोबार समेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाईएको कम्पनीले जनाएकाे छ ।
सिटिजन लाइफका संस्थापकले डेढ महिनाभित्र ५० प्रतिशत रकम जम्मा गर्नुपर्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीले आगामी डेढ महिनाभित्र थप ५० प्रतिशत रकम थप्नुपर्ने भएका छन् । इन्स्योरेन्सले शुक्रबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीलाई सेयर बापतको थप ५० प्रतिशत रकम थप्न आग्रह गरेको हो । साउन १२ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको हालको चुक्ता पुँजी बढाउनको लागि साविकको संस्थापक सेयरधनीलाई उक्त आग्रह गरेको हो । साउन २० गते सूचना जारी गर्दै कम्पनीले आगामी डेढ महिनाभित्र रकम जम्मा गर्न आग्रह गरेको हो । यससँगै कम्पनीका साविकका संस्थापक सेयरधनीहरुले असोज ७ गतेभित्रमा ५० प्रतिशत रकम विभिन्न बैंक खातामा जम्मा गर्नुपर्ने छ । जसको लागि कम्पनीले नेपाल इन्भेष्टमेन्ट, कुमारी, हिमालयन र सानिमा बैंकको खाता नम्बर समेत उपलब्ध गराएको छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ तोकिदिए पछि इन्स्योरेन्सले पुँजी वृद्धिको प्रकृया बढाएको हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । संस्थापक सेयरधनीले थप ५० प्रतिशत रकम थपेपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि कम्पनीले आईपीओ जारी गर्ने छ ।
विल्डिङ कन्सट्रक्सनबारे सिक्न ख्वप इन्जिनियरिङका विद्यार्थी नेपाल इको प्यानलमा
भक्तपुर । ख्वप इन्जिनियरिग कलेजमा आर्किटेक्चर इन्जिनियरिङको चौथौ वर्षका विद्यार्थीहरु नेपाल इको प्यानल पुगेका छन् । आफनो नियमित पढाईको विल्डिङ कन्सट्रक्सन विषयको व्यवहारिक कुरा सिक्न उनीहरु नेपाल इको प्यानल पुगेका हुन् । भक्तपुरको चाँंगुनारायण नगरपालिकाको झौखेलस्थित कारखानामा पुगेपछि विद्यार्थीहरुले क्लासमा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सिक्न पाएको बताए । विद्यार्थी आयुषा प्रजापतिले कारखानाको भ्रमणपछि आफनो बुझाइमा परिपक्वता आएको बताइन् । यस्तै, अर्का विद्यार्थी विपिन श्रेष्ठले कारखानाको भ्रमण पछि प्यानल कन्सट्रक्सन टेक्नोलोजीको विषयमा बुझने मौका मिलेको बताए ।
सभाले पारित गर्यो सूर्या लाइफ र ज्योति लाइफ मर्जरमा जाने प्रस्ताव
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र ज्योति लाइफ इन्सयोरेन्स मर्जरमा जाने प्रस्ताव पारित भएको छ । कम्पनीको बिहीबार बसेको साधरणसभा बैठकले सूर्या लाईफ र ज्योति लाइफ मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । सभाले सेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णयको अनुमोदन गर्ने निर्णय पनि गरेको छ । यस्तै सभाले कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरु नियूक्त गर्ने सिलसिलामा कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्याङ्कन कार्य गर्नका लागि मुल्याङ्कनकर्ता नियूक्त गर्ने तथा पारिश्रमिक तोक्ने गरी संचालक समितिबाट भएको निर्णय अनुमोदन गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा सम्पन्न भएको सभामा कम्पनीका शेयरधनी, संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।