विकासन्युज

प्रतितोला ७०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सात सयले घटेर ९६ हजार ७०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महासघंले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन ९६ हजार ९०० रुपैयाँ थियो । नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार आज चाँदीको मूल्य पनि घटेर १ हजार २२० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महांसघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

नेपाल ट्रष्टको सयौं रोपनी जग्गामा व्यक्तिको रजाइँ, यी हुन् स्वामित्वमा ल्याउन नसकेका जग्गा

काठमाडौं । नेपाल ट्रस्टको स्वामित्वमा रहेको सयौं कित्ता जग्गाहरु लामो समयदेखि एकलौटी रुपमा व्यक्ति (मोही)ले प्रयोग गर्दै आएका छन् । काठमाडौं उपत्यकाभित्र मालपोत तथा नापीको रेकर्डमा नेपाल ट्रस्टको स्वामित्वमा रहेका १०९ कित्ता जग्गाहरु मोहीहरुले एकलौटी रुपमा प्रयोग गर्दै आएको देखिएको हो । ट्रस्टले पछिल्लोपटक प्रकाशन गरेको प्रतिवेदनअनुसार काठमाडौं नगरपालिकाको वडा नं. २९ मा ४ कित्ता र तत्कालिन बालाजुको वडा नं. ८ क मा २७ कित्ता जग्गा मोहीले प्रयोग गर्दै आएका छन् । त्यस्तै, तत्कालिन सतुंगलको वडा नं. १ क मा १ कित्ता, मातातिर्थ १ क मा २७ कित्ता, मातातिर्थ १ ख मा ७ कित्ता र थानकोट महादेवस्थान वडा नं. ४ क मा ११ कित्ता जग्गा मोहीको स्वामित्वमा रहेको ट्रस्टको प्रतिवेदनमा उल्लेख गरिएको छ । थानकोट महादेवस्थानकै वडा नं. ४ ख मा १५ कित्ता र ४ ग मा १७ कित्ता जग्गा मोहीले प्रयोग गर्दै आएका छन् । ०६४ सालमा अध्यादेशमार्फत् स्थापना भएको नेपाल ट्रस्टले डेढ दशकभन्दा बढी समय गुजारीसकेको छ । पछिल्लो अभिलेखअनुसार ट्रस्टसँग २१ हजार रोपनी भन्दा धेरै जमिन रहेको छ । जसमध्ये सयौं रोपनी जमिन विभिन्न व्यक्तिहरुले मोहीको रुपमा प्रयोग गर्दे आएका छन् । यसरी मोहीहरुले प्रयोग गर्दै आएको जमिनबाट न त ट्रस्टले कुनै उत्पादित मूल्य पाएको छ न त आफ्नो स्वामित्वमा नै ल्याउन सकेको छ । नेपाल ट्रस्टका प्रवक्ता विष्णुराज ढकालले ट्रस्टले गर्नुपर्ने काम धेरै भएको र मोहीको स्वामित्वमा रहेका जग्गाहरुलाई ट्रस्टको स्वामित्वमा ल्याउने विषयमा काम अगाडि बढीनसकेको बताएका छन् । उनले आफु ट्रस्टको जिम्मेवारीमा आइसकेपछि मोहीहरुले प्रयोग गरेको जग्गाको अवस्थाबारे अनुगमन गर्ने काम पनि नभएको बताए । ट्रस्टमा नापी विषयको नेतृत्व सम्हाल्दै आएकी नापी अधिकृत दुर्गा चापागाईंले ट्रस्टले मोहीहरुले प्रयोग गर्दै आएको जग्गालाई ट्रस्टको स्वामित्वमा ल्याउनेबारे आवश्यक काम अगाडि नबढेको बताइन् ।  साथै उनले रेकर्डमा मोहीको नाममा देखिएका अधिकांश जग्गाको प्रयोग पनि मोहीहरुले नै गरिरहेको बताइन् । ‘सञ्चालक समितिको बैठक नबसेको धेरै भएको भइसक्याे, खासगरी सो समितिको बैठक नबसिकन केहीपनि गर्न नमिल्ने रहेछ, त्यहीभएर अगाडि बढेको छैन्,’ अधिकृत चापागाईंले भनिन् । व्यक्तिगत स्वामित्वमा रहेको जग्गामा मोहीको आधा हक हुने तर तत्कालिन राजा विरेन्द्रको सम्पत्ति नभएर सरकारी जग्गा भएको भए त्यसमा मोहीको हक नलागेर सबै सम्पत्ति ट्रस्टको मातहतमा आउन सक्ने उनले बताइन् । [pdf id=345928]

किसानलाई थप १० हजार बोरा युरिया मल दिँदै वीरगञ्ज महानगर

फाइल फोटो वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले आफ्ना नगरवासी किसानलाई थप १० हजार बोरा युरिया मल उपलब्ध गराउने भएको छ । यसका लागि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशीक कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार चार बुँदे सहमति समेत भएको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले किसानका माग अनुसारको मल मल उपलब्ध गराउन समन्वय गर्नुभएको थियो । किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल सोमबार नियन्त्रणमा लिएका थिए । सहमति पछि ती मल वीरगञ्ज महानगरलाई बुझाइएको थियो । रासस

टानको अध्यक्षमा बाँस्तोला विजयी

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्ष पदमा निलहरि बाँस्तोला विजयी भएका छन् । गएराति सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट उनी ६१६ मतप्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत प्राप्त गरेका छन् । निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी बाँस्तोलाको प्यानल नै विजयी भएको छ । निर्वाचन समितिका अनुसार टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु) , सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा विजयी भएका छन् । महिला सदस्यमा सजना त्रिपाठी ,खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित हुनुभएको टान निर्वाचन समितिले जनाएको छ । टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए। उनले निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्राथकिताका साथ लाग्ने विश्वास व्यक्त गरे। टानलाई समयसापेक्ष बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाएर व्यवसायीको समस्यालाई सम्बोधन गरिने उनको भनाइ छ । कोभिडबाट शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थानका लागि सरकार तथा निजी क्षेत्रले सहकार्य गरेर पर्यटन क्षेत्रमा सकारात्मक उत्साह जगाउने कार्यमा लाग्ने अध्यक्ष बाँस्तोलाले बताए। टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । एक हजार ८५० व्यवसायी आबद्ध छन् ।

भदौ ३० गतेदेखि अवैध रूपमा भित्रिने मोबाईल फोनमा प्रतिबन्ध लगाउँदै सरकार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भदौ ३० गतेबाट एमडिएमएस लागु गर्ने निर्णय  गरेको छ । सोल्टी होटलमा सम्पन्न भएको ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’ (एमडिएमएस) को संयुक्त कार्यशाला गोष्ठीमा प्राधिकरणले यस्तो निर्णय गरेको हो । एमडिएमएस प्रणाली अनधिकृत रूपमा मोबाईल फोनहरू नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भनी मोबाइल आयतमा प्रतिबन्ध लगाउन खोजेपनि गैरकानुनी मार्गबाट भन्सार छलीका फोनहरू लाखौंको संख्यामा भित्रदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुकाे साथै सरकारले अर्बौ राजस्वसमेत गुमाउनु परेको मोबाइल फोन इम्पोर्टस एसोसिएसनका अध्यक्ष दिपक कुमार मलहोत्रा बताए । ‘गैरकानुनी रूपमा भित्रिने फोनहरूमध्ये चोरीका, रिफर्बिस फोनहरू समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरू ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आई कर्मचारीहरुको कटौतीसम्म गर्नुपर्ने वाध्यताले हजारौंको संख्यामा बेरोजगारी दर वृद्धि हुने अवस्था आएको छ,’ उनले भने । कार्यक्रममा एमपिआइएका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० गतेदेखि औपचारिक रूपमा एमडिएमएस शुरुवात हुने र यसको दुईदेखि तीन महिनामा सतःप्रतिशत लागू हुने बताए । ‘दुई–तीन महिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समयावधि प्रदान गरिएको र भदौ ३० उप्रान्त नेपालमा अनधिकृत आयातित मोबाईल चल्ने छैन,’ उनले भने । यो योजनाबाट अर्थमन्त्रालयको राजस्व वृद्विमा ठूलो योगदान पुर्‍याउने उनले बताए ।

विदेशी ऋण र रेमिट्यान्स ल्याउन थप सहज, यस्तो छ राष्ट्र बैंकको नयाँ ४ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि थप विभिन्न निर्देश्न जारी गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि सोमबार एक एकिकृत निर्देशन जारी गर्दै थप नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार आयात तथा निर्यात व्यापारको माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धीकरण ट्रेड बेस्ड मनी लाउण्डरिङको कार्यलाई निरुत्साहन तथा नियन्त्रणमा सघाउ पुग्ने गरी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक कार्यविधि तथा आन्तरिक संरचना बनाई बस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य र Proforma Invoice/Document मा उल्लिखित मूल्यबीच तुलनात्मक विश्लेषण समेत गरी यथार्थपरक देखिएमा सटही सुविधा (ड्राफ्ट/टी.टी. जारी गर्ने, प्रतीतपत्र खोल्ने व्यवस्था गरेको छ । यस्तै, राष्ट्र बैंकको स्वीकृतिमा एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याएका ’क’ वर्गका बैंकलाई विदेशी विनिमय जोखिम हेजिङ गर्ने प्रयोजनको लागि उक्त ऋणको बक्यौता साँवा तथा ब्याज बराबर हुने रकम सम्मको र ऋणको अवधिसम्मको डेरिभेटिभ्सको खरिद कारोबार गर्न बुंदा नं.(ग) र (घ) मा उल्लिखित सीमा लागू नहुने पनि बताएको छ । राष्ट्र बैंकले नेपाली विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था÷शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता (Repatriation) नहुने गरी विदेश (नागरिक वा फर्म/कम्पनी/संस्था) बाट प्राप्त हुने रकम इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक रु. १५ लाख सम्म एकपटक वा पटक पटकको विप्रेषण रकम ल्याउन सकिने व्यवस्था पनि गरेको छ । यसअघि १० लाख रुपैयाँसम्मको मात्रै व्यवस्था थियो । इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था तथा विप्रेषण कम्पनीले यस बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गरी जारी गरेका कार्डमा समेत विद्यमान व्यवस्थाको अधीनमा रही विप्रेषण भित्र्याउन सक्न व्यवस्था राष्ट्र बैंकको छ ।

समृद्धि फाइनान्सद्धारा हेटौडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामाग्री वितरण कार्यक्रम

काठमाडाैं । समृद्धि फाइनान्सले हेटौंडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले हेटौंडामा रहेको अमर माध्यमिक बिधालय, काठमाडौँको महाराजगंजमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालय र बुटवलमा रहेको मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हाे । फाइनान्सले २७० जना विद्यार्थीलाई १ हजार ३५० थान कापी र २७० थान पेन वितरण गरेकाे संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

एनआईसी एशिया बैंकले बचत खाताको बीमा अन्तर्गत गर्यो ३० लाखको भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले बचत खाता खोलेका ३ जना ग्राहकको दुर्घटनामा परी मृत्यु भएकाले खातावालको परिवारलाई बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले बीमा रकम भुक्तानी गरेको हो । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । बीमा प्राप्त गर्नेमा बैंकको त्रिपुरेश्वर शाखामा केएमसी एम्बेसडर बचत खाता खोलेका स्व. शिव प्रसाद सुवेदीको श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्व. टंक प्रसाद घिमिरेको श्रीमती डिली मै घिमिरे र सुदुर पश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका स्व. ज्ञान बहादुर चौधरीको श्रीमती अनिता चौधरी छन् । बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार ४६७ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत २ करोड ४० लाख, दुर्घटना बीमा वापत ७० लाख र मेडिकल बीमा वापत ३ करोड ३ लाख गरी कुल ६ करोड १३ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेको छ ।