काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय आविस्कार केन्दका अध्यक्ष महावीर पुनलाई कृषि औजार कारखाना संचालनका लागि अध्यन गर्न अनुरोध गरेका छन् । अर्थमन्त्री शर्माले सोमबार सिंहदरबारमा भएको भेटवार्तामा पुनलाई यस्तो अनुरोध गरेका हुन् ।
अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई संचालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई संचालन गर्न आवश्यक रहेको बताए ।
‘कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै संचालनमा ल्याउने गर्ने र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविस्कार केन्द्रको रुपमा पनि विकास गर्ने सरकारको लक्ष रहेको छु,’ उनले भने ।
केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरुको आविस्कार गर्ने पनि बताए ।
कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविस्कार केन्द्र समेत बनाउने अर्थ मन्त्रीको योजना प्रति आफ्नो समर्थन रहेको बताए । ‘कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाइ आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाइ आवश्यक पर्ने औजारहरु समेत निर्माण गर्न सकिन्छ,’ उनले भने ।
कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत संचालन हुने गरि आधुनिकीकरण समेत गर्न सकिने पुनले बताए । यस्तै, अर्थमन्त्री शर्माले राष्ट्रिय आविस्कार केन्द्रको अध्ययनको सुझाव अनुसार सरकारले छिट्टै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताए ।