विकासन्युज

कृषि औजार कारखानाको अध्ययन गर्न महावीर पुनलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय आविस्कार केन्दका अध्यक्ष महावीर पुनलाई कृषि औजार कारखाना संचालनका लागि अध्यन गर्न अनुरोध गरेका छन् । अर्थमन्त्री शर्माले सोमबार  सिंहदरबारमा भएको भेटवार्तामा पुनलाई यस्तो अनुरोध गरेका हुन् । अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई संचालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई संचालन गर्न आवश्यक रहेको बताए । ‘कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै संचालनमा ल्याउने गर्ने र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविस्कार केन्द्रको रुपमा पनि विकास गर्ने सरकारको लक्ष रहेको छु,’ उनले भने । केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरुको आविस्कार गर्ने पनि बताए । कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविस्कार केन्द्र समेत बनाउने अर्थ मन्त्रीको योजना प्रति आफ्नो समर्थन रहेको बताए । ‘कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाइ आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाइ आवश्यक पर्ने औजारहरु समेत निर्माण गर्न सकिन्छ,’ उनले भने । कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत संचालन हुने गरि आधुनिकीकरण समेत गर्न सकिने पुनले बताए । यस्तै, अर्थमन्त्री शर्माले राष्ट्रिय आविस्कार केन्द्रको अध्ययनको सुझाव अनुसार सरकारले छिट्टै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताए ।

बैंकका मुद्दति योजना : निक्षेपकर्ताको रकम २० वर्षपछि बैंकिङ कोषमा त जाँदैन ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तान्नका लागि विभिन्न बचत योजनाहरू सार्वजनिक गरिरहेका छन् । यी योजनाहरू न्यूनतम पाँच वर्षदेखि अधिकतम् २५ वर्षसम्मका छन् । बैंकिङ प्रणालीमा तरलताको अभाव भइरहेको बेला बैंक तथा वित्तीय संस्थाले यस्ता किसिमका योजनाहरू सार्वजनिक गरिरहेका हुन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले ग्राहकसँगै निक्षेप तान्नको लागि आकर्षक योजनाहरू ल्याएपनि दीर्घकालमा भने त्यसको प्रयोग र प्रतिफलको विषयमा भने धेरैले चासो देखाएका छन् । कुमारी बैंकले व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा १० गुणासम्मको प्रतिफल पाउन २१.६३ वर्ष र संस्थागत निक्षेपकर्ताले साँवा रकममा १० गुणा प्रतिफल पाउन २५.४० वर्ष अवधि तोकिएको योजना ल्याएको छ । उदाहरणका लागि कुमारी बैंकको यो योजना अन्तर्गत खाता खोलेर १० लाख रुपैयाँ निक्षेप राखेमा २१ वर्ष ६३ दिनमा सो खातावालले १ करोड रुपैयाँ पाउँछ । यस्तै, प्राइम कमर्सियल बैंकले ‘प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता’ अन्तर्गत २६ वर्ष ६ महिना ३ दिनमा जम्मा गरेको रकमको १० गुणा बढी रकम पाउने योजना ल्याएको छ । यो योजना पनि कुमारीको जस्तै हो । अर्थात, एक लाख रुपैयाँ जम्मा गर्ने खातावालले २६ वर्ष ६ महिना ३ दिनपछि १० लाख रुपैयाँ बैंकबाट फिर्ता पाउँछ । एनआईसी एशिया बैंकले पनि यस्तै किसिमको योजना सार्वजनिक गरेको छ । बैंकले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्मका मुद्दती खातामा रकम जम्मा गरे २ गुणादेखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउन सक्ने योजना ल्याएको छ । यी बैंकहरुसँगै अन्य बैंकहरुले पनि छोटोदेखि लामो अवधिसम्मका मुद्दति योजना सार्वजनिक गरेका छन् । २० वर्षभन्दा लामो समयसम्मका लागि मुद्दति योजना ल्याइरहँदा धेरैले यसको प्रतिफल, प्रयोग र नीति नियमसँग पनि बाँझिएको धारणा राखिरहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११२ को उपदफा १ ले बैंक वा वित्तीय संस्थाले १० वर्षदेखि चल्ती नभएको वा यस ऐन बमोजिम हक दाबी नपरेको निक्षेप खाताहरुको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैंकमा पठाउनु पर्ने व्यवस्था गरेको छ । सोही दफाको उपदफा ३ ले पनि २० वर्षसम्म लिन बुझ्न नआएमा उक्त रकम राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गरी बैंकिङ्ग विकासमा प्रयोग गर्नु पर्ने व्यवस्था छ । बैंकहरुले ल्याइरहेका यी मुद्दति निक्षेप योजनामा पनि खातावालाले पैसा राखेर २० वर्षसम्म पनि सो खातालाई प्रयोग नगरेमा सो रकम के हुने भन्ने चासो धेरैको छ । बैंकहरुले आकर्षक योजना ल्याएपनि यस विषयमा भने ग्राहकलाई स्पष्ट पार्न सकेका छैनन् । तर, कुमारी बैंकका चिफ मार्केटिङ नबिनमुनी बज्राचार्य भने बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को व्यवस्थाले मुद्दति निक्षेप योजनालाई कुनै प्रभाव नपार्ने बताउँछन् । उनले यो ऐन बचत खातामा मात्रै लागू हुने बताए । उनले तोकिएको अवधिमा राखिएको रकम बचत खातामा जम्मा गर्ने र त्यसपछि नियम अनुसार लिन नआएमा सो व्यवस्था आकर्षित हुने धारणा राखे । ‘यदि कुनै बैंकको २१ वर्षको अवधिसम्म खातामा रकम राखिन्छ भने त्यसको अवधि त्यही समयमा समाप्त हुन्छ, त्यसपछि त्यो रकम बचत खातामा जम्मा हुन्छ, बचत खातामा राखिएको १० वर्षसम्म सो रकम लिन कोही नआएमा बैंकिङ्ग कोषमा जम्मा हुन्छ,’ उनले भने । बज्राचार्यका अनुसार कुनै मुद्दति निक्षेपमा ५ वर्षसम्मका लागि रकम राखिएको छ भने ५ वर्षपछि बचत खातामा जान्छ । यदि १० वर्षसम्म सो रकम लिन आएन भने त्यो बेला सो दफा आकर्षित हुन्छ । किनभने ५ वर्षमा उसको सम्झौता सकिएको हुन्छ । ‘बैंकका खाताहरु २ किसिमका हुन्छन्, सम्म र सक्रिय (साधारण बचत खाता र फिक्स्ड खाता) । मुद्दती खातामा सम्झौता हुन्छ । तर, बचत खातामा सम्झौता भएको हुँदैन, बचत खाता सक्रिय भइरहनु पर्ने भएकाले यस्ता खाता लामो समयसम्म सक्रिय नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११२ मा भएको व्यवस्था लागू हुन्छ,’ उनले भने । यस्तै, राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरभिजन विभागका प्रमुख देव कुमार ढकाल यस्ता योजनाहरु कुनैपनि नियमसँग नबाझिने बताउँछन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा लिन नआएको अवस्थामा भनिएको र यस्ता योजनामा त्यो अवधिमा भुक्तानी गर्छु भनेको हुनाले सो ऐन मुद्दति योजनाहरुमा लागू नहुने उनको भनाइ छ । बैंकले ग्राहक सम्पर्कमा नआएको सूचना निकाल्दा पनि लिन नआएको अवस्थामा मात्रै सो व्यवस्थ लागू हुने उनको धारणा छ । बैंकहरुले मुद्दती निक्षेपमा अहिले पनि १० वर्षको ऋणपत्र स्वीकार गरिरहेको उनले बताए । ‘बैंकहरुको ऋणपत्र हेर्ने हो भने १० वर्षसम्मको अवधि हुन्छ, त्यसमा चल्ति नभएको भन्न मिल्दैन,उसले सृजना गरेको दायीत्व नै दीर्घकाल हो, यसलाई चल्ति नभएको भन्न मिल्दैन,’उनले भने । ‘बैंक र ग्राहकबीच सम्झौता भएको हुन्छ, जति नै वर्षको अवधि भएपनि त्यो दिनमा बैंकले मुद्दति निक्षेप फिर्ता दिन्छ, बैंकले समय सकिएको अवस्थामा सूचना गरेर पुन नवीकरण गर्न आउनु भन्छ, नवीकरण गर्याे भने पुन निक्षेपमा जान्छ होइन भने बचत खातामा जम्मा हुन्छ, यस्ता खातामा जहिले पनि दाबी पर्छ,’ उनले भने । सामान्य बचत, चल्ती खाता नियममित चल्ने खाता भएकाले लामो समयसम्म सक्रिय नभएमा सो व्यवस्था लागू हुने उनको भनाइ छ । ‘सामान्य बचत, चल्ती खाता नियममित चल्ने खाता हुन्, लामो समयसम्म सक्रिय नभएमा बैंकले लिनका लागि बोलाउँछ, बोलाउँदा पनि लिन नआएमा यो व्यवस्था लागू हुन्छ, लामो समयसम्म नआएमा बैंकिङ्ग कोषमा जम्मा हुन्छ,’ उनले भने, ‘यदि कुनै बैंकको योजनामा रकम राखेर एकै पटक २५ वर्षपछि लिन्छु भनेर जाँदा त्यो रकम लिन पाउँछन्, याृजना नै त्यहि प्रकृतिको हो ।’ सम्बन्धित सामग्री : १० लाख डिपोजिट गर्दा एक करोड पाइने, कुन बैंकमा पैसा राख्दा बढी फाइदा ?

स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शोरुम

काठमाडौं । नेपालमा टिभिएस टू व्हिलरको एकमात्र वितरक जगदम्बा मोटर्सले स्याङजाको वद्खोलामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । नयाँ शोरुममा उद्घाटनमा बतास इन्भेष्टमेन्ट कम्पनिका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नसधैं प्रयासरत रहेको बताए । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनले बताए । जगदम्बा मोटर्स टिभिएसको एक मात्र आधिकारिक वितरक हो । कम्पनीकाे नेपालभर १३२ भन्दा बढी डिलरहरू रहेको छ ।

आईएमई लाइफ इन्स्योरेन्सले ५८ सय विद्यार्थीलाई दियो बीमाबारे जानकारी

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा इन्स्याेरेन्सले मुलुकभर बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेकाे हो । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ गरेकाे उक्त कार्यक्रममा ५ हजार ८४८ जना विद्यार्थी सहभागी भएकाे कम्पनीले जानकारी दिएकाे छ । बीमा कम्पनीले एकैदिन यति धेरै संख्यामा विद्यार्थीलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरेको सम्भवत पहिलो पटक भएकाे इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल बताउँछन् । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको बताए । कार्यक्रममा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले बताए । इन्स्योरेन्सले पाँचौ वर्ष पुरा गरेको अवसरमा एकैदिनमा ७४८ जनालाई बीमा अभिकर्ता तालिम, ५७१ जनाबाट वृहत रक्तदान तथा सातै प्रदेशमा १३०२ जना लाभान्वित हुनेगरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको छ ।

‘अध्यादेश र विधेयक उस्तै होइन’

काठमाडौं । नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सो दलका प्रमुख सचेतक विशाल भट्टराईले अध्यादेश र विधेयकलाई उही कोणबाट हेर्ने आफैँमा मिल्ने विषय नभएको बताए । राष्ट्रपतिले सङ्घीय संसदले पारित गरेर पठाएको नागरिकता विधेयक पुनः विचारका लागि फिर्ता पठाएपछि विभिन्न टिका टिप्पणी भइरहेकामा उनले गुनासो गरे । एमालेले नागरिकतामा राखिएको केही प्रावधान देशको हित विपरित रहेको भन्दै त्यसको उचित निरुपण गर्नुपर्नेमा उनले जोड दिए । यस्तै, सांसद लक्ष्मी परियारले दलित समुदायलाई गलत र अपमानजनक नाम राखेर जारी गरिएको नागरिकता नसच्याइएको भन्दै सदनको ध्यानाकर्षण गरिन् । दैलेखका एक नागरिकले नागरिकता सच्याउनका लागि आवेदन दिएको भएपनि त्यसको सुनुवाई नभएको र सम्बन्धित अधिकारीले उल्टै अपमान गरेकामा उनले आपत्ति प्रकट गरे । सांसद कमला रोक्काले केही दिन पहिले पूर्वी रुकुममा भएको सडक दुर्घटनाप्रति सदनलाई जानकारी गराउँदै सडक सुधारमा ध्यान दिन नसकेकोमा सरकारको ध्यानकर्षण गराइन् । स्थानीय शहिदमार्गको सुधारमा कुनै ध्यान नदिइएको, सञ्चार सुविधा उपलब्ध गराउन चासो नराखेको तथा विद्युत् सेवा उपलब्ध गराउनका लागि कुनै पनि पहल नभएको भन्दै तत्काल ती समस्या समाधानका लागि उनले आग्रह गरिन् ।

नबिल र वाणिज्य बैंकमा नेपाल ट्रस्टको पौने ११ लाख कित्ता सेयर

काठमाडौं । नेपाल ट्रस्टसँग चल र अचल गरि ठूलो मात्रामा सम्पत्ति रहेको देखिएको छ । नेपाल ट्रस्टको कार्यालयले आर्थिक वर्ष ०७७/७८ को ढिलो गरी सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल ट्रस्टसँग नबिल बैंक र राष्ट्रिय बाणिज्य बैंकको लाखौं कित्ता सेयर रहेको छ । आर्थिक वर्ष ०७७/०७८ को अन्तिम सम्मको तथ्यांकअनुसार नेपाल ट्रस्टसँग नबिल बैंकको १० लाख ६५ हजार २ सय २ कित्ता सेयर रहेको छ । त्यस्तै ट्रस्टसँग राष्ट्रिय बाणिज्य बैंकको ६ हजार ७ सय ५० कित्ता सेयर रहेको उक्त कार्यालयद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाल ट्रस्टसँग बैंकको अलावा होटल डेला अन्नपूर्णको पनि ३० हजार ७ सय २० कित्ता सेयर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तैगरी आर्थिक वर्र्ष ०७७/७८ को अन्त्यसम्म ट्रस्टको बैंकमा नेपाली रुपैयाँमा नगद बचत १ अर्ब २ करोड ६४ लाख १९ हजार ९ सय ८४ रुपैयाँ ८ पैसा, अमेरिकी डलर १ लाख ५४ हजार ९ सय २६ र पाउन्डस्र्टलिङमा ५१ हजार ४ सय २८ बचत रहेको छ । सोही आर्थिक वर्षसम्म संकलित डाटाअनुसार नेपाल ट्रस्टको स्वामित्वमा २१ हजार ६ सय ३३ रोपनी १५ आना जग्गा आएको सो कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । तत्कालिन राजा विरेन्द्र र उनको परिवारको स्वामित्वमा रहेको निजी सम्पत्ति नेपाल ट्रस्टको स्वामित्वमा आएको हो ।

गुराँस लाइफ इन्स्योरेन्सले घोषणा गर्यो ७.८३ प्रतिशत लाभांश

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सको सोमबार बसेको संचालक समितीको बैठकले सेयरधनीहरुलाई ७.८३ प्रतिशत लाभांश घोषणा दिने गरेको हो । इन्स्योरेन्सले ७.४४ प्रतिशत बोनस सेयर र ०.३९ करसहित ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांश बीमा समिती र साधरणसभाबाट पारित भए पश्चात सेयरधनीहरुलाई वितरण गरिने इन्स्योरेन्सले जनाएको छ ।

वामदेव गौतम पनि माओवादीको चिन्हबाट चुनाव लड्ने

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतम निर्वाचनमा नेकपा माओवादी केन्द्रको चिन्ह लिएर लड्ने भएका छन् । गौतम मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चिन्ह लिएर लड्ने भएका हुन् । यसअघि नेसपाका अध्यक्ष डा। बाबुराम भट्टराई पनि माओवादीको चिह्न लिएर निर्वाचनमा लड्ने लिने सहमति भइसकेको छ । नेकपा माओवादी केन्द्रले पनि गौतम र भट्टराई दुवैलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय गरिसकेको छ ।