फोहोरका गाडीलाई अवरोध गरेपछि बन्चरेडाँडामा हवाई फायर
काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गरेपछि बन्चरेडाँँडामा प्रहरीले हवाई फायर गरेको छ । प्रहरीले अवरोध हटाउन अश्रुग्याँस र हवाई फायर गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए । स्थानीयले फोहोरका गाडीलाई अगाडि जान दिएका छैनन् ।
राताम्य बनेको सेयर बजारमा रिडी हाइड्रोको सर्वाधिक कारोबार
काठमाडौं । सोमबार भारि अंकले बढेर हरियाली बनेको बजार दोस्रो दिन नै राताम्य बनेको छ । यसअघि सोमबार ५६ अंकले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले घटेको हो । घट्दो बजारमा नाफा बुक गर्ने हावी हुँदा बजार घटेको सेयर लगानीकर्ता बताउँछन् । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ अंकमा बन्द भएको छ । यसअघि सोमबार ५५.८८ अंक बढेको सेयर बजार एक दिन पनि थामिएको छैन् । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार सोमबार बढेको थियो । तर, सोमबार बढेको बजार दोस्रो दिन नै ओरालो यात्रामा लागेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणले पनि बजारमा लगानीकर्ताको मनोबल घटाएको घटेको बजारबाट बुझ्न सकिन्छ । मंगलबार दिनभरिमा २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता सेयर ४३ हजार ३९२ पटक किनबेच हुँदा २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार बैंकिङ्ग समूह ०.२५ प्रतिशत, ट्रेडिङ्ग समूह १.७७ प्रतिशत, होटल एण्ड टुरिजम समूह ०.८७ प्रतिशत, विकास बैंक समूह २.६८ प्रतिशत, हाइड्रोपावर समूह ३.१८ प्रतिशत, फाइनान्स समूह २.६२ प्रतिशत, निर्जीवन बीमा समूह १.७१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.९ प्रतिशत, अन्य समूह ०.७ प्रतिशत, माइक्रोफाइनान्स समूह १.२७ प्रतिशत, जीवन बीमा समूह ०.९१ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९ प्रतिशत र इन्भेष्टमेन्ट समूह १.५५ प्रतिशत घटेको छ । यस्तै, मंगलबार अपर हेवीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यस्तै, आज युनिलिभर नेपालको सेयर मूल्य ५.६२ प्रतिशत घटेको छ । मंगलबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै ४० करोड ८२ लाख ४७ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अप्पर अरुण आयोजनाबाट असर परेकाले प्रतिरोपनी १५ लाख पाउने
किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुणबाट असर पर्ने क्षेत्रको मुआब्जा दर तोकिएको छ । अप्पर अरुण जलविद्युत् आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोला गाविसको जग्गाको मुआब्जा दर निर्धारण गरेको हो । एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माणकार्य अघि बढेको छ । उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी १५ लाख मुआब्जा निर्धारण गरिएको छ । कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी १० लाख निर्धारण गरिएको छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो । त्यस्तै हटिया ८, ९ र चेपुवा १ को अलँैंची बालीसहितको जग्गा प्रतिरोपनी रु नौ लाख ५० हजार र चेपुवा १, हटिया ८ र ९, पावाखोला ३ का अलैँची बाली नभएको पाखा बारीको प्रतिरोपनी रु सात लाख कायम गरिएको छ । जिल्लामा मुआब्जा निर्धारण समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यस्था छ । अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको छ । जलविद्युत् आयोजनाको लागि भोटखोलामा दुई हजार ५०० रोपनी जग्गा अधिग्रहण गरिँदै छ । दुई खर्बको लगानी, ६ वर्षमा बनिसक्ने आयोजना निर्माणको कार्य दुई वर्ष पछिदेखि सुरु हुने भएको छ । आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नं २ र ४ मा हुनेछ । सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत् आयोजना बनाउन लागेको हो । जलविद्युत् आयोजनाको अनुमानित लागत रु दुई खर्बभन्दा बढि छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ । आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले करिब ६८ प्रतिशत लगानी गर्ने भएको छ ।
नेपालमै पहिलो पटक सनवे कलेजमा स्नातक तहमा डाटा साइन्स ‘एक्सक्लुसिभ’ को पढाइ हुने
काठमाडौं । सनवे कलजेले बेलायतको युनिभर्सिटीको सम्बन्धनमा डाटा साइन्स विषयमा ४ वर्षे स्नातक तहको अध्यापन गराउने भएको छ । कलेजका एकेडेमीक डाइरेक्टर प्रमोद पौडेलले सनवे कलजेले नेपालमै पहिलो पटक डाटा साइन्स विषयमा ४ वर्षे स्नातक तहको अध्यापन गराउने भएको जानकरी दिए । ‘औपचारिक रूपमा बेलायतको बर्मिंगह्याम सिटी विश्वविद्यालयसँग शैक्षिक सहकार्य गरेसँगै ४ वर्षकै लागि स्पेसिफिक डाटा साइन्स विषय पढाउन सुरु गरेका हौँ,’ उनले भने ‘पछिल्लो समय नेपाल लगायत विश्वभर डाटा साइन्स प्रति विद्यार्थीको आकर्षण बढेको र यसैलाई मध्यनजर गर्दै यो विषयलाई प्राथमिकतामा राखेर अध्यापन सुरु गरेका हौँ ।’ उनका अनुसार बेलायतमा आधारित रहेको डिग्रीले इन्डस्ट्रीको माग अनुसारको विद्यार्थी उत्पादन गर्नेछ । विश्वविद्यालयसँगको सहकार्यमा कलेजले छिट्टै बीए (अनर्स) इन मार्केटिङ विथ डिजिटल कम्युनिकेसन, स्नातक तहमा डिजिटल मार्केटिङ र बिएससी (अनर्स) कम्प्युटर एण्ड डाटा साइन्स कोर्ष सार्वजनिक गर्ने प्रमोदले जानकारी दिए । यसअघि विभिन्न कलेजमा विभिन्न कोर्ष अन्तर्गत डाटा साइन्सको सिमित अंकको पढाइ हुने गरेको छ ।
सनराइज बैंकद्वारा लक्ष्मी माध्यामिक विद्यालयलाई फिल्टर सहयोग
काठमाडौं । सनराइज बैंकले बुटवलमा रहेको लक्ष्मी माध्यामिक विद्यालयलाई फिल्टर प्रदान गरेको छ । बैंकले प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको फिल्टर प्लान्ट विद्यालयलाई प्रदान गरेको हो । बैंकले बिहीबार एक कार्यक्रम गरी विद्यालयलाई फिल्टर हस्तान्तरण गरेको हो । लक्ष्मी माध्यामिक विद्यालयमा निम्न वर्गका करिब ३०० विद्यार्थीहरु पढ्छन् । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा सहयोग गरिएको र आगामी दिनमा पनि सहयोग गदै जाने बताएको छ ।
विद्युत् महसुल नतिर्ने चितवनका २७१ सेवाग्राही कालोसूचीमा, ७९ लाख बक्यौता उठाउन बाँकी
चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो । उनीहरुबाट ७९ लाख ३९ हजार ६९० बक्यौता उठाउन बाँकी छ । केन्द्रका सूचना अधिकारी अच्युतराज विष्टका अनुसार छ महिनासम्म पनि महशुल नबुझाउनेको लाइन काट्नाका साथै कालोसूचीमा राख्ने गरिएको छ । कालोसूचीमा परेका ग्राहकलाई तीन पुस्तासम्म मिटरबक्ससहित विद्युत् उपलब्ध नगराउने गरी कारबाही गरिने उनले जानकारी दिए । कार्यालयका अनुसार केन्द्रमा हाल ६३ हजार ३५० सेवाग्राही रहेका र तिनबाट वार्षिक १८ करोड ८९ लाख १० हजार ८१५ युनिट विद्युत् खपत हुँदा वार्षिक एक अर्ब ९४ करोड ८१ लाख ८३ हजार महसुल उठेको छ । गत आर्थिक वर्षमा समयमा महसुल नतिर्ने एक हजार ७४६ सेवाग्राहीको लाइन काटिएको थियो । उनीहरुमध्ये एक हजार ५४५सेवाग्राहीको लाइन पुनः जडान गरिएको र सय एक सेवाग्राही सम्पर्कमा नआएको उनले जानकारी दिए । लाइन काटिएका सेवाग्राहीबाट चार करोड ४३ लाख ६० हजार महसुल असूली गरिएको कार्यालयले जनाएको छ ।
नेपालमै बनेको इ–भोटिङ मेशिन सार्वजनिक, निर्वाचन आयोगले चासो नदिएको गुनासो
काठमाडौं । रामलक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (इ–भोटिङ मेशिन) सार्वजनिक गरेकाे छ । मंगलबार सार्वजनिक गरिएको यन्त्र रामलक्ष्मण दाजुभाईको पाँचौ संस्करण हो । करिब एक दशकअघि नेपालमै उत्पादन भएको इ–भोटिङ मेशिनले हालसम्म १ सय पटकभन्दा बढी राजनीतिक दल, विभिन्न संघ/संस्थालगायतका निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको राम प्रसाद रिमालले बताए । यद्धपी, निर्वाचन आयोगले भने मेसिनबारे पटक–पटक कुरा राख्दा पनि चासो नदिएको उनले गुनासो गरे । उनले भने,‘मेसिन बनाएको १० वर्षसम्म पनि निर्वाचन आयोगले कुनैपनि इनपुटहरु दिएको छैन् । आयोगले हामीलाई वास्ता नगरेको होझंै लागिरहेको छ । यो प्रस्ताव लिएर जाँदा आयोगले पार्टीहरुसँग सल्लाह गर्न सुझाव दिएअनुसार हामी पार्टीहरुमा कुरा राख्न गयौं ।’ आयोगले आफूहरुको मेशिनबारे केही अपुग भएको वा मिलाउनुपर्ने केही भए मिलाउ भनेमा त्यो गर्न पनि आफूहरु तयार रहेको उनको भनाई छ । उनले आयोगले धेरै भोट आउने वा दुर्गम स्थान २/४ एरिया तोकेर जिम्मेवारी दिएपनि त्यसको लागि डेमो गर्न आफुहरु तयार रहेको बताए । उनले भने,‘हाम्रो मेशिन प्रयोग गरेर नेपालमा केही निर्वाचन गरेमा केही न केही नजिर त बदस्थ्यो । नेपाली उत्पादनले पनि काम गर्छ है भन्ने पनि प्रमाणित पनि हुनेथियो र हामीहरुजस्तै प्रविधिमा लागेका पछिल्ला पिढीलाई पनि हौसला मिल्नेथियो ।’ नेपालको अवस्था हेरेर मेशिनको निर्माण गरेको उनको भनाई थियो । उनले मतपत्रमा देखिने सबै कुरा डिजिटल डिस्प्लेमा देखिने पनि सुनाए । उनले भने,‘योभन्दा अघि बनाएको मेशिनबाट नेकपा एमालेको महाधिवेशनसहित १०० वटा भन्दा बढी निर्वाचन गरिसकेका छौं । अहिले त्यसमा केही प्रविधि थपेर नयाँ मेशिन बनाएका हौं ।’ उनले नेपाली भाषामा बोल्ने, आँखा नदेख्ने र कान नसुन्नले पनि सुनेर मतदान गर्नसकिने मेसिनमा प्रविधि जडान गरिएको जानकारी दिए । मेसिनबाट भोटिङ गर्दा कुनैपनि मत बदर हुन नसक्ने समेत उनको दाबी छ । सयौं वर्ष प्रयोग गर्न सकिने, भोटिङ गर्दा लागेको समय पनि स्पष्ट देखिने हुनाले कुनै विषयमा मुद्दा परेमा त्यसबारे पनि आवश्यक प्रमाण प्रिन्ट पनि गर्न मिल्ने उनको भनाई थियो । उनले उक्त मेसिनले पावर कम खपत गर्ने र मेशिनको ब्याकअप ३ वटा राखिने उल्लेख गरे । त्यस्तै, लक्ष्मण प्रसाद रिमालले आगामी चुनावमा एक व्यक्तिले ४ वटा मतपत्रमा चिन्ह लगाउनुपर्ने हुँदा समय बढी लाग्ने तर इ–भोटिङ मेसिनमा औंलाले दबाउने भएकोले छिटो हुने दाबी गरे । उनले अहिलेसम्म अपांगता भएका व्यक्तिहरुले कसैको सहयोगबिना मेसिनबाट मतदान गरेको सुनाए । मेसिनले सिधै रिजल्ट देखाउने हुँदा नतिजाको लागि घण्टौंसम्म कुर्न नपर्ने उनले स्पष्ट पारे । ह्याकरले ह्याक गर्न नसक्ने प्रविधि जडान गरिएको दाबी गर्दैै उनले भने,‘प्रत्येक व्यक्तिले मत दिएपछि ह्यास दबाउँदा कसैले केही गर्न सक्दैन् । यो सिस्टममा डिजिटल सिग्नेचरको युज गरिएको छ । डाटा सेक्युरिटी स्ट्रोङ छ । सोर्सकोड युनिकोडमा गरिएको छ ।’ उनले १२ वर्ष मेहेनत गरेर निर्माण गरेको मेसिनको प्रयोग गर्न सरकारसमक्ष माग गरे । उनले भने,‘सरकारले कि त हाम्रो मेशिनमा खोट देखाइदिनुपर्यो कि त नमुना प्रयोगसम्म गरिदिनुपर्यो । यो काम देशको लागि गर्ने हो भने हामी पनि व्यवसाय हेर्दैनौं, देशको लागि हाम्रो १२ वर्षे मेहनत कुनै रोयल्टी बिना निःशुल्क सरकारलाई दिन हामी तयार छौं ।’
एचआइभी सङ्क्रमितलाई रामपुर अस्पतालबाटै औषधि
पाल्पा । एचआइभी सङ्क्रमितहरुलाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि सहज भएको छ । सङ्क्रमितलाई नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो । हाल यस अस्पतालबाट नियमित औषधि उपलब्ध, परामर्श र परीक्षण पनि गर्न थालिएको छ । यसभन्दा अघि सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट मात्रै नियमित औषधि उपलब्ध हुँदै आएको थियो । बिरामीलाई सहज सेवा दिने उद्देश्यले २०७८ फागुनदेखि उक्त अस्पतालले सङ्क्रमितलाई औषधि वितरण पनि सुरु गरेको हो । अहिले अस्पताललाई कार्यक्षेत्र बनाएर करिब एक सय २० सङ्क्रमित सम्पर्कमा आएको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल बताउँछन् । रामपुरकी ३२ वर्षीया एक युवती रामपुर अस्पतालबाटै एचआइभी एड्सको नियमित औषधि तथा परामर्श सुविधा पाएपछि सदरमुकाम तानसेन धाउनुपर्ने समस्या टरेको बताउँछिन् । दुई वर्षअघिदेखि उनले युनाइटेड मिसन अस्पतालबाट नियमित रुपमा औषधि सेवन तथा परामर्श सेवा लिँदै आएकी थिइन् । ती युवतीसहित परिवारका चार सदस्य एचआइभी सङ्क्रमित छन् । नियमित खाने औषधि र परामर्श सेवाका लागि तानसेन आवतजावत गर्न खर्चिलो तथा झमेला हुन्थ्यो । अहिले भने गाउँमै रहेको यस अस्पतालबाट सेवा दिन थालेपछि सहज भएको उनीहरु बताउँछन् । एचआइभी सङ्क्रमण भयो भन्दैमा आत्तिनुपर्ने अवस्था नरहेको र नियमित औषधि सेवन, स्वास्थ्यकर्मीसँग परामर्श सेवा लिँदै आत्मबल बलियो बनाइयो भने अरू व्यक्ति सरह नै बाँच्न सकिने सङ्क्रमितहरु आफ्नो अनुभव बताउँछन् । यस क्षेत्रमा एचआइभी सङ्क्रमितका लागि नियमित खाने औषधिको सेवा नहुँदा युनाइटेड मिसन अस्पताल, पोखरालगायत क्षेत्रमा पुगेर बिरामीले सेवा लिँदै आएको अवस्थामा उनीहरुलाई स्थानीयस्तरमा नै रहेको अस्पतालबाट सेवा दिने मनसायले पहल थालिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल बताउँछन् । पछिल्लो समय नियमित औषधि सेवन, स्वास्थ्यकर्मीको सम्पर्कमा रही परामर्श सेवा लिने बिस्तारै बढ्दैछन् । नियमित औषधि सेवन गरी निर्धक्कसाथ आत्मबल बलियो बनाएर अन्य व्यक्ति सरह नै जीवन जिउन सकिने हुँदा केही व्यक्ति समाजमा खुलेरै हिँड्ने पनि गरेको पाइन्छ । समाज र आफन्तको डर, लाजका कारण अन्य सङ्क्रमित अझै पनि खुल्न सकिरहेका छैनन् । गाउँमा औषधि सेवा वितरण भइरहे पनि अझै पनि यहाँका केही बिरामी भने डर र लाजका कारण अन्यत्र नै सेवा लिन जाने गरेको पाइएको छ । रासस